बुधबार, २१ कात्तिक २०८१
ताजा लोकप्रिय

पशु बजार व्यवस्थाको कमीले मारमा उपभोक्ता

आइतबार, १० मङ्सिर २०८०, ०९ : ४७
आइतबार, १० मङ्सिर २०८०

नेपालको कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान ३० प्रतिशत रहेको तथ्याङ्क भेटिन्छ । यस कारण यो क्षेत्रको सङ्ख्यात्मक एवं गुणात्मक सुधारका लागि विभिन्न प्रयास भएका छन् । तर यस क्षेत्रमा हुने उत्पादन दूध र अन्डाबाहेकको कुनै व्यवस्थित बजारीकरण भएको देखिँदैन, पारम्पारिक रूपमा छ । यसो हुनुको कारक तत्त्व हाम्रा उत्पादकहरू असङ्गठित छन् । उत्पादनको अवस्था पनि ससाना परिमाण र छरिएको छ । पशुपन्छी उत्पादन, ताजा तरकारी उत्पादनका बिक्री गर्नुलाई विविध खाले बजार शृङ्खला पार गर्नुपर्ने हुन्छ, जुन जटिल र पट्यार लाग्दो पनि । बरु उत्पादनमा संलग्न नहुने तर बजारीकरण अभ्यस्त एउटा शृङ्खला त झनै जटिल छ । त्यसैले हाम्रा कृषक भन्छन्, “उत्पादन शृङ्खलाका लागि सामग्री जुटाउन त कठिन छ, उत्पादित सामग्री बिक्री गर्न अझ कठिन छ ।” 

कृषिजन्य बजारका तीनवटा पाटा छन्, जसमा जिउँदो पशुपन्छीको बजारीकरण, पशुपन्छीजन्य उत्पादनको बजारीकरण र हरियो ताजा तरकारी उत्पादनको बजारीकरण छन् ।

जिउँदो पशुपन्छीको बजारीकरण

जिउँदो पशुपन्छीको बिक्रीवितरण शताब्दीदेखि हुँदै आएको देखिन्छ । जुन प्रारम्भिक अवस्थामा साटासाट व्यवस्थाअनुसार गरिन्थ्यो । तर क्रमशः यो अवस्था बजारीकरणतर्फ गएको चाहिँ विगत तीन दशकदेखि मान्न सकिन्छ । हाम्रो परिप्रेक्ष्यमा पशुपन्छीहरू खास गरी कुनै मेला, नियमित बिक्रीस्थल तथा साप्ताहिक, मासिक हाट बजारमा बिक्री गरिने प्रचलन छ  । मेलाहरूमा बिक्री गरिने पशुपन्छीमा भारी बोक्ने, जोत्ने, गाडा तान्ने अनि सोख एवं मनोरञ्जनका लागि प्रयोग गरिने पशुपन्छीकै खरिद बिक्री हुने गर्छ । तर नियमित अनि साप्ताहिक एवं मासिक रूपमा लाग्ने पशुपन्छी बजारमा भने दुधालु गाईभैँसी र बाँकी मासुको प्रयोजनका लागि पशुपन्छीको खरिद बिक्री हुने गर्दछ । हाम्रो आफ्नो परिवेशमा पूर्वको झापादेखि पश्चिम नेपालगञ्जसम्ममा अव्यवस्थित रूपमा नियमित, साप्ताहिक एवं मासिक गरी अनुमान ६०–७० वटा जति पशुपन्छी बजार सञ्चालित छन्, जुन संस्थागत, व्यक्तिगत रूपमा नियन्त्रित छन् । 

पशुपन्छी बजारको वर्तमान अवस्था

१. स्थानीय निकायबाट पटके सञ्चालित तर कार्यविधिविहीन ।

२. पशु बजार ठेकापट्टामा आधारित उक्त बजारमा बिक्री गर्न ल्याउन चाहनेलाई कति शुल्क लाग्ने अनिश्चित । 

३. अव्यवस्थित निजी, पर्ती वा सरकारी खाली भूमिमा सञ्चालित बिक्रेतालाई अपायक हुने गरी ।

४. पारवाहनको उचित व्यवस्था नभएका वा चर्को पारवाहन शुल्क तिर्नुपर्ने ।

खरिद बिक्री व्यवस्थाः

१. पत्यक्ष कुराकानीबाट मोल गरी । 

२. मध्यस्थकर्ताको माध्यमबाट मूल्य तय ।

प्रत्यक्ष कुराकानीबाट पशुपन्छीको मूल्य तय गर्दा क्रेता तथा बिक्रेताबिच लुगाले हात छोपी औँलाले छामी, सिङ्गो औँलाको गिर्खा छामी गरिन्छ ।

