खोटाङमा राष्ट्रिय परिचयपत्र दर्ता सुरु
खोटाङ । इलाका प्रशासन कार्यालय खोटाङले राष्ट्रिय परिचयपत्र दर्ता तथा वितरणको काम सुरु गरेको छ । जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने खोटेहाङ, जन्तेढुङ्गा र बराहपोखरी गाउँपालिकाका नागरिकलाई स्थानीय स्तरबाटै राष्ट्रिय परिचयपत्र दिलाउने लक्ष्यका साथ कार्यालयले खोटाङ बजारमा स्थायी दर्ता स्टेशन सञ्चालनमा ल्याइएको हो ।
जिल्लाको पुरानो सदरमुकामसमेत रहेको खोटाङ बजारमा राष्ट्रिय परिचयपत्र दर्ता तथा वितरणको काम सुरु भएपछि दिक्तेल धाउनुपर्ने समस्या समाधान भएको खोटेहाङ गाउँपालिकाका अध्यक्ष उदिम बहादुर राई ‘मुक्ति’ले जानकारी दिए । “दक्षिणी क्षेत्रका स्थानीय बासिन्दाका लागि परिचयपत्र बनाउन दुई दिन लगाएर सदरमुकाम दिक्तेल पुग्नुपर्ने अवस्था थियो । ढिलै भए पनि त्यो समस्या समाधान भएको छ ।
शुक्रबारदेखि इलाका प्रशासन कार्यालयमै नयाँ दर्ता तथा पुरानालाई वितरण कार्य सुरु भएको छ”, उनले भने, “अब फोटोसहितको मतदाता नामावली सङ्कलन र इ–पासपोर्ट (राहदानी) को काम पनि सुरु गर्ने तयारीमा छौँ । यी दुवै कामको विषयमा मन्त्रालयसँग कुरा भइसकेको छ । जिल्ला प्रशासन कार्यालयले पत्र लेख्नासाथ त्यो पनि सञ्चालनमा आउँछ ।”
स्थायी दर्ता स्टेशन सञ्चालनका लागि राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले एक जना तालिम प्राप्त कम्प्युटर प्राविधिक र इलाका प्रशासन कार्यालयले करारमा थप एक दर्ता सहायक नियुक्त गरेको अध्यक्ष मुक्तिले जानकारी दिए । कार्यालयमा सञ्चालन गरिएको उक्त दर्ता स्टेशनको प्रतिनिधिसभा सदस्य एवं पूर्वमन्त्री रामकुमार राई ‘पासाङ’ले औपचारिक रुपमा उद्घाटन गरेका थिए ।
गाउँपालिकाका अध्यक्ष मुक्ति, प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनार, गाउँपालिकाका उपाध्यक्ष रुपेश राई, जन्तेढुङ्गा गाउँपालिकाका उपाध्यक्ष खेमबहादुर खड्का, बराहपोखरी गाउँपालिकाका उपाध्यक्ष भुवलराज राईलगायतको उपस्थितिमा दर्ता स्टेशन स्थापना गरिएको थियो । स्थापनाको पहिलो दिन नै १० जना स्थानीयले सेवा लिएका छन् ।
खोटाङ बजारमा फोटोसहितको मतदाता नामावली सङ्कलन तथा ई–पासपोर्ट भर्ने र वितरण गर्ने वातावरण मिलाउन कार्यालय फर्किएलगत्तै सम्बन्धित मन्त्रालयमा अनुरोधपत्र लेख्ने प्रजिअ सुनारले जानकारी दिए । उनका अनुसार दश स्थानीय तह रहेको जिल्लामा अहिलेसम्म राष्ट्रिय परिचयपत्र र फोटोसहितको मतदाता नामावली सङ्कलनको काम घुम्ती शिविरबाहेक सदरमुकाम दिक्तेलस्थित जिल्ला प्रशासन कार्यालयमा मात्रै हुँदै आएको छ ।
राष्ट्रिय परिचयपत्रलाई सरकारले अनिवार्य बनाएपछि यसअघि दूरदराजका स्थानीय बासिन्दा दुई दिनसम्म लगाएर परिचयपत्र बनाउनका लागि सदरमुकाम दिक्तेल धाउन बाध्य थिए ।
राष्ट्रिय परिचयपत्रमा व्यक्तिको नाम, थर, जन्म मिति, लिङ्ग, आमाबुबाको नाम, ठेगाना, नागरिकताको किसिम, पति र पत्नीको नाम, बाजेको नामलगायतका व्यक्तिगत विवरणदेखि औँलाको छाप, आँखाको नानी, परिचयपत्र नम्बर, फोटो, राष्ट्रियता, हस्ताक्षरलगायत विवरण समावेश गरिन्छ । राष्ट्रिय परिचयपत्र नागरिकको वैयक्तिक तथा जैविक विवरण समावेश गरिएको राष्ट्रिय पहिचानसहितको बायोमेट्रिक सुविधायुक्त र बहुउपयोगी प्रमाणपत्र हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विकास परियोजनाको नाममा कालीगण्डकी नदीको अस्तित्व मेटिने चिन्ता
-
भ्रष्टाचार विरोधी आन्दोलन मधेसबाट सुरु भयो : आजपा
-
काठमाडौं प्लाजा सर्वसाधारणको सवारी पार्किङका लागि खुला हुने
-
रातको समयमा काठमाडौंंमा गयो भूकम्प
-
१२ बजे, १२ समाचार : बीआरआई ऋणमा स्वीकार्न नसकिने प्रधानमन्त्रीको भनाइदेखि आन्दोलनबाट क्षति पुगेको रास्वपाको निष्कर्षसम्म
-
सहकारी ठगी : पूर्वडीआईजी छविलाल जोशीलाई काठमाडौं ल्याएर दिनभर लिइयो बयान, अब पालो रविको