राजावादीहरूले बहकाएको बहस : पुँजीवादी शोषण र बेथिति ‘नर्क’, सामन्तवादी शोषण र बेथिति ‘स्वर्ग’ !
‘पुँजीवादी’ शोषण र बेथितिलाई देखाएर राजावादीहरू राजतन्त्र नै ठिक थियो भन्ने प्रचार गर्दै छन् । मानौँ, पुँजीवादी शोषण मात्र ‘नर्क’े, राजतन्त्रात्मक सामन्ती शोषणचाहिँ ‘स्वर्ग’ भएजस्तो । पुँजीका आधारमा शोषण गर्नु मात्र ‘नर्क’, जमिन या बिर्ताका आधारमा शोषण गर्नु ‘स्वर्ग’ भएजस्तो । कुरा त्यस्तो होइन, माछालाई तावा ‘नर्क’ र भुङ्ग्रो ‘स्वर्ग’ कहिल्यै हुँदैन । माछाका लागि स्वर्ग भनेको पानी या पोखरी मात्रै हो । त्यस्तै, जनताका लागि पुँजीवादी शोषण र सामन्ती शोषण दुइटै नर्क हो । जनताका लागि स्वर्ग भनेकै शोषणरहित समतामूलक व्यवस्था मात्र हो ।
आर्थिक समानता भएको, शिक्षा र स्वास्थ्य निःशुल्क, गाँस–बास–कपास र रोजगारीको सुनिश्चितता रहेको, सबैलाई व्यक्तित्व विकासमा समान अवसर हुने, कुनै प्रकारको शोषण, अन्याय, अत्याचार, भ्रष्टाचार र भेदभाव नहुने व्यवस्था मात्रै जनताका लागि ‘स्वर्ग’ हो । यो न राजतन्त्रमा सम्भव छ, न त पुँजीवादी गणतन्त्रमा । यसका लागि शोषणमा आधारित व्यवस्था होइन, समानतामा आधारित व्यवस्था चाहिन्छ । त्यसैले अबको बहस या आन्दोलन पनि यसैका निम्ति हुनुपर्ने हो तर यहाँ बहस बहकाइएको छ ।
अबको आन्दोलन न्याय, समानता र स्वतन्त्रताका लागि हुनुपर्नेमा बहस बहकाएर पुरानै अन्याय, असमानता र निरंकुशताको चंगुलमा फसाउने षड्यन्त्र हुँदै छ । राजावादीहरू राजतन्त्र आए जनताको सबै समस्या हल हुन्छ जस्तो गरी प्रचार गर्दै छन् । मानौँ, राजतन्त्र शोषणविहीन व्यवस्था नै हो जस्तो । जबकि राजतन्त्र सामन्ती शोषणमा आधारित व्यवस्था हो । नेपालकै इतिहास हे¥यौँ भने राजतन्त्रमा झन् धेरै असमानता, अशिक्षा, बेरोजगारी, अन्याय, अत्याचार, भेदभाव रहेको प्रस्ट हुन्छ ।
राजतन्त्र सैद्धान्तिक र व्यावहारिक दुवै रूपमा गलत छ । सैद्धान्तिक रूपमा राजतन्त्र जन्मका आधारमा अरुलाई शासन र शोषण गर्न पाउने सामन्ती शोषण, अन्धविश्वास, तानाशाही, अवैज्ञानिक र अमानवीय विचारमा आधारित व्यवस्था हो । व्यावहारिक रूपमा पनि राजतन्त्रले गर्दा नै नेपाल अहिले विश्वकै गरिब देशमा परिणत भएको हो । विगत २४० वर्षमा नेपाल विश्वकै गरिब देश बनेबाट र नेपालका धेरै भाषा, संस्कृति, लिपि, संवत् विनाश भएबाट राजतन्त्र गलत साबित भएको छ — वास्तविकता यही हो । राजावादीहरूको धुँवादार गलत प्रचारले भने राजनीतिक रूपमा कम सचेत जनतालाई दिग्भ्रमित पार्दछ । त्यसैले यहाँ केही प्रस्ट पार्न खोजिएको छ ।
राजतन्त्र र पुँजीवादी गणतन्त्र
राजतन्त्र भनेको जन्मसिद्ध श्रेष्ठतामा आधारित सामन्ती व्यवस्था हो । सामन्ती व्यवस्था भनेको जमिनका आधारमा शोषण गर्ने व्यवस्था हो । धर्मका आडमा, अवैज्ञानिक विचारका आधारमा चल्ने तानाशाही व्यवस्था हो ।
