डाँडामाथि डुङ्गा र रेसिडेन्सी आर्टका कुरा
दुई साताअघि मैले दुईदिने धुलिखेलको यात्रा गरेँ । पर्यटन रमाउने धुलिखेलको भट्टेडाँडामा गरिएको कला प्रदर्शनी हेर्नका लागि मलाई कलाकार रवीन्द्र श्रेष्ठबाट विशेष निमन्त्रणा आएको थियो ।
सुनसान डाँडामाथि टक्रक्क डुङ्गा राखिएको छ । ढुंगाभित्र सानो टेबलमा केही पुस्तक छन्, योसँगै एउटा गितार पनि राखिएको छ । डुंगाभित्र बसेर पुस्तक पढ््न, गितार बजाउन वा यताउताका मनमोहक दृश्य नियाल्न सकिन्छ । म त्यहाँ पुग्दा स्थानीयवासी र त्यतातिर घुम्न जाने पर्यटकले अचम्म मानी डुङ्गाप्रति जिज्ञासु भएको देखिन्थ्यो । केही भावक डुङ्गामाथि बसेर रमाउँदै थिए । वरपरका गाउँलेहरू थकाइ मार्न र गफगाफ गर्न पुगेका थिए । कतिपय डुंगामाथि बसेर चारैतिर नियालिरहेका थिए ।
गाउँलेहरू भन्दै थिए — यो डुङ्गा कहाँबाट, कसले किन यहाँ ल्याएको होला, न खोला–नदी छ, न पोखरी ! यसको उत्तर कसैले दिन सकिरहेका थिएनन् । यो अनौठो परिदृश्य कलाको रूपमा देखिनु कमसे कम नेपालको कला इतिहासमा सर्वथा नयाँ प्रयोग मान्नैपर्छ । कलाकार रवीन्द्र श्रेष्ठले केही समययता डुंगालाई पात्र बनाएर विभिन्न शैलमिा कला प्रदर्शनी गर्दै आएका छन् । यसपालिको प्रदर्शनी नेपालमा देखापरेको पब्लिक आर्टको अनौठो स्वरूप हो । कलाकार श्रेष्ठले यसपालि गाउँघरमै कला पुर्याउने जमर्को गरेका रहेछन् । झट्ट हेर्दा एउटा डुङ्गा पहाडमाथि थचक्क बसेको जस्तो देखिन्छ । यो डुङ्गालाई काठमाडौँदेखि यहाँ ल्याइएको हो ।
काठमाडौँ घुम्न आएकी इनेस नाम गरेकी एक स्विस महिला यहाँको कला प्रदर्शनी हेर्न काठमाडौँबाटै ट्याक्सी लिएर पुगिछन् । सोसियल मिडियाबाट पहिलेदेखि नै रवीन्द्रका यस्ता–यस्तै कलाबारे सुनेकी इनेसलाई डुङ्गामाथि बस्ने रहर जागेको रहेछ । उनले कलाकार, कलाकारको परिवारसँगै डुङ्गामाथि घन्टौँ बसे आनन्द लिइछन् । यसरी आनन्दानुभूति लिएबापत कलाकारलाई ३५० डलर हातमा राखेर फर्किछन् । यसरी कलाबाट आफूले पाएको आनन्दानुभूतिको मूल्य चुकाउनु पनि कलाको सम्मान हो । अन्य सिनेमा वा नाटक अहिले आएर कविता श्रवण गर्न टिकट काटेजस्तो कलामा चाहिँ कला हेरिसकेपछि पैसा दिनु पनि अब नयाँ प्रचलन बनेजस्तो भयो ।
कलाकार श्रेष्ठले यसपालि यस्तो किसिमको कला प्रदर्शनी किन गरे ? ‘कलासँग भावकको अचानक भेटघाट गराउन खोजेको,’ उनले भने । अक्टोबरको दोस्रो सातादेखि सुरु भएको यो कलागत–कार्यक्रम कति समय चल्ने हो निश्चित छैन । श्रेष्ठका अनुसाार, यो डुङ्गाले आफ्नो पुनः यात्रा सुरु गरेर अन्त नगएसम्म यो प्रदर्शन चलिरहनेछ ।
