प्रधानमन्त्रीको भारत भ्रमण : विश्वास गुमाउन एउटै गल्ती काफी हुन्छ
हालसम्मको नेपाल–भारतको सम्बन्ध समान राष्ट्रको हैसियतमा हुने गरेको देखिँदैन । शासक वर्गको निजी स्वार्थसिद्धि वा सत्ताको आयु लम्ब्याउने उद्देश्यबाट प्रेरित हुने गरेको छ । राष्ट्रिय हितको रक्षा नै परराष्ट सम्बन्धको मूल आधार बन्नुपर्नेमा त्यसो हुन सकेको छैन । गहिरिएर हेर्ने हो भने नेपाल भारतको सम्बन्ध अन्तर्राष्ट्रिय राजनीतिक सम्बन्धका सैद्धान्तिक अवधारणाको स्तरमा विकसित भएको छैन, आफ्ना निजी स्वार्र्थसिद्ध गर्ने दलालीको तहमा मात्रै सीमित हुने गरेको छ ।
नेपाललाई हेर्ने र बुझ्ने भारतीय नजरियाका चार निर्धारक शक्तिहरू रहेका छन् । पहिलो भारतीय कर्मचारीतन्त्र र कूटनीतिक समूह, दोस्रो सैनिक संस्थापन, तेस्रो खुफियातन्त्र, चौथो राजनीतिक संस्थापन । हालसम्म नेपालको मामलामा भारतीय कर्मचारीतन्त्र, कूटनीतिक समूह सैनिक शक्ति र खुफियातन्त्र हाबी हुने गरेको छ । यी सबै शक्तिले नेपालको सार्वभौमिक समानताको मान्यतालाई आत्मसात गर्दैनन् । आफ्ना राष्ट्रिय हित प्राप्ति गर्ने साधनका रूपमा नेपाललाई चित्रित गर्ने गर्दछन् । अर्थात रणनीतिक उद्देश्य प्राप्तिभन्दा माथिल्लो स्तरबाट सोच्ने गरेका छैनन् ।
नेपाललाई स्वतन्त्र, सार्वभौम मित्र राष्ट्रसँग गर्नुपर्ने परराष्ट्र सम्बन्धका अवधारणाको स्तरमा व्यवहार गर्न चाहँदैनन् । नेपालका राज्य सन्यन्त्रभित्र आफ्नो प्रभावलाई कायम राख्न वा विस्तार गर्नका लागि व्यक्तिलाई प्रभावित पार्ने काम गर्दै आइरहेका छन् । नेपालको अस्थिर राजनीतिक स्थितिको उपयोग, व्यक्तिका महोत्वाकाङ्क्षामाथि सौदाबाजी, शासक वर्गको स्वार्थपूर्ति गरिदिएर नेपालमाथि दबाबको सम्बन्ध चलाउँदै आएका छन् । यस स्थितिको अन्त्य अत्यन्तै जरुरी छ । भारतको राजनीतिक संस्थापनसँग उच्च स्तरमा राष्ट्रिय हितलाई केन्द्रविन्दुमा राखेर प्रधानमन्त्रीको भारत भ्रमणले अन्तर्राष्ट्रिय सम्बन्धका आधुनिक मान्यता बमोजिम नेपाल भारतको सम्बन्धलाई नयाँ आयाम दिनुपर्छ । यो भ्रमण इतिहासको निरन्तरताका लागि होइन, नेपाल भारत सम्बन्धको परम्परागत आयामलाई परिवर्तन गर्न उन्मुख हुनुपर्छ ।
नेपालको समृद्धिको महान उद्देश्य परिपूर्ति गर्ने मूल अभिभारालाई पूरा गर्ने वैधानिक राष्ट्रिय नेतृत्व प्राप्त शक्तिशाली प्रधानमन्त्री केपी शर्मा ओलीबाट इतिहासको वस्तुनिष्ट समीक्षा गरेर राष्ट्रिय स्वाभिमन अभिवृद्धि गर्ने गरी भारतसँग सम्बन्ध विकसित गर्नुपर्छ भन्ने आम नेपालीको मूल अपेक्षा रहेको छ । यो अपेक्षा एउटा भ्रमणबाट परिपूर्ति गर्न त नसकिएला तर यस भ्रमणले नयाँ दिशा दिन सक्छ । प्रधानमन्त्री केपी शर्मा ओली स्वयम् र यो राष्ट्रको भविष्यसँग जोडिएको भारत नेपाल दुवैको गहिरो विश्वास प्राप्त हुुने गरी भ्रमण सफल बनाउनुपर्छ ।
साझा हित र सरोकारको सम्बोधन
राष्टहरूका बीचमा खास खास विषयमा साझा हित प्रकट हुने र हितहरूको बीचमा टक्कर हुने गर्छन् । राष्ट्रिय हितहरू साझा हँुदा दुवै देशले ती हितहरूलाई प्राप्त गर्नका लागि साझा प्रयत्न गर्नु पर्छ । जुनजुन विषयमा राष्ट्रिय हितकाबीचमा टक्कर हुन्छ, त्यस्ता विषयलाई नियमित कूटनीतिक पहल जारी राख्नुपर्छ । नेपाल भारतका बीचमा पनि साझा हित र केही विपरीत हितका विषयहरू हुन सक्छन् । यी दुई विषयमा दुवै देश स्पष्ट हुनु पर्छ र खुल्ला, हार्दिक छलफल गरिनु पर्छ ।
दुई देशबीचका कुनै पनि विषय आधुनिक युगमा गोप्य हुन सक्दैनन् । पुरानो कूटनीतिक मान्यता हाबी भएको समयमा भए गरेको सन्धि, सम्झौता वा सहमति छन् भने पनि अब खुलेर बहस गर्नुपर्छ र बदलिएको परिस्थितिअनुसार तिनलाई सामयिक बनाउनु पर्छ । भैंसीदेखि जोगी डराउने जोगीदेखि भैंसी डराउने नेपाली उखान जस्तो विषयहरूलाई गुम्स्याएर राखिनु हुँदैन । अन्तर्राष्ट्रिय कानुनका विश्वव्यापी मान्यताको अनुशरण, अन्तर्राष्ट्रिय महासन्धि र सन्धिहरूको अनुशरण, मानव अधिकार, न्याय, समानता, स्वतन्त्रता, विधिको शासन, स्वतन्त्र न्यायपालिका, पे्रस स्वतन्त्रता, शक्ति सन्तुलन र पृथकीकरण, लोक कल्याणकारी राज्यका विश्वव्यापी मान्यताहरूको अनुसरण, स्थापना र विकास नेपाल र भारतका साझा राष्ट्रिय हितका मुद्दाहरू हुन् । अन्तर्राष्ट्रिय सम्बन्ध परिस्थिति र परिवेशअनुसार गतिवान हुने विषय हो । न हामी १८औं शदीको सुगौली सन्धिको समयमा छौं न १९५० को नेपाल भारतबीच भएको मैत्री तथा शान्ति सन्धिको समयमा छौं ।
२१औं शाताब्दीका नेपाल र भारतका चुनौती र सम्भावनालाई आँकलन गरेर अहिलेको मित्रतालाई अघि बढाउनु पर्छ । दुवै देशका राष्ट्रिय हितहरूको रक्षा गर्ने उद्देश्यले मात्रै छिमेकीको सम्बन्ध प्रगाढ हुन सक्छ भन्ने यथार्थलाई हामीले स्वीकार गर्नु पर्छ । गरिबी, असमानता, बेरोजगारी, अशिक्षा नेपाल र भारत दुवैले भोगिरहेका समस्या हुन् । शान्ति, सुशासन र समृद्धि पनि दुवै देशका समान लक्ष्य हुन् । ठूलो माछाले सानो माछालाई खाने मत्स्य न्यायको समय गइसकेको छ । देश ठूलो होस वा सानो, शक्तिशाली होस् वा कमजोर, विकसित वा पछौटे यसका आधारमा हस्तक्षेप वा निगरानी जस्ता व्यवहार कुनै देशले कुनै देशका विरुद्धमा गर्न नपाइने आधुनिक अन्तर्राष्ट्रिय सम्बन्धका सिद्धान्तलाई सबैले स्वीकार गरेको समयमा हामी छौं । यथार्थमा भन्ने हो भने नेपाल र भारतका बीचमा साझा हितका विषय धेरै छन् । नेपाल भारतको सम्बन्ध वैरभावपूर्ण हुनुपर्ने कुनै आधार छैनन् ।
भारतीय पक्षले नेपालसँग भाइचारको भावपूर्ण सम्बन्धलाई स्वीकार गर्ने वित्तिक्कै कुनै समस्या रहने अवस्था छैन । एकअर्काको भूमि कसैको विरुद्धमा प्रयोग हुन नदिने, दुवै देशका गैरआवासीय नागरिकको जिउधनको रक्षा, व्यापार व्यवसायको ज्ञारेन्टी, आर्थिक सहयोद्वारा देश विकास, आतङ्कवादी क्रियाकलापको अन्त्य र अन्तरसीमा अपराध गतिविधिमा सहकार्य जस्ता विषय त नेपाल र भारतका उच्च प्राथमितामा राख्नुपर्ने साझा राष्ट्रिय हितका विषय हुन् ।
दुवै देशका साझा राष्ट्रिय हित र सरोकारलाई प्रधानमन्त्री केपी शर्मा ओलीले स्पष्ट रूपमा राखेर नेपाल भारत सम्बन्धलाई खदिलो, भावानात्मक र दीर्घकालीन बनाउने छन् भन्ने आम नेपालीको अपेक्षा रहेको छ । पहिलो प्रधानमन्त्रित्व कालमा भएको ओलीको भारत भ्रमण तनावको परिस्थितिमा भएको थियो, यो भ्रमण शाान्त परिवेशमा हुँदैछ । बाध्यताले होइन, भित्री इच्छाबाटै एकअर्काेको सच्चा छिमेकीको विश्वास आर्जन हुन सक्ने अवसरलाई ओलीले गुम्न दिने छैनन् भन्ने जन अपेक्षा पनि रहेको छ ।
निशस्त्रीकरणको माध्यमबाट विश्व शान्ति अभियान
विश्व शान्तिका अग्रदूत गौतम बुद्ध र विश्वकै उच्च हिमशृङ्खला नेपालका विश्वसामु चिनारीका विशेषता हुन् । बुद्ध र सगरमाथा शान्तिका प्रतीक हुन् । शान्तिका प्रतीक भएको देश नेपालले विश्व शान्तिको अभियानको शङ्खघोष गर्नु नितान्त जायक कुरा हो । विश्व शान्ति विश्वभरीका अरबांै जनताको अन्तरदिलको चहाना हो । विश्व शान्तिको जनताको चहानालाई खलबल्याउने काम शस्त्रास्त्रको होडबाजीमा लागेका विकसित देशहरूले गरिरहेका छन् ।
अमेरिका, रुस, चीन, बेलायत, फ्रन्स, भारत जस्ता देशहरू अन्तर्राष्ट्रिय राजनीतिमा आफ्नो प्रभाव विस्तारका लागि हतियारमा खरबौं डलरको धनराशि खर्च गरिरहेका छन् एकातिर भने अर्काेतिर करोडौं जनता घरवारविहीन, स्वास्थ्य उपचार गर्न नपाएर, भोजनको अभावले मरिरहेका छन् । यो अवस्था वास्तवमै कारुणिक छ ।
विश्वका शक्ति देशको बागडोर समालिरहेका नेताहरूको दिल दिमागमा यस यथार्थलाई प्रवेश गराउनै पर्छ । म जान्दिनँ तेस्रो विश्वयुद्ध कस्ता हतियारले लडिन्छ तर म विश्वासका साथ भन्न सक्छु चौथो विश्वयुद्ध भने लट्ठी र ढुङ्गाले लडिनेछ भन्ने विश्वविख्यात वैज्ञानिक आइन्स्टाइन र साठी मिनेटभन्दा कम अवधिको पूर्ण आणविक युद्धको विनिमयले तीस करोड अमेरिकी, युरोपेली, रसियनहरू र अन्यत्रका असङ्ख्य जनसमुदाय सखाप हुनेछन् भन्ने अमेरिकी राष्ट्रपति जोनअफ केनेडीका कथनको मर्मलाई हामीले गहिरो गरी बुझनै पर्छ ।
सार्क राष्ट्रको अध्यक्ष राष्ट्र नेपालको शक्तिशाली प्रधानमन्त्री केपी ओलीले निशस्त्रीकरण मार्फत विश्व शान्तिको आवाजलाई विश्वव्यापीकरण गर्नै पर्छ । इतिहासलाई पल्टाउने हो भने शीतयुद्धको समयमा असंलग्न र निशस्त्रीकरण आन्दोलनको एक सक्रिय राष्ट्र नेपाल पनि रहेको हामी पाउँछांै । त्यस समयमा चालिएको राष्ट्र हित रक्षाको कदम थियो त्यो । इतिहासका सबै सकारात्मक कडीहरूलाई जोडेर नै देशको समृद्धिको यात्रालाई पूरा गर्न सकिन्छ । निशस्त्रीकरण मार्फत विश्व शान्तिको अभियानलाई दक्षिण एसियाली उपमहाद्वीपबाट बुलन्द गर्नु आवश्यक छ । यसले नेपालको अन्तर्राष्ट्रिय व्यक्तित्व बन्नेछ र विश्व रङ्गमञ्चमा नेपालको प्रतिष्ठा उँचो हुनेछ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई यस समयको विश्व शान्तिको अगुवाका रूपमा स्थापित गर्नेछ । मन्द अवस्थामा रहेको सार्कलाई सक्रिय बनाउन निर्णायक पहल आवश्यक छ ।
अन्त्यमा,
अन्तर्राष्ट्रिय जगतले नेपालमा एक विश्वासिलो नेतृत्व खोजिरहेको छ । हालसम्म विश्वास र सम्मानको अन्तर्राष्ट्रिय सम्बन्ध विकास नहुनुको मूल कारण भरोसायोग्य नेतृत्व नहुनु नै हो । राजनीतिक द्वन्द्व, सशस्त्र द्वन्द्व, राजनीतिक अस्थिरताजस्ता कारणले विश्वासिलो नेतृत्व यस देशले पाउन सकेको थिएन । प्रधानमन्त्री केपी शर्मा ओली सिङ्गै नेपालीले विश्वास गरेको सिङ्गै नेपालको प्रतिनिधित्व गर्ने अन्तर्राष्ट्रिय जगतले खोजेको विश्वासिलो नेता बन्न सक्ने सम्भावना रहेको छ ।
भनिन्छ, कसैको विश्वास आर्जन गर्नको लागि सयौं पटक आफूलाई सह सावित गर्नु पर्छ तर विश्वास गुमाउनका लागि एउटा मात्रै गल्ती पनि काफी हुन्छ । दोस्रो प्रधानमन्त्रित्व कालको पहिलो विदेश भ्रमणले अन्तर्राष्ट्रिय जगतमा नेपालको राजनीतिक संस्थापनप्रति विश्वास जागृत हुन सकोस्, यही अर्थमा प्रधानमन्त्रीलाई भारत भ्रमण सफलताको शुभकामना ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उद्योगसँग सम्बन्धित ऐन, कानुन र नीतिहरू लगानीमैत्री बनाउँछौँ : मन्त्री भण्डारी
-
न्यायाधीश नियुक्तिमा किन ढिलाइ गरिरहेका छन् प्रधान न्यायाधीश राउत ?
-
थप कानुनहरु संशोधन गर्दै लगानीको वातावरण बनाउनुपर्छ : अध्यक्ष ढकाल
-
वर्ल्डलिङ्कमा फिनिश सरकारी कम्पनी फिनफण्डको एक करोड युरो लगानी
-
क्रान्तिकारी कम्युनिस्ट पार्टीको राष्ट्रिय एकता महाधिवेशन उद्घाटन (तस्बिरहरू)
-
पाल्पामा धान उत्पादन बढेपछि किसान उत्साहित