कराते प्रशिक्षक कुशल र ताराको सम्बन्धको रिङ
‘मैले सपना देख्छु, कुशलले त्यसलाई पूरा गर्छ,’ करातेकी प्रशिक्षक तारा गुरुङले आफ्नो सफलताको सिँढीमा श्रीमान् कुशल श्रेष्ठलाई अगाडि लगाउँछिन् ।
कराते खेल जगतमा तारा र कुशल जोडीको संघर्ष र सफलता सानो छैन । पछिल्ला दुई दशकभन्दा अघिदेखि यो जोडीको जङ्घार एउटै छ, उकाली–ओराली एउटै छ, सुसेली र सपना पनि एउटै छ । ताराका सपनाहरू आकाशका तारा जति पर होइनन्, जसलाई छुन कुशलको कोसिसले नभ्यायोस् ।
भर्खरै चीनको होङ्झाउमा सम्पन्न एसियाली खेलकुद (एसियाड)को १९औँ संस्करणमा नेपालले करातेमा इतिहास रच्यो । करातेकी एरिका गुरुङले नेपाललाई पहिलो रजत पदक दिलाइन् । यो र यस्ता केही ऐतिहासिक सफलताको श्रेय राष्ट्रिय टिमका प्रशिक्षक कुशल श्रेष्ठलाई जान्छ ।
‘म कोच भइसकेपछि नवौँ विश्व सितेरियो कराते च्याम्पियनसिप (२०१९) मा ऐतिहासिक रजत, १३औँ साग (२०१९) मा १० स्वर्ण, चार रजत र पाँच कास्य जित्यौँ । छैटौँ साउथ एसिएन च्याम्पियनसिपमा ११ स्वर्ण, भर्खरै इन्डोनेसियामा सम्पन्न विश्व सितेरियो च्याम्पियनसिपमा एक स्वर्ण, तीन रजत र पाँच कास्य जितेका छौँ,’ कुशल गर्वका साथ भन्छन्, ‘१९औँ एसिएन गेममा रजत पदक ल्यायौँ । यी सबै ऐतिहासिक हुन् । यसअघि यस्तो रेकर्ड छैन ।’
परम्परागत भनाइ छ, हरेक सफल पुरुषको पछाडि स्त्रीको हात रहन्छ । यो भनाइ कुशलको खेल जीवनसँग धेरै हदसम्म मेल खान्छ । कुशल–ताराको जोडीले अर्को उदाहरण पनि पेस गरेको छ— दम्पतीबीच एक–अर्काको पूर्ण साथ र सहयोग रहँदा दुवैको सफलता निश्चित छ ।
कराते खेलमा संंघर्ष गर्दै धनकुटादेखि काठमाडौँको रंगशालामा आइपुग्दा कुशलले तारालाई देखेका थिए । तारा पनि करातेमा संघर्ष गर्दै पोखरादेखि काठमाडौँ आइपुगेकी थिइन् । यो भेटमा उनीहरूबीच खासै कुराकानी भएन । लगत्तै समयले कुशललाई पोखरा पुर्यायो, लाहुरे हुने सपनाले । पुनः पोखराको रंगशालामा भेटिएर कुशल र तारा साथी बन्न पुगे । खेल जीवनको संघर्षकालमा खेल मैदानमै भएको देखादेख, परिचय र प्रेमपछि कुशल र ताराले विवाह गरे । एकपछि अर्को सफलता हासिल गर्दै यो जोडी यतिखेर करातेतर्फ राष्ट्रिय टिमको प्रशिक्षक छ ।
ताराबिनाको आकाश र सपनाबिनाको मान्छे कल्पना गर्न सकिँदैन । सपना जस्तोसुकै होस्, त्यसलाई पूरा गर्न संकल्प र कर्म अनिवार्य हुन्छ । कुशलको स्वभाव रहेछ, मनमा ठूला सपना नसजाउने तर कर्ममा रमाउने । यही स्वभावलाई पहिचान गरी ताराले कुशललाई झकझकाउन थालिन् । ‘यो गर्ने र भविष्यमा यो ठाउँसम्म पुग्ने भन्ने मेरो सपना थियो, तर उसको थिएन,’ तारा भन्छिन्, ‘म लक्ष्य लिएर हिँड्ने मान्छे । यो ठाउँमा हामी दुवै पुग्छौँ वा कुशललाई पुर्याउँछु भन्ने मैले पहिले नै सोचेकी हुन्छु । स्टेप बाई स्टेप मैले उसलाई बाटो बनाइदिएकी छु । लक्ष्य देखाएपछि ऊ आफैँ सफलता हासिल गर्छ ।’
