मङ्गलबार, ०९ पुस २०८१
ताजा लोकप्रिय
प्रोफेसर कुटपिट प्रकरण

उपप्राध्यापक चलाउनेको मुद्दामा अन्तिम सुनुवाइ सुरु, बिहीबारका लागि हेर्दाहेर्दैमा राखेर फैसलाको तयारी

बुधबार, ०६ मङ्सिर २०८०, १७ : ५१
बुधबार, ०६ मङ्सिर २०८०

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेको मुद्दा हेर्दाहेर्दैमा राखिएको छ । बुधबार काठमाडौँ जिल्ला अदालतका न्यायाधीश विनोद खतिवडाको इजलासमा परेको उक्त मुद्दा हेर्दाहेर्दैमा राखिएको छ ।  ३ वर्ष कटिसकेको मुद्दा भएको कारण हेर्दाहेर्दैमा राखेर फैसला गर्न लागिएको काठमाडौँ जिल्ला अदालत श्रोतले बताएको छ । 

बुधबारको पेसीमा वादी नेपाल सरकारका तर्फबाट सहन्यायाधीशवक्ता दिनेश श्रेष्ठ, जिल्ला न्यायाधिवक्ता श्रीराम खनाल र सहायक जिल्ला न्यायाधिवक्ता चन्द्रप्रसाद सञ्जेल तथा कानुन व्यवसायीबाट ओमप्रकाश अर्याल, डा.सुरेन्द्र भण्डारी, श्रीकान्त बराल, पुनदेवी महर्जन, चन्द्रप्रसाद भुसाल, यासुव घिमिरे, शिवप्रसाद श्रेष्ठले बहस गरेका थिए । 

त्यस्तै प्रतिवादीहरुका तर्फबाट शेरबहादुर केसी, उज्जलराम घिमिरे, योगेन्द्रबहादुर अधिकारी, राजकुमार उप्रेतीले बहस गरेका थिए । बुधबारको बहस नसकिएपछि बिहीबारका लागि उक्त मुद्दा हेर्दाहेदैृमा राखिएको छ । बिहीबार सुरुमा प्रतिवादीहरुका तर्फबाट बहस भएपछि वादी नेपाल सरकार तथा निवेदक प्रेम बहादुर चलाउनेको तर्फबाट जवाफी बहस हुनेछ । जवाफी बहसका लागि ३ बजेसम्मको समय छुट्टाइएको अदालत श्रोतले जनाएको छ । दुवै पक्षको बहस सुनिसकेपछि बिहीबार नै फैसला सुनाउने तयारी भएको छ ।

४७ पटक तारेख र ४१ पटक पेसीमा चढेपछि मंसिर ६ गतेबाट अन्तिम सुनुवाइ सुरु भई बिहीबारका लागि हेर्दाहेर्दैमा राखिएको हो । २०७७ कात्तिक २० गते काठमाडौँ जिल्ला अदालतमा दर्ता भएको उक्त मुद्दा ३ वर्ष पूरा भइसकेपछि बल्ल फैसलाका लागि हेर्दाहेर्दैमा राखिएको छ । 

भएको के थियो ?

त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा समाजशास्त्र विषयको प्राध्यापन गर्ने उपप्राध्यपक हुन् प्रेमबहादुर चलाउने । उनीमाथि २०७७ असोज २० गते बिहान अन्दाजी ९ः३० बजे कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको प्राङ्गणमै रहेको नेपाल बैंक लिमिटेड कीर्तिपुर शाखाबाट पैसा झिकेर फर्किने क्रममा ३ जनाले कुटपिट गरे । उनीहरूले ज्यान मार्ने उद्देश्यले बाँसका भाटा प्रयोग गरी चलाउनेमाथि आक्रमण गरेका थिए ।

आक्रमणबाट टाउको लगायत शरीरका विभिन्न भागमा गम्भीर चोट पुगेका चलाउनेले त्रिभुवन विश्वविद्यालयमै अध्ययनरत नेपाल विद्यार्थी संघका नेता हरि आचार्य र योगेन्द्र रावल समेतका व्यक्तिहरूको योजनामा आक्रमण गरेको भन्दै किटानी जाहेरी दर्ता गराएका थिए । किटानी जाहेरीलगत्तै फरार रहेका उनीहरूबारे खोजी गर्ने क्रममा प्रहरीले आक्रमणमा संलग्न रुपेश साह, रविनकुमार लामा, निरज रानामगर र सयुश भन्ने सयुज श्रेष्ठलाई पक्राउ गरेको थियो ।

सीसीटीभी फुटेजमा देखिएको मोटरसाइकल र व्यक्तिको खोजी गर्ने क्रममा उनीहरू पक्राउ परेका थिए । पक्राउ परेलगत्तै उनीहरूले हरि आचार्य र योगेन्द्र रावलको निर्देशनमा कुटपिट गरेको बयान दिएका थिए ।

उनीहरूको मौकाको बयानकै आधारमा प्रहरीमार्फत् जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले हरि आचार्य, योगेन्द्र रावल, रुपेश साह, रविनकुमार लामा, निरज रानामगर र सयुज श्रेष्ठलाई प्रतिवादी तथा उनीहरूलाई सहयोग गर्ने दिपक राज ओझालाई मतियारका रुपमा ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता ग¥यो । प्रतिवादीहरूलाई १० वर्ष कैद र जनही एकलाख जरिवानाको मागदाबी गर्दै जिल्ला अदालतमा मुद्दा दायर गरिएको थियो ।

काठमाडौँ जिल्ला अदालतले भने प्रतिवादीहरूलाई सामान्य कुटपिट भन्दै न्युन धरौटी लिएर तारेखमा छाडिदिएको थियो । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश अम्बिकाप्रसाद निरौलाले प्रतिवादीसँग २० हजारदेखि ८० हजार रुपैयाँसम्म धरौटी लिएर छाडिदिएका थिए ।

जिल्ला अदालतको थुनछेक आदेशविरुद्ध सरकारी वकिल कार्यालय पुनरावेदनका लागि उच्च अदालत पाटन गएको थियो । तर उच्च अदालतले भने जिल्ला अदालतले माग गरेको धरौटी अपराधको प्रकृति र पीडितको स्वास्थ्य अवस्था प्रतिकुल रहेको भन्दै जनही ५ लाख रुपैयाँ धरौटी लिइ प्रत्येक प्रतिवादीबाट उपचार खर्चका लागि तत्कालै जनही एक–एक लाख रुपैयाँ भराउने आदेश दिएको थियो । यद्यपि सरकारी वकिल कार्यालय भने प्रतिवादीलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने भन्दै सर्वोच्च अदालतसम्म निवेदन लिएर गएको थियो ।

भाडामा ल्याइएका अभियुक्तले स्वीकारेका थिए अपराध

उपप्राध्यापक प्रेमबहादुर चलाउनेलाई ज्यान मार्ने उद्योगले कुटपिट गर्ने प्रमुख व्यक्ति रुपेश साहले चलाउनेमाथि कुटपिट गरिएको र कुटपिटमा कुन कुन व्यक्तिको कस्तो कस्तो संलग्नता थियो भनेर बयान दिएका थिए । मौकाको बयानमा साहले नेपाल विद्यार्थी संघका नेता हरि आचार्य र योगेन्द्र रावलको निर्देशनमा आफूले कुटपिट गरेको र त्यसबापत २० हजार रुपैयाँ लिएको बताएका थिए ।

यस्तो थियो रुपेश साहको बयान 

– म आफू आवद्ध रहेको नेपाल विद्यार्थी संघले त्रिभुवन विश्वविद्यालयबाट अनलाइन कक्षाहरू राम्रोसँग नगरेको र विद्यार्थीहरूको पठनपाठनका लागि कुनै योजना नबनाएको भन्ने समेतका विषयहरूमा छलफलको माग राखी आन्दोलन गर्दै आइरहेको र उक्त विरोध कार्यक्रममा विगत १ महिना अगाडिदेखि म आफूसमेत साथीहरूसँग सहभागी हुँदै आइरहेको थिएँ ।

