नेपाल संस्कृत विश्वविद्यालयको जीर्ण भवन भत्काउन सिफारिस

काठमाडौँ । वसन्तपुर डबलीको दक्षिणतर्फ रहेको भवन जीर्ण भएकोले भत्काउन सिफारिस गरिएको छ । काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डङ्गोलको संयोजकत्वमा गठित समितिले भवन भत्किएर जुनसुकै समयमा जनधनको क्षति हुन सक्ने भएको जनाउँदै प्राविधिक प्रतिवेदनका आधारमा भत्काउन सिफारिस गरेको हो ।
२०७९ फागुन ११ गते बिहीबार बसेको महानगरपालिकाको १३ औँ कार्यपालिका बैठकले उपप्रमुख डङ्गोलको संयोजकत्वमा वडा नं. ८ का अध्यक्ष एवं सम्पदा समितिका संयोजक आशामान सङ्गत र वडा नं.२३ का अध्यक्ष मचाराजा महर्जन सदस्य रहेको समिति गठन गरेको थियो । समितिलाई त्रिभुवन विश्वविद्यालय केन्द्रीय विद्यार्थी हित शाखाका नाममा कायम रहेको भवन महानगरपालिकाको मातहतमा ल्याउन र वडा नं. ५ हाँडी गाउँमा रहेको कि.नं. ५७० को जग्गाको भोगाधिकार प्राप्त गर्ने व्यवस्था मिलाउने जिम्मेवारी दिएको थियो ।
सरकारी जग्गा दर्ता, उपयोग तथा लिजमा उपलब्ध गराउने सम्बन्धी कार्यविधि २०७९ को व्यवस्थाबमोजिम जग्गा तथा भवन महानगरपालिका मातहतमा ल्याउन समिति गठन गरिएको हो । यो व्यवस्था बमोजिम कुनै सरकारी निकायको नाममा दर्ता रहेको जग्गा अर्को सरकारी निकायलाई आवश्यक भएमा जग्गा माग गर्ने निकायको केन्द्रीय निकाय, दर्तावाला निकायको केन्द्रीय निकाय र सिफारिस समितिको सिफारिसका आधारमा मन्त्रालयले माग गर्ने सरकारी निकायलाई जग्गा उपयोग गर्न स्वीकृति दिन सक्नेछ ।
यो व्यवस्थाबमोजिम समितिका संयोजक डङ्गोलले २०८० भदौ १२ गते त्रिवि उपकुलपतिको कार्यालयलाई पत्र लेख्दै दर्तावालाका तर्फबाट केन्द्रीय समिति गठन गर्न र संयुक्त बैठकको वातावरण मिलाउन अनुरोध गरिएको थियो ।
जीर्ण भवन भत्काएर सम्भावित जनधनको क्षति रोक्न स्थानीय ३२ जनाले हस्ताक्षर गरेर कार्तिक १९ गते वडामा निवेदन बुझाएका थिए । सहरी व्यवस्थापन विभागले भवनको अवस्थालाई प्राविधिक अध्ययन गर्न इन्जिनियर जीवन रेग्मी, आर्किटेक्ट इन्जिनियर अमित बज्राचार्य र आर्किटेक्ट इन्जिनियर गौरव श्रेष्ठ रहेको ३ सदस्यीय समिति गठन गरेको थियो ।
समितिले मङ्सिर ४ गते प्रतिवेदन बुझाएको हो । उक्त प्रतिवेदनमा २०७२ सालको भूकम्पपछि भवनको बाहिरी र भित्री गाह्रो चर्किएर ढल्किएकोले थप क्षति हुन नदिन टेको लगाएर अड्याइएको जनाएको छ । पुरानो भवन दक्षिणतर्फ पहिलो तलामा रहेको झ्याल खसेको, उत्तर र दक्षिणतर्फको जमिन तलामा गाह्रो भत्किएको, पूर्वतर्फको पहिलो र दोस्रो तलाको गाह्रो ठाउँ ठाउँमा चिरा परेको, उत्तरतर्फको झ्याल वरपर ठाउँ ठाउँमा चर्किएको, छानाबाट पानी चुहिने हुँदा काठको मुसिं, ढलिः आदि मक्किएको देखिएको उल्लेख छ ।
प्रतिवेदनमा भवन कुनै पनि समयमा भत्किन सक्ने र जनधनको क्षति हुन सक्ने हुँदा जीर्ण भवनको तत्काल व्यवस्थापन गर्नुपर्ने सुझाव दिएको हो ।
यो भवन वडा नंं २३ को सिट नं. १०२—११०४—१२, कित्ता नं. ३४८ मा ४ आना १ पैसा २ दाम (०—४—१—२) क्षेत्रफलमा छ । त्रिभुवन विश्वविद्यालय केन्द्रीय विद्यार्थी हित शाखाका नाममा कायम देखिने यो भवन नेपाल संस्कृत विश्वविद्यालयले प्रयोग गर्दै आएको थियो ।
बैठकमा समितिकी संयोजक डङ्गोलले जोखिम हटाउने कामलाई प्राथमिकतामा राखेर जग्गा प्राप्त गर्ने प्रक्रियालाई निरन्तरता दिइने बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोपा डेल’रे : बार्सिलोना र एटलेटिकोबीच कडा टक्कर, ४–४ बराबरीमा टुंगियो खेल
-
प्रिमियर लिगमा चेल्सी विजयी
-
काठमाडौंमा ‘डिजिटल अपराधसम्बन्धी अन्तरराष्ट्रिय सम्मेलन’ हुने, प्रधानमन्त्री ओलीले उदघाटन गर्ने
-
किसानको बक्यौता भुक्तानी गर्न दुग्ध उत्पादक सहकारीको आग्रह
-
घर सजाउने सौखले रोपेको फूल बन्यो आम्दानीको स्रोत
-
१२ बजे, १२ समाचार : ताप्लेजुङमा हट्यो निषेधाज्ञादेखि प्रकृति लम्साल मृत्यु प्रकरणको थप जानकारीसम्म