५१ प्रतिशत कृषकले जलाएर व्यवस्थापन गर्छन् कृषि अवशेष
काठमाडौँ । कृषिबालीबाट निस्किने अवशेष तथा फोहोरमध्ये ५१ प्रतिशत कृषकले जलाएर व्यवस्थापन गर्ने गरेको तथ्य फेला परेको छ । राष्ट्रिय कृषि गणना २०७८ ले पहिलो पटक वातावरणसम्बन्धी विवरण सङ्कलन गर्दा ५१ प्रतिशत कृषक परिवारले जलाएर कृषि अवशेष तथा फोहोर व्यवस्थापन गरेको पाइएको हो । खेतबाट उत्पादित पातपतिङ्गर, लहरा डाँठ लगायतका कृषि अवशेष र रासायनिक मल, बीउबिजन, कीटनाशक विषादीका बोरा, प्याकेट, बोतल, बट्टालगायतका फोहोरको व्यवस्थापनबारे विवरण सो गणनामा सङ्कलन गरिएको छ ।
नेपालमा एक वर्षमा करिब ३० लाख मेट्रिक टन कृषि अवशेषहरू जलाइने वायु गुणस्तर विज्ञ डा.भूपेन्द्र दासले बताए । उनका अनुसार विश्वभर कृषि अवशेष जलाउँदा उत्सर्जन हुने कृषि क्षेत्रको प्रदूषणमा नेपालको मात्रै शून्य दशमलव पाँचदेखि एक दशमलव पाँच प्रतिशत योगदान छ । कृषि जन्य अवशेष चलाउदा प्रतिव्यक्तिका हिसाबले विश्वमा नेपाल र भारत तेस्रो नम्बरमा पर्ने उनले बताए । उनका अनुसार दोस्रो नम्बरमा चीन र पहिलो नम्बरमा सेन्ट्रल एसिया पर्छ ।
किन जलाउँछन् किसानले कृषि अवशेष ?
नेपालमा पछिल्लो समय कृषि कर्म गर्ने जनशक्ति कम हुँदै गएको छ । खेतको तयारीदेखि फसल भित्र्याउन छिटोछरितो कार्य गर्न यन्त्रको प्रयोग बढ्दो छ । तराई क्षैत्रमा धान, गहुँ भित्र्याउने मेसिन (कम्बाइन हार्भेस्टर) प्रयोग गरिन्छ । यसको प्रयोगले बालीको दाना मात्रै निकालिन्छ र डाँठ खेतमै रहन्छ । डाँठ उठाउन बढी समय खर्चिनुपर्ने भएकाले किसानले खेतमै आगो लगाएको पाइएको दासकोे भनाइ छ । ‘कृषि क्षेत्रमा काम गर्ने जनशक्तिको कमी र धानपछि गहुँ छर्ने समय एकदमै कम छ,’ उनले भने, ‘किसानले छिटो कार्य गर्न कृषि अवशेषमा आगो लगाउँछन् ।’
कृषि अवशेष खेतमा जलाएमा मल बन्नुका साथै कीरासमेत मर्ने गलत धारणा पनि रहेको उनले बताए ।
कृषि अवशेष जलाउँदा कस्तो असर पर्छ ?
कृषि अवशेष खुला रूपमा जलाउँदा वातावरण, मानव स्वास्थ्य र कृषि क्षेत्रमा दीर्घकालीन असर पर्ने देखिन्छ । विज्ञ दासका अनुसार कृषि अवशेष जलाउँदा कार्बनडाइअक्साइड, मिथेन र कार्बन मोनोअक्साइड उत्सर्जन हुन्छ । पृथ्वीको वायुमण्डलका केही हरितगृह ग्यास (कार्बनडाइअक्साइड र मिथेन) ले तापक्रम पृथ्वीबाट बाहिर निस्कन रोक्छ । यसले वातावरणीय सन्तुलन बिग्रिन्छ । तापक्रम बढ्ने, खडेरी पर्ने, बढी वर्षा हुने, वायु प्रदूषण हुनेलगायत प्राकृतिक विपत् देखिने उनको भनाइ छ । ‘कृषि क्षेत्रका अवशेष जलाउनाले विभिन्न हानीकारक ग्यास उत्सर्जित हुन्छ,’ विज्ञ दास भन्छन्, ‘यसले प्राकृतिक चक्रलाई नै परिवर्तन भई तापक्रम बढ्छ, खडेरी पर्छ, बढी वर्षा हुन्छ र वायु प्रदूषण बढ्छ ।’
वायु प्रदूषणका कारण विभिन्न स्वास्थ्य समस्या देखिनुका साथै तापक्रम बढ्ने, खडेरी पर्ने, बढी वर्ष हुने, उत्पादनमा पनि गिरावाट आउने उनले बताए ।
यसरी गरौँ उचित व्यवस्थापन
