सोखका रूपमा भित्रिएको कफी व्यावसायिक रूपमा कति सफल ?
‘कफीको क्षेत्रको प्रवर्धन र संरक्षण, दिगो उत्पादनमा महिला र युवालाई प्रोत्साहन’ नाराका साथ कफी दिवस (मंसिर १) सम्पन्न भएको छ । दिवसका अवसरमा कफीको न्यूनतम् मूल्य निर्धारण भयो । जिल्ला स्तरमा केही कार्यक्रम सञ्चालन भए ।
नारामा भनिएजस्तै नेपाली कफीखेतकिो विकास तथा विस्तारको अवस्था के छ ? कफी खेतीमार्फत दिगो उत्पादनमा भएका प्रयास कतिको प्रभावकारी छन् ? यसबारे चर्चा गरौँ ।
नेपालका १९९५ सालमा सोखका रूपमा कफी भित्रिएको थियो । गुल्मीको आँपचौरमा हिरा गरीले बर्माबाट ल्याएर रोपेको बिउलाई नै कफीको सुरुवात मानिन्छ । व्यावसायिक खेतीको सुरुवात भने ढिलो गरी भएको इतिहास छ । २०३३ सालमा नेपाल सरकारले कृषि विकास बैंकमार्फत भारतबाट अरेबिका जातको कफी झिकाई पश्चिम नेपालबाट कफी खेतीमा व्यावसायिकताको सुरुवात गरेको देखिन्छ ।
नेपाल सरकारले २०४१ सालमा नेपालमा कफी भित्रिएको स्थान गुल्मीको आँपचौरमा कफी विकास केन्द्रको स्थापना गरेको थियो । कफीखेती विकास र विस्तारकै लागि राष्ट्रिय चिया तथा कफी विकास बोर्डको स्थापना भयो । कफी खेती तथा बजार विस्तारको उद्देश्यसहित विभिन्न समयमा महोत्सव अनि कार्यक्रम सञ्चालन भए । अहिले पनि कफीखेती विस्तारका काम निरन्तर सञ्चालनमा छन् ।
२०६० को दशकबाट कफी उत्पादनमा वृद्धि भएको तथ्यांक हेर्न सकिन्छ । कफी खेती प्रर्वद्धनका लागि दातृसंस्थाहरूको सहयोग, कृषकस्तरसम्म पुगेर गरेका प्राविधिक ज्ञान विस्तार, आवश्यक प्रविधि उपकरणको व्यवस्थापन पछि जैविक पद्धति अनुसार कफीखेती तीव्र रूपमा विकास हुनुका साथै उत्पादनमा वृद्धि भएको देखिन्छ ।
उक्त अवधिमा गुल्मी, पाल्पा, स्याङ्जा, कास्की, पर्वत, ललितपुर, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक नुवाकोट लगायत जिल्लामा हजारौँ कफी कृषक व्यावसायिक भइसकेका थिए । कफीखेतीका लागि उपयुक्त हावापानी उचाइ भएका थप ३० भन्दा बढी जिल्लामा कफी रोपण सुरु भएको थियो ।
जुन समयमा कफीखेती गर्ने कृषकको समूह, संघ, महासंघ तथा सहकारीहरू जिल्ला तथा केन्द्रीय स्तरमा निर्माण भए । कफीको बजारीकरणका लागि यही अवधिमा विभिन्न प्रयास भए, आवश्यक कार्य गरिए । जापान अमेरिका लगायत युरोपियन मुलुकहरू कफीको अन्तर्राष्ट्रिय दिगो बजारका रूपमा विकास भए ।
ग्रामीण क्षेत्र, वनपाखा बिचको पातला बस्ती सँगैका पाखा बारीमा जैविक गोठे मलकै अधिक प्रयोगबाट उत्पादन भएकै कारण विदेशी बजारमा जैविक कफीको रूपमा नेपाली कफीले बजार पायो । बगैँचामा जैविक प्रविधिको प्रयोग तथा क्रेता संस्थाको निरीक्षण पछि केही जिल्लाका कफी बगैँचाले जैविक प्रमाणीकरण प्रमाणपत्र पनि पाउन सफल भए । यी क्रियाकलाप कफीखेती विस्तार तथा प्रवद्र्धनका लागि कफी कृषक माझ अवसरका रूपमा रह्यो ।
यही बिचमा सरकारले कफी दिवस मनाउन सुरु गर्यो । हरेक वर्ष न्यूनतम समर्थन मूल्य जारी गर्न थाल्यो । कृषक स्तरमा बनेका समूह सहकारीले सङ्गठित रूपमा कफी संकलन, प्रशोधन तथा बजारीकरणको सुरुवात गरे । परिणामतः अहिले केही जिल्लाका सहकारीले विदेशी कम्पनीसँग सिधा सम्झौता गरी उच्च मूल्यमा कफी निर्यात गरेका छन् ।
कृषक तथा कफी सहकारीहरूले राम्रो आम्दानी गरिरहेका छन् । दिगो बजार निर्माणमा सफल भएका छन् । विदेशी कम्पनीहरूको मागसँगै व्यपारीहरूको उपस्थिति पनि उत्तिकै छ । प्रतिस्पर्धात्मक मूल्यसहित खरिदकर्ताहरू कृषकसम्म पुग्ने गरेका छन् । जसकारण सरकारले तोकेको समर्थन मूल्यभन्दा कृषकले सधैँ उच्च मूल्य प्राप्त गर्न सफल छन् ।
राष्ट्रिय चिया तथा कफी विकास बोर्डका अनुसार, देशभर ११ लाख ९८ हजार ५३५ हेक्टर जग्गामा कफीखेतीको सम्भावना छ । यसमध्ये ६१ हजार २२८ हेक्टर जग्गा कफीखेतीका लागि अति उत्तम छ । हाल तीन हजार ६५५ हेक्टर क्षेत्रफलमा मात्र कफीखेती गरिएको छ ।
नेपाली कफीको गुणस्तरकै कारण विदेशी बजारमा अहिले पनि माग उच्च छ । नेपाली उत्पादनले हरेक वर्ष विदेशी कम्पनीबाट मूल्य वृद्धिसहित भएको माग परिमाण पु¥याउन सकिरहेको छैन । नेपालमा विकसित कफी संस्कृतिका कारण देशभित्रै पनि कफी पारखीको संख्या बढ्दो छ । जसले नेपाली कफीको बजार सुदृढ हुँदै गएको देखिन्छ ।
पछिल्लो समय कफी विकासमा सहयोग गर्ने ठूला दातृ संस्थाहरूले हात झिकेका छन् । सीमित क्षेत्रमा कार्य गरिरहेका केही संस्थाले कफीखेती विस्तारको काम गरे पनि समग्र उत्पादनमा प्रत्यक्ष प्रभाव पार्न सकेको तथ्यांक भने देखिँदैन ।
राष्ट्रिय चिया तथा कफी विकास बोर्डका अनुसार कफीखेतीको सम्भावित भूगोलको विषयमा गरिएको अध्ययनबाट देशभर ११ लाख ९८ हजार ५३५ हेक्टर जग्गामा कफीखेतीको सम्भावना छ । यसमध्ये ६१ हजार २२८ हेक्टर जग्गा कफीखेतीका लागि अति उत्तम छ । हाल तीन हजार ६५५ हेक्टर क्षेत्रफलमा मात्र कफीखेती गरिएको छ । यसरी हेर्दा कफीखेती हुने क्षेत्र अझै बृहत छ ।
तथ्याङ्कमा कफीखेती गरिएको क्षेत्रफल हरेक वर्ष बढेको देखिन्छ । २०७१÷७२ मा दुई हजार ३८१ हेक्टर क्षेत्रफलमा गरिएको कफीखेती त्यसको पाँच वर्षपछि २०७५÷७६ सालमा आइपुग्दा दुई हजार ७६१ हेक्टर र २०७९÷८० मा तीन हजार ६५५ हेक्टर क्षेत्रफल उल्लेख छ ।
कफी खेतीको क्षेत्रफल विस्तार सँगै उत्पादन परिमाण हेर्दा २०७२ मा ४६३ मेक्ट्रिकटन उत्पादन भएकामा हरेक वर्ष क्रमशः घटेर २०७९ मा आइपुग्दा ३९४ मेक्ट्रिक टनमा खुम्चिएको छ । यो तथ्याङ्कका आधारमा कफीखेतीको क्षेत्रफल बढ्दो तथा उत्पादन घट्दो देखिन्छ ।
खेती क्षेत्र बढ्दो तर उत्पादन परिमाण घट्दो कसरी भयो ? यो अध्ययनको विषय बनेको छ । कफीखेतीमा सरकारी स्तरबाट पछिल्लो समय गरिएको लगानी र त्यसको प्रतिफलको विषयमा अध्ययन गर्ने हो भने पनि केही कारण पत्ता लाग्न सक्छन् । रोपिएका बिरुवाको संख्याका आधारमा क्षेत्रफल गणना गरिने तर रोपण गरिएका बिरुवाको अवस्थाका विषयमा अनुगमनको अभावका कारण पनि यस प्रकारका तथ्याङ्क संकलन भएको हुन सक्छ ।