ताराको जुझारु स्वभावको प्रशंसा गर्छन् कुशल, ‘माया गरेर, कराएर, रिसाएर — जे गरेर भए पनि उनले मलाई अग्रसर गराइरहिन्,’ ‘मलाई झमेला मनपर्दैन, मेरो नेचर पनि होइन तर जसरी पनि गर्नुपर्छ भन्ने उसको सोच हुने ।’
कराते रिङमा यो जोडीले कम पसिना चुहाएको छैन, त्यसको प्रतिफलबाट भने यो जोडी प्रशन्न छ । ‘बिहेपछि सफल भयौँ । हामी सफल जोडी हौँ भन्न सक्छु म,’ कुशल भन्छन्, ‘तर आज हामी दुवै सन्तुष्ट छौँ ।’
लाहुरे हुने सपनाले लाहुरेकी छोरी
कुशल हुर्कंदै गर्दा धनकुटा बजारमा मार्सल आर्टको माहोल थियो । बाहिरबाट मार्सल आर्टको कुनै विधा सिकेर गएका व्यक्तिले धनकुटामा तालिम दिने गर्थे । सयौँको संख्यामा टुँडिखेलमा जम्मा भएकाहरूले कातासँगै निकाल्ने ‘हा–हु’को आवाजले कुशललाई पनि आकर्षित गर्यो ।
२०५० सालतिर, नेपाली सेनाका टंक स्मालीले छुट्टीमा घर गएका बेला केटाकेटी बटुलेर मार्सल आर्ट सिकाउन थालेका थिए, यही मेसोमा १० वर्षीय कुशलले दुई महिनाजति केही काता सिक्ने अवसर पाए । त्यसलगत्तै निश्चल राईलाई गुरु थापेर उनी करातेमा निखारिँदै गए । २०५२ सालमा धरानमा ‘नेसनल किड्स च्याम्पियनसिप’ भयो, त्यसमा भाग लिएर उनी प्रथम भए । ०५४ सालमा ब्ल्याक बेल्ट लिएपछि करातेमै केही गर्ने सपना देख्न थालेका थिए । योबीचमा धनकुटाबाटै एसएलसी, आईए, सीएमए र बीए गर्दै उनले उनले राष्ट्रिय टिममा खेल्न थालिसकेका थिए ।
सन् २००२ को बुसान एसिएन गेममा उनले अवसर पाएनन् । त्यतिबेला सेकेन्ड भएर उनी ‘क्लोज क्याम्प’मा परेका थिए । अहिलेका प्रशिक्षक दीपक श्रेष्ठ र उनको तौल समूह एउटै थियो । दीपकसँग उनी फाइनलमा भिड्दै थिए । फाइनल सेलेक्सन एक–डेढ महिनापछि हुने कुरा थियो । त्यति लामो समय काठमाडौँ बस्ने अवस्था भएन र उनी धनकुटा फर्कें । तर उनलाई दिउँसो सेलेक्सन खेल हुने खबर त्यही दिन बिहान मात्रै आयो, यति छोटो अवधिमा धनकुटाबाट काठमाडौँ कसरी आउने ? ‘यसरी मैले बुसान एसिएन गेम मिस गरेँ । त्यतिबेला कता–कता खेलदेखि नै विरक्त लाग्यो,’ कुशल भन्छन्, ‘त्यसपछि लाहुरे हुने कोसिस गरेँ । लाहुरे हुने भूतका कारण नै मैले तारालाई भेटेको हुँ ।’
त्यतिबेला गाउँगाउँमा गल्ला पुग्थे । गल्लाले लिने शारीरिक परीक्षामा छानिएर उनी पोखरासम्म आइपुग्थे र पोखराबाटै घर फर्कन्थे । पोखराले उनलाई लाहुरे त बनाएन, लाहुरेकी छोरी (तारा)लाई जीवन संगिनीका रूपमा दियो ।
गोर्खाको लाहुरे परिवारमा जन्मेकी ताराको हुर्काइ र पढाइ पोखरामा भयो । तारालाई सानोमा मार्सल आर्ट त्यति मन पर्दैनथ्यो । सानैदेखि साथीहरूसँग घुम्न र खानमा बढी रुचि देखाउने तारा स्कुल बिदा भएका बेला बिहानभरि सुत्ने गर्थिन् ।
उनको घरछेउमै एउटा खाली जमिन थियो । २०५० सालतिर, त्यहाँ सपना मल्लले साना केटाकेटीलाई तेक्वान्दो सिकाउँथिन् । सन् १९९८ को एसियाली खेलकुदमा तेक्वान्दोकी कास्य विजेता सपनाले बिहानै तालिम दिँदा केटाकेटीले चिच्याएको आवाज ताराको कानसम्म ठोक्किन आइपुग्थ्यो । ताराका बुवाआमा बिहानै उठेर हिँडडुल, पूजापाठ र घरको काममा लाग्थे । बुवाले तारालाई सुनाउँथे, ‘हेर, अरुका बच्चा बिहानै ट्रेनिङ गरिरहेका छन् । यो भने सुतिरहन्छे ।’
