हरिबोधनी एकादशीको महिमा कति ?
एकादशी भनेको देवीको नाम हो । यसै कारणले सबै एकादशीको नाम स्त्रीलिङ्गी देखिन्छ । यस विषयमा एउटा कथा छ । सत्य युगको कुनै एक समयमा देवर्षि नारदजीले ब्रह्माजीबाट एकादशीका विषयमा जानकारीका लागि विन्ती गर्नुभयो अरे । एकादशी भनेको के हो ? किन एकादशीको व्रत तथा पूजा गरिन्छ ? र व्रतको विधि के हो ? भनी सोध्नुभयो ।
तब ब्रह्माजीले पनि नारदजीलाई बताउन लाग्नुभयो– हे नारदजी सत्य युगमा एक पहाडी गुफामा भगवान् विष्णु आराम लिएर सुतिरहनुभएको थियो । यो कुरा चाल पाएर एक राक्षस आएर विष्णुलाई मार्न जाइलाग्यो । तब विष्णु भगवानका आभाका प्रभावले उहाँको शरीरबाट तत्काल एक देवी उत्पन्न भई राक्षससँग लडाइँ गरी त्यो राक्षसलाई मारिन् अरे । भगवान् विष्णु जागा भएपछि सो कुरा सबै थाहा भयो । त्यस घटनाको प्रभावले भगवान् विष्णुले तिम्रो नाम एकादशी भयो भन्नु भएछ । जो मानिस तिम्रो नाममा उपवास बसी पूजाआराधना गर्दै मेरो पूजा गर्दछन्, तिनले मुक्ति पाउँछन् । यो कार्यले अक्षय फल प्राप्त गर्छन् भनी विष्णुले मलाई बनाउनुभएको थियो भनी ब्रह्माजीले नारदलाई भन्नुभयो । त्यस समयदेखि एकादशी तिथिको नाम पनि एकदशी भयो । तसर्थ हिन्दु पाञ्चाङ्गको एघरौँ तिथिलाई एकादशी भनिन्छ । यो तिथि महिनामा दुई पटक शुक्लपक्षमा र कृष्णपक्षमा पर्दछ ।
हिन्दु दर्शनमा एकादशीको व्रतलाई महत्त्वपूर्ण मानिन्छ । प्रत्येक वर्ष २४ वटा एकादशी पर्दछन् । अधिकमास या मलमास भएको समयमा दुई एकादशी थप हुने हुँदा २६ एकादशी पर्दछन् । उपरोक्तअनुसार महिनाको नाम पालक देवता शुक्लपक्ष एकादशी र कृष्णपक्ष एकादशीको विवरण तल उल्लेख भएअनुसार पर्छन् ।
एकादशी पर्व अत्यन्त महत्त्वपूर्ण भएकाले कुनै एक समयमा शिवजीले श्रीविष्णुको स्तुति गर्नुभएको थियो । जो मङ्सिर कृष्ण एकादशी वा उत्पत्तिका एकादशीमा उल्लेख गरिएको केही अंश तल उल्लेख गरिएको छ ।
शिवजीले गरेको विष्णुको स्तुति (उत्पत्तिका एकादशी)–
त्वं माता सर्वलोकानां त्वंमेव जगतः पिता ।
त्व स्थितिस्त्वं तथोत्पत्तिस्त्वं च संहारकारकं ।। ४१
सहायस्त्वं च लोकानां त्वं च शान्तिकरः प्रभो ।
त्वं धरा च त्वंमाकाशः सर्व विश्वपकारकः ।। ४२
भवस्त्वं च स्वयं ब्रह्मा त्रैलोक्य प्रतिपालक ः । त्वं रविस्त्वं शशाङ्कश्च त्वं देवो त्वं हुताशनः ४३
हव्यं होमो हुतास्त्वं च तन्त्रमन्त्र द्विजो जयः । यजमानश्च यज्ञस्त्वं फलभोक्ता त्वमिश्वर ।। ४४
न त्वया रहितं किञ्चित् त्रैलोया सचराचरे । भगवन् देवदेवेश शरणा गतवत्ससल ।। ४५
हरिबोधिनी एकादशी
वर्षका २३ एकादशीमध्ये कार्तिक शुक्लपक्षको एकादशीलाई हरिबोधनी एकादशी भनिन्छ । यस दिनलाई तुलसी विवाह एकादशी पनि भनिन्छ । तुलसी रोपणदेखि विवाहसम्म या आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीसम्मको समयलाई चौमास भनिन्छ । यो चौमास आषाढ शुक्ल एकादशी जसलाई हरिशैन्य एकादशी भनिन्छ ।
साधरणतः वर्षभरिमा चौबिसवटा एकादशीमध्ये सबैभन्दा ठूलो एवं महत्त्वपूर्ण हरिबोधनी वा प्रबोधिनी एकादशी हो । त्यसैले यसलाई ठूलो एकादशी पनि भनिन्छ । यो एकादशी यो वर्ष या २०८० मङ्सिर ७ गते बिहीबार तदानुसार २३ नोभम्बर २०२३ मा परेको छ । यस दिन फूलको डोली लैजाने र गङ्गामा सेलाउने वा तोरणका रूपमा बनाएको फूललाई गङ्गाजीमा तार्ने गरिन्छ । यसलाई फूल तार्ने पनि भनिन्छ ।
हिन्दु धर्ममा एकादशीलाई तुलसीको माध्यमबाट भगवान् विष्णुको उपासना गर्ने पर्वका रूपमा लिइन्छ । आषाढ शुक्ल एकादशी वा हरिशैन्य एकादशीका दिन क्षीर सागरमा सुत्नुभएका भगवान् विष्णु आजैका दिन उठ्नुहुने भन्ने कुरा भिवष्योत्तर पुराण तथा एकादशी महात्म्यमा उल्लेख गरिएको छ । यसै कारण पनि यस दिनलाई हरिबोधिनी एकादशी भनिएको भन्ने गरिन्छ । भविष्योत्तर पुराणमा अन्य एकादशीमा भन्दा हरिबोधनी एकादशीमा गरिने भगवान् विष्णुको उपासना बढी फलदायी हुने कुराको उल्लेख गरिएको छ । यस दिन गरिने स्नान, दान, तप आदि सबै कार्य अक्षय फलदायी हुन्छ भनी भगवान् कृष्णले अर्जुनलाई बताएको कुरा कथामा उल्लेख छ ।
धार्मिक विश्वास
विष्णु क्षीर सागरमा सुतेका कारण यसबेला कुनै माङ्गलिक कार्य गर्नुहुँदैन भन्ने मान्यता अनुसार चतुर्मासभरि विवाह, व्रतबन्ध, गृहप्रवेश आदि कार्य गरिँदैन अर्थात् यी कार्य गर्न ज्योतिषीय मान्यता अनुसार मुहूर्त निस्किँदैन । चतुर्मासको अन्त्यपछि भने माङ्गलिक कार्यहरूका लागि मुहूर्त रहेको पाइन्छ ।
भीष्म पञ्चक
कार्तिक शुक्ल एकादशीदेखि पूणिर्मासम्मको अवधिलाई भीष्मपञ्चक भनिन्छ । पौराणिक कथाअनुसार कार्तिक शुक्ल एकादशीदेखि पूर्णिमासम्मको अवधिमा पञ्चपाण्डवहरूले पितामह भीष्मबाट धार्मिक शिक्षा पाएका थिए अरे । तसर्थ यो भीष्मपञ्चकभरि भीष्मकथा श्रवण गर्नाले इच्छित फल पाइने विश्वास गरिन्छ ।
तुलसी र दामोदर (शालिग्रम) विवाह
चार महिनाअघि अर्थात् आषाढ शुक्ल एकादशीको हरिशयनी वा निर्जला एकादशीको दिन (चतुर्मासको आरम्भमा) आआफ्नो घरमा रोपिएको तुलसीलाई हरिबोधनी एकादशीका दिन विशेष पूजा गरिन्छ ।
एकादशीको भोलिपल्ट द्वादशीको दिन चतुर्मासभरि विष्णु वा विष्णुप्रियाका रूपमा पूजा गरिएको तुलसीको विशेष पूजासँगै शालिग्रम (कसैले पीपलसँग पनि भनेका) विवाह गरिने परम्परा रहिआएको छ । यही विवाहको सन्दर्भमा नवान्न (नयाँ अन्न) को प्रसाद चढाइन्छ । तुलसी दामोदर विवाहमा घरघरको तुलसी मठ सिँगारेर विधिपूर्वक विवाह गराउने गरिन्छ । यसैले मङ्सिर महिनाको पालक देवताको नाम नै दामोदर रहेको छ ।
गाउँघरमा श्रद्धालु भक्तहरूले एकादशीदेखि पञ्चमी भीष्म पञ्चकभरि ब्राह्मणद्वारा होमयज्ञ गराई एकादशी व्रतको उद्यापन गर्ने गर्छन् । हिन्दुहरू तुलसी, कुश, पीपल, दुबो र शालिग्रामलाई भगवान् विष्णुको प्रतीकका रूपमा मान्छन् । पहेलो केतकीको फूल, तुलसीको पात वा मञ्जरी र सयपत्रीको फूल चक्रपाणि भगवानलाई खुसी बनाउन गुरु भोजन दक्षिणा वा सिदादानसँगै आठवटा कुम्भ दान गरोस् ।
महत्त्व
हरिबोधनी एकादशीमा उपवास बस्न सक्नेहरूले करिब १८ कोसको दुरीमा रहेको काठमाडौँका चार नारायण (चाँगु, विशङ्खु, इचङ्गु र शेष) लगायत बुढानीलकण्ठमा समेत भक्तजनको मेला लाग्दछ । नसक्नेले कम्तीमा एक नारायणको दर्शन र पूजाअर्चना गरेमा सम्पूर्ण पाप नाश भई अन्त्यमा मोक्ष मिल्ने धार्मिक विश्वास छ । हरिबोधनी एकादशीका दिन विशेष गरी सक्खरखण्ड, पिँडालु आदि कन्दमूल र फलफूल भगवान् नारायणलाई चढाई व्रतालुहरू प्रसादका रूपमा फलाहार गर्ने गर्छन् ।
तुलसीको औषधीय महत्त्व
तुलसी एक बहुउपयोगी वनस्पति हो, यसले आयुर्वेद विज्ञानमा पनि यसले विशिष्टस्थान ओगटेको छ । चिकित्सकहरूका अनुसार तुलसीमा ८९ रोग निको गर्ने क्षमता छ । यसमा पात, हाँगा, फूल, जरा, बीउ सबै उत्तिकै महत्त्वका छन् । यसले भोक जगाउने, रुचि जगाउने तथा पाचनक्रिया बढाउनुका साथै झाडा–वान्ता पनि रोक्ने कार्य गर्दछ । मानिस मृत्यु शय्यामा हुँदा प्राण त्याग्नुअघि तुलसीको बोटसँगै राख्नाले तथा तुलसीपत्र खुवाउनाले मरेपछि मोक्ष पाइन्छ भन्ने विश्वास गरिएको छ ।
तुलसी रोपेको चार सय मिटर वरपरको वातावरणलाई तुलसीले सुगन्धले शुद्ध पार्दछ भन्ने विश्वास गरिन्छ ।
वृन्दा, जालन्धर, विष्णु र शिवको सम्बन्ध
पौराणिक समयमा असुर कुमार जालन्धरसँग वृन्दाको विवाह भयो । जालन्धरले शिवजीलाई नै हाँक दियो र युद्ध भयो । वृन्दाको पतिव्रत धर्मले जालन्धर बलियो थियो र शिवलाई युद्ध जित्न मुस्किल भएको थियो । शिवजीकै इसारामा विष्णुले वृन्दाको सतीत्व नाश गरे । जालन्धरको शक्ति क्षीण भयो र शिवबाट मारियो । यो कुरा वृन्दाले थाहा पाइन् । विष्णुलाई ढुङ्गा हुने श्राप दिइन् । विष्णुले पनि वृन्दालाई अर्को जन्ममा तिमी पनि तुलसी हुने श्राप दिए । आफू पनि शालिग्रम हुने र त्यही शालिग्रम रूप मसँग तुलसी रूप तिम्रो विवाह हुने छ भन्नुभए अनुसार यसै दिन तुलसी दामोदर वा शालिग्रमबीच विवाह भएको भन्ने अर्को कथा पनि पाइन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सार्क मुलुकका पर्यटकको आकर्षण बन्दै ‘हट एयर बेलुन’
-
चार महिनामा १३ अर्ब ४० करोडको मोबाइल आयात
-
विश्वकपमा छनोट भएका महिला क्रिकेट खेलाडी सम्मानित
-
धान फल्ने खेतमा लगाएको सुन्तलाबाट दश लाख आम्दानी
-
इजरायलले प्यालेस्टाइनमा गरेको नरसंहारका विरुद्ध माइतीघरमा प्रदर्शन (तस्बिरहरू)
-
नेपाली रुपैयाँमा चुच्चे नक्सा राखेकोमा भाजपा नेताको आपत्ति