कृषि अवशेषलाई जलाएर मात्रै व्यवस्थापन नगरी अन्य विधिबाट पनि व्यवस्थापन गर्न सकिन्छ । जुन वातारणमैत्री हुनुका साथै आर्थिक आयआर्जनमा पनि टेवा पुग्छ । कृषिबाट निस्किने अवशेष तथा फोहोर मात्रै नभएर आर्थिक स्रोतका रूपमा प्रयोग गर्न सकिने विज्ञहरूले बताउँछन् । विज्ञ डा. भूपेन्द्र दासका अनुसार कृषि क्षेत्रबाट निस्किने अवशेषलाई निम्नअनुसार व्यवस्थापन गर्न सकिन्छः
- कृषि उत्पादनबाट निस्किने पराल, भुसलाई च्याउ खेतीमा प्रयोग गर्न सकिन्छ ।
- इँटाभट्टामा प्रयोग हुने कोइलाको सट्टा पराल, भुसाबाट बायो विकेट बनाएर प्रयोग गर्न सकिन्छ ।
- कृषि अवशेषलाई कलकारखनामा खच्च पदार्थका रूपमा कागज बनाउन, कार्पेट बनाउन, प्लाइउड बनाउन प्रयोग गर्न सकिन्छ ।
- गाईवस्तुका लागि दाना (फिड स्टक) का रूपमा प्रयोग गर्न सकिन्छ ।
- गाईवस्तुलाई यसबाट तयार गरिएको दाना खुवाउँदा गोबर बढी हुने र बायोग्यासका रूपमा वा कम्पोस्ट मलका रूपमा प्रयोग गर्न सकिन्छ ।
- कृषि अवशेषलाई कम्पोस्ट मल बनाउन सकिन्छ ।
- पराललाई वायु फ्यानल (इन्धन) का रूपमा प्रयोग गर्न सकिन्छ । यसमा २० प्रतिशत जैविक इन्धन र ८० प्रतिशत पेट्रोलको उपयोग गरी सवारी सधानमा प्रयोग गर्न सकिन्छ तर यो खर्चिलो हुन्छ ।
‘कृषि अवशेषलाई नियमन गर्ने कानुन छैन’
कृषि क्षेत्रबाट उत्पादित अवशेष वा फोहोरलाई व्यवस्थापन गर्न तथा नियमनका लागि कानुन नभएको विज्ञ डा. दासले बताए । किसानले कृषि अवशेष व्यवस्थापन गर्न खेतमा खुला रूपमा आगजनी गर्छन् । ‘किसानले कृषि अवशेष खुला रूपमा आगजनी गरेका छन्,’ उनले भने, ‘कानुन नभएकाले कारबाही वा नियमन गर्न सकिएको छैन ।’
कृषि अवशेष व्यवस्थापनका नाममा गरिने खुला आगजनीलाई नियमन गर्न सरकारले सचेतना र निति नियम बनाउन आवश्यक रहेको दासले बताए ।
अन्य विधिबाट पनि गरिन्छ व्यवस्थापन
खेतीबालीबाट निस्काने ५१ प्रतिशत अवशेष जलाएर व्यवस्थापन गरिनुका साथै अन्य तरिकाले पनि व्यवस्थापन गरेको पाइएको राष्ट्रिय कृषि गणनामा उल्लेख छ । कृषिबाट निस्किने फोहोरबाट ४७ प्रतिशत परिवारले कम्पोस्ट मल बनाउँछन् । ३१ प्रतिशत परिवारले अवशेष गाड्ने गरेका छन् । १६ प्रतिशतले इन्धनका रूपमा प्रयोग गरी अवशेष व्यवस्थापन गर्छन् । पाँच प्रतिशत फोहोर व्यवस्थापकलाई पठाएर व्यवस्थापन गरिएको कृषि गणनामा उल्लेख छ । अन्य विधिबाट व्यवस्थापन गर्ने परिवार सङ्ख्य २२ प्रतिशत र फोहोर व्यवस्थापन नै नगर्ने परिवार सङ्ख्या ९ प्रतिशत छ ।
देशभर कृषि अवशेष व्यवस्थापन गर्ने परिवारको विवरण
स्रोत : राष्ट्रिय तथ्याङ्क कार्यालय
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एलन मस्कसँग ओलीले गरे भर्चुअल वार्ता
-
उत्तर कोरियाली नेताले भने– परमाणु युद्धको यति ठुलो खतरा कहिल्यै देखिएको थिएन
-
एमालेको जागरण सभामा जे देखियो...
-
नयाँ बसपार्कबाट सार्वजनिक बस सञ्चालन गर्ने महानगरको निर्णय पूर्ण कार्यान्वयन भएन
-
दरबारमार्ग क्षेत्रमा एमालेका कार्यकर्ताले गरे फोहोर, महानगरको एक्सन
-
गोरखामा मध्यपहाडी राजमार्गको २३ किलोमिटर सडक कालोपत्र अझै बाँकी