शुक्रबार, १२ पुस २०८१
ताजा लोकप्रिय
जलवायु परिवर्तन न्यूनिकरण राष्ट्रिय कार्यान्वयन योजना

सन् २०३० भित्र कम्तीमा सय पालिकामा फोहोरबाटै ऊर्जा उत्पादन

कार्य योजना कार्यान्वयन गर्न कूल ४३.५३ खर्ब लाग्ने अनुमान
सोमबार, ०४ मङ्सिर २०८०, १७ : ०२
सोमबार, ०४ मङ्सिर २०८०

काठमाडौँ । जलवायु परिवर्तन न्यूनीकरण गर्न सरकारले ‘ जलवायु परिवर्तन न्यूनीकरण तथा अनुकूलन राष्ट्रिय कार्यान्वयन योजना (२०८०–२०८७)’ बनाएको छ । वन तथा वातावरण मन्त्रालयले उक्त योजनामा ८ वर्षभित्र जलवायु परिवर्तन न्यूनीकरणका लागि अवलम्बन गर्ने नीति तथा कार्यक्रमहरूबारे प्रस्ट पारेको छ । 

यो कार्य योजना कार्यान्वयन गर्न कूल ४३.५३ खर्ब लाग्ने अनुमान मन्त्रालयले गरेको छ । नेपालले अनुदानमा आधारित अन्तर्राष्ट्रिय सार्वजनिक वित्तलाई प्राथमिकता दिने भनिएको छ । ऊर्जा उत्पादनतर्फ २०३० सम्ममा करिब १४ सय मेगावाटबाट १५ हजार मेगावाटसम्म स्वच्छ ऊर्जाको उत्पादनमा वृद्धि हुने लक्ष्य कार्य योजनाले लिएको छ ।

जसको ५ देखि १० प्रतिशत हिस्सा लघु तथा साना जलविद्युत, सौर्य, वायु र जैविक ऊर्जाको हुने मन्त्रालयले जनाएको छ । २०३० सम्ममा कूल ऊर्जाको १५ प्रतिशत हिस्सा स्वच्छ ऊर्जा स्रोतबाट आपूर्ति हुने लक्ष्य मन्त्रालयको छ । 

यातायाततर्फ सन् २०२५ सम्ममा दुईपांग्रे तथा चार पाङ्ग्रे निजी सवारी साधन बिक्रीको २५ प्रतिशत हिस्सा विद्युतीय सवारी साधनको हुने लक्ष्य राखिएको छ । विद्युतीय सार्वजनिक सवारी साधनको बिक्री हिस्सा कुल सार्वजनिक सवारीसाधन बिक्री  (विद्युतीय रिक्सा र विद्युतीय ट्याम्पो समावेश गरिएका छैन) को २० प्रतिशत हुने भनिएको छ ।

सन् २०३० सम्ममा दुईपांग्रे तथा चार पाङ्ग्रे निजी सवारी साधन बिक्रीको ९० प्रतिशत र चार पाङ्ग्रे  सार्वजनिक सवारी साधन बिक्रीको ६० प्रतिशत हिस्सा विद्युतीय सवारी साधनको हुने लक्ष्य मन्त्रालयको छ । २०३० सम्ममै सार्वजनिक यातायात र सामान ढुवानीमा सहयोग पुर्याउन २०० किमी लामो विद्युतीय रेल सञ्जाल विकास गर्ने विषय कार्य योजनामा समेटिएको छ । 

घरायसी चुलो र बायोग्यासतर्फ सन् २०३० सम्ममा २५ प्रतिशत घरधुरीमा खाना पकाउन प्रमुख रूपमा विद्युतीय चुलो प्रयोगको सुनिश्चित गरिने लक्ष्य राखिएको छ । सन् २०२५ सम्ममा विशेष गरी ग्रामीण क्षेत्रमा ५ लाख वटा सुधारिएका चुलो जडान गरिने लक्ष्य कार्य योजनाको छ । २०२५ सम्ममै थप २ लाख घरधुरीमा बायो ग्यास प्लान्ट तथा संस्थागत/औद्योगिक/पालिका/समुदाय स्तरमा ५०० वटा ठुला स्तरका बायो ग्यास प्लान्ट जडान गरिने लक्ष्य कार्य योजनामा समावेश गरिएको छ । 

कृषि, वन तथा अन्य भू–उपयोग तर्फ सन् २०३० सम्ममा ४ प्रतिशतभन्दा कम अन्य काष्ठयुक्त वन क्षेत्रसमेत देशको कुल क्षेत्रफलको ४५ प्रतिशत भू–भागमा वन कायम गरिने भनिएको छ । सन् २०३० सम्ममै रेड प्लस क्रियाकलाप समेतको आर्थिक सहयोगमा तराई र भित्री मधेसका ५० प्रतिशत र मध्य तथा उच्च पहाडी क्षेत्रका २५ प्रतिशत वन क्षेत्रको दिगो व्यवस्थापन गरिने लक्ष्य कार्य योजनाको छ । 

फोहोर मैलातर्फ सन् २०२५ सम्ममा ३८ करोड लिटर प्रतिदिन फोहोर पानी प्रशोधन गरी विसर्जन गरी  ६० हजार घन मिटर प्रतिवर्षका दरले मानव मलमूत्रजन्य फोहोरलाई व्यवस्थापन गरिने लक्ष्य कार्य योजनाको छ । 

दोस्रो एनडिसीमा कृषि, औद्योगिक प्रक्रिया र उत्पादित वस्तुको प्रयोग, सहरी बसोबास र पर्यटनलगायत क्षेत्रका नीतिगत लक्ष्यहरू समेत कार्य योजनामा समावेश गरिएको छ । नेपालले सन् २०३० सम्म दिगो विकासका लक्ष्य हासिल गर्न आर्थिक, सामाजिक र वातावरणीय विकासको क्षेत्रमा १६९ वटा लक्ष्य र ४७९ वटा सूचक पहिचान गरेको छ । जलवायु परिवर्तन न्यूनीकरण र अनुकूलनका कार्यहरू धेरै विषयसँग अन्तर सम्बन्धित भएकाले नेपालको दिगो विकासका लक्ष्य हासिल गर्न सहयोगी हुने मन्त्रालयले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप