शुक्रबार, ०७ मङ्सिर २०८१
ताजा लोकप्रिय
मलकाे बढी प्रयोग

खेतीयोग्य माटोको गुणस्तर लगातार खस्कियो

शुक्रबार, ०८ मङ्सिर २०८०, १८ : ५८
शुक्रबार, ०८ मङ्सिर २०८०

काठमाडौँ । नेपालको खेतीयोग्य माटोको गुणस्तर खस्किएको छ । माटोमा रासायनिक मल प्रयोगमा सन्तुलन नमिल्नु, पोटासियम, बोरोन, मोलिब्डेनम, जिङ्कको कमी, भू–क्षय हुनु, प्लास्टिकजन्य वस्तुको मिसावट लगायतका कारणले माटोको गुणस्तर खस्किएको नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले जनाएको छ ।

बोटबिरुवा हुर्कन र त्यसबाट राम्रो उत्पादन हुन माटोमा १६ वटा पोषक तत्त्व आवश्यक पर्दछ । बिरुवालाई प्राकृतिक रुपमा ३ वटा पोषक तत्त्व कार्बन, हाइड्रोजन र अक्सिजन प्राप्त हुन्छ । प्राङ्गारिक, जैविक र रासायनिक मलबाट बाँकी १३ वटा पोषक तत्त्व बालीले लिन्छ । जसमध्ये बालीका लागि मुख्य पोषक तत्त्व नाइट्रोजन, फोस्फोरस र पोटास हुन् ।

क्याल्सियम, म्यानेसियम र सल्फर सहायक पोषक तत्त्व हुन् भने बालीका लागि आवश्यक पर्ने आइरन, म्याग्निज, कपर, जिंक, बोरोन, क्लोरिन र मोलिब्डेनम सूक्ष्म पोषकतत्व हुन् । यी तत्त्वहरू रासायनिक मलबाट बाली र बिरुवालाई उपलब्ध हुन्छ ।

नेपालको उर्वरभूमिमा माटोको विभिन्न तत्त्वको सन्तुलन नमिलेर गुणस्तर खस्किएको नार्क अन्तर्गतको राष्ट्रिय माटो विज्ञान अनुसन्धान केन्द्रका वैज्ञानिक डा. रोशन बाबु ओझाले बताए । ‘नेपालको माटोमा पोटासियमको मात्रा कम छ,’ ओझाले भने, ‘माटोमा एक दशमलव पाँचदेखि एक दशमलव आठ गुणाले पोटासियमको कमी छ ।’

बाली उत्पादनमा डीएपी मल बढी प्रयोग गर्नाले फस्फोरसको मात्रा बढी पाइएको उनले बताए । उनका अनुसार माटोमा बोरोन, मोलिब्डेनम र जिंकको मात्रा पनि कम पाइएको छ ।

jamin-mato

 

‘निर्माणको कार्यले ४५ प्रतिशत माटो बिग्रियो’

नेपालमा भौतिक संरचना अनुसार माटोको स्तर फरक–फरक छ । पछिल्लो समय भौतिक निर्माणका कारणले पनि माटोलाई असर परेको ओझाको भनाइ छ । ‘कन्ट्रक्सनको कार्यले गर्दा अधिक भू–क्षय भएको छ,’ उनले भने, ‘कन्ट्रक्सनले मात्रै ४५ दशमलव ५ प्रतिशत माटो बिग्रिएको छ ।’

‘रोटाभेटरको प्रयोगले माटोको संरचना नष्ट’

नेपालमा यान्त्रीकरणको प्रयोग बढ्दै गएको छ । माटोको डल्ला फुटाउन प्रयोग गरिने रोटाभेटरको प्रयोगले माटोको संरचना ब्रिग्रिदै गएको ओझाले बताए । ‘रोटाभेटरले माटोको संरचना पूर्णरुपमा बिगार्छ,’ उनले भने, ‘माटोमा कडापन विकसित हुँदै जान्छ, कलान्तरमा गएर माटो सारो भई खनजोत गर्न सकिँदैन ।’

यसका साथै कृषि अवशेष जलाउँदा माटोमा भएको सूक्ष्म जीवाणु नष्ट भएको छ भने विषादी प्रयोग गर्दा माटो कडापन हुँदै गएको उनले बताए ।

jamin-mato1

९० प्रतिशत खेतीयोग्य भूमिमा प्राङ्गारिक पदार्थको कमी

खेतीयोग्य माटोमा प्राङ्गारिक पदार्थ तथा कार्बन २ प्रतिशत हुन आवश्यक हुन्छ । तर तराई क्षेत्रका खेतीयोग्य भूमिको करिब ९० प्रतिशत हिस्सामा यसको मात्रा २ प्रतिशतभन्दा कम छ । यसले गर्दा माटोमा कडापनको समस्या बढ्दै गएको छ । अन्नको भण्डारणका रुपमा चिनिने तराई क्षेत्रमा सो समस्या देखिएकाले खाद्यान्न उत्पादनमा गिरावट आउने देखिन्छ । नार्कले सिफारिस गरेको मलको दर किसानले खासै प्रयोग गरेका छैनन् । यसले पनि माटो गुणस्तर खस्किएको ओझाले बताए ।  

कस्तो असर पर्छ ?

