बुधबार, ०३ पुस २०८१
ताजा लोकप्रिय
कथा

शाश्वत सुख

शनिबार, ०९ मङ्सिर २०८०, ११ : १७
शनिबार, ०९ मङ्सिर २०८०

युनानका एक सम्राट्ले त्यो समयका एक महान मनिषी सोलनलाई आफ्नो राजमहलमा बोलाए ।

सोलन सुकरात जस्तै आत्मज्ञान प्राप्त मनिषी थिए । सम्राटले सोलनलाई यस कारण बोलाएका थिए– उनको धेरै ठूलो ख्याति थियो । उनका एक एक शब्द बहुमूल्य थिए । तर उनीसित कुनै ज्ञान लिन भने बोलाएका थिएनन् । कुनै कुरा सिक्न भने बोलाएका थिएनन् ।

सिर्फ सोलनलाई यस कारण बोलाएका थिए कि उनले मेरो आलिशान महल देखून् ! मेरो विपुल साम्राज्य देखून् ! मेरो धनसम्पत्तिको अम्बार देखून् ! मेरो चमक–धमक देखून् !!

र स्रमाट चाहन्थे– सोलनले प्रशंसा गरून् कि तपाईं जस्तो सुखी अरू कोही पनि छैन जगत्मा । तपाईं जस्ता वैभवशाली कोही छैन ब्रह्माण्डमा । उनका मुखबाट त्यस खालको   वचन आएमा त्यसको ठूलो मूल्य हुनेछ ।

सारा युनान, युनान बाहिरका मानिसले पनि सम्झिने छन्– सोलनले समेत यसो भनेका छन् भन्ने कुरा चर्चा हुनेछ । 

सोलन आए । महल घुमाई घुमाई देखाइयो । सम्राट्को पासमा अकुत सम्पदा थियो । न मालुम कति धेरै सम्पत्ति उसले अरूबाट लुटेको थियो, त्यसको कुनै गन्ती थिएन ।

बहुमूल्य पत्थरको थुप्रो थियो । स्वर्ण खजना थियो । महल यसरी सजाइएको थियो जसरी दुलही सजाइन्छ ।

सम्राट्ले महल देखाउँदै देखाउँदै गएपछि के प्रतीक्षा गर्न थाले भने अब केही भनिदिन्छन् ।  तर सोलन चुपचापै रहे । चुप मात्रै रहेनन् बरु गम्भीर हुँदै गए । गम्भीर मात्रै बनेनन् बरु उदास हुँदै गए । जस्तो कि सम्राट् मर्न लागेका छन्, उनी सम्राट्लाई हेर्न आएका छन् । यस प्रकारको उदासी छायो ।

 आखिरमा सम्राट्ले भने– तपाईंको समझमा आएको छ छैन ? मैले त सुनेको के छु भने तपाईं बडा बुद्धिमान मानिस हो । म जस्तो सुखी मानिस कुनै अर्काे देख्नु भएको छ ? मैले परम् सुख उपलब्ध गरेको छु । सोलन ! यसमाथि केही बोल्नुस् ।

सोलनले भने– म चुपै रहनु राम्रो हुन्छ । किनकि क्षणभङ्गुर चिजलाई म सुख भन्न सक्तिनँ । अनि जे चिज शाश्वत छैन त्यसलाई कसरी सुख भन्ने होला र ? सम्राट् ! यी सबै कुरा दुुःख हुन् । बडा चमकदार छन् चिजबिजहरू तर यिनमा दुःख छ । तिमीले यसलाई सुख सम्झ्यौ भने तिमी मूर्ख हौ ।  सम्राट्लाई धक्का लाग्यो, जे हुनु थियो त्यही भयो । सोलन चुपै  रहनु राम्रो थियो । सोलनलाई त्यसै बखत गोली हानियो । 

सामुन्नेको महलको एउटा खाँबोमा झुन्ड्याएर, बाँधेर सम्राट्ले भने– अझै पनि माफी माग । तिमी गल्तीमा छौ । अझै भनिदेऊ– सम्राट् तपाईं सुखी हुनुहुन्छ ।

सोलनले भने– झुटो कुरा म बोल्न सक्तिनँ । मृत्युको कुनै पर्वाह छैन ।  किनकि मैले मर्नु पर्छ नै । केको लागि मर्छु यो गौण कुरा हो । मृत्यु निश्चित छ ।  झुटो  कुरा म बोल्दिनँ । सम्राट ! तपाईं  भुलमा हुनुहुन्छ । उनलाई गोली मारियो । दस वर्षपछि ती सम्राट् कुनै शत्रुराज्यबाट पराजति बने  । विजेताले उनलाई त्यही महलको सामुन्नेको खाँबोमा बाँधे । 

जब खाँबोमा झुन्ड्याएर गोली हान्न लागिएको थियो– तब उनलाई अचानक सोलनको याद आयो ।

ठीक दस वर्षअगाडि यसरी नै सोलनलाई खाँबोमा झुन्ड्याइएको थियो । त्यतिखेर उनलाई उसकै शब्द याद आयो– जे शाश्वत होइन, त्यसमा सुख छैन ।  जे  क्षणभङ्गुर छ त्यसको कुनै मूल्य छैन । यी चमकदार चिज दुःख हुन् सम्राट् ।

यिनै चमकदार दुःखलाई सुख मान्ने हुँदा ती सम्राट्लाई यस खाँबोमा झुन्ड्याइएको थियो, सम्राट्का आँखा बन्द भए । उसले आफूलाई भुल्यो । सोलनलाई देख्न थाल्यो  । जब उसलाई गोली हान्न लागिएको थियो तब उसको ओठमा मुस्कुराहट थियो । अनि आखिरी शब्द जुन उसको मुखबाट निस्केका थिए, ती यी थिए–  सोलन ! सोलन ! मलाई माफ गरिदिनुस् ! तपाईं नै सही हुनुहुन्थ्यो ।

अनुवाद– पुण्य कार्की

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा