आइतबार, ०७ पुस २०८१
ताजा लोकप्रिय
यात्रा–निबन्ध

मन्थली कोलाज

शनिबार, ०९ मङ्सिर २०८०, ११ : ०७
शनिबार, ०९ मङ्सिर २०८०

‘तपाईं एक्लै बेस क्याम्प जान सक्नुहुन्छ ?’

‘उतातिर नेपालीले खानबस्न पाउँदैनन् भन्छन् त ।’

‘धेरै महँगो पर्छ रे खानेकुरा र बस्ने ठाउँ पनि ।’

‘नेपाली एक्लैले बेस क्याम्पसम्म गएर आउन निकै गाह्रो छ ।’

‘तपाईं एक्लै विदेशीहरूको हुलमा जानु ठीक छैन ।’

सगरमाथा आधार शिविर यात्राको मेरो प्रारम्भिक पाइलामै यस्ता धेरै कुरा सुनियो । पहिलो पाइलामै ठेस लाग्नु राम्रो होइन । जुन कुराले म जस्ता धेरै यात्रीहरूलाई उत्साह दिनुभन्दा हतोत्साहित पार्छ । आन्तरिक पर्यटन प्रवद्र्धनका लागि पनि आफ्नो देश घुम्नु राम्रो हो । यसमा प्रोत्साहनको खाँचो छ । 

Gyanendra bibas (1)

वास्तवमा हिँड्ने आँट र जाँगर भएर मात्रै पनि नहुँदोरहेछ । त्यसका लागि उचित वातावरण पनि आवश्यक हुने रहेछ । अझ यसमाथि मिल्ने साथीहरूको समूह भयो भने सुनमा सुगन्ध थपिन सक्छ । तर यसरी समूह बनाउन थाल्दा कहिले त यात्राले गन्तव्य छिचोल्नुको सट्टा विश्राम पो लिने रहेछ । किनभने एक्लै यति लामो दिनको यात्रा त्यसमाथि पैदल कसरी जानु र भनी भ्रमणका निम्ति साथीहरूको सोधखोज गर्दा धेरै साथीहरूले जाने सहर्ष सहमति जनाए । तर जब जाने निश्चित दिनको टुङ्गो लगाउन टिकन काट्नुपर्ने भयो, तब यात्राले पहिलो गाँसमै ढुङ्गा चपाउनुप¥यो । पहिलो पाइलामै ठेस लाग्यो ।

कोही भन्थे– ‘जान त मन थियो तर लामो दिनको यात्रा भयो ।’

कोही हिम्मत हार्थे– ‘बाफ रे, त्यतिका दिन कहाँ हिँड्न सकिन्छ र ? मेरो त हिँड्ने हिम्मत छैन । जाने भनेर के गर्नु ? हिँड्न पनि सक्नुप¥यो ।’

कसैले भने– ‘त्यहाँ गएर खान नपाई मरिन्छ । बास बस्न नपाई बिजोग हुन्छ । हिँड्न नसकेर बिच बाटैबाट फर्किनुपर्छ ।’

कति साथीले त यतिसम्म भनेर मेरो हिँड्ने हिम्मतलाई नै परीक्षणको रूपमा लिए– ‘तपाईं त्यहाँसम्म पुगेर फर्किनुभयो भने म बाजी राख्छु । साथी नभई एक्लै त्यस्तो ठाउँमा जानै सक्नु हुन्न तपाईं ।’

उनीहरूको भनाइअनुसार ‘बेस क्याम्प जस्तो उच्च उचाइ र चिसो लाग्ने ठाउँमा एक्लै जान हुँदैन र जान सकिँदैन पनि । गए पनि बेस क्याम्पसम्म पुग्न त मुस्किलै होला । चार हजार मिटरमाथि उचाइमा पुगेपछि टाउको दुखेर, वाकवाकी लागेर कहाँ हिँड्न सकिन्छ ? ज्यान जोखिममा राखेर पनि कोही त्यस्तो ठाउँमा जाने हिम्मत गर्छ ?’