पहिला–पहिला उत्पादनको साधन किसानी काम या जमिन मात्र भएका बेला शोषणका आधार जमिन नै मात्र थियो । त्यो बेलाका शोषक या जमिनदारहरू आफू काम गर्दैनथे तर किसान या भूदासहरूलाई काम गराई उत्पादनको मालिक आफू बन्थे । जमिनदारहरूले यो शोषण कायम राख्न जमिनदारहरूबाटै एउटा नेता बनाए । खासमा जमिनदारको त्यो नेता नै राजाको रूपमा विकास भएको हो ।
संक्षिप्तमा भन्दा — राजा भनेको जमिनदारको नेता अर्थात् जमिनदारको शोषण कायम राख्न बनाइएको नेता हो । यसरी बनाइएका राजाले आफ्नो शासन कायम गर्न सेना, प्रहरी, कर्मचारीतन्त्र, नियम–कानुन, धर्मशास्त्र आदिको विकास गरे । विष्णुको अवतारसम्म भन्न लगाइयो, भनेको नमान्नेलाई कडा सजाय दिइयो, अनि तानाशाहको जन्म भयो । राजतन्त्र शोषण गर्ने संयन्त्र बन्यो, तर राजा दयालु हुन्छ, देश र प्रजाको रक्षा गर्छ भन्नेजस्ता अनेक झुटा साहित्यको सिर्जना गरियो । यसको प्रभाव अहिले पनि कतिलाई छ ।
समय परिवर्तनसँगै विकसित देशमा उद्योग धन्दाको विकास भयो । कतिपय देशमा राजतन्त्रले नै पुँजीवादी उत्पादन या पुँजीवादको पनि सेवा गर्न थाल्यो र नाम मात्रको भए पनि राजतन्त्र रहिरह्यो । कति देशमा पुँजीवादको विकाससँगै राजतन्त्रको ठाउँ पुँजीवादी गणतन्त्रले लियो । राजतन्त्रभन्दा गणतन्त्र अलि वैज्ञानिक व्यवस्था हो । गणतन्त्र वंश परम्परा होइन, जनताले चुनेका नेताले शासन गर्ने व्यवस्था भएकाले यो लोकप्रिय भएको हो ।
राजतन्त्र र अहिलेको पुँजीवादी गणतन्त्र दुइटै शोषणरहित व्यवस्था होइनन् । शोषणमा आधारित व्यवस्था हुन् । परम्परागत रूपमा राजतन्त्र जमिनका आधारमा शोषण गर्ने व्यवस्था हो । पुँजीवादी गणतन्त्र पुँजीका आधारमा शोषण गर्ने व्यवस्था हो । राजतन्त्रले बिर्ता बाँड्ने, जमिनदारको रक्षा गर्ने र किसानबाट कर लिएर शासन गर्ने काम गर्छ । पुँजीवादमा पुँजी लगानी गरेर श्रमिकको शोषण गर्ने, ठुलो पुँजीले सानो पुँजीको शोषण गर्ने, धनी देशको पुँजीले गरिब देशको पुँजीलाई शोषण गर्ने आदि हुन्छ ।
उद्योगहरूको विकासपछि कतिपय देशमा राजतन्त्रले उद्योगका मालिकको सेवा गर्न थाले र त्यहाँ नाम मात्रको भए पनि राजतन्त्रको आयु लम्बियो । बेलायत, जापान लगायत देशमा राजतन्त्रले पुँजीवादको सेवा गरेको हो र पुँजीवादी लुटमार्फत देश धनी भएको हो । नेपालमा औद्योगिक क्रान्ति नै भएन । नेपालको राजतन्त्र पुँजीवादको सेवा गर्ने त्यो चरणमा पुगेन । बरु, नेपालको राजतन्त्र पुँजीवादी साम्राज्यवादी देशहरूको सेवक या दलालचाहिँ भयो । हामीकहाँ राजतन्त्रले विश्वयुद्धका बेला नेपाली युवालाई पठाएर साम्राज्यवादी देशको सेवा ग¥यो ।
