आइतबार, ०७ पुस २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

रैती चेतना र नायकको खोजी

शुक्रबार, ०८ मङ्सिर २०८०, १४ : ४२
शुक्रबार, ०८ मङ्सिर २०८०

रैती नियत र नियतिको मनोविज्ञान र रैती चेतनाबाट हामी ग्रस्त छौँ । रैती भनेको अरू कसैको अरनखटनमा बस्ने व्यक्ति, अर्काको जग्गा कमाएर बस्ने, मोही आदिका रूपमा रैती हुनुमा गर्व गर्छौँ । हामीलाई दासत्व र अधीनस्थता स्वीकार्य छ । स्वतन्त्रता, समता र मर्यादाभन्दा अर्कैको वर्चस्वमा छत्रछायामा आफूलाई सुरक्षित ठान्छौँ । राजाका रैती, काजीको कज्याइँमा रहनुमा मजा मान्छौँ । नेपालको राजनीतिक परिदृश्यमा त्यस्तै चित्र र चरित्रको आज चर्चा छ ।  

एउटा अमुक व्यक्तिको सम्पत्तिको धाक, पारिवारिक खान्दानको धाक कुनै जाति विशेष हुनुको गर्वाेक्ति हामीलाई प्रिय र आकर्षक लाग्छ । हामी राजमहाराजाहरूलाई ऋण दिएर खाने सन्तानका मान्छे हौँ भन्दा पनि हात दुख्ने गरी ताली ठोक्छौँ । त्यसैले कुनै अमुक जस्ता व्यक्तिले म कुमाइको छोरो, बाउनको छोरो, म क्षेत्रीको छोरो, म यस्तो उस्तो भनेर जातीय उच्चताको धाक लाएर मेरा बाउका समेत सात वटी श्रीमती । मैले पनि जति आए पनि ल्याउन सक्छु र आए जति सबैलाई घर किनेर राखिदिन्छु भन्ने बोलीलाई मर्दकी दस जोईको अवधारणा र हामीले सुन्दै आएका पुरुषार्थ सम्झेर सामान्यीकरण गर्छौँ । महिला ननुहाई आन्दोलन जाने रे जस्ता घृणित र नीच अभिव्यक्ति पचाउने हाम्रो पाचन क्षमतामा किन प्रश्न उठ्दैन ?

के एउटा सार्वजनिक व्यक्तिलाई सार्वजनिक रूपमा त्यस्तो बोल्ने छुट छ ? आफ्नो अस्तित्व र अहम्मा लागेको ठेस सम्झँदैनौँ किन ? जहाँ कुनै नारीवादीको चित्त दुख्दैन । नारी अस्मितालाई वस्तुकरण गर्दा उनका समर्थक मात्र होइन अरू कोही बोल्न सक्दैन किन ? किन निरिह र दयनीय छ नेपालको नारीवादी आन्दोलन ? विषय गम्भीर छ । 

सम्पत्तिको धाक र रवाफलाई वा ! भनेर ताली पिट्छौँ । विश्वका नामुद धनीहरूले कहिल्यै आफ्नो सम्पत्तिको धाक लाएको र सम्पत्तिको आडमा राजनीतिमा छु भनेको सुनिन्न । तर हाम्रा अमुक व्यक्तिले केही अरबको ऋणधनसहितको  सम्पत्तिको धाक र घमण्ड यति छ कि उनी एलन मस्क, बिल गेट्स, बर्नाड अर्नाेल्ड, मुकेश अम्बानी र नेपालमै पनि विनोद चौधरीकै हाराहारीका धनाढ्य झैँ आफूलाई प्रस्तुत गर्छन् र सबै दुःख, पीडा, रोग, भोक र शोकको हरणकर्ता म हुँ भन्छन् । 

सार्वजनिक मञ्चबाट बोल्न हुने नहुने सबै कुरा बोल्छन् । तथापि हामी उनकै पछि लाग्छौँ । मुक्तिदाता र नयाँ नायकको अवतारका रूपमा उनको गुणगान गाउँछौँ । उनको उर्दीलाई शिरोपर गरेर भेला हुन्छौँ । वाक् स्वतन्त्रता मात्र बुझेका वाक् मर्यादा र शिष्टता नभएका मान्छे किन प्रिय छन् हाम्रा लागि ? के हाम्रो लागि सुसंस्कृत, सभ्य र शिष्ट युग सकिएकै हो ? एउटा खराबको विरुद्ध अर्काे झन् खराब र घातक प्रवृत्ति हामीलाई मनपर्नुको कारण के हो ? 

