पहाड उक्लिँदै छठ : ‘सूर्य तराई र पहाडको फरक हुँदैन, जहाँ मनाए पनि एउटै हो’
पोखरा । बारा रामपुरका भुनेशकुमार ठाकुर ३० वर्षदेखि पोखरा बस्दै आएका छन् । कपाल काट्ने व्यवसाय गर्ने उनी छठको समयमा गाउँ फर्किनुपर्थ्यो । केही वर्षअघि सम्म न छठ मनाउने घाट थियो, न छठ मनाउने समुदाय बाक्लो थियो ।
उनी पोखरा आएको केही वर्षदेखि यहाँ पनि बर्सेनि छठ मनाउन थालियो । तराई मधेसका केही मान्छेहरू मात्रै भेला भएर छठ मनाइन्थ्यो । पहाडका मान्छेले छठलाई स्वीकारेका थिएनन् ।
‘सुरुमा तालवाराही मन्दिरको छेउमा छठ मनायौँ तर निकै दुःखद भयो । कहिले गेट फालिदिन्थे, कहिले गाली गर्थे,’ उनले भने, ‘सीमित मान्छेहरू जम्मा हुन्थ्यौँ । यहाँ भएकाहरू पनि छठमा प्रायः गाउँ नै जान्थे । बडो दुःख गरेर छठी माइको पूजा गर्यौँ ।’
पछिल्लो ३० वर्षमा मधेस तराईका मान्छे बाक्लिँदै गए । छठ पनि व्यवस्थित हुँदै गयो । अहिले हिजोको जस्तो समय छैन । उनीहरुले पोखराका ठाउँ ठाउँमा स्थायी घाट बनाएका छन् ।
व्यवस्थित हिसाबले छठ मनाइन्छ । ‘छठमा गाउँ फर्किनेहरू पनि आजभोलि यतै मनाउन थालेका छन् । झन् खुसीको कुरा के छ भने, हामीले मात्रै होइन पहाडका दिदी बहिनीहरू पनि आएर व्रत बस्न थाल्नुभएको छ,’ ठाकुरले थपे, ‘हिजो तराई मदेसको मात्रै भन्ने छठ अहिले पहाड उक्लियो । सबैको साझा पर्व बनेको छ ।’
पहिलेका दिनहरूमा थोरै मान्छेहरू मात्रै व्यापार व्यवसायका लागि पहाड उक्लिन्थे । आजभोलि पोखरा लगायत क्षेत्रमा रहेकामध्ये १० प्रतिशतले घरजग्गा किनिसकेका छन् । उनीहरू स्थायी रूपमै पहाडमा बस्न थालेका छन् ।
त्यसैले पर्व मनाउन पनि तराई झर्न छोडेका अगुवाहरूको भनाई छ । ‘पर्व मनाउने हो । भगवानको पूजा गर्ने हो । सूर्यको आस्था गर्ने हो । सूर्य तराईमा मात्रै हुनुहुन्न । पहाडमा पनि हुनुहुन्छ, विश्वभरि हुनुहुन्छ,’ उनी भन्छन्, ‘त्यै भएर जहाँ पायक पर्छ, जहाँ सजिलो हुन्छ त्यहीँ मनाउन थालेका हौं । यहाँको समाजले यति सहयोग गरिदिनुभयो कि, हामीलाई घरै जान मन लाग्दैन । हामी समुदायबाट छुट्टै भएजस्तो अनुभव हुन्थ्यो, आजभोलि हामी मिलेका छौँ ।’
२०६८ सालदेखि केदारेश्वरमा छठ पूजाको सुरुआत गरिएको हो । हरेक वर्ष पोखराका घाटहरूमा पनि धूमधामका साथ पर्व मनाइन्छ । एनवी व्यवसायी समिति (नेपाल र भारत) ले केदारेश्वरमा (फेवाताल किनार) स्थायी छठ घाट निर्माण गरेको छ । संस्थाका अध्यक्ष विश्राम कुशहवा पहिले १–२ सय भेला भएर मनाइने छठमा आजभोलि ३ हजारसम्म उपस्थित हुन थालेका बताउँछन् ।
‘भारत र तराई मुलका मात्रै होइन पहाडका दिदीबहिनीहरू पनि आउनुहुन्छ । हामीलाई यसैले हौसला मिल्छ । अब यो पर्व हाम्रो समुदायको मात्रै रहेन,’ उनले भने, ‘यहाँका पनि हामी सँगसँगै ३६ घण्टाको व्रत बस्नुहुन्छ । अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ दिनुहुन्छ । विल्कुल हामीले गरेजस्तै श्रद्धाका साथ छठ मनाउनुहुन्छ ।’
भारत सीतामणि छेउका प्रेम किशोर जयसवाल कामको सिलसिलामा दशकौँदेखि पोखरामा बसोबास गर्दै आएका छन् । छठ पर्व उनको विशेष हो । हरेक वर्ष पर्व मनाउँछन् तर घर जाँदैनन् ।
‘मौका मिले घर गइन्छ । नत्र व्यापार व्यवसायको चटारोले जान पनि पाइँदैन । यतै मनाउँछौँ,’ परिवार सहित छठ घाटमा भेटिएका उनले भने, ‘त्यहाँ र यहाँ मनाउने छठमा कुनै फरक छैन । मनले मान्ने कुरा हो । आस्था हो । सूर्यको आराधना गर्ने हो । जहाँ गरे पनि सूर्य त एउटै हुन्छ ।’
सरकारले छठलाई राष्ट्रिय पर्वको रूपमा मान्यता दिनु खुसीको कुरा भएको उनले सुनाए । छठमा कोही कोशी बाल्छन् रातभर बसेर । अरूले चाहिँ साँझको अस्ताउँदो सूर्यलाई र उदाउँदो सूर्यलाई अर्घ दिन्छन् ।
पोखरामा मुख्यतः तीन ठाउँमा छठ पूजा गरिन्छ । केदारेश्वरसँगै नदीपुर स्थित नारायणस्थान मन्दिर छेउ र कालिखोला (रिठ्ठाघाट) मा भव्यपूर्वक छठ मनाइन्छ । छुट्टाछुट्टै पूजा समिति गठन गरेर शुक्रवारदेखि रंगरोगन र झिलिमिली बत्ती जडानसहित आवश्यक तयारी गरिएको थियो ।
पोखरामा विगत दुई दशकभन्दा अघिदेखि ठाउँ ठाउँमा छठ पूजा गर्न थालिएको जानकारहरू बताउँछन् । अर्को वर्षदेखि दोविल्लामा पोखरा महानगरपालिकाले जग्गाको व्यवस्था गर्ने र स्थायी घाटको व्यवस्थापन मिलाउने प्रतिबद्धता जनाएको छ । छठ घाट बनाउन महानगरले आर्थिक सहयोग पनि गर्ने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्वोच्चको फैसलापछि गण्डकीका सभामुखले भने– कानुन व्यवसायीसँग परामर्श गर्छु
-
गण्डकी प्रदेशका सांसद मनाङे ज्यान मार्ने उद्योगमा सर्वोच्चबाट दोषी ठहर
-
समीक्षाले लिएर आइन् मनछुने गीत ‘मुटु रेटियो’
-
सिकलसेल उपचारका लागि भेरी अस्पतालमा बेग्लै वार्ड स्थापना हुने
-
राजस्व सङ्कलनमा थप मेहनत गर्न अर्थमन्त्रीको निर्देशन
-
राष्ट्रिय परिचयपत्रको विवरणलाई ‘केवाईसी’मा प्रयोग गर्ने बाटो खुल्यो