यसै क्रममा त्रिभुवन विश्वविद्यालयको नेविसंघ सभापति हरि आचार्यले मलाई मिति २०७७ असोज १९ गते बेलुकाको अन्दाजी ८ बजेको समयमा निजको मोबाइल नम्बर ९८५७०.... बाट मेरो ९८४२४.... मा फोन गरी विश्वविद्यालय समाजशास्त्र केन्द्रीय विभागका उपप्राध्यापक पदमा कार्यरत प्रेमबहादुर चलाउनेले हाम्रो संगठनले त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा लगाएको ताल्चा तोडेको छ, त्यसलाई ठिक पार्नुपर्छ, त्यसका लागि मद्दतसहित प्रहारसमेत गर्न तिमीलाई के के र कति जना मानिस चाहिन्छ, सम्पूर्ण काम कुरा तिमीले मिलाउनु र प्रेमबहादुर चलाउनेलाई चिन्ने, निज आउने ठाउँ देखाउने र अन्य सहयोगका लागि भोलि बिहान योगेन्द्र रावललाई त्रिभुवन विश्वविद्यालयमा गई भेट्न भनेको हुँदा मैले सोही कुरा योगेन्द्र रावललाई फोन गरी जानकारी गराएको र निजले मलाई कम्तीमा ४ जना केटाहरू लिई भोलि बिहान त्रिभुवन विश्वविद्यालय कीर्तिपुरको गेट अगाडि रहेको चिया पसलमा आउनु भनेको हुँदा मैले मेरो साथी रविनकुमार लामा, निरज राना मगर, सयुस श्रेष्ठलाई भोलि बिहान त्रिभुवन विश्वविद्यालय कीर्तिपुरको समाजशास्त्र केन्द्रीय विभागका उपप्राध्यापक पदमा कार्यरत प्रेम चलाउनेलाई ठिक पार्नु पर्नेछ, तिमीहरू पनि मसँग जानु पर्छ भनी मिति २०७७ असोज १९ गते नै फोन सम्पर्क गरी जानकारी गराएको हुँदा मिति २०७७ असोज २० गते साथी स्वर्णिमको नम्बर याद नभएको स्कुटर लिई सोही स्कुटर आफूले चलाई सयुस श्रेष्ठलाई साथमा लिई जिल्ला काठमाडौँ कीर्तिपुर नपा वडानम्बर १० त्रिभुवन विश्वविद्यालयको गेट अगाडि पुग्यौँ ।

– हामी दुई जना त्यहाँ पुग्दा मेरो साथीहरू रविनकुमार लामा र निरज राना मगरसमेत त्रिभुवन विश्वविद्यालयको गेट अगाडि रहेको चिया पसलमा आइसकेको हुँदा निजहरूलाई भेटेको र सोही चिया पसलमा योगेन्द्र रावलसमेत भएको हुँदा निजलाई भेटिसके पश्चात निजले मलाई जाहेरवाला प्रेम चलाउनेको फोटो मोबाइलमा देखाई यसैलाई हान्नुपर्ने हो, ढुङ्गा मुढा र भाटा समेतले सकेसम्म चुट्नु, मरेमा केही फरक पर्दैन, जे परेको हामी ब्यर्होछौँ भनेपछि प्रेम चलाउनेको फोटो मैले योगेन्द्र रावलको मोबाइलबाट मेरो मोबाइलमा खिची म तथा मेरो साथीहरू रविनकुमार लामा, निरज रानामगर, सयुस श्रेष्ठसमेत चारै जनाले फोटो हेरी म र रविनकुमार लामाले त्रिभुवन विश्वविद्यालयको कम्पाउण्ड छेउबाट ल्याइएका बाँसका गोलगिंडहरू समेत साथमा लिई फोटोमा भएका मानिसलाई ठिक पार्न भनी जाँदै गर्दा योगेन्द्र रावलले निजको ९८५११....बाट मेरो मोबाइल नम्बर ९८४२४....मा फोन गरी प्रेम चलाउने बैंकबाट निस्कियो ।

आफ्नो काम गर भनी मलाई जानकारी गराए पश्चात फोटोमा भएका मानिसलाई सोही ठाउँमा भएको नेपाल बैंक लिमिटेड अगाडि सार्वजनिक ठाउँमा भेटेको हुँदा निजलाई सोही ठाउँमा रोकी म लगायत मेरो साथीहरू रविन कुमार लामा, सयुज श्रेष्ठ, निरज राना मगर समेत ४ जना भई निजलाई किन ताल्चा फुटाएको भनी सँगै लिएर गएको बाँसले मैले निजको टाउको तथा अनुहारको भागमा, रविनकुमार लामाले निजको कम्मरको भागमा, सयुज श्रेष्ठले लात्ती र मुक्काले निजलाई कुटपिट गरेको हो ।

