विष्णु सापकोटाको ‘अडिएका पाइला’ लोकार्पण
काठमाडौँ । विष्णु सापकोटाको उपन्यास ‘अडिएका पाइला’ लोकार्पण भएको छ । काठमाडौँको प्रज्ञा–प्रतिष्ठानको डबलीमा शनिबार आयोजित एक कार्यक्रममा लेखक मञ्जुश्री थापा र विष्णु सापकोटाले पुस्तक लोकार्पण गरे ।
कार्यक्रममा लेखक तथा अनुवादक मञ्जुश्री थापाले पुस्तकमा बौद्धिक तहका युवाहरूको एउटा जेनरेसनको चित्रण रहेको बताइन् । सापकोटाले यति सुन्दर उपन्यास ल्याएकामा उनले बधाईसमेत दिइन् ।
‘विश्लेषणात्मक विचार लेख्नुहुने विष्णुजीले किन उपन्यास लेख्नुभयो भनेर ममा प्रश्न उब्जिएको थियो, उपन्यासकै विषयवस्तु गैरआख्यान विधामा पनि लेख्न मिल्थ्यो,’ लेखक मञ्जुश्रीले भनिन्, ‘पढ्दै गर्दा थाहा पाएँ, उपन्यासको विषय भावना हो, हरेक पात्रको भित्री संसार खुलाएर, नजिकबाट लेख्न मिल्छ । उहाँले प्रेममा हुने भावनात्मक गल्तीलाई नजिकबाट यस उपन्यासमा दर्साउनुभएको छ ।’
पुस्तकमा त्रिभुवन विश्वविद्यालयको आन्तरिक वातावरणको राम्ररी चित्रण गरिएको छ । ‘यो क्याम्पस नोबेल हो, यो एउटा प्रेम कथा हो । यो उत्तरद्वन्द्वकथा हो, यस उपन्यासमा क्रान्तिपछिको युवापुस्ताले खोजेको परिवर्तन र उनीहरूमा रहेको दुबिधाको राम्ररी चित्रण गरिएको छ,’ थापाले भनिन्, ‘हाम्रो समाज कति तरल छ भनेर त्रिभुवन विश्वविद्यालयका माध्यमबाट देखाइएको छ । म आफू त्रिभुवन विश्वविद्यालय नपढेकी हुनाले पुस्तकमा उल्लेख गरिएका विषयवस्तुले मलाई अति नै छोए । चासोपूर्वक पढेँ ।’
पुस्तकमा पात्रहरू एकै उमेरका रहेको र जसले के गर्दा ठिक, के नगर्दा ठिक भन्ने उमेरका युवाहरूको चित्रण गर्ने उनको भनाइ छ ।
पुस्तकबारे लेखक नारायण वाग्लेले यस उपन्यासमा प्रेममा राजनीति र राजनीतिमा प्रेमको चित्रण भएको बताए । उपन्यासको पाण्डुलिपिसमेत पढेका लेखक वाग्लेले भनेका छन्, ‘पात्रहरू सबै एउटै तरिकाले बोल्छन् भन्नु यो उपन्यासको एउटा आलोच्य पक्ष होला, तर यो कथाको यो पनि एउटा शैली साबित हुन पुग्नेछ । यसमा कीर्तिपुरको गजब चित्रण छ, जो भोगेर मात्र लेख्न सकिन्छ ।’
अडिएका पाइलाका लेखक विष्णु सापकोटा आजबाट उपन्यासका पात्रलाई बिदाइ गरेको भन्दै भावुक भए । ‘मैले उपन्यास लेख्नुपर्ने भएर लेखेको हुँ,’ सापकोटाले भने, ‘मैले सपनामा एक चिज देखें, त्यो चित्र मलाई बारम्बार स्मरणमा आइरह्यो । कथा घट्यो अनि उपन्यास लेखें । लेख्न बसौं भनेर उपन्यास लेखेको हैन ।’
बेलायतको क्याम्ब्रिज विश्वविद्यालयबाट एमफिल गरेका विष्णु सापकोटा दर्शन र सिद्धान्तमा रुचि राख्छन् । त्रिभुवन विश्वविद्यालयमा केही वर्ष अङ्ग्रेजी साहित्य प्राध्यापन गरेका उनी अहिले एक अन्तर्राष्ट्रिय संस्थाको नेतृत्वदायी भूमिकामा क्याम्बोडियामा कार्यरत छन् । उनले दुई दशकदेखि समाज, साहित्य र राजनीतिमाथि लेख्दै आएका छन् । ‘अडिएका पाइला’ उनको पहिलो उपन्यास हो ।
तीक्ष्ण दिमाग र पाको स्वभावकी अनसूया दर्शनमा रुचि राख्छिन् । भर्खर विश्वविद्यालयको पढाइ सकेर अध्यापन थालेका अस्तित्व विद्यार्थीबीच प्रिय छन् । जीवनका गहिरा प्रश्नको मन्थनमा आफैँसँग रमाइरहेका तिनै अस्तित्वलाई एक नियतिजन्य भेटले अनसूयासँग जोड्छ । एकअर्कासँगको सामीप्य उत्कर्षमा पुगेका बेला उनीहरू थाहै नपाई सामाजिक रूपमा टाढा हुन थाल्छन् ।
जीवनका बाटा अलग हुन थाले पनि उनीहरू दुवैको समय त्यही बिन्दुमा रोकिए जस्तो हुन्छ, जतिखेर उनीहरू भौतिक र मानसिक रूपमा सँगै हुन्छन् । कथाको एक नाटकीय मोडमा संवेदनशील वन्दनाको निर्दोष प्रवेश हुन्छ । अनसूया र अस्तित्वको खास समस्या के होला भनेर बुझ्दाबुझ्दै उनी आफू स्वयम् उनीहरूको जटिलताको अंश बन्न पुग्छिन् ।
अनौठो प्रेमकथालाई सूक्ष्म रूपमा बुनिएको उपन्यास अडिएका पाइलामा पात्रका सम्बन्ध पटाक्षेप हुँदै गर्दा पाठकले एउटा बौद्धिक उडान भरेको महसुस गर्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : मधेस प्रदेशको सरकार फेर्न कांग्रेस-एमालेले कम्मर कसेकोदेखि सरकारकै कारण अधिकांश ठूला आयोजना निर्माणमा ढिलाइसम्म
-
पाठेघरको क्यान्सर पीडित आमाको उपचारका लागि सहयोगको याचना गर्दै अनिता
-
जीवी राईलाई पक्राउ गर्न मलेसियाको गृहमन्त्रीसँग कुरा गरेको थिएँ : रवि लामिछाने
-
फिलिपिन्सको राजधानीमा भीषण आगलागी, दुई हजार परिवार घरबारविहीन
-
आत्मानन्द गोल्डकप : सिरिजङ्घाको विजयी सुरुवात
-
‘नेपाली साहित्यमा महिलाको भाषा आउनुपर्छ’