प्रेम चलाउनेमाथि आक्रमण गर्नेहरु दोषी ठहर, जनही दुई वर्ष कैद
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम बहादुर चलाउनेमाथि कुटपिट गर्नेहरुलाई जनही दुई वर्षको कैद सजाय सुनाइएको छ । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश विनोद खतिवडाको इजलासले कुटपिटमा संलग्न र कुटपिट गर्न लगाउने सबैलाई सजाय र जरिवानाको फैसला सुनाएको हो ।
२०७७ कात्तिक २० गते काठमाडौँ जिल्ला अदालतमा ज्यान मार्ने उद्योगमा दर्ता भएको उक्त मुद्दामा अदालतले ज्यान मार्ने उद्योग नभई कुटपिट र अङ्गभङ्गमा दोषी ठहर गरेको हो । घटनामा संलग्नमध्ये मुख्य योजनाकार मानिएका हरि आचार्य, सह योजनाकार योगेन्द्र रावल तथा कुटपिटमा संलग्नहरु रुपेश साह, रविनकुमार लामा, निरज रानामगर र सयुज श्रेष्ठलाई जनही दुई वर्ष कैद र पीडित उपप्राध्यापक प्रेम बहादुर चलाउनेलाई उपचारमा लागेको खर्चबापत २८ लाख १७ हजार ५९३ रुपैयाँ क्षतिपूर्ति भराउने फैसला सुनाएको हो । साथै प्रतिवादीहरुलाई जनही २० हजार रुपैयाँ जरिवानाको फैसलासमेत भएको छ । घटनामा सहयोगी रहेका भनिएका दिपकराज ओझालाई भने अदालतले सफाइ दिएको छ ।
प्रेम बहादुर चलाउनेको जाहेरीका आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले उनीहरुविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गराएको थियो । तर काठमाडौँ जिल्ला अदालतले भने आक्रमणकारीले टाउकोमा प्रहार नगरेको र ज्यान मार्ने उद्योगभन्दा पनि शरीर अङ्गभङ्ग गराउने उद्देश्यले आक्रमण गरिएको र गराइएको भन्दै उनीहरुलाई मुलुकी अपराध संहिता, २०७४ को दफा १९२ को उपदफा ५ बमोजिमको सजाय सुनाइएको हो ।
मुलुकी अपराध संहिता, २०७४ को दफा १९२ मा अङ्गभङ्ग गर्न नहुने सम्बन्धी व्यवस्था छ । उक्त दफाको उपदफा १ अनुसार अङ्गभङ्ग गराएमा १० वर्षसम्म कैद र १ लाख रुपैयाँसम्म जरिवानाको व्यवस्था गरिएको छ ।
सोही दफाको उपदफा ५ मा अङ्गभङ्ग भएको खत वा घाउ निको भई काम लाग्ने भएमा तीन वर्षसम्मको कैद सजाय र ३० हजार रुपैयाँसम्म जरिवाना हुने कानुनी व्यवस्था छ ।
उपप्राध्यापक चलाउनेको गोडा भाँचिई हाल जोडिएकाले कुटपिट अङ्गभङ्गमा संलग्नहरुलाई तीन वर्षसम्म कैद सजाय हुन सक्नेमा न्यायाधीश विनोद खतिवडाले प्रतिवादीहरुलाई २ वर्षको कैद र जनही २० हजार रुपैयाँ जरिवाना गराउने फैसला सुनाएका हुन् । साथै उपचारमा लागेको खर्च समेत प्रतिवादीहरुबाट भराउने फैसला गरेका हुन् ।
घटनामा संलग्नमध्ये प्रमुख योजनाकार भनिएका हरि आचार्य भने यतिबेला अमेरिकामा छन् । अन्य आरोपितमध्ये सयुज श्रेष्ठ एक महिनादेखि पुर्पक्षमा रहेको भएपनि अन्य अभियुक्तहरु भने धरौटी राखेर थुनामुक्त भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
ललितपुरमा ‘एआई’ सम्बन्धी पाचौं चरणको शैक्षिक कार्यक्रम
-
सवारीको कर र जरिवानामा १००% छुट
-
सुमो दुर्घटनाका घाइते राईको मृत्यु
-
१२ बजे, १२ समाचार : एमालेले खोस्यो भीम रावलको साधारण सदस्यतादेखि नेपाललाई थाहै नदिई लिपुलेकबारे भारत-चीन सहमति
-
एमालेका तीन नेतामाथि कारबाही : विद्या भण्डारीलाई सक्रिय राजनीतिको निम्तो !
-
क्रिसमसको दिन युक्रेनी ऊर्जा पूर्वाधारलाई लक्षित गर्दै रुसी आक्रमण