हामी ३ जनाले कुटपिट गर्दा निरज राना मगर नजिकै भाग्ने तयारी तथा प्रहरीसमेत आएको हेर्नका लागि स्कुटर स्टार्ट गरी स्कुटरमै बसेका थिए र हामीले प्रहार गर्दागर्दै बाटोमा यात्रा गरिरहेका ३–४ वटा मोटरसाइकलमा आएका मानिसहरूले समेत मोटरसाइकल रोकी हामीहरूलाई हेर्न थालेकोमा मानिसहरूले समाउछन् कि भन्ने डर लागेको र हामीहरूले प्रहार गरेका मानिस रगताम्य भई रोडमा ढलेपछि म लगायत सयुज श्रेष्ठ, निरज राना मगर र रविनकुमार लामा सो ठाउँबाट भागी हिँडेका हौँ ।

म उक्त वारदात पश्चात भागी मिति २०७७ असोज २० गते काठमाडौँको तिलगंगाको होटलमा गई बसेको, मिति २०७७ असोज २१ गते बेलुका काठमाडौँबाट रात्रि बसमा रुपन्देहीको बर्दघाटमा गई सो दिन होटलमा बसेको, मिति २०७७ असोज २३ गते बिहान सो ठाउँबाट जिल्ला चितवन नारायणघाटमा गई होटलमा बसेको र मिति २०७७ असोज २४ गते सो ठाउँबाट सिरहा हुँदै दिदीको घर जिल्ला मोरङ विराटनगरमा गई बसेको र मिति २०७७ असोज २५ गते विराटनगरबाट दिदीको स्कुटर लिई काठमाडौँ आएकोमा सोही दिन म पक्राउमा परेको हुँ ।

–हामीहरूले लिई गएको गोलगिंड भएको बाँसले निज जाहेरवालालाई प्रहार गर्दा बाँस फुटी टुक्रा भएको हुँदा सोही टुक्रा प्रहरीले बरामद गरी ल्याएको हो । उक्त बाँसका भाटा हेरी चिनी सनाखत गरिदिएँ । जाहेरवालालाई प्रहार र हमला गर्ने र सो बाट ज्यान मरे पनि आफैँले जिम्मा लिने भनि मलाई निर्देशन दिने हरि आचार्य हुन् ।

जाहेरवालालाई प्रहार र हमला गर्ने कार्यका लागि म समेतलाई जाहेरवालाको फोटो देखाई चिनाउने, जाहेरवालाको निगरानी र रेकी गर्ने तथा अन्य सहयोगको लागि वारदात स्थलमा खटिने योगेन्द्र रावल हुन् भने निजहरू दुवैको निर्देशन बमोजिम जाहेरवालालाई प्रहार र हमला गर्ने कार्यमा रविनकुमार लामा, सयुज श्रेष्ठ, निरज रानामगर र म स्वयं हौँ ।

यस कार्यका मुख्य योजनाकार हरि आचार्य र योगेन्द्र रावल भएकोले निजहरूको जाहेरवालासँग अन्य के के रिसईवी थियो मलाई थाहा छैन । निजहरू दुवैको निर्देशन बमोजिम म समेतले जाहरवालालाई प्रहार गरेका हौँ । प्रहरी प्रतिवेदन साथ मिसिल संलग्न भएको जाहेरबाला प्रेम चलाउनेको अनुहारमा घाउ चोट भएको फोटो मलाई देखाउँदा देखी पाएँ, फोटो जाहेरवाला प्रेम चलाउने कै हो, यिनै जाहेरवालाको फोटो मलाई योगेन्द्र रावलले निजको मोबाइलबाट मलाई देखाई मैले मेरो आफ्नो मोबाइलमा निजको फोटो खिचेको हुँ । म समेतले निजलाई बाँसको गोलोगिंडले प्रहार गर्दा निजको अनुहारमा उक्त घाउचोट लागेको हो ।