हाम्रो चेतनाले धोका दिएकै हो ? जहाँ बस्यो त्यहीँ दिसापिसाब गर्नु सडकलाई नै चर्पी बनाएर फोहोर गर्नु भन्ने भाष्य एउटा नेता हुन् । तम्सिएको देश परिवर्तन गर्ने व्यवस्था बदल्ने अमुकतन्त्र ल्याउने नेताको हैसियतका लागि कति सान्दर्भिक छ ? के हामी गणेशमान सिंहले भने झैँ भेडा मात्र हौ । बुद्धु मात्र हौँ । हाम्रो ठीक र बेठीक छुट्याउने विवेकको भाँडोमा बिर्काे लागेकै हो ? भिड ठूलो कि विवेक ? भिडले डो¥याउने कि विवेक र बुद्धिमताले भिडलाई ? समय अन्योलग्रस्त छ । 

नेपाली मनोविज्ञान 

हामी नेपालीमा एउटा मनोविज्ञान छ । हामी छु मन्तर गर्ने नायक, जादुयी चरित्र, काल्पनिक चित्रको सम्मोहनबाट मुक्त छैनौँ । सिनेमा झैँ देखिने नायक, धार्मिक कथामा झैँ देखिने पात्र र मिथकीय विम्बको रूपमा प्रकट हुने पौराणिक ऐतिहासिक पात्रहरू तिलस्मी जादुको अपेक्षा गर्छौँ र सो अपेक्षा पूरा हुन नसक्दा छिटो निराश हुन्छौँ । अन्धविश्वास र अति विश्वासले गाँजेको मनोविज्ञान छ हामीसँग । पर क्षितिज र बादलपरिबाट उड्दै आउने र समस्या फुमन्तर गरेर पन्छाइदिने राजकुमार, राजकुमारी, राजारानी, देवीदेवताको अवतार चाहिएको छ हामीलाई । 

हामी कसैको पनि विगत आगत र सैद्धान्तिक धरातलको लेखा जोखा गर्दैनौँ । बहकाउमा लाग्छौ । इतिहासको विवेचना गर्दैनौँ । राजनीतिक घटनाक्रम र विश्व परिस्थितिको विवेचना गर्दैनौँ । राजनीतिको नियम र समाज विज्ञानको गतिलाई बुझ्ने प्रयास गर्दैनौँ । आजको नागरिक चेतना र विगतको नागरिक चेतनाको विश्लेषण गर्दैनौँ । हा हा र हो हो मा कुद्छौँ । त्यसैले कुनै अमुक नेताको पछि लागेर दौडनु हाम्रो परिवर्तित आचरण भएको छ । अझै पनि कसैलाई अलौकिक शक्तिको प्रतिमूर्ति मान्ने र अतिशय कल्पनाको पात्र ठान्ने समाजको निराश हतास र असन्तुष्ट मनोवैज्ञानिक स्थिति रहिरह्यो भने समाजको स्वाभाविक लय भन्जन नहोला भन्न सकिन्न ? 

नयाँ नायकको खोजी 

नयाँ नायकको खोजी सामान्य प्रवृत्ति हो । आम प्रवृत्ति हो । मान्छे परिवर्तन र नयाँ स्वाद चाहन्छ । तर आजको मान्छेले चाहने नयाँ स्वाद जहर घोलिएको पक्कै होइन । प्रगतिशील चरित्र र आचरण भएको खोजिएको हो । विकल्पहरूमध्ये पत्रु विकल्प होइन सर्वाेत्कृष्ट विकल्प हो । 

सुसंस्कृत र दूरदर्शी नेता र राज नेताको खोजी हो । २००७ सालको पेरिफेरीमा बीपी भनेजस्तो नेता र पढैया नेता थिए । तथापि बीपी माथि पनि २०१७ मा आपत् आइलाग्यो १८ महिनाभन्दा बढी दुई तिहाइको सरकारले काम गर्न सकेन । अतः सामान्य राजनीतिक अर्थ र सिद्धान्तको ज्ञान नराख्ने नेताले दिने मुक्ति के हो ? आज पनि गौतम बुद्धले कति पढेका थिए, पृथ्वीनारायण शाहको औपचारिक शिक्षा कति थियो आदिको उदाहरण दिएर शिक्षालाई अन्डर स्टिमेट गर्न पाइन्छ र नपढेको नेता भए नि हुन्छ भन्ने भाष्यमा तर्क गर्न मिल्छ ?

 नायकले समाजलाई आफ्नो अनुकरण गर्न लगाउँछ । नायक आदर्श र रोल मोडेल हुन्छ । देशको दीर्घकालीन हित र समृद्धिको आधार दिने राजनीति, आर्थिक, शैक्षिक, सांस्कृतिक र सामाजिक कार्यक्रम बोकेको हुन्छ । 

देश एउटा व्यक्तिले हाँक्ने होइन, विज्ञ टिम र सल्लाहाकारले हाँक्ने भनेर जस्तो मूर्ति पनि पदस्थापना गर्न सकिन्छ ? भरतले रामको खराउ पुजे झैँ मात्रै हो अबको राजनीति ? नेतृत्व गर्ने नेतामा कुनै क्षमता हुनु पर्दैन ? विशेष योग्यता नभए पनि हुन्छ ? उडन्ते कुरा गरेर र गरिबको आँशु र दुःखको कुरा गरेर सहानुभूतिको राजनीतिमार्फत मात्रै कुनै कार्ययोजनाबिना सैद्धान्तिक माध्यम देश परिवर्तन गर्न सकिन्छ ? देश बदल्ने मेथोडोलोजी भनेको केही हुल मान्छे जम्मा गरेर जथाभावी चिच्याउनु मात्र हो ? लिएको ऋण, खाएको उधारो, मागेको सापटी तिर्दिन र तिराउँदिन भन्ने कुनै विशेष योजना हो ? धर्म, राजसंस्था र ऋणपीडितको आवरणमा आफ्नो अभिष्ट पूरा गर्ने राजनीतिले देशलाई कहाँ पु¥याउँछ कसैले सोचेको विचारेको देखिन्न । देश चलाउन सकिन्न भने इन्डियालाई चलाउन दिऊँ भन्ने अभिव्यक्तिले किन दुख्दैन देशभक्त नेपालीको मन ? 

ऋणको प्रसङ्ग

ऋण तिर्न थप म्याद माग्नु, केही सहुलियतको कुरा गर्नु, ब्याजमा परेको मर्का बारे रिथिङ्क गर्न र नयाँ पोलिसी बनाउन याचना गर्नु स्वाभाविक र मानव आदत मान्न सकिन्छ । अन्यायमा परेमा न्यायको लागि अपिल गर्नुलाई अन्यथा मानिन्न तर सोझा मान्छेको दुःख र अप्ठ्यारोलाई साधन बनाएर आफ्नो स्वार्थको रोटी सेक्न प्रयोग गर्ने नियत चिन्न जरुरी हुन्छ । समाजको घाउमा मलम लगाइदिने र अप्ठ्यारालाई सपठ्यारोमा बदल्न आह्वान गर्नुलाई जायज मानिन्छ । 

अन्यायविरुद्ध आवाज उठाउने, आगो ओकल्ने निसहायलाई निसाफ र न्याय दिने गुण्डागर्दीलाई काउन्टर दिने शोषक र भ्रष्टाचारीको सातो बोक्ने चलचित्रका नायक र चरित्र हुन् । आम मान्छे त्यस्तै चरित्रको नायक खोज्छ । बिग्रेको राजनीतिक सपार्ने नायकको अपेक्षा गर्छ । तर चरित्र र नायकमा भिन्नता छ । विभिन्न फिल्ममा विभिन्न चरित्र निर्वाह गर्नेहरू नायक होइनन् अभिनेता हुन् । उनीहरू फिल्मको चरित्र निर्वाह गर्छन् । चरित्रले समाजका पात्रहरूलाई आफूमा रूपान्तरण गर्छ ।

