मङ्गलबार, २५ असार २०८१
ताजा लोकप्रिय
खेलकुद

विश्वकप छनोट फुटबल : घरेलु मैदानमा यमनसँग हार्‍यो नेपाल

मङ्गलबार, ०५ मङ्सिर २०८०, २१ : ०९
मङ्गलबार, ०५ मङ्सिर २०८०

काठमाडौँ । विश्वकप छनोट फुटबल प्रतियोगिताको दोस्रो चरणको खेलमा नेपालले लगातार दोस्रो हार बेहोरेको छ । नेपाली टोली मंगलबार घरेलु मैदानमा खेलिएको खेलमा पाहुना टोली यमनसँग २—० गोलले पराजित भएको हो । 

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेलिएको नेपाल र यमनबिचको पहिलो हाफको खेल गोलरहित बराबरीमा सकिएको थियो । प्रतिस्पर्धात्मक खेलको दोस्रो हाफमा नेपालले दुबै गोल खाएको थियो । निर्धारित समयको ७२औँ मिनेटमा यमनका खेलाडी ओमर अल दाहीले नेपालको पोष्टमा उत्कृष्ट गोल गरेका थिए ।

त्यसपछि खेलको इन्जुरी समयको पहिलो मिनेटमा नेपालले दोस्रो गोल खाएको थियो । यमनका लागि दोस्रो गोल मोहम्मद अब्दुल्लाह अल दाहीले गरेका थिए ।  विश्व फुटबल महासंघ (फिफा) को पछिल्लो वरीयतामा यमन १५६औँ र नेपाल १७३औँ स्थानमा रहेका छन् ।  

सन् २०२६ मा आयोजना हुने विश्वकपको एसियाली क्षेत्रको दोस्रो चरणको छनोट खेलमा नेपाली टोली समूह ‘एच’ मा परेको छ ।  उक्त समूहमा नेपाल र यमनसँगै संयुक्त अरब इमिरेट्स (यूएई) र बहराइन पनि रहेका छन् । 

यसअघि आफ्नो पहिलो खेलमा नेपाली टोली यूएईसँग ०—४ गोलले पराजित भएको थियो । उक्त खेल यूएईको घरेलु मैदानमा खेलिएको थियो । घरेलु मैदानमा भने नेपालले यमनसँग पहिलो खेल खेलेको हो । समूह ‘एच’ मा एक खेल खेलेको यूएई तीन अंकसहित पहिलो, एक खेल खेलेको बहराइन तीन अंकसहित दोस्रो, दुई खेल खेलेको यमन तीन अंकसहित तेस्रो र दुबै खेलमा पराजित भएको नेपाल शून्य अंकसहित चौथो स्थानमा आसिन छन् ।

दोस्रो चरणको छनोट खेलमा सहभागी ३६ टोलीलाई नौवटा समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहमा चार—चारवटा टोली रहेका छन् । प्रत्येक समूहमा रहेका टोलीले एकअर्कासँग ‘होम’ एन्ड ‘अवे’ का आधारमा एक-एक खेल खेल्नेछन् । 

त्यसपछि प्रत्येक समूहको अंक तालिकामा पहिलो र दोस्रो स्थानमा रहने टोली विश्वकप छनोटको तेस्रो चरणमा प्रवेश गर्नेछन् । विश्वकप छनोटको प्रारम्भिक चरणमा लाओसलाई हराएपछि नेपालले दोस्रो चरणमा प्रतिस्पर्धा गर्ने अवसर पाएको हो ।

म्यानमारको पोष्टमा उत्तर कोरियाको आधा दर्जन गोल

मंगलबार नै खेलिएको समूह ‘बी’ अन्तर्गतको खेलमा उत्तर कोरियाले म्यानमारलाई ६—१ गोलको विशाल अन्तरले पराजित गर्‍यो । उक्त समूहमा एक खेल खेलेको जापान तीन अंकसहित पहिलो र दुई खेल खेलेको उत्तर कोरिया तीन अंकसहित दोस्रो स्थानमा छन् । एक खेल खेलेको सिरिया तीन अंकसहित तेस्रो र दुवै खेलमा पराजित भएको म्यानमार चौथो स्थानमा छन् । 

समूह ‘सी’ अन्तर्गतको खेलमा दक्षिण कोरियाले चीनलाई ३—० गोलले हरायो । सोही समूहको अर्को खेलमा थाइल्यान्डले सिंगापुरलाई ३—१ गोलले पराजित गर्‍यो । उक्त समूहमा सबै टोलीले दुई—दुई खेल खेलिसकेका छन् । ६ अंकसहित दक्षिण कोरिया पहिलो, तीन अंकसहित थाइल्यान्ड दोस्रो र तीन अंकसहित चीन तेस्रो स्थानमा छन् । दुबै खेल हारेको सिंगापुर चौथो स्थानमा छ ।

समूह ‘डी’ अन्तर्गतको खेलमा मलेसियाले चाइनिज ताइपेइलाई १—० गोलले हरायो । दुई खेलबाट ६ अंक जोडेको मलेसिया पहिलो स्थानमा छ । एक खेलबाट तीन अंक बटुलेको ओमान दोस्रो स्थानमा छ । एक खेल खेलेको किर्गिस्तान र दुई खेल खेलेको चाइनिज ताइपेइले अंक जोड्न सकेका छैनन् । 

समूह ‘ई’ अन्तर्गतको खेलमा हङ्कङ र तुर्कमिनिस्तानले २—२ गोलको बराबरी खेले । अर्को खेलमा उज्बेकिस्तानले इरानलाई पनि २—२ गोलको बराबरीमा रोक्यो । उक्त समूहमा चारवटै टोलीले दुई—दुई खेल खेलिसकेका छन् । चार अंकसहित इरान पहिलो, चार अंकसहित उज्बेकिस्तान दोस्रो, एक अंकसहित तुर्कमिनिस्तान तेस्रो र एक अंकसहित हङ्कङ चौथो स्थानमा छन् ।  

समूह ‘एफ’ अन्तर्गतको खेलमा फिलिपिन्सले इन्डोनेसियालाई १—१ गोलको बराबरीमा रोक्यो । अर्को खेलमा इराकले भियतनामलाई १—० गोलले हरायो । उक्त समूहमा सबै टोलीले दुई—दुई खेल खेलिसकेका छन् । ६ अंकसहित इराक पहिलो, तीन अंकसहित भियतनाम दोस्रो, एक अंकसहित फिलिपिन्स तेस्रो र एक अंकसहित इन्डोनेसिया चौथो स्थानमा छन् । 

समूह ‘जी’ अन्तर्गतको खेलमा ताजकिस्तानले पाकिस्तानलाई ६—१ गोलले हरायो । दुई खेल खेलेको ताजकिस्तान चार अंकसहित पहिलो, एक खेल खेलेको साउदी अरेबिया तीन अंकसहित दोस्रो, एक खेल खेलेको जोर्डन एक अंकसहित तेस्रो र दुबै खेलमा पराजित भएको पाकिस्तान शून्य अंकसहित चौथो स्थानमा आसिन छन् । 

समूह ‘आई’ अन्तर्गतको खेलमा बंगलादेशले लेबनानलाई १—१ गोलको बराबरीमा रोक्यो । उक्त समूहमा एक खेल खेलेको अस्ट्रेलिया तीन अंकसहित पहिलो, दुई खेल खेलेको लेबनान दुई अंकसहित दोस्रो, एक खेल खेलेको प्यालेस्टाइन एक अंकसहित तेस्रो र दुई खेल खेलेको बंगलादेश एक अंकसहित चौथो स्थानमा रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप