मङ्गलबार, १८ मङ्सिर २०८१
ताजा लोकप्रिय
वैदेशिक रोजगार

कोरियामा नेपाली श्रमिक किन गर्छन् आत्महत्या ?

बिहीबार, ०७ मङ्सिर २०८०, ०७ : ५२
बिहीबार, ०७ मङ्सिर २०८०

काठमाडौं । दक्षिण कोरिया नेपाली श्रमिकहरूका लागि निकै बढी सुरक्षित गन्तव्य मुलुक मानिन्छ । रोजगार अनुमति प्रणाली (इपीएस) मार्फत कोरियामा जाने श्रमिकहरूको सुरक्षाका लागि कोरिया निकै सचेत छ । कोरियन रोजगारदाताको समेत प्रमुख रोजाइमा नेपाली श्रमिक नै पर्छन् । तर, त्यहाँ नेपाली श्रमिकहरूको मृत्यु बढ्दो क्रममा छ, त्यसमा पनि आत्महत्या दर बढी छ ।

दक्षिण कोरियास्थित नेपाली दूतावासले ईपीएस कोरिया शाखालाई उपलब्ध गराएको तथ्याङ्क अनुसार हालसम्म २५० नेपालीको मृत्यु भएको छ । जसमा ६८ जनाले आत्महत्या गरेका छन् । त्यस्तै ६२ जनाको कुनै कारण नखुली मृत्यु भएको देखिन्छ । काम गर्दागर्दै ३० जनाले ज्यान गुमाएका छन् भने बिरामी भएर २२ जनाको मृत्यु भएको छ । त्यस्तै ४ जनाको समुन्द्रमा डुबेर तथा ३५ जनाको अन्य विभिन्न कारणले मृत्यु भएको छ ।

वैदेशिक रोजगार बोर्डको तथ्याङ्क अनुसार २०६५ यता वैदेशिक रोजगारीमा गएका साढे १२ हजार नेपालीले विदेशमा ज्यान गुमाएका छन् । तीमध्ये एक हजार ३०० भन्दा बढीले आत्महत्या गरेका छन् ।

कोरियामा सन् २००८ देखि हालसम्म ६८ जनाले आत्महत्या गरेका हुन् । संख्याको हिसाबले थोरै देखिए पनि कोरियामा यतिको संख्यामा आत्महत्या हुनु चुनौतीको विषय रहेको इपीएस कोरिया शाखाका निर्देशक गुरूदत्त सुवेदीले बताए ।

‘नेपाली श्रमिकहरूका लागि कोरिया सबैभन्दा सुरक्षित देश मान्छौँ । त्यहाँ काम गर्न गएका नेपाली दाजुभाइ दिदीबहिनीको आत्महत्यालाई हामीले चुनौतीका रूपमा लिएका छौँ । संख्यामा कम देखिए पनि यस्तो हुनु निकै दुखद् हो,’ सुवेदीले भने ।

कोरियामा आत्महत्याको कारण :

नेपालबाट इपीएस भाषा परीक्षा पास गरेर सन् २००८ बाट नेपालीहरू कोरियामा जान थालेका थिए । हालसम्म १ लाख ५ हजारभन्दा बढी नेपाली कोरिया पुगेका छन् । हाल ४५ हजारभन्दा बढी नेपाली कोरियामा कार्यरत छन् ।

पछिल्लो समय वार्षिक २० देखि २५ हजारको हाराहारीमा कोरिया जाने गरेका छन् । कोरियाले समेत नेपालका लागि कोटा बढाउँदै लगेको देखिन्छ ।

कोरियामा नेपाली श्रमिकहरूले आत्महत्या गर्नुका थुप्रै कारण रहेको निर्देशक सुवेदीले बताए । कोरियामा काम गर्न गाह्रो, सामाजिक तथा मानसिक समस्याका कारण आत्महत्या गर्ने गरेको उनको भनाइ छ ।

