लोकगायक विमलराज क्षेत्री : गीतसंगीतले नै दियो, यसैले डुबायो
काठमाडौँ । जन्मदिनको अवसरमा शुभकामना दिने थुप्रै गीतसंगीत छन् नेपाली सांगीतिक बजारमा । तर, शुभकामना दिनेलाई धन्यवाद भन्ने गीत एउटा पनि थिएन । त्यो खडेरी अब टरेको छ । लोकगायक विमलराज क्षेत्रीले भर्खर ल्याएको ‘आज मेरो जन्मदिन’ गीतमा शुभकामना दिनेलाई धन्यवाद भनिएको छ ।
महिला र पुरुष दुई भर्सनमा रहेको गीतमा क्षेत्रीकै शब्द, संगीत छ । पुरुष भर्सनमा उनी आफैँले स्वर दिएका छन् भने महिलामा गायिका टीका कुमारी क्षेत्रीले स्वर दिएकी छन् । टीका विमलकी श्रीमती पनि हुन् ।
‘हामीले जन्मदिनको शुभकामना दिने गीत धेरै भेट्छौँ’, क्षेत्रीले भने, ‘शुभकामना दिनेलाई धन्यवाद भन्ने एउटा पनि रहेनछ । त्यो अभाव अब पूरा भयो ।’
धेरै अगाडि खट्किएको अभाव पूरा गर्न आफूले शुभकामना गीत बनाएको क्षेत्रीले खुलाए । उक्त गीतले सकारात्मक प्रतिक्रिया पाइरहेको छ । कतिले त दर्शन बोकेको गीत समेत भनेर प्रशंसा गरेको क्षेत्रीले सुनाए ।
विमलराज क्षेत्री नेपाली सांगीतिक क्षेत्रका चर्चित लोकदोहोरी गायक हुन् । उनका अधिकांश गीत लोकप्रिय छन् । कहिलेकाहीँ लोकगीतभन्दा केही फरक काम गर्न रुचाउँछन् उनी । त्यही सिलसिलामा पछिल्लो गीत बनेको हो ।
गायनको अलावा संकलन, संगीतकार र एरेन्जरका रूपमा समेत परिचित छन् क्षेत्री । नेपाली लोकगीत संगीतलाई चर्चा दिलाउन उनको महत्त्वपूर्ण योगदान रहँदै आएको छ ।
‘जापान टोकियो मैले चिट्ठी पठाएकै थिएँ, कता रोकियो’, ‘मधु वनैमा’, ‘सुपारी चाम्रो म के राम्रो छु र खै मायाको हेराइ हो राम्रो’, ‘बुट्टे रुमाल’, ‘आँठी स्वयम्बरको’ लगायत करिब ६ सयभन्दा बढी लोकदोहोरी गीत क्षेत्रीले सांगीतिक क्षेत्रमा दिएका छन् । जसमध्ये अधिकांश हिट ठहरिएका छन् ।
केही अगाडि क्षेत्रीका ‘मन दुखेको दसैँ’, ‘तनावै तनाव कठै मेरो जिन्दगी’, ‘घर त पर हो’ लगायत गीत आएका छन् । जसले राम्रो चर्चा पाइरहेको छ ।
पछिल्लो समय यता विमलराज क्षेत्रीले लोकगीत संगीत तयार गर्नुको अलावा डिजिटल प्लेटफर्म युट्युबमा ‘विमल चौतारी’ नामक लाइभ दोहोरी कार्यक्रम सञ्चालन गर्दै आएका छन् । केही अगाडिसम्म यो कार्यक्रम योहो टेलिभिजनमा पनि आउँथ्यो । युट्युबमा ‘विमल चौतारी’ कार्यक्रम समय माग रहेको उनी भन्छन् ।
अनि गायक
पर्वत जिल्लाको हाल फलेवास नगरपालिका–१० मा जन्मिएका विमलराज क्षेत्री मुक्तिनाथदेखि कालीगण्डकीसम्मको वरिपरि गुञ्जने शास्त्रीय भजन, रैथाने लोकभाका सुन्दै हुर्किए । त्यसैले उनमा गायन प्रतिभा नहुने कुरै भएन । आफ्नो दाइले बजाउने बाँसुरी र गाउँघरमा गन्धर्वको गीत उनले दैनिकजसो सुन्न पाउँथे ।
‘आकाशैमा तीन तारा तेर्सियो
घर जाने मुलबाटो बिर्सियो’