माटोको अवस्था बिग्रिँदा कृषि उत्पादनमा असर पर्ने देखिन्छ । उनका अनुसार माटोको गुणस्तर बिग्रिँदा उत्पादन लागत बढी लागेर आर्थिक भार पर्ने देखिन्छ । उनले भने, ‘कतिपय किसानमा लागत बढी हुनुमा रोग र किरामात्रै रहेको बुझाइ छ, तर माटोको अवस्था बिग्रिँदा पनि उत्पादन लागत बढ्छ ।’

माटोमा बोरोनाको कमी हुँदा बालीमा दाना नलाग्ने ओझाले बर्ता । उनले भने, ‘मकै, धान, गहुँ लगायत खाद्यान्न बालीमा दाना नलाग्नुको धेरै कारणमध्ये बोरोनाको कमी पनि एक हो ।’

माटोको अवस्था बिग्रिँदा मानव स्वास्थ्यमा सिधै असर पर्ने ओझा बताउँछन् । ‘जिंक कमी भएको खाने कुरा खानाले केटाकेटीलाई झाडापखाला लाग्छ,’ उनले भने, ‘कतिपय माटोजन्य रोग मानिसमा पनि देखिन्छ ।’

jamin-mato2

माटोको गुणस्तर सुधार कसरी गर्ने ?

माटोको गुणस्तर सुधार गर्न माटोको जाँच गराउनुपर्ने ओझाको भनाइ छ । ‘सकिन्छ भने वर्ष एक पटक माटोको जाँच गराउने,’ उनले भने, ‘सकिँदैन भने तीन वर्षमा एक पटक अनिवार्य माटो जाँच गराउनुपर्छ ।’

माटो जाँच गराउँदा माटोमा आवश्यक पर्ने तत्त्व र अनावश्यक रुपमा प्रयोग भइरहेको बस्तुबारे थाहा पाउन सकिने उनले बताए । माटोलाई चाहिने तत्त्व आवश्यकता अनुसार प्रयोग गरी बिग्रिएको माटो सुधार गर्न सकिने उनको भनाइ छ ।

नार्कले बाली अनुसार फरक–फरक मलको दर सिफारिस गरेको छ । सोही अनुसार रासायनिक र प्राङ्गारिक मल प्रयोग गरेमा माटोको गुणस्तर सुधार गर्न सकिने ओझाले बताए ।

माटोको दीर्घकालीन व्यवस्थापनका लागि प्राङ्गारिक स्रोत तथा मल प्रयोगे गर्नु पर्छ । माटोमा देखिने कडापनको समस्यालाई व्यवस्थापन गर्न मलखादका रुपमा प्राङ्गारिक स्रोतलाई माटोको व्यवस्थापनमा प्रयोग गर्न उनले सुझाव दिए ।

निर्माण कार्यमा कम्पनीले माटो उत्खनन् गर्दा भू–क्षयको जोखिमबारे अध्ययन गर्न जरुरी हुने उनको भनाइ छ । सो अनुसार त्यो भू–क्षयलाई व्यवस्थापन र न्यूनीकरण गर्न अग्रिम तयारी गर्नु आवश्यक रहेको उनले बताए ।

jamin-mato4

‘माटो बिग्रन नदिनका लागि आवश्यक कानुनी व्यवस्था छैन’

नेपालमा खेतीयोग्य जमिनको माटो बिग्रन नदिनका लागि आवश्यक कानुनी व्यवस्था नभएको वैज्ञानिक ओझाले बताए । भूसंरक्षणसम्बन्धी ऐन भए पनि त्यसमा खेतीयोग्य जमिनको माटो बिग्रन नदिने खालको व्यवस्था नभएको उनको भनाइ छ । माटोको संरक्षण गर्न कानुनी व्यवस्था र किसानमुखी सचेतनाको कार्यक्रमलाई जोड दिनुपर्ने उनले सुझाए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सरिता थारू
सरिता थारू

सरिता थारूले कृषि र समसामयिक विषयमा रिपोर्टिङ गर्छिन् ।

लेखकबाट थप