यी कुरा सुन्दा सुरुमा त मैले पनि ‘एभरेस्ट बेस क्याम्प’ यात्राको विकल्प सोँचेको हो । तर अरू धेरै बेस क्याम्प जाने–आउने गर्नेहरूसँगको जानकारीले यी सबै हल्ला मात्रै भएको थाहा भयो । ‘बाटोमा एक्लै परिने, हराइने, ज्यान जाने, बस्ने ठाउँ नपाइने’ आदि जस्ता कुरा यात्रामा जान चाहनेहरूलाई पनि हतोत्साहित पार्ने आशय हुन् भन्ने भनाइ धेरैबाट सुनेपछि मेरो यात्राको आँट आयो ।

हुन पनि सगरमाथा आधार शिविरसम्मको यात्रामा विदेशी यात्रीको लर्को लागेको दृश्य कैयौँ वृत्तचित्रमा देखेकै हो । समाचारहरूमा पनि पढेकै हो । लाखौँ खर्चेर आधार शिविरसम्म आउने पर्यटकहरूको सङ्ख्या गनिनसक्नु हुन्छ भन्ने कुरा पनि सुनेकै हो । 

आखिर मैले यात्राको शुभारम्भ गरेँ । आफ्नै देश–दर्शनमा जानु छ, त्यसका लागि यत्तिका अपठ्यारा तगारा पनि हुन्छ र ? यसो भयो भने नेपालीले कहिले घुम्ने आफ्नो देश ? आन्तरिक पर्यटनले कसरी फड्को मार्न सक्छ ? 

Gyanendra bibas (3)

घुम्न जानेहरू हिँड्नु नपर्ने सुगम सहरमा गाडीमा गुडेर गइरहेका छन् । पोखरा, मुक्तिनाथ, चितवन, लुम्बिनी, गोरखा, जनकपुर, इलाम आदि ठाउँमा । तर हिँडेर पदयात्राको पनि मज्जा लिन चाहनेहरू कमै हुने रहेछन् । घुम्नु त घुम्नु तर पैदलले पाइला चाल्न नसक्नेहरूले नेपालको कुन ठाउँमा पुग्न सक्लान् ?

आखिर यात्रा हो, यात्रामा अलिकति दुःख, अपठ्यारा र कठिनाइ त भइहाल्छ । त्यही दुःख हुन्छ र यात्रा सदा सम्झनामा आइरहन्छ । उडेर फुत्त गयो, पुग्यो, ओर्लियो । हे¥यो, खायो, फोटो खिच्यो अनि सुइत्त फर्कियो । यस्तो यात्रा के रमाइलो होला र ? आफू पुगेको ठाउँमा एक रात पनि बास नबसे । अलिकति कठिनाइ पनि नभए । हिँड्नुको रमाइलो, जोखिमको सामना र चुनौतीसँग पनि जुध्दै हिँड्न सक्नुपर्छ । यति गर्न सकिँदा यात्रा गर्नुको सन्तुष्टि र खुसी कति मिल्ने, कति ? फेरि अर्को चोटि अर्को नयाँ ठाउँमा जाने चौचौ हुन थाल्ने रहेछ ।

काठमाडौँबाट सीधै लुक्लासम्मको हवाइ उडानको टिकट कमै मिल्ने रहेछ । विमानस्थलमा धेरै जाम हुन्छ भनेर केही वर्षदेखि रामेछापको मन्थलीबाट अधिकांश लुक्लाको हवाइ उडान हुँदै आइरहेको रहेछ ।

मन्थली विमानस्थल २०३५ सालमा निर्माण भए पनि २०७५ सालदेखि मात्र सञ्चालनमा आएको हो । विमानस्थलको स्तरोन्नति गरेपछि विमानस्थलमा अहिले आठवटासम्म जहाज र केही हेलिकप्टर पार्किङ गर्न सकिने रहेछ । पर्यटकको चाप हुने महिनामा मात्र विमानस्थल सञ्चालन हुने रहेछ ।

 मैले पनि लुक्ला पुग्न एक रात मन्थलीमै बिताउनुपर्ने भयो । किनभने लुक्लाको उडान बिहानको भएको हुँदा अघिल्लै दिन मन्थलीमा पुग्नुपर्ने थियो । मैले त्यसै गरेँ । मन्थलीमा ओर्लिंदा दिउँसोको दुई बजेको थियो । ठ्याक्कै पाँच घण्टामा म मन्थली पुगेको थिएँ । 

अचेल प्रहरी सुरक्षा पोस्टहरूमा गाडीहरू गुड्ने स्थानअनुसार समय निर्धारण गरिएको रहेछ । यसले गर्दा कुनै गाडीले पनि छिटो दौडाएर लैजान नपाउने नियम बनाइएको रहेछ । घण्टा घण्टाको दुरीमा रहेका चेक पोस्टमा चेकिङ हुँदा कुनै गाडी तोकिएको समयभन्दा छिटो पुगेमा कारबाही गरिँदोरहेछ । त्यसैले गाडी दुर्घटनामा पनि यसले नियन्त्रण गर्न सहयोग पुगेको रहेछ ।

रामेछाप जिल्लाको सदरमुकाम मन्थली धानखेतीका लागि निकै प्रसिद्ध रहेछ । सुनकोशी किनारमा अवस्थित यो ठाउँ भित्री मधेशकै भौगोलिक रूपमा रहेको रहेछ । भोलिदेखि पैदलै पैदल हिँड्नुपर्ने भएको हुँदा अबको बाँकी समय मन्थलीमा उकालो, ओह्रालो गर्दै समय व्यतीत गर्नु उचित थियो मैले । सगरमाथाको द्वार मानिने लुक्लासम्म जाने मुख्य विमानस्थल यहाँ भएपछि पर्यटकहरूको चहलपहलले बजार निकै गुल्जार थियो । यहाँका होटल व्यवसायीहरूले राम्रै सेवा गरेको र सो वापत् मेवा पनि पाएको देखियो ।

मन्थली नगरपालिमा १६ वटा वडा रहेको छ भने नगरपालिकालाई पूर्ण रूपमा साक्षर घोषणा गरिएको छ । नगरपालिकाको सबै वडामा सडक पुगेको छ । सबै वडाको केन्द्रसम्म यातायात सञ्चालन भएको छ । तर यहाँ पिच सडक भनेको ‘हाइवे’ मात्र हो । अन्यत्र सडक पिच गर्ने काम हुँदैछ । अधिकांश कच्ची सडक मात्र छ । तर मुख्य सडक नै साँघुरो रहेछ । सडक कच्ची हुँदा अध्यधिक रूपमा धुलो उड्छ । देवकोटाचोकदेखि बसपार्कसम्म वैकल्पिक सडक कालोपत्रे गर्ने योजना अगाडि नगरपालिकाले बढाएको रहेछ । हाल उच्चस्तरीय ग्राभेल गरेर गाडी सहज रूपमा गुडने व्यवस्था गरिएकाले मन्थली बजार केही व्यवस्थित भएको रहेछ ।

मन्थली नगरपलिकामा केही वर्षअघिको तथ्याङ्कअनुसार १० हजार घरधुरी छ । व्यवस्थित ढङ्गले एकीकृत बस्ती बनाउन नसकेको रहेछ । फोहोरमैला व्यवस्थापन गर्न नगरपालिकामा ‘वान किचेन, टु डस्बिन’ अभियान अगाडि बढाएको रहेछ । यसका लागि हजारवटा बाल्टी बाँडिसकेको पनि थाहा भयो । हरेकले सड्ने एउटा बाल्टीमा र नसड्ने अर्को बाल्टीमा हाल्नुपर्ने नियमसमेत बनाइएको रहेछ । घरबाट निस्किने फोहोरमैलाको उचित व्यवस्थापन गर्न वडाले प्रशिक्षणको व्यवस्था पनि गरेको रहेछ । बसपार्कदेखि कटहरबोट क्षेत्र र भैँसेश्वरदेखि विनिता चोकसम्म सोलार जडान गर्ने योजना अनुसार काम भएको पनि थाहा भयो । 