त्यो समय एक गन्धर्वले गाएको यो गीत अझै याद छ उनलाई । ‘त्यो समय गन्धर्वले सारै पीडा परेर यो गीत गाएको हो जस्तो लाग्थ्यो’, उनले भने ‘आफूले जे सोच्यो, त्यो गीत हुँदोरहेछ भन्ने लाग्थ्यो ।’
विसं. २०४१ मा उनका बुबाले एक कक्षामा भर्ना गर्न श्री शारदा माध्यमिक विद्यालय लगेका थिए । त्यो समय उनको हातमा बाँसुरी थियो । गाउँघरको माहौलले सानैदेखि संगीतको रस पसेका उनी हुर्किँदै जाँदा गाउँको भजने, कीर्तने, धुपाउरे सबै भए । कतै मन्दिरमा धूप बाल्नासाथ उनी भजन गाउन पुगिहाल्थे । बिस्तारै गायनमा उनलाई घरको अलावा छिमेक र जिल्ला भरिने चिन्न र रुचाउन थाले । स्कुलदेखि गायकको रूपमा परिचित उनी कलेजमा पनि सर्वपरिचित भए ।
त्यो क्रममा साथीभाइ, गुरुदेखि सबैले रेडियो नेपालमा जान र गायक बन्न सुझाउँथे । उनका लागि काठमाडौँ आउने माध्यम र सहयोगी कोही थिएन ।
२०५६ मा उनी पर्वत बहुमुखी क्याम्पसबाट आइए सकाएर ब्याचलरको तयारी गर्दै थिए । त्यही समय निर्वाचन पनि थियो । निर्वाचनमा पर्वत क्षेत्र नम्बर २ बाट नेपाली कांग्रेसका डिल्लीराज शर्मा सांसद उम्मेदवार बने । शर्माको चुनाव प्रचारप्रसारमा होमिएर उनी गीत गाउँदै सबै ठाउँ पुगे । निर्वाचनको परिणाम शर्माले पक्षमा आयो ।
‘चुनाव चितेपछि डिल्लीराज शर्माले ममा कलाकारिता छ र कलाकार बन्छ भन्ने विश्वास गर्नुभयो’, क्षेत्रीले सुनाए, ‘मैले पनि काठमाडौँ बोलाउन अनुरोध गरेँ, उहाँले बोलाउनुभयो । म आएँ ।’
काठमाडौँ आएपछि उनलाई शर्माले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जागिर दिए । रेडियो नेपालमा स्वर परीक्षा मिलाए । उनले रेडियोको स्वर परीक्षा पास गरे । त्यसपछि शर्माले जय नेपाल सांस्कृतिक ग्रुपका अमर लामा, डीबी गुरुङसँग क्षेत्रीको चिनजान गराए ।
त्यो समय डीबी गुरुङ पाँचथरतिरको भाकामा ‘नब्बे सालको भुईचालो भन्ने’ एल्बमको तयारीमा थिए । एल्बममा ७ गीत थियो । तीमध्ये एक गीत ‘न्याउली चरी झै रुन्छु बरीलै’ आफ्नै शब्द, संगीतमा उनले राख्ने अवसर पाए ।
‘एल्बमले खासै चर्चा पाएन । तर मेरो लागि भने राम्रो भयो’, विमलराजले खुसी सुनाए, ‘मेरो गीत भएकाले गाउँघरमा मैले एल्बम निकाल्यो भनेर हल्ला भयो ।’
त्यसले झन् गायनमा लाग्न प्रेरणा मिलेको उनले सुनाए ।
२०५७ फेरि उनले आफ्नै शब्द, संगीतमा ‘लुम्ले काँडे गाउँ’ लोकदोहोरी गीत ल्याए । यसले केही चर्चा दियो । ०५९ मा उनले ‘बल्लै भो भेट’ ल्याए । यो गीतबाट उनको करियरले संगीत क्षेत्रमा नयाँ उडान लियो । ‘बल्लै भो भेटले मलाई गायनमा चिनायो’, विमलराजले भने, ‘त्यसपछि मैले यो क्षेत्रमा पछाडि फर्किएर हेर्नु परेको छैन ।’
गीतसंगीतमा चर्चित भएपछि उनको देश विदेशको यात्रा समेत हुन थाल्यो । कतारबाट सुरु भएको उनको विदेश यात्रा युरोप, जापान हुँदै अहिलेसम्म २५/२६ देश पुगिसकेको छ ।