सामान्य मध्यस्थकर्ता दुई किसिमका हुने गर्छन् । एकथरी यस पेसामा स्थापित दलाल र स्थानी व्यापारीका रूपमा रहेका हुन्छन् । यिनीहरूले पशुपन्छीको बाहिरी आकृति बजारको साङ्केतिक भाषाअनुसार मूल्य निर्धारण गर्ने गर्छन् । त्यो क्रेता बिक्रेतालाई थाहा नहुन सक्छ । यो यिनको आम्दानीको स्रोत पनि हो ।

जिउँदो पशुपन्छी बजारमा देखिएका अप्ठ्याराः

–भौतिक संरचनको न्यूनता,

–अपत्यारिला, मध्यस्तकर्ता दलाल, तिनले क्रेता, बिक्रेतालाई ठग्ने प्रवृत्ति,

–पारवाहन जनावर बजारमा ओराल्ने र चढाउने संरचनाको अभाव,

–पशुपन्छी तथा पशुपन्छीधनीका लागि सुरक्षित गोठ अनि आवासको व्यवस्थाको अभाव,

–हाटबजारमा आउने पशुपन्छीको रोगसम्बन्धी जाँच र नियन्त्रणको सुविधाको अभाव ।

जिउँदो पशुपन्छी बजारका लागि गरिनुपर्ने केही सुधार 

–पशुपन्छी तथा क्रेता बिक्रेताका लागि न्यूनतम् पूर्वाधारको व्यवस्था,

–व्यवस्थित बजार व्यवस्थापन, मध्यस्थकर्ता, परिचय पत्रसहित दलाल व्यवस्थित गर्नुपर्ने ।

–वैज्ञानिक मूल्य निर्धारण, त्यो पनि पशुको बाह्य गुण एवं उत्पादकत्वका आधारमा पशु चिकित्सकबाट निर्धारण हुनुपर्ने ।

–बजार प्रवेश शुल्क व्यवस्थित गरी बुझाउनुपर्ने ठाउँ निर्धारण ।

–बजारीकरणको सूचनाको सहजीकरण ।

–पशु स्वास्थ्य सेवा तथा पशु रोग अन्वेषण तथा शङ्कास्पद, सङ्क्रामक तथा सरुवा रोग अनुगमनको व्यवस्था अनिवार्य हुनुपर्ने ।

पशुपन्छीजन्य उत्पादनको बजारीकरण

पशुजन्य उत्पादनको जैविक प्रकृतिका कारण यिनको बजारीकरण अन्य औद्योगिक उत्पादनभन्दा फरक हुन्छ । लामो समय यसै राख्दा बिग्रने सम्भावना बढी हुने गर्छ । त्यस कारण यिनको बजारीकरण झन्झटिलो, जोखिमपूर्ण, घाटापूर्ण पनि मानिन्छ । यिनको ओसारपसारका लागि महँगो भण्डारण व्यवस्था तथा प्रविधियुक्त चिस्यान पारवाहन सुविधाको आवश्यकता पर्दछ । यी सबै व्यवस्थापन गर्दा बजारीकरणको खर्च बढ्छ । यसरी पारवाहन गरिएका सुरक्षित पशुपन्छीजन्य उत्पादनको मूल्य अलिकति त बढ्ने नै भयो ।

दूध बजारीकरणको स्थितिः

हाम्रो परिवेशमा करिब ७०–८० प्रतिशत दूध बिक्रीवितरण अव्यवस्थित छ भन्दा हुन्छ । बाँकी दूध बिक्रीवितरण दुग्ध सहकारीमार्फत गरिने गरिएको छ । यसअन्तर्गत तीन खुड्किला व्यवस्था अनुुसार गरिन्छ । व्यक्तिगत कृषकले स्थानीय सहकारीलाई दूध बिक्री गर्छन् । सहकारीले नजिकैको दूध चिस्यान केन्द्रमा बिक्री गर्छन्, चिस्यान केन्द्रबाट आआफ्ना दुग्ध प्रशोधन उद्योगले खरिद गरी लैजाने व्यवस्था छ ।

मासुको बजार र बजारीकरणः

मासुको बजारीकरण सबैभन्दा अव्यवस्थित छ  । यसको नियमन, अनुगमनको कुनै सरकारी एवं निजी तथा गैह्रसरकारी स्थानीय निकाय छैन । हाम्रो जस्तो मुलुकमा स्थानीय मासु व्यवसायी र थोक एवं खुद्रा मासु व्यवसायीको यसमा हालीमुहाली रहेको छ भन्दा हुन्छ । यिनीहरूको स्थानीय उत्पादक व्यापारीसँगको लगनगाँठोले गर्दा पशुपन्छी खरिद गरी ल्याई सहरी बजारका खुद्रा मासु बिक्रेतालाई बिक्री गर्ने गर्छन् । यसले गर्दा न त उत्पादकले उचित मूल्य पाउँछन् न त उपभोक्ताले नै स्वच्छ, सफा, स्वस्थ्य मासुजन्य उत्पादन उचित मूल्यमा पाउँछन् । यसको मुख्य कारण व्यवस्थित वधशाला नहुँदा, मासु जाँचसम्बन्धी कानुनी व्यवस्था लागू गर्न नसकिएको अवस्थालाई मान्न सकिन्छ ।

ब्रोइलर कुखुराका चल्ला बजारीकरणः

चल्ला बजारीकरण भयावह छ । न एक दिने चल्ला बेलामा पाइन्छ, न मूल्य स्थिर छ । तयारी कुखुरा बेलैमा बिक्री हुने सुनिश्चितता छैन । लामो समयसम्म तयारी ब्रोइलर कुखुरा पालिराख्दा रोगको जोखिम त छँदै छ, त्यसकै असर काठमाडौँ उपत्यकामा दिनकै रोग फैलिएको हुन सक्छ ।

बजारीकरणमा देखिएका समस्याः

१. अव्यवस्थित बजार व्यवस्थाले उत्पादक किसान घाटामा र विचौलिया नाफामा छन् ।

२. अवैज्ञानिक र हचुवा भरमा मूल्य निर्धारण व्यवस्था छ ।

३. कमजोर बजार सूचना प्रणाली ।

४. जैविक प्रकृतिका उत्पादन चाँडै बिग्रने हुँदा ओसारपसारका लागि उपयुक्त पारवाहनको अभाव । 

५. स्वच्छ, स्वस्थ्य, सफा पशुपन्छी जन्य उत्पादनको घरेलु सुनिश्चितता नहुँदा अन्तर्राष्ट्रिय बजारीकरणको सम्भावना न्यून छ । बरु विदेशी उत्पादनले बजार लिएको स्थिति छ । 

६. उदारीकरण, निजीकरण अनि विश्व व्यापार सङ्गठनको नीतिअनुसार प्रतिस्पर्धात्मक बजारमा हाम्रा स्थानीय उत्पादन प्रतिस्पर्धा गर्न नसक्ने ।

सुधार गरिनुपर्ने कार्यः

–दुग्धजन्य उत्पादनका लागि उपयुक्त ठाउँमा चिस्यान केन्द्र, दुग्धजन्य उद्योगको स्थापना गर्ने ।

–व्यवस्थित वधशालाको निर्माण, नियमन, अनुगमन अनि मासुजन्य उत्पादनको बजारीकरण एवं प्रमाणीकरण उचित पारवाहन एवं भाण्डारण तथा बिक्रीवितरणका लागि कानुनी प्रावधान ।

–वैज्ञानिक एवं व्यावहारिक मूल्य निर्धारण र अनुगमन ।

–बजार व्यवस्थाको वैज्ञानिक सूचना प्रवाह उत्पादक तथा उपभोक्तलाई ।

उदारीकरण, निजीकरण, विश्व बजारीकरणको विश्व व्यापार सङ्गठनको अवधारणाअनुुसार हाम्रा केही पशुजन्य उत्पादन विश्व बजारमा पठाउन सकिने सम्भावना छ ।  तर त्यसको पूर्वसर्त भनेको तिनको मौलिक गुणस्तर, शुद्धता, स्वच्छता तथा सफा भएको अन्तर्राष्ट्रिय स्तरको प्रामाणीकरणको कानुनी व्यवस्था तथा अवलम्बन पनि हो । यसको अभावमा अन्तर्राष्ट्रिय बजारमा हाम्रो पहुँचको त कल्पना गर्न सक्दैनौँ नै हाम्रा आफ्नै बजारमा छिमेकी पसे भने किन पुर्पुरोमा हात हाली बस्ने ?

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

डा. केदार कार्की
डा. केदार कार्की
लेखकबाट थप