कोरियामा सबैभन्दा गाह्रो काम मिनारी भन्ने हुन्छ । त्यो भनेको घाँटीसम्मको तलाउमा डुबेर एक प्रकारको साग टिप्नु हो । पानी बरफ जमेको हुन्छ । त्यहाँ गएर दिनभर साग टिप्नुपर्छ । त्यो काम सबैभन्दा जटिल हुने उनको भनाइ छ । काम गर्न नसकेको अवस्थामा मानसिक रूपमा कमजोर हुँदै गएपछि उनीहरूले आत्महत्याको बाटो रोज्ने गरेको सुवेदीको भनाइ छ ।

‘नेपालमा काम गरेका हुँदैनन् । त्यहाँ त हरेक समय मेसिनसँगै चल्नुपर्छ । एकछिन पनि खाली बस्न पाइँदैन । मिनारी भन्ने काम त निकै गाह्रो हुन्छ । नेपालमा खाएर हल्लेर हिँडेकाहरू काम गर्न सक्दैनन्,’ निर्देशक सुवेदीले भने, ‘स्वदेशमा खासै शारीरिक परिश्रम वा काम नगरेकालाई निकै गाह्रो हुन्छ । उनीहरू मानसिक रूपमा कमजोर हुँदै जाने र आत्महत्याको बाटो समेत रोज्ने गरेका छन् ।’

विदेशको कामबारे थाहा नभएकाहरूलाई मेसिनले झैँ काम गर्नुपर्दा एक किसिमको तनाव हुने उनको भनाइ छ । त्यस्तै कतिपयले पारिवारिक कारणले समेत आत्महत्याको बाटो रोज्ने गरेको पाइएको बताए ।

‘श्रीमान–श्रीमती वा प्रेमी–प्रेमिका हुन्छन् । कोरियामा अहोरात्र खटिएर काम गर्नुपर्छ । नेपालमा भएकाले आफूसँग बोल्न समय दिँदैन, उतै अरूसँग सल्क्यो होला भनेर सोच्छन् । त्यही विषयमा झगडा हुन्छ । एकातिर कामको प्रेसर, अर्कोतिर घरको टर्चर सहन नसकेर आत्महत्या गर्ने पनि देखिएका छन्,’ निर्देशक सुवेदीले भने ।

त्यसरी आत्महत्या गर्नेमा सबैभन्दा बढी कोठाभित्रै वा कार्यस्थलमा झुण्डिएर आत्महत्या गरेको देखिन्छ । त्यस्तै विष सेवन गरेर समेत आत्महत्या गर्ने गरेका छन् ।

किन जान्छन् डिप्रेसनमा ?

झापा दमकका ३२ वर्षीय मचिन्द्र कुरूङ्वाङ ६ वर्ष कोरिया बसेर नेपाल फर्किए । नेपाल फर्किएको केही समयपछि उनी पुनः कोरिया पुगेका छन् । उनका अनुसार कोरियामा मेसिनसँगसँगै आफू पनि चल्नुपर्छ । एक सेकेण्ड पनि तलमाथि गरियो भने मालिकको पनि गाली खानुपर्नेसँगै आफ्नो ज्यानको समेत जोखिममा हुने गर्छ ।

कोरियामा रोबोट झैँ खटिएर काम गर्नुपर्ने उनको भनाइ छ । ‘काम त मेसिन जसरी गर्नुपर्छ । सेकेण्ड सेकेण्डको महत्त्व हुन्छ । मैले काम गर्ने कम्पनीमा हात चलाइराख्नुपर्छ । रोबोटले सामान ल्याउने, हामीले हात चलाएर मिलाइराख्नुपर्ने । एक सेकेण्ड पनि हात खाली गर्न मिल्दैन । कामको क्रममा एक सेकेण्ड पनि आराम गर्न खोजेमा त्यहाँ अर्को समस्या हुन्छ,’ मचिन्द्रले भने ।