श्रेष्ठ आफैँ कलाकार, आफैँ आयोजक भएकाले यो कला प्रदर्शनी अलि युनिक हुन गएको हो । हुन त कलाकार रवीन्द्र कलामा यस्तायस्तै कलागत उपद्रो गरी बस्छन् । कलाको यस्ता कार्यक्रम गर्ने विश्वको प्रचलनमा यो सर्व नवीन कलागत प्रवृत्ति पनि हो ।
सुरुमा स्थानीयवासीले एकाबिहानै आफ्नै घर–आँगनको छेउको डाँडामा अजङ्गको डुङ्गा देख्दा अचम्म परेका परेछन् । उनीहरु रमाइलोका लागि ढुंगामा बस्ने पनि गर्दा रहेछन् । थाहा नै नपाएर गाउँलेहरुले यस कलाको रसास्वादन गर्ने, आफैँ खोजी–खोजी अवलोकन गरेको पनि पाइयो । साँचो अर्थमा भन्ने हो भनेदेखि यो कला आम मान्छेका लागि रमाइलोको वस्तुका रूपमा देखापरेको थियो ।
आर्ट रेसिडेन्सी
यसपालि फरक शैलीको अर्को कला प्रदर्शनी पनि ललितपुरमै गरियो । यस प्रदर्शनीबारे बुझ्न अलिकति ‘आर्ट रेसिडेन्सी’को चर्चा गरौँ । कलाको सिर्जन प्रक्रियादेखि अन्ततः एउटा समूहगत कला प्रदर्शनीमा आएर टुङ्गिने कलागत प्रक्रियालाई आर्ट रेसिडेन्सीका रूपमा बुझ्न सकिन्छ । सामान्यतः कला रेसिडेन्सीमा दुर्ई तहका काम हुन्छन् । सुरुमा कलाकारहरू (यस्ता कलाकारलाई गेस्ट आर्टिस्ट भन्ने प्रचलन छ) एकै ठाउँमा बसेर एउटै थिममा रमाइलो गफगाफ गर्दै महिना, दुई महिना (कहिलेकाहीँ योभन्दा बढी पनि)सम्म कला सिर्जनामा लाग्छन् । यसै बेला बनेका कलालाई सर्वसाधारणका लागि प्रदर्शन गरिन्छ । कला रेसिडेन्सीको मूल लक्ष्य भनेकै कला सिर्जना गर्न कलाकारलाई सहयोग गर्नु हो । नेपालमा यसको इतिहास त्यस्तो लामो नभए पनि युरोपमा निकै अघिदेखि यसको अभ्यास हुँदै आएको देखिन्छ ।
‘क्लासिक आर्टिस्ट इन् रेसिडेन्सी–२०२३’को आफ्नो तेस्रो संस्करण गत २८ फेब्रुअरीदेखि १३ मेसम्म चलेको थियो । त्यति बेला बनाइएका कलाहरूलाई क्लासिक कला दीर्घाले ‘प्यानोरमा’का नाम दिएर भर्खरै (८ अक्टोबरदेखि १० नोभेम्बरसम्म) प्रदर्शन गर्यो । यसपालिको कलाको थिम ‘कन्टेम्पोररी एप्रोच टु सोसिएल एन्ड कल्चरल भ्यालु अफ नेपाल’ राखिएको थियो ।
गएको एक दशकदेखि नेपाली कला बजारमा हट–केकजस्तै भएर छाएको यस्ता खाले कला रेसिडेन्सीले विशेष गरेर युवा कलाकार (अझ बढी महिला कलाकार)लाई निकै आकर्षित गरेको छ । विश्व कला बजारमा यस्ता रेसिडेन्सी कार्यक्रम खुबै हुने गर्छन् । दर्जनौँ नेपाली युवा कलाकार विदेशमा आयोजना हुने यस्ता कार्यक्रममा सहभागी हुने गरेका छन् । अनलाइनबाट छानिएरै यस्ता कार्यक्रममा भाग लिइसकेका कलाकारको सङ्ख्या नेपालमा पनि निकै भइसक्यो ।
अहिले नेपालमै कलाका निकायले यस्ता कार्यक्रम विभिन्न तरिकाबाट गर्न थालेका छन् । यसपालि क्लासिक कला दीर्घाले आयोजना गरेको यो कला रेसिडेन्सीमा चार महिला कलाकार संलग्न छन् — तारा तामाङ, दीपमाला महर्जन, नम्रता सिंह र रबिता किसी । कला प्रदर्शनी हुने बखतमा अन्य दुई कलाकार चन्दा श्रेष्ठ, अनि ज्यासमिन राजभण्डारीका चित्र पनि प्रदर्शित छन् ।
यो ग्यालरीकी सञ्चालक, क्युरेटर कलाकार सरिता डंगोल भएकाले प्रायः यहाँ महिलालाई विशेष केन्द्रमा राखेर कार्यक्रम हुँदै आएको देखिन्छ ।
यो खालको रेसिडेन्सी कार्यक्रम नेपालमा पहिलो भने होइन । यस ग्यालरीबाहेक ‘विकल्प’ (सरोज कुशहवा, महिमा सिंहको), ‘बिन्दु’ (पृथ्वी श्रेष्ठ अनि शौर्यगंगा दर्शनधारीको), ‘एम क्युब’ (मनीषलाल श्रेष्ठको), ‘स्पेस’ (जुपिटर प्रधानको), ‘एनेक्स’ (अस्मिना रञ्जितको), ‘सिद्धार्थ कलादीर्घा’ (संगीता थापाको) आदिले पनि अलग–अलग प्रकृतिमा यस्ता कला रेसिडेन्सी गर्दै आएका छन् ।
कलाकारहहरूको काम
वैकल्पिक कलामा युवा पंक्तिकी सशक्त अनि सक्रिय कलाकार हुन्, दीपमाला महर्जन । उनी लेख्छन् पनि, बौद्धिस्ट स्टडीमा पीएचडी समेत गर्दै छन् । लामो समयदेखि सामाजिक मुद्दाहरूमा विशेष गरेर लैङ्गिक सवालहरूमा निरन्तर रूपमा काम गर्दै आइरहेकी उनका कलाको स्वरूप, प्रकृति अहिलेको अत्याधुनिक कलाको फर्महरूमा आबद्ध भएका हुन्छन् ।
एउटा अर्थ, अवधारणा बोकेर देखापर्ने उनका कलाहरूले इन्स्टलेसन, पर्फर्र्मेन्स वा भिडियो आर्ट वा कोल्याबोरेटिभ आर्टकै रूपमा भए पनि महिलालाई शक्तिशाली पात्रका रूपमा उभ्याएका छन् । लैङ्गिक विभेदको विषयमा रहेको उनको राम्रो पकड, अनि सशक्त शिल्प दक्षताले गर्दा उनका कुनै पनि कला खारिएको रूपमा देखिन्छन् ।
‘रेड इन् न्यु ह्वाइट’ नामक उनको यसपल्टको काममा अलौकिक चमक छ । रातो फूल, फूलबाट झरिरहेको रगत, पृष्ठभूमिमा धमिलो रूपमा देखापरेको गुप्ताङ्ग, सेतो हात्ती, अर्धनग्न परीको भेषमा महिला आदि हेर्दा उनले बटुलेका मोटिफ अनि संरचनाले महिलाले भोगेको पीडा (विभेद) लाई प्रस्फुटन गर्दछ । अर्को चित्रमा निर्जल सर्वाङ्गमा सेतो पृष्ठभूमिमा सुन्दर मुलायम पानीहाँसले कमलको फूल च्याप्दै गरेको अनि अनेक कमलका फूलले चित्रपट शोभायमान हँुदा पनि अशुद्धता कहाँ छ र जस्तो अनुभूत हुन्छ । एउटा बगेको रातो लय उनको हरेक क्यानभासमा देखिन्छ । अर्कोतिर सेतो पृष्ठभूमिमा सामाजिक विभेद पनि छ, अनि यसैभित्र कटाक्ष पनि अनि यसैको विरोधाभासमा उनको गर्जन पनि छ ।
मूल कलागत विषयअन्तर्गत पनि उनले अनेकौँ उपनाममा अलग–अलग चित्रहरूको निर्माण गरेकी छन् । जस्तो कि : ‘पोस्टपार्टुम रेड’, ‘मेन्सुरल रेड’, ‘रेड इन भर्जिन’ आदि । लैङ्गिक विभेदको एउटा महत्त्वपूर्ण सवाल, महिलाको शरीर, गुप्ताङ्ग, सेक्सुआलिटी, भर्जिनिटी, फर्टिलिटी, डेलिभरी, मेन्सुरेसनको सन्दर्भमा समाजले उठाउने गरेका अनेकौँ प्रश्नमाथि उनका कला आबद्ध भएका हुन्छन् ।
रातो रगत यसपल्टको उनले मूल विषय हो । महिनाबारीको बेला, पहिलो सम्भोगका बेला, बच्चा जन्माउने बेला बगेका अथाह रातो रगत सामाजिक रूपमा किन वर्जित छन् ? यो किन अशुद्ध छ ? यहीँनेर उनलाई असजिलो हुन्छ अनि उनी कलामार्फत भन्छिन्, यो रगत पनि अन्य रगतजस्तै शुद्ध र सफा छ । यही गर्जन उनको क्यानभासमा देखिन्छ । उनको क्यानभासमा सम्पूर्णमा अनुभव हुने सफा र शुद्ध सेतो रङसँगै रातोरङ पनि आउँछ ।
अर्की कलाकार नम्रता सिंहले मैथिली लोककलाका मोटिफलाई समसामयिक सन्दर्भमा प्रयोग गर्दै आएकी छन् । यस्तो शैलीमा उनी अघिल्लो पङ्तिमै देखिन्छिन् । विशेष गरेर महिलाका आकृतिलाई विम्बका रूपमा ल्याउने नम्रताले मैथिली संंस्कृतिका वेशभूषा, मुखाकृतिलाई समसामयिक कलाका विशेषतालाई फ्युजनका साथ प्रस्तुत गरेकी छन् । यसपल्ट हरेकजसो चित्रपटमा उनले कुनै न कुनै कुनामा देवीलाई स्थापित गर्न पुगेकी छन् । शान्त, स्थिर, सरल र सहज देखिने यी रूपहरूले केही प्रश्न तेर्साएको आभास हुन्छ– देवीलाई आस्था र भक्तिका साथ पूजा–अर्चना गर्ने समुदायले आज महिलालाई किन हेलाहोँचो र विभेद गर्छन् ? ‘गडेस अफ स्ट्रेन्थ’, ‘गडेस अफ नेचर’, ‘मदर अर्थ’, ‘ट्युन अफ प्रस्पेरिटी’ आदि शीर्षकका चित्रमार्फत उनले लैङ्गिक विभेदको एउटा कोणलाई दृश्यावलोकन गरेकी छन् ।
यस्तै, समसामियक प्रिन्ट मेकिङ कलामा सिद्धहस्ता देखाइसकेकी रबिता किसी युवा पिँढीकी एक सशक्त कलाकार हुन् । गएका वर्षहरूदेखि उनी ढुङ्गेधारा अनि यसैसँग जोडिएको हाम्रो संस्कृति, आममान्छेको खानेपानीको व्यवस्था आदिलाई आज संरक्षण नगरी भत्काएको प्रति उनको गुनासो छ, दुखेसो छ । यसैको प्रतिविम्बहरू उनका क्यानभासमा देखिन्छन् ।
प्रिन्ट मेकिङ कलामा राम्रो दक्खल देखाइसेककी तारा तामाङ अर्की सशक्त युवा कलाकार हुन् । शुभारम्भका दिनदेखि नै बौद्धिस्ट तत्त्वलाई कलामा समावेश गर्दै ध्यानलाई केन्द्रमा राखेर चित्र बनाउने हुँदा उनका चित्र सुपर रियालिस्ट फर्ममा देखापर्ने गर्छ । उनले आर्जन गरेको गहन अनुभूति, अध्ययन आदिले गर्दा उनका कला अलग्ग प्रकृतिका देखिन्छन् । परम्परागत थाङ्का चित्रबाट समसामयिक कलामा प्रयोगात्मक काम गर्दागर्दै स्वभावतः धर्म, ध्यान शान्ति, समृद्धि आदिलाई महसुस गर्न सकिन्छ । माइन्ड, बढी र स्पिरिटका कुरा गर्न रुचि राख्ने तारा ‘यु आर ह्वाट यु इट’, ‘बेटर फुड बेटर मुड’ आदि नामकरणका साथ देखापर्दा पनि कलाभित्र ज्ञानगुनका अवयव सलबलाइराखेको महसुस हुन्छ ।
कलालाई ध्यानको एक अभिन्न अङ्ग ठान्ने ताराले आफ्नो कलाको नाम पनि ‘लेट्स ओपन ह्यापिनेस’ भन्ने राखेकी छन् । हेल्दी फुडको वकालत गर्दै खानाको बानीलाई नै मुख्य विषय बनाएर उनले यसपल्ट आफ्नो कामलाई प्रस्तुत गरेकी छन् ।