पछिल्लो समय कफी पकेट क्षेत्र तथा जोनका रूपमा कृषकको सहभागिता रहने गरी सरकारी स्तरबाट लगानी छ । जुन कार्यक्रम स्थानीय संस्था सहकारीहरूमार्फत कार्यान्वय गरिन्छ । यस प्रकारका कार्यक्रम सञ्चालन गर्ने संस्थाको छनोटबाट पनि समस्या उत्पन्न भएको देखिन्छ ।
गुल्मीको आँपचौरमा हिरा गरीले बर्माबाट ल्याएर रोपेको बिउलाई नै कफीको सुरुवात मानिन्छ । व्यावसायिक खेतीको सुरुवात भने ढिलो गरी भएको इतिहास छ । २०३३ सालमा नेपाल सरकारले कृषि विकास बैंकमार्फत भारतबाट अरेबिका जातको कफी झिकाई पश्चिम नेपालबाट कफी खेतीमा व्यावसायिकताको सुरुवात गरेको देखिन्छ ।
धेरै संस्थामार्फत सञ्चालन भएका कार्यक्रममा कृषकलाई खेती, प्रविधि र रोगकीरा व्यवस्थापनसम्बन्धी सीप प्रदान गर्ने कार्यक्रम खासै देखिएनन् । आर्थिक वर्षको अन्त्यमा सम्झौता हुने यस्ता कार्यक्रमबाट हतार–हतारमा बिरुवा वितरण कृषि सामग्री तथा उपकरण वितरणमा लक्षित कार्यक्रम कफी उत्पादन वृद्धिका हिसाबले कम प्रभावकारी देखिएका छन् । कार्यक्रम सञ्चालन गर्ने संस्थादेखि कृषि ज्ञान विकास कार्यालयको समेत यही ढंगले कार्यक्रम सञ्चालन गर्ने चाह देखिने गरेको छ ।
कफी बिरुवा रोपणपछि पहिलो वर्ष अस्थायी छहारीको अभाव भएमा बिरुवा हुर्काउन कठिन पर्छ । सेतो, रातो गोबारो डढुुवा, ढुसीजन्य रोगका कारण ठूलो क्षेत्रमा कफीका बोट विनाश भएका छन् । यसरी हुने कफीको क्षति रोक्न कृषक सम्बन्धित संस्थाहरूमार्फत कार्यक्रम सञ्चालन गर्न सकिन्छ । कफी कृषक आबद्ध नभएका संस्थामार्फत गरिएका कार्यक्रम प्रभावकारी नहुन सक्छन् । जसले कफीखेतीका लागि गरिएको लगानी बालुवामा पानी समान हुने निश्चित छ ।
अन्य बालीनाली कम हुने नेपालका पहाडी क्षेत्रका भिराला पाखाबारी कफीखेतीका लागि उपयोगी हुनु सबैका लागि अवसर पनि हो । यहाँको हावापानीमा उत्पादित कफीमा गुणस्तर राम्रो पाइनु र विदेशीबाट उच्च माग हुन अर्को सुखद पक्ष हो । योेसँगै देशमा विकास हुँदै गरेकोे कफी संस्कृति थप अवसर हो ।
कृषकका अन्य उत्पादनले मूल्य नपाएको गुनासो बढिरहेका बेला हरेक वर्ष मूल्य बढ्नु, उत्पादनको तुलनामा माग बढी हुनु र कफीका लागि उपयोगी जमिन पनि हुनुले कफीखेतीको भविष्य दिगो रहेको प्रस्ट हुन्छ ।
सरकारी स्तरबाट सञ्चालित कार्यक्रम प्रभावकारी एवम् योजनाबद्ध ढंगले सञ्चालन गर्न सके कफीखेती नेपाली कृषकका लागि मात्र नभई सरकारी पक्षका लागि पनि वरदान साबित हुन सक्छ । सरकारी रकमको पनि सदुपयोग हुन्छ । लक्षित समूहले लाभ प्राप्त गर्न सक्छ । पाखाबारीमा कम मेहनतबाट उत्पादित बालीले सहज ढंगले विदेशी मुद्रा आर्जन गर्न सक्छ । यसका लागि पालिका, प्रदेश तथा संघले उचित कार्यक्रम तय गरी कार्यान्वयन गर्न जरुरी छ ।