वारदात पश्चात भाग्नका लागि आफूसँग रकम नभएको हुँदा मैले हरि आचार्यलाई फोन सम्पर्क गरेको र निजले पठाएको एक जना मानिसले मलाई जिल्ला ललितपुर पाटनमा भेटी जम्मा रकम २० हजार ल्याइदिएका हुन् । रकम ल्याइदिने मानिस को हुन्, निजको फोन नम्बर मलाई याद भएन ।’ यसरी मौकाको बयानमै अभियुक्तले कसुर स्वीकार गरिसकेको, कल डिटेल्स, म्यासेज आदिको प्राविधिक परीक्षणबाट अभियोग पुष्टी जस्तै भए पनि करिब ३ वर्षदेखि यो मुद्दालाई राजनीतिकरण गरेर पर धकेलिँदै आएको छ । फौजदारी कसुरमा संलग्न व्यक्तिहरुको मुद्दा फिर्ता लिने निर्णय गरे पनि पीडित चलाउने सर्वोच्च अदालत पुगेर मुद्दा फिर्ता लिन नदिन माग गरेपछि सर्वोच्चले माग बमोजिमकै आदेश जारी गर्दै उक्त मुद्दालाई शीघ्र सुनुवाइ गर्न आदेश दिएको थियो ।

४७ तारेख, ४१ पेसी तर २० पटक स्थगित र हेर्न नभ्याउनेमा

उपप्राध्यापक प्रेमबहादुर चालउनेको जाहेरीले नेपाल सरकार वादी रहेको उक्त मुद्दामा हालसम्म ४७ पटक तारेख दिइएको छ । ४७ पटक तारेख दिइ ४१ पटक उक्त मुद्दा सुनुवाइका लागि पेसीसमेत चढेको थियो । यद्यपि उक्त मुद्दामा २० पटक त सुनुवाइ नै हुन पाएन भने सुनुवाइ भएको समयमा पनि पछिल्लो न्यायाधीश ‘अन्य आदेश’ गरेर पन्छिने गरेका छन् ।

सुरुमा २०७७ कात्तिक २१ गतेदेखि २३ गतेसम्म भएको बकपत्र र सुनुवाइपछि तत्कालीन जिल्ला न्यायाधीश अम्बिकाप्रसाद निरौलाले कात्तिक २३ गते प्रतिवादीसँग धरौटी माग गरी छाड्ने आदेश गरेका थिए । न्यायाधीशले मुद्दाको गम्भीरता नबुझेको र प्रतिवादीसँग बिकेको आरोप लगाई पीडितले उक्त मुद्दा अम्बिकाले हेर्न नमिल्ने भन्दै निवेदन दिएपछि न्यायाधीश निरौलाले उक्त मुद्दाको पेसी आफूबाहेकको इजलासमा पेस गर्न भन्दै आदेश दिएका थिए ।

त्यसपछि साक्षी बुझ्ने, विशेषज्ञ बुझ्ने, विशेषज्ञ झिकाउने, उच्च अदालतबाट भएको आदेश बमोजिम अन्तरिम क्षतिपूर्ति भराउने लगायतका आदेशमा अदालत अल्झिएको थियो । पटकपटकको पेसीमा २० पटक उक्त मुद्दामा सुनुवाइ भएन । १८ पटकको पेसी विपक्षीका कानुन व्यवसायी, सरकारी वकिल र अदालतबाटै हेर्न नभ्याउने भन्दै स्थगित भएको थियो ।

तत्कालीन काँग्रेस नेतृत्वको सरकारले मुद्दा फिर्ता लिन खोजे पनि तत्कालीन कानुनमन्त्री गोविन्द प्रसाद शर्मा कोइराला (गोविन्द बन्दी)ले मुद्दा फिर्ता लिन अस्वीकार गरेका थिए । तर पछि सरकार परिवर्तन भएलगत्तै उक्त मुद्दा फिर्ता लिने निर्णय भएको थियो । हाल कानुनमन्त्री रहेका धनराज गुरुङ यो मुद्दा फिर्ता लिएर आफ्ना कार्यकर्ताले गरेको अपराधलाई राजनीतिक घटना भन्दै बचाउने प्रयासमा छन् । उपप्राध्यापक चलाउने भने अपराधको राजनीतिकरण स्वीकार्य नहुने भन्दै दोषीमाथि कडा कारबाहीको माग गरिरहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मदन ढुङ्गाना
मदन ढुङ्गाना
लेखकबाट थप