विश्वको प्ररिप्रेक्ष्यमा कला रेसिडेन्सी
इतिहास खोतल्दै जाँदा सबैभन्दा पहिला कला रेसिडेन्सी युरोपमा १६औँ शताब्दीमा देखापरेको थियो । सन् १५६३ मा कलाकार कोसिमो आई डे मेडिसी र जर्जियो भेसारीले कलाकारको हितलाई सम्बोधन गर्नका लागि पहिलोपल्ट ‘एकाडिमिया डेले अर्ती डेल डिसेग्नो’ स्थापना गरेका थिए । जसलाई पहिलो एकेडेमी अफ आर्ट पनि मान्ने गरिँदो रहेछ । यसैलाई कलाकारको फाइदाको कुरा गर्ने पहिलो कलाको संस्था मानिन्छ । राजा–महाराजा र धनाढ्य व्यक्तिले कमिसन वर्कका रूपमा कला सिर्जना गराउने सन्दर्भभन्दा नितान्त अलग्ग रूपमा यो निकायको स्थापना भएको रहेछ । यहीँबाट प्राज्ञिक व्यक्तित्वहरूको समूहगत प्रयासको सन्दर्भमा एकेडेमीको अवधारणा जन्मेको हो ।
१७औँ शताब्दीमा आएर फ्रान्स सरकारले कलाकारका लागि भनेर पहिलोपल्ट आर्थिक सहायता गर्यो । कलाकारका लागि स्करलरसिप जस्तो सहयोग प्रदान गरी त्यस बेला तीन वर्षदेखि पाँच वर्षसम्म कलाकारलाई आर्थिक रूपमा सहयोग गरिन्थ्यो । यसैको विकसित रूपमा २०औँ शताब्दीको बिचमा आइपुग्दा (सन् १९६० तिर) आर्टिस्ट रेसिडेन्सको ठूलो बाढीझैँ आएको देखिन्छ । अनि सन् २०१० सम्म आइपुग्दा विश्वभरि नै व्यापक रूपमा यसको अभ्यास भएको देखिन्छ । अहिले पछिल्लो कालमा आएर सन् १९६२ मा युनाइटेड किङडममा जन्मेको ‘आर्टिस्ट प्लेसमेन्ट ग्रुप’लाई आर्टिस्ट रेसिडेन्सीको पुनरावृत्ति गर्ने पहिलो संस्थाका रूपमा मान्ने गरिन्छ । यो ग्रुप कलाकारहरू बारबरा स्टेभेनी र जोन लथमको पहलमा गठन भएको थियो ।
आर्टिस्ट रेसिडेन्सको पनि गज्जबको परिभाषाहरू विकसित भएका छन् । ‘आर्ट इन् रेसिडेन्सी’ यस्तो कार्यक्रम हो, जहाँ होस्ट अर्गनाइजेसनद्वारा गेस्ट आर्टिस्टहरूलाई नयाँ वातावरणमा काम गर्न सक्षम बन्न एउटा मौेका प्रदान गरिन्छ । विशेष गरेर कलाकारले दैनिक भोगिरहेको एक प्रकारको दबाब अनि प्रतिबन्धबाट टाढा राखी अनुकूल स्पेस अनि समयको व्यवस्था गरिदिने यसको उद्देश्य हुन्छ । जसले गर्दा आर्टिस्टहरूले नयाँ–नयाँ आइडिया ल्याउन र सिर्जनशील कला बनाउन सहज होस् ।
(मल्ल कलाकार र कला समीक्षक हुन् ।)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माइतीघरमा आन्दोलन चलिरहँदा सर्वाेच्चमा प्रधान न्यायाधीशसहितको टिमले के गर्ला मुद्दा ?
-
नेकपा बहुमतको नवौं महाधिवेशन माघ ४ गतेदेखि काठमाडौँमा
-
अलैँचीको मूल्य उच्च विन्दुमा, किसान उत्साहित
-
सेयर बजार ३१ अंकले घट्यो, सवा ८ अर्बको कारोबार
-
भारतीय स्थल सेना अध्यक्ष द्विवेदीलाई मानार्थ प्रधानसेनापतिको दर्ज्यानी चिह्न प्रदान
-
करिब १७ प्रतिशतले राजस्व वृद्धि