‘यति धेरै विदेश यात्राको मैले कल्पना पनि गरेको थिइनँ । पैसा खर्च गरेर पनि जान नसक्ने यात्रा संगीतले गरायो,’ उनले थपे ।
गायनमा ब्रेक
२०५९ देखि २०६५ थुप्रै हिट गीत दिएका विमलराज क्षेत्रीको सांगीतिक करिअरमा ०६५ देखि ०६९ सम्म ब्रेक लाग्यो । यो समय उनले केही सिर्जना दिन सकेनन् । जसको कारण गीत संगीतमा गरेको लगानी थियो ।
त्यो समय गायनबाट कमाएको ५० लाखभन्दा बढी रकम उनले अडियो क्यासेट निर्माण र वितरणमा लगाएका थिए । त्यसै समय गीतसंगीतमा सीडी, डीभीडी लगायतका डिजिटल प्रविधि भित्रिएकाले अडियोको लगानी डुब्यो । यसले उनलाई नराम्रो झट्का लाग्यो ।
‘त्यो समय ममात्र होइन, धेरै फसेका थिए । व्यापारी स्वभाव भएकाहरुले विभिन्न तरिकाले लगानी उठाए तर मैले सकिनँ’, क्षेत्रीले भने, ‘त्यसपछि केही वर्ष गीत संगीतबाट टाढा भएँ ।’
गीत संगीतबाट टाढा भएपछि उनले सुरुमा कुखुरा पालन गरे । यो व्यवसाय फापेन । त्यसपछि होटलमा बेड कभर बेच्दै हिँडे । यो काम पनि गाह्रो लाग्यो उनलाई । त्यसपछि पसल पसलमा जिन्स पाइन्ट बेच्न थाले ।
‘लोकगीतका चर्चित गायक जिन्स पाइन्ट बेच्न अप्ठ्यारो भएन ?’ प्रश्न राख्न नपाउँदै उनले उत्तर फर्काए, ‘त्यतिबेला त्यो काम मेरो लागि बाध्यता थियो । गीत संगीतमा चिनिएकाले मानिसलाई विश्वास गर्न सजिलो भयो ।’
पाइन्ट व्यवसायको सिलसिलामा उनले २०६७ मा जलवायु परिवर्तन सांस्कृतिक अभियान भन्ने एनजीओ दर्ता गरे । त्यसपछि सगरमाथा टेलिभिजनमा ‘लोक चौतारी’ लोकदोहोरी कार्यक्रम चलाए ।
फर्किए फेरि संगीतमै
०६९ तिर निर्देशक सबिन बास्तोला ‘सुनपानी’ चलचित्रको तयारीमा थिए । चलचित्रको गीतका लागि बास्तोलाले बिमलराजलाई सम्पर्क गरे । त्यो समय उनले संगीत छोडेर कपडा व्यवसाय गरेको जानकारी दिए ।
‘तिमी अन्य कामतिर ढलमल गर्ने होइन । गीत संगीतमै मेहनत गर्ने हो । यसैले दिन्छ’, विमलराजले बास्तोलाको शब्द दोहोर्याए, ‘मैले केही वर्ष काम पाइनँ । तास खेलेर जिन्दगी चलाएँ । तासमा हार्न थालेपछि काम मिल्यो । भगवान्ले हेर्छन् ।’
बास्तोलाको प्रेरणापछि आफू फेरि संगीतमै एरेन्जर (संगीत संयोजक)को रूपमा फर्किएको उनले बताए ।
यो काम उनका लागि सजिलो थियो । किनभने उनी गायनको सिलसिलामा बाँसुरी, सारङ्गी लगायत बाजा बजाउँथे । एरेन्जरको पहिलो काम उनले बास्तोलाको सिरियल ‘सुनपानी’बाट सुरु गरे ।
त्यसपछि उनको एरेन्जमा बैकुन्ठ महतको शब्द, संगीत रहेको लोकगीत ‘मायालु कहाँ होला, यता मैले सम्झेर रोइरहँदा उता बाँडुल्की ला होला’ आयो । गीतमा रीतु थापासँग उनले नै स्वर दिएका थिए । यो गीतको चर्चाले उनलाई अन्य साथीभाइले पनि गीत एरेन्जरको जिम्मा दिन थाले । एक दुई गर्दै लोकगीत, आधुनिक, फिल्म गरेर एरेन्जका लागि गीतको ओइरो लाग्यो ।
२०६९ देखि २०७३ सम्म उनले करिब ७ सय गीतमा एरेन्जरको काम गरे । त्यो सिलसिलामा ५०/६० गीतमा त उनले एरेन्जको अलावा शब्द, संगीत र स्वर पनि दिन भ्याए ।
एरेन्जरको कामबाट दाम, नाम र व्यस्तता सबै भए पनि उनको मन भने बस्न सकिरहेको थिएन । भित्रभित्रै उनले आफूलाई सकस महसुस गरिरहेका थिए । समाजमा घुम्न, बाहिर हिँड्न र गाउन रुचाउने स्वभावका उनलाई एरेन्जरको कामले कोठामा सीमित बनाएको थियो ।
त्यसैले उनले फेरि बाहिरको गीतको एरेन्ज छाडेर आफूलाई पूरै गायनमा समर्पित गरे । अहिले उनी आफ्नो शब्द, संगीत र एरेन्जमा गीतहरु निरन्तर सार्वजनिक गरिरहेका छन् । बाहिरको गीतमा शब्द, संगीत पनि दिन्छन् । तर एरेन्जरको जिम्मेवारी भने सम्हाल्दैनन् ।
एकदिन देश हाँक्छु
विमलराज क्षेत्रीका समकक्षी मात्र होइन, उनीभन्दा पछाडिका व्यक्तिहरू धेरैले आर्थिक उन्नति गरेका छन् । कतिपयको त काठमाडौँमा घर, गाडी सबथोक छ । उनी भने अहिले पनि डेरामा छन् । घर, गाडीभन्दा पनि लोकगीत संगीतको विकास आफ्नो सधैँ प्राथमिकतामा परेको क्षेत्री बताउँछन् ।
‘लोक गीत सुन्नेहरुले अलि अलि चिन्नुभाछ । आर्थिक पनि राम्रो कमाएको थिएँ’, क्षेत्रीले अगाडि भने, ‘कमाएको पैसाले चाहेको भए काठमाडौँमा २/३ वटा घर हुन्थ्यो ।’
साथीभाइ भनेर खर्च गरेको उनले बताए । ‘अरूलाई घर, गाडी जोड्दा खुसी मिल्यो होला । म साथीभाइको बिल तिर्दा रमाएँ,’ उनले थपे ।
काठमाडौँमा घर नभएको पछुतो पनि छैन उनलाई । आफूले आफैँलाई विश्लेषण गर्दा उनी घर व्यवहारमा काँचो रहेको ठान्छन् अहिले । अहिले पनि छोराछोरीलाई घर भन्दा पनि गीतसंगीत र समाजलाई केही दिने सोचका साथ क्रियाशील छन् उनी । जसका लागि आफूलाई राजनीतिमा समेत सक्रिय राख्दै आएका छन् ।
स्कुले जीवनदेखि नै नेपाली कांग्रेसको विभिन्न भ्रातृ संगठनबाट आफूलाई क्रियाशील गराउँदै आएका उनी कांग्रेसको १४ औँ महाधिवेशनमा पर्वत–२ बाट महाधिवेशन प्रतिनिधिसमेत बनेका थिए । महाधिवेशनमा केन्द्रीय सदस्य उम्मेदवार समेत बनेका उनी त्यहाँ भने पराजय बेहोर्न पुगे ।
राजनीतिमा अनुशासन सिकाउने समाज बनाउने उद्देश्य बोकेका उनी आगामी दिन संगीत र राजनीति एकसाथ अगाडि बढाउने सोचमा छन् । त्यसैले उनी आफ्नो एउटा खुट्टा गीतसंगीत र अर्को राजनीति हो भन्छन् । गीत संगीतमा राम्रो उचाइ बनिसकेकाले अब राजनीतिमा त्यस्तै उचाइ बनाउने उनको सोच छ । राजनीतिमा भनेजस्तो भयो भने एकदिन देश हाँक्ने लक्ष्य लिएका छन् उनले ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१ सय ८५ किलो गाँजा सहित चालक पक्राउ
-
१६८ मेगावाट विजुली राष्ट्रिय प्रसारण प्रणालीमा थपियो
-
चिकित्सकले मृत घोषणा गरेका एक भारतीय चिताबाट ब्यूँझिएपछि....
-
‘घुस आरोपले भारतीय धनाड्य अदानी समूहलाई धक्का’
-
वायनाडमा प्रियङ्का गान्धीलाई तीन लाखभन्दा बढी मतको अग्रता
-
नेपालमा भ्रष्टाचार कोरोना भाइरस जस्तै फैलिएको छ : विप्लव