बुवाको गनगन अति भएपछि एक दिन तारालाई ट्रेनिङ हेर्ने मन भयो । अरुले तालिम लिइरहेको ताराले केही पर उभिएर हेरिरहेकी थिइन् । सपनाले भनिन्, ‘यहाँ आऊ । फूर्तिलो हुनुपर्छ । म तिमीलाई फूर्तिलो हुन सिकाउँछु ।’
ताराले मानिनन् । घरमै गएर सपनाले ताराका बाबुआमालाई भनिन्, ‘छोरीलाई ट्रेनिङ गर्न पठानुस् । फूर्तिली हुन्छिन् । घरमा बुवाले पनि कर गर्ने, सिकाउने गुरु पनि घरमै आएर बोलाएपछि तारालाई जाउँ–जाउँ लाग्यो र उनी गइन् । एक–दुईपटक गएपछि उनले अन्यलाई प्रतिस्पर्धीजस्तो ठानिन् । दौडमा पनि उनैले जित्नुपर्ने ! अन्य एक्सरसाइज अरुले भन्दा बढी र राम्रो गर्नुपर्ने ! वास्तवमा उनीमा आफूले जित्नैपर्ने अहंको भावना बढी थियो । त्यसैले उनले अरुलाई जित्नकै लागि मेहनत गर्न थालिन् ।
अरुले भन्दा राम्रो गर्न उनी ४ बजे उठेर तयार हुन्थिन् । तारालाई गुरु सपनाले पनि हौस्याइरहिन् । ‘१५ दिनजति अभ्यास गराएपछि गुरुले मलाई स्पाइरिङ गराउन थाल्नुभयो । स्पाइरिङ गराउँदा हान्नुपर्छ । अरुले हान्दा त लाग्ने भयो,’ तारा भन्छिन्, ‘मेरो फेरि जित्नैपर्ने स्वभाव । सपना गुरुले मेरो स्वभाव हेरेरै स्पाइरिङ गराउनुभएको रहेछ ।’
अरुलाई जित्न आफू अब्बल बन्नुपर्ने भएकाले ताराले ट्रेनिङलाई निरन्तरता दिँदै गइन् । टोलमा त उनी नम्बर वान भएर निस्किइन् । त्यसपछि उनलाई कृष्ण गुरुङ (आठौँ सागको स्वर्ण विजेता)ले करातेमा बोलाए । करातेबाटै उनी राष्ट्रिय खेलमा सहभागी भइन् । अञ्चलबाट छनोेट हुँदै केन्द्रमा खेल्न पुग्दा कुशलसँग उनको देखादेख भएको थियो ।
खेलाडी भएकाले तारा प्रायः पोखराको रंगशाला गइरहन्थिन् । लाहुरे हुन गएका कुशल पनि खेलाडी भएकै कारण पोखराको रंगशाला पुग्ने गर्थे । काठमाडौँ जाँदा चिनेको मान्छे आफ्नै घरछेउ आउँदा तारालाई बोलौँ–बोलौँ लाग्यो । कसोकसो यिनीहरू नजिक भए र कुराकानी गर्न थाले । लाहुरे हुन कुशल तीनपटक पोखरा पुगेका थिए । यो अवधिमा उनले लाहुरेकी छोरीलाई साथीको रुपमा पाइसकेका थिए ।
पछि काठमाडौँमा राष्ट्रिय टिममा ट्रेनिङ गर्न थालेपछि यो जोडी थप नजिक हुन पुग्यो । त्यतिबेला कुशलले कलंकीमा कोठा लिएर संघर्ष गर्दै थिए । तारा सामाखुसीमा काकाको घरमा बस्थिन् । ट्रेनिङ सकिएपछि कुशल सधैँ तारालाई पुर्याउन सामाखुसी पुग्थे । दुई कदम सँगै हिँड्ने चाहनाले उनीहरू गाडी चढ्दैनथे । हरेक दिन रंगशालादेखि सामाखुसीसम्म सँगै हिँड्दा दुवैले गहिरो प्रेमको अनुभूति गरे ।
आफू दुःखजिलो गरी बसेकाले कुशलले तारालाई कोठामा लैजाने कुरै झिक्दैनथे । एक दिन ताराले नै भन्नुपर्यो, ‘तिमीले अरु साथीलाई कोठामा लैजान्छौ, मलाई जाम् पनि भन्दैनौ !’
कुशल आफ्ना संघर्षकालीन समय सम्झन्छन्, ‘छोरा मान्छे मात्रै बसेको कोठा, स्टोभमा भात पकाउने । एउटा खाट छ । सुखमा हुर्केकी लाहुरेकी छोरीलाई कोठा देखाउनै अप्ठेरो लाग्ने ।’
तारा बीचैमा बोलिन्, ‘कुशलले सधैँ कति छोड्न जाने भनेर मै कुशलको कोठामा आएर बस्देको नि !’
एक दिन कुशलले तारालाई आफ्नो कोठामा लिएर गए । यता काकाको घरमा अलि कडाइ थियो, कहाँ कोसँग गएको सबै बताउनुपथ्र्यो । साँझ ६–७ बजेभित्र घरमा पुगिहाल्नुपथ्र्यो ।
साथीकहाँ जान्छु भनेर कुशलकहाँ गएकी तारा फर्किनन्, दुवै सँगै बस्न थाले । उनीहरू सँगै बस्न थालेपछि बिस्तारै हल्ला चलिहाल्यो । मिडियामा समाचार बन्न थाले । त्यतिबेला कुशलले स्कुलमा कराते सिकाउने गर्थे । एक दिन कुशल बाहिर गएका बेला ताराले स्टोभमा भात पकाउने कोसिस गरिन् । कुशल फर्कंदा उनको आँखीभौँ सबै जलेको थियो । स्टोभ बाल्न नजानेर आगो झ्याप्प अनुहारमा आएछ । त्यसपछि कुशलले आफैँ खाना बनाउन थाले ।
जातका कारण उनीहरूको विवाहलाई दुवैको परिवारले सुरुमा सहजै स्विकारेन । बिहेको एक वर्षपछि कुशलको परिवारले गुरुङ बुहारीलाई भित्र्यायो, धुमधामसँग इष्टमित्र बोलाएरै । यता, माइतीको न्यास्रो मेट्न ताराले आफ्ना भाइ–बहिनीलाई आफूहरूको कोठामा बोलाउन थालिन् । शान्त र मिलनसार स्वभावका कुशललाई ताराका भाइबहिनीले मन पराउन थाले । उनीहरूले घरमा बारम्बार सुनाउँथे– भेनाजु साह्रै राम्रो मान्छे हुनुहुन्छ ।
बिहेको डेढ वर्षपछि ताराले श्रीमानसहित माइतीको आँगन टेक्न पाइन् । अचेल कुशल ससुरालीमा प्रिय ज्वाइँ बन्न पुगेका छन् ।
नछुट्टिने जोडी
कुशलले दशौँ साफ गेममा स्वर्ण र ताराले पाँचौँ राष्ट्रिय खेलकुदमा स्वर्ण जितेपछि यो जोडीको संघर्ष अलि खुकुलो बन्दै गयो । कारण, दुवैले राष्ट्रिय खेलकुद परिषद्मा जागिर पाए । अहिले उनीहरूकी छोरी अमेरिकामा छिन्, अध्ययनको सिलसिलामा । अचेल यो जोडी बिहान कफी पिएर एक घन्टाजसो उसै गफिन्छ । एक–अर्कादेखि टाढा हुन चाहँदैन । यतिसम्म कि स्कुलले दिने जागिरमा पनि उनीहरू सँगै हुनुपर्छ, एकजना मात्रै हुने भए त्यो जागिर गर्दैनन् ।
ताराले त कुशलसँग छुट्टिन नपरोस् भनेरै खेललाई निरन्तरता दिएकी हुन् । ‘खेलमा मैले राम्रो गर्दै गएपछि म बाहिर हुन्थेँ, उनी घरमा बस्नुपथ्र्यो । मसँगै हिँड्न पनि उनले खेल छाडिनन् । मसँग कुनै पल छुट्टिन नपरोस् भन्ने हिसाबले नै उनले खेलमा मेहनत गरेकी हुन् । यसो गर्दागर्दै उनी नेसनल च्याम्पिएन बन्न पुगिन्,’ कुशल हाँस्दै भन्छन्, ‘उसको खेल राम्रो छ । जसरी मुख चल्छ, रिङमा त्योभन्दा बढी हातखुट्टा चल्ने ।’
