शुक्रबार, ०७ मङ्सिर २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
कविता

म एक पथिक

शनिबार, ०९ मङ्सिर २०८०, ११ : ०४
शनिबार, ०९ मङ्सिर २०८०

म जीवन बाँच्दछु
म खुसीको सीमा पार गरेर अपार हाँस्दछु
किन्तु थाहा छ मैले हास्ने अवसर कम पाउँछु
प्रायः गम पाउँछु
म समयमा हिँड्छु कि समय हिँड्छ
आफैँलाई चिन्ने अवसर मलाई बाटो दिन्छ

मेरो बाटो
मेरो सङ्घर्ष
मेरो आयु वर्ष
मेरो पीडा हर्ष
मेरो दृष्टिदर्श
म सहभागी भित्रको सरिक हुँ
हे पार्थ म पथिक हुँ
अथाह पीरको कथा लेख्न
कविलाई पनि कठिन हुन्छ
दिन लागेपछि मान्छे दीन हुन्छ
अघाएपछि मान्छेलाई लाजघिन हुन्छ
खोलमा रगेटिएरै सकिन्छ सलाई कसलाई थाहा छ
अभावले परिवारमा दबाब पर्छ मलाई थाहा छ

तर अभावको अभाव नै नभएपछि
दबाबको प्रभाव नै नभएपछि
जसै भए पनि त समेटिनै पर्छ
पर्वत चिर्ने त्यो नदी पनि कहीँ त भेटिनै पर्छ
घमण्ड कसले गर्छ
कसलाई के पर्छ
म बोझहरूको भार हुँ
लाछी हुँ लाचार हुँ
सार्थक नभएको सदाचार हुँ
म अर्थ नभएको हुँ, अर्थ नभएको हैन
मेरो अर्थ म अनर्थ हुँ
म रोग हुँ, रोगी हुँ
म पाप हुँ, ढोँगी हुँ
म सार हुँ, सटिक हुँ
म एक पथिक हुँ ।
विजयखर्क, खोटाङ, 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विजय राज
विजय राज
लेखकबाट थप