 नायकले समाजलाई आफ्नो अनुकरण गर्न लगाउँछ । नायक आदर्श र रोल मोडेल हुन्छ । देशको दीर्घकालीन हित र समृद्धिको आधार दिने राजनीति, आर्थिक, शैक्षिक, सांस्कृतिक र सामाजिक कार्यक्रम बोकेको हुन्छ । 

नेपालको राजनीतिमा अभिनेता र खलपात्र थुप्रै छन् । केहीमा नायकीय गुण नभएको पनि होइन । तर पनि जनता नयाँ नायकको उपस्थिति खोज्दैछन् र नयाँ नयाँ पात्रमा परीक्षण गर्दैछन् । नेपाली समाज र राजनीतिको विचलन, विखण्डन, विरोधाभास, विभेद, वैराग्य र बदमासीबाट मुक्त हुन जनतालाई नयाँ नायकको खाँचो टड्कारो देखिएको पक्कै हो । यद्यपि विकल्प निम्जो र निर्धाे होइन सबल सक्षम र आजको भन्दा बढी गतिशील र प्रगतिशील हो । 

ज थुप्रै विसङ्गति र चुनौतीहरू छन् । भ्रष्टचार कुशासन आदिको व्यापक आरोप छ । देश सही दिशामा छैन । वैदेशिक ऋणको भार बढेको छ । परनिर्भरता बढ्दो छ । आक्रोश, निराशा र असन्तोषको व्यवस्थापन त्यस्तै अर्काे खराब प्रवृत्ति र पात्रले गर्न सक्छ ? 

हामीले अवलम्बन गरेको राजनीतिक प्रणालीबारे विहङ्गम समीक्षा गर्न कत्ति पनि विलम्ब गर्न हिचकिचाउनु हुन्न । निरन्तर प्रश्न, छलफल, बहससहित निष्कर्षमा जानु पर्छ । उठेका प्रश्नहरूको सामना गर्ने लोकतान्त्रिक विधि र पद्धतिहरू छन् । तिनलाई सक्रिय पार्नु पर्छ । प्राडा सञ्जीव उप्रेतीले भने झैँ ‘आलोचनात्मक चेतरूपी क्यामेराको लेन्स नेताहरूले, सामाजिक अगुवाहरूले, लब्ध प्रतिष्ठित व्यक्तिहरूले, पत्रकारहरूले, विद्वान् र बुद्धिजीवीहरूले, समाजतिर मात्र फर्काएर पुग्दैन आफैँतिर पनि फर्काउने र आत्माआलोचनात्मक हुनु जरुरी छ । अरूलाई हेर्ने नजर आब आफैँलाई हेर्ने र आफ्नो सेल्फी पनि खिच्नु पर्छ । बाहिरी संसारको मात्र विश्लेषण गर्ने होइन आफूलाई पनि विश्लेषण गर्ने विवेचना गर्नेतर्फ ध्यान दिनु पर्छ । 

म जे पनि गर्छु भन्नु र गर्ने विधि र पद्धतिको बताउनु फरक कुरा हो । तथापि आज थुप्रै विसङ्गति र चुनौतीहरू छन् । भ्रष्टचार कुशासन आदिको व्यापक आरोप छ । देश सही दिशामा छैन । वैदेशिक ऋणको भार बढेको छ । परनिर्भरता बढ्दो छ । आक्रोश, निराशा र असन्तोषको व्यवस्थापन त्यस्तै अर्काे खराब प्रवृत्ति र पात्रले गर्न सक्छ ? 