तारा बिचैमा बोल्छिन्, ‘हो, आजसम्म कुशल मलाई हसबेन्ड जस्तै लाग्दैन, साथीजस्तो लाग्छ । अझै पनि हाम्रो गफ यति हुन्छ कि भर्खरै भेटेको गर्लफ्रेन्ड–ब्वायफ्रेन्डजस्तो, अरुले पनि यही भन्छन् । उहाँ नबोल्ने मान्छे पनि मेरो गफ सुनेर बस्नुहुन्छ ।’
यो जोडीको अनुभवमा हिजोका दिनमा नेपाली खेल जगत् त्यति स्वच्छ होइन । स्वच्छ प्रतिस्पर्धा कमै हुन्थे । थुप्रै छनोट खेलमा आफूहरूमाथि भएको षड्यन्त्र उनीहरूको स्मृतिबाट मेटिएको छैन । कतिपटक त ताराले रेफ्री नै कुट्नुपर्ने परिस्थिति बनेको थियो । अचेल उनीहरू संघर्षका ती तीता क्षणको चर्चा गर्न चाहँदैनन् ।
‘मलाई हराउन नसकेर अन्त्यमा झन्डा फालेर भए पनि उनीहरूको मान्छेलाई जिताउने हर्कत गरियो,’ तारा भन्छिन्, ‘यी कुरा नकोट्ट्याऊँ होला, नेपाली खेललाई अझै माथि लैजानुछ ।’
कुशल र ताराको खेल जीवनको चर्चा गर्दा पुस्तकै तयार हुन्छ । यसपालि हामीले यो जोडीलाई खासगरी सम्बन्धको चर्चा गर्न रातोपाटीको स्डुडियोमा आमन्त्रित गरेका थियौँ । अन्त्यमा हामीले उनीहरूलाई सोध्यौँ – एक–अर्काको मन नपर्ने बानी–व्यवहार के होला ?
‘ताराको झनक्क–झनक्क रिसाउने बानी नराम्रो छ, एकैदमै चाँडो रिसाउने तर एकैछिनमा कुल डाउन हुन्छिन् । उनी स्पष्ट वक्ता र हक्की हुन् । उनका राम्रा पक्ष धेरै छन्,’ कुशल भन्छन्, ‘उनी रिसाएका बेला म बोल्दिनँ । अनि उनले थाहा पाइहाल्छिन्, आफ्नो गल्ती हो भन्ने तर रिसाएपछि पहिले बोल्नेचैँ मै हो ।’
कुशल घरमा अस्तव्यस्त तरिकाले बसेको तारालाई मन पर्दैन । ‘यस्तै कुरामा हो झगडा पर्ने,’ ताराले यति मात्रै भनेकी थिइन्, कुशल आफैँ आफ्ना कमजोरी केलाउन पुगे, ‘सर्वगुण सम्पन्न कोही हुँदैन । ममा पनि केही कमजोरी थिए होलान्, मसँग नयाँ जीवन सुरु गर्दा उनलाई कुनै अप्ठेरोसँग जुध्नुपर्यो होला, तर त्यो उनले कहिल्यै भनिनन् ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माओवादी केन्द्रले आज कीर्तिपुरको चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गर्ने
-
वीरगन्जबाट पोखरा जाँदै गरेको बस दुर्घटना, १७ जना घाइते
-
एमालेको जागरणसभाका लागि र्याली सुरू (तस्बिरहरू)
-
प्रधानमन्त्रीले सडकमा शक्ति देखाउनु लोकतन्त्रको मर्म होइन : गणेश कार्की
-
स्थानीय तहको उपनिर्वाचनमा जनमतले १६ सिटमध्ये कतिमा मार्ला बाजी ?
-
मोदी र जयशंकरविरुद्ध कुनै प्रमाण छैन : क्यानडा