काम गरेको आधारमा पैसा राम्रै कमाउन सकिने भए पनि दुःख भने निकै बढी गर्नुपर्ने उनको भनाइ छ । ‘दैनिक ८ घण्टा अनिवार्य काम गर्नुपर्छ । त्यसपछि ओभरटाइम पनि पाइन्छ । मेरो कम्पनीमा साढे २ घण्टा अनिवार्य ओभरटाइम छ । कुनै दिन साढे ५ घण्टासम्म पनि चल्छ । काम गरेको आधारमा राम्रै कमाइ हुन्छ । तर, दुःख भने कल्पना गरेभन्दा बढी हुन्छ,’ उनले भने ।

आत्महत्या गर्ने, मानसिक तनावमा पर्नुको पछाडि थुप्रै कारण हुने उनको भनाइ छ । ‘कोहीले निकै दुःख पाइरहेका छन् । कति जनाले त आत्महत्या गरेका छन् । १२÷१४ घण्टा दुःख गरेर कमाएको पैसा घर पठाउँछन्,’ उनले भने, ‘घरमा परिवारले त्यो पैसा उडाइदिन्छ । अनि जति काम गरे पनि उपलब्धि जिरो भएपछि डिप्रेसनमा जाने, आत्महत्या गर्ने गरेका छन् ।’

त्यस्तै पारिवारिक तनाव तथा समस्याका कारण समेत यस्ता घटना बढिरहेको उनको भनाइ छ । ‘घर परिवारका कारण तनाव हुन्छन् । त्यही तनावका कारण रक्सी खान्छन् । अनि साथीभाइ एकआपसमै झै–झगडा गर्छन् । कोही मर्छन्, कोही घाइते हुन्छन् । यो समस्या पनि देखिएको छ,’ उनले भने ।

न्यूनीकरणका लागि के हुँदैछ पहल ?

कोरियामा मृत्यु तथा आत्महत्या न्यूनीकरणका लागि खासै पहल भएको देखिँदैन । आत्महत्या बढ्दो क्रममा रहेपछि सरकारले न्यूनीकरणका लागि पहल थालेको देखिन्छ । इपीएस कोरिया शाखाले कोरियास्थित नेपाली दूतावासलाई १० लाख रूपैयाँ पठाएको छ ।

‘हेप्पी होम रिटर्न’ कार्यक्रम अन्तर्गत कोरियामा रहेका नेपाली श्रमिकहरूलाई जनचेतना फैलाउन उक्त पैसा खर्च गरिने निर्देशक सुवेदीले बताए । उक्त कार्यक्रम अन्तर्गत कोरियामा रहेका नेपालीहरूलाई मानसिक रोगबारे जनचेतना दिने, इलिगिल बसिरहेकाहरूलाई काउन्सिलिङ गर्ने रहेका छन् ।

त्यस्तै सातै प्रदेशमा कोरियामा रहेका श्रमिकका परिवारलाई समेत सचेतना कार्यक्रम थालिएको उनको भनाइ छ । ‘कोरियामा रहेका श्रमिकका घर परिवारसँग समेत अन्तरक्रिया थालेका छौँ । उनीहरूलाई अनावश्यक दबाब नदिन भन्ने, नेपाल पठाएको पैसा जथाभावी खर्च नगर्न सुझाव दिने जस्ता कुरा हामीले भन्ने गरेका छौँ,’ उनले भने ।

कोरियामा हाल ४ प्रतिशतको हाराहारीमा नेपालीहरू इलिगल बसेका छन् । उनीहरूलाई घर फर्काउनका लागि समेत काम भइरहेको निर्देशक सुवेदीको भनाइ छ । ‘इलिगल धेरै भयो भने भोली कोरियाले कोटा घटाइदिने डर छ । त्यस्तैले इलिगल बसेकाहरूलाई खोजेर घर फर्काउने काम समेत भइरहेको छ,’ उनले भने । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्णसिंह धामी
कृष्णसिंह धामी

धामी श्रम/वैदेशिक रोजगार र शिक्षा विटमा विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप