कृषि वैज्ञानिकको पहिलो सम्मेलन रामपुरमा सुरु
चितवन । स्वदेश र विदेशका कृषि वैज्ञानिकहरूको पहिलो सम्मेलन यहाँस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालयमा सुरु भएको छ । पहिलो स्नातक कार्यशाला (फस्ट ग्राजुएट कन्फ्रेन्स) आजदेखि विश्वविद्यालयमा सुरु भएको हो । कार्यशालाको राष्ट्रियसभा सदस्य विमला राई पौडेलले उद्घाटन गरिन् ।
मङ्सिर ९ गतेसम्म सञ्चालन हुने कार्यशालाको उद्घाटन गर्दै नेत्री राईले कृषिको अध्ययन–अनुसन्धानमा युवापुस्ता आउनुले सकारात्मक सन्देश प्रवाह गरेको बताइन् । कृषि क्षेत्रमा प्रयोग भएका प्रविधि र अहिले बजारमा आएका प्रविधिको अन्तरका कारण पनि किसानले आफ्ना समस्या समाधान गर्न नसकेका उनले बताइन् ।
राष्ट्रिय योजना आयोगका कार्यवाहक उपाध्यक्ष रामकुमार फुँयालले नेपालमा कृषि क्षेत्रको विकासका लागि सरकारले सक्दो सहयोग गर्दै आएको बताए । कृषि क्षेत्रका आयोजनालाई आयोगले प्राथमिकतामा राखेर काम गरेको उनले जानकारी दिए ।
बागमती प्रदेश सरकारका योजना आयोगका उपाध्यक्ष डा नरविक्रम थापाले कृषि तथा वन विज्ञान विश्वविद्यालयले कृषि क्षेत्रमा नयाँ खोज गर्न जरुरी भएको बताए ।
जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारी, सहकारी विकास बोर्डका सहअध्यक्ष मित्रराज दवाडी, विश्वविद्यालयका कृषि सङ्कायका डिन प्रा अर्जुनकुमार श्रेष्ठ, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वआयुक्त गणेशराज जोशी, एसियाली विकास बैंकका रुडी भेन डायल, एएसडिपीका कार्यक्रम निर्देशक वासुदेव काफ्लेलगायतले नेपालमा कृषि क्षेत्रमा देखिएका समस्या र समाधानका लागि सम्मेलन कोशेढुङ्गा सावित हुने विश्वास व्यक्त गरे ।
विश्वविद्यालयका उपकुलपति प्रा डा पुण्यप्रसाद रेग्मीको अध्यक्षतामा सुरु भएको सम्मेलनमा देश– विदेशका तीन सय वैज्ञानिक सहभागी भएका छन् । कार्यक्रम संयोजक एवं अनुसन्धान निर्देशक ऋषिराम कट्टेलका अनुसार सम्मेलनमा नेपालसहित भारत, अमेरिका, जापान, क्यानडा, ताइवानलगायत देशका कृषि वैज्ञानिकले एक सय १३ वटा कार्यपत्र प्रस्तुत गर्ने छन् ।
यसैगरी एसियाली विकास बैंक, विश्व खाद्य सङ्गठन, कृषि अनुसन्धान परिषद्, विश्वविद्यालय अनुदान आयोग, कृषि, वन र शिक्षासँग सम्बन्धित अनुसन्धानमूलक संस्थासहित विभिन्न दातृ निकायका प्रतिनिधि सम्मेलनमा सहभागी भएका हुन् ।
सम्मेलनमा विभिन्न विषयमा समूहगत छलफल, विद्यार्थी, प्राध्यापक तथा नीति निर्माताहरूद्वारा कृषि, वन, पशुपालन, भेटेरेनरी र मत्स्यसँग सम्बन्धित अनुसन्धान र त्यसको नतिजासम्बन्धी कार्यपत्र प्रस्तुति गरिने छ । जलवायु परिवर्तन र त्यसको वैज्ञानिक व्यवस्थापनसम्बन्धी विशेष कार्यपत्र प्रस्तुत गरिने छ ।
सम्मेलनमा कृषि तथा वन विज्ञान विश्वविद्यालयका विद्यार्थी र प्राध्यापक, त्रिभुवन र पूर्वाञ्चल विश्वविद्यालयका प्राध्यापक सहभागी छन् । यसैगरी कृषि अनुसन्धानमा सरोकार राख्ने अनुसन्धानकर्ता, विद्यार्थी, सङ्घसंस्थाका प्रतिनिधि र प्राध्यापकको सहभागिता छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नासाको ‘पार्कर सोलार प्रोब’ सूर्यको सबैभन्दा नजिक पुग्यो
-
पोखराको फेवाताल किनारमा शनिबारदेखि सडक महोत्सव
-
बराहक्षेत्र मन्दिर परिसर बाढीको जोखिममा
-
त्रिविको ५० औँ दीक्षान्त समारोहको सम्पूर्ण तयारी पूरा
-
लाओसमा डेङ्गुका सङ्क्रमितको सङ्ख्या २० हजार पुग्यो, ११ जनाको मृत्यु
-
१० बजे १० समाचार : नयाँ पार्टी घोषणाको तयारीमा रावल, बालेनसँग संवादमा रास्वपा