Gyanendra bibas (2)

नगरपालिकामा कम उचाइ भएका सुनकोशी, तामाकोशी नदी तथा भटौली र रणजोर खोला आसपासका बस्तीहरूमा ऊष्ण मौसमी हावापानी र यसका अलवा नगरपालिकाका अधिकांश भू–भागमा न्यानो समशीतोष्ण हावापानी पाइने जानकारी नगरपालिकाबाट मिल्यो । नगरपालिकाका अनुसार यहाँको भौगोलिक स्वरूप निकै भिरालो रहेकाले वर्षायाममा भू–क्षय र पहिरोको निकै जोखिम रहेछ । रणजोर खोलाको सिरमा रहेको घ्याप्चे पहिरो ठुलो र अनौठो रूपमा रहेको छ । यो पहिरो वर्षायाममा रोकिने र सुक्खायाममा निरन्तर गइरहने गर्छ । सो पहिरोले वडा नं. ३ र ४ का अधिकांश बस्ती विस्थापित गर्नुका साथै सदरमुकामलाई समेत जोखिममा  पार्न थालेको छ । 

प्रसिद्ध धार्मिक, ऐतिहासिक तथा पर्यटकीय स्थलको रूपमा वामचुराको वैरामहादेव (थानपति मन्दिर), चिसापानीको भीमसेन थान र चिसापानी गढी,  कठजोरको ऐराम्बास मन्दिर, सुनारपानीको थानपति मन्दिर, भलुवाजोरको तिल्केस्थानगढी, भटौलीको ढिकुरे मन्दिर नगरपालिकाको अमूल्य निधिका रूपमा रहेका रहेछन् । 

मन्थलीको नामकरण स्थानीय माझी जातिसँग जोडिएको रहेछ । विशेषतः मन्थलीको आसपास रहेका चिसापानी, मन्थली, भटौली, भलुवाजोर, पकरवास जस्ता गाउँ विकास समितिका भूभागहरूमा अद्यापि माझी जातिको बसोबास रहेको पाइन्छ । यिनै जातिको छुट्टै राजा हुने परम्परा अनुसार एक जना ‘मन’ नामक राजा रहेको र राजा बस्ने थलोलाई ‘मनथलो’ भनिएको, कालन्तरमा यही शब्द अपभ्रंश भई ‘मन्थली’ नाम रहन गएको भन्ने भनाइ छ । 

त्यसै गरी अर्को किंवदन्ती अनुसार आदिकालदेखि नै मन्थलीमा माझी जातिको बस्ती रहँदै आएको थियो । उनीहरूको मुख्य पेय पदार्थ ‘जाँड’ भएको र माझी भाषामा ‘मुन’ भनेको जाँड र ‘थलो’ भनेको खान बस्ने ठाउँ भन्ने बुझाउने भएकाले यसलाई ‘जाँड खाने’ र बस्ने स्थानको रूपमा पनि ‘मन्थलो’ हुँदै हाल ‘मन्थली’ हुन गएको स्थानीय बुढापाका बताउँछन् । वास्तवमा ‘मन्थली’ भन्ने स्थान खास गरी गाउँलाई जनाउने भए पनि समय क्रममा त्यसभन्दा तल रहेको बँेसी पनि ‘मन्थली बँेसी’ भनेर चिनिन थालेको रहेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ज्ञानेन्द्र विवश
ज्ञानेन्द्र विवश
लेखकबाट थप