भावनाका अघि तर्क तथ्य र वास्तविकताहरू कमजोर बनेका हुन् ? विश्वसनीय आधार र व्यक्तिको निरन्तर निष्ठाबिना कुनै भावनात्मक धारणा सुनेर कसैलाई किन विश्वास गर्छ मान्छे ? आज जुन अमुक मान्छेको चर्चा छ उनलाई नजिकबाट चिन्नेले धेरै विश्वास गरेका छन् कि उनलाई टीभीमा हेरेर युट्युबमा सुनेर विश्वास गर्ने र पछि लाग्ने मान्छे बढेका हुन ? छलफल र बहसको विषय हो । वर्षाैंदेखि चिनेको नेतामा अविश्वास र कहिल्यै नसुनेको नदेखेको पात्रमा सर्वसाधारणको यो क्रेजको अर्थ के ? नेता नेतृत्व र पार्टीहरूले समीक्षा गर्नु पर्दैन ? 

कुनै व्यक्ति र समूहले चमत्कृत ढङ्गले दुःखबाट मुक्ति दिलाई दिने कसैलाई सिंहासनामा राखिदिने स्वैरकाल्पनिक कुरामा मोडिएको मान्छेको मन बदल्न नेपाली राजनीतिमा विमर्श चाहिएको कुरा नकार्न सकिन्न । असन्तोष, आक्रोश र विद्रोहले नेपाली समाजमा परिवर्तनको दुन्दुभी खोजेको सत्यमा भने आँखा चिम्लन मिल्दैन । परिवर्तन सकारात्मक परिवर्तन र उल्टोबाटोको परिवर्तन नभएर सुल्टो र युग जनीन परिवर्तन जनताको आकाङ्क्षा हो । एउटा सत्य र निर्मम कुरा के हो भने आज जुन अराजकता र प्रतिगमनको बाटोमा जो हिँडिरहेको छ उसको महत्त्वाकाङ्क्षा यो अराजकता र यो शक्तिको सोर्सको स्रोत केही नेताहरू नै हुन्, जसले उनलाई काँधमा बोकेर हिँडे । जथाभावी पुलपुल्याएर बोक्ने र धाप मार्ने काम गरे । अराजक व्यक्तिको अति आकाङ्क्षाको बेलुनमा हावा भरिदिने काम गरे । यसर्थ आजको परिस्थितिको निमित्त कारक दुर्गा हुन् भने प्रमुख कारण तपाईंहरू हो । लामो समय सत्तामा बसेर देशलाई हाँक्न नसक्ने कांग्रेसको अक्षमता र तपाईं दुईको दुर्गालाई टाउकोमा चढाउने मतिको कारण आज दुर्गा उत्पत्तिको स्थिति बन्यो । 

हेर्नुस् आफ्नो अनुहार ऐनामा पटक पटक र चुम्नुस् यो उजयतय । सम्झनुस् यो उजयतय बाहिरिए पछिको दुर्गाको अरूप्रतिको दृष्टिकोण र अभिव्यक्ति । दुर्गालाई पार्टीमा राखेर छाडा साँढे तपाईंहरूले बनाउनुभएको थियो । ओलीले नेकपा एमालेको केन्द्रीय सदस्य नै बनाउनुभयो । रूपमा तपाईंहरूले मार्सी चामलको भात स्वादिलो मानेर निल्नु भएको थियो, सारमा त्यो मार्सी नभएर हँसिया थियो । बाङ्गे कचिया थियो । हँसिया निल्नु त भयो तर निष्कासन गर्न गाह्रो हुन्छ है भनेर हामीले पहिल्यै सतर्क गराएका थियौँ । त्यतिबेला तपाईंका अरिङ्गालहरू आइलागे । तथानाम भने । भौतिक आक्रमणको धम्की दिए । दुर्गाको पक्षमा नन्दी भृङ्गी, भूत, प्रेत, पिशाच, डाइनी, बोक्सी खटाउनु भयो । आज दुर्गा भारी भए । 

ज्ञानेन्द्र शाहले पनि दुर्गारूपी हँसिया निले भोलि उनलाई पनि पर्ने भारी यही हो । हँसिया (आँसी, कचिया) जसोतसो निले पनि विसर्जन गर्न कठिन हुन्छ महाराज !

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सञ्जीव कार्की
सञ्जीव कार्की
लेखकबाट थप