पछिल्लो चरणमा नेपाली राजतन्त्रले विदेशी उत्पादनलाई नेपालमा व्यापार गरिदिने दलालीको काम गर्न थाल्यो । अहिले नेपालमा राजतन्त्र र पुँजीवादी गणतन्त्रवादीको संघर्ष कसले विदेशी र विदेशी उत्पादनको दलाली गर्ने भन्ने नै मात्र हो, आफैँले नेपाली उत्पादन गर्ने आत्मनिर्भर हुने भन्ने होइन ।
राजतन्त्र गयो, सामन्तवाद गएन
सामन्तको नेता राजा हो तर नेपालमा राजा हटे पनि सामन्ती अर्थ–व्यवस्था हटेन — गल्ती यहीँ भयो । समान जमिन वितरण र जमिन जोत्नेको नगरी राजा मात्र फालेर सामन्तवाद ढल्यो भन्नु नै गम्भीर गल्ती भयो । अहिले पनि कसैको नाममा हजारौँ बिघा जमिन छ, कैयौँ भूमिहीन छन् । यही कारण अहिले पनि भेदभाव, शोषण, अन्याय, अत्याचार कायम छ र जनताले गणतन्त्र आएर के भयो भन्ने बाटो पाए ।
नेपालमा गणतन्त्र आए पनि सामन्तवाद गएन र त शोषणका आधार जमिन छ अहिले पनि । नेपालको राजतन्त्र जमिनको शोषण (बिर्ता, कुत आदि) का आधारमा चलेको थियो । यसलाई सामन्तवादी राजतन्त्र भनिन्छ । युरोप लगायत देशको राजतन्त्र उद्योग–धन्दा, कलकारखाना र व्यापारमा आधारित राजतन्त्र थियो । यो पुँजीवादी राजतन्त्र भयो । नेपालको राजतन्त्र पछिल्लो कालमा आएर दलाल राजतन्त्र पनि बन्यो । जस्तै : विदेशी गाडी नेपालमा बेचेर धनी हुन खोज्यो ।
युरोपको राजतन्त्रले बाहिरी देशलाई शोषण गरेर धनी भइरहँदा नेपाली राजतन्त्रले शक्ति राष्ट्रको दलाली गरिरह्यो — लखनउ लुट मचाएर होस् या विश्वयुद्धमा साम्राज्यवादी देशको सेवामा सेना पठाएर होस् । यसरी नेपालको राजतन्त्र दलाल र अर्धउपनिवेशमा आधारित थियो । युरोपको राजतन्त्र साम्राज्यवादी हो । सामन्ती दलाल राजतन्त्र र पुँजीवादी साम्राज्यवादी राजतन्त्रलाई एउटै भन्नु बहस बहकाउनु मात्रै हो । अरु देशको राजतन्त्र साम्राज्यवादी भएर विश्व लुटे र धनी भए, नेपालको राजतन्त्र औपनिवेशिक र दलाल मात्र थियो ।
युरोपेली लगायत देशले विश्व लुटेको इतिहास कसैबाट छिपेको छैन । युरोपेली देशले एसिया, अफ्रिका, अस्ट्रेलिया सबै लुटेकै हो । अरब लगायत केही राजतन्त्रात्मक देशहरू प्राकृतिक खानीले गर्दा धनी भएका हुन्, मुस्लिम धर्म या राजाको विशेष खुबीले धनी भएका होइनन् । तर यस सच्चाइलाई ढाकछोप गर्दै त्यहाँ राजतन्त्रले गर्दा धनी भएको जस्तो भ्रम फैलाइन्छ । नेपालमा पनि राजतन्त्र आए रातारात धनी हुनेजस्तो । यो पनि अर्को बहकाइ नै हो । नेपालको राजतन्त्र पनि अहिलेका नेताजस्तै विदेशीको दासबाहेक केही थिएन । सच्चाइ के हो भने ती धनी देशमा पनि समतामूलक या समाजवादी गणतन्त्र भएको भए सबै समान रूपमा धनी हुन्थे, शोषण हुँदैनथ्यो ।
राजतन्त्रको विरोध किन ?
राजतन्त्रको विरोध दरबार हत्याकाण्डलाई लिएर, मल्ल राजाको मूर्ति चोरेर बेचेकाले, छोरा कुलत र सन्काहा भएकाले मात्र गरिएको थिइएन । राजतन्त्र सामन्ती शोषण, तानाशाही, फासिवाद, भाग्यवाद, अन्धविश्वास र अमानवीयतामा आधारित भएकाले विरोध गरिएको थियो ।
सामन्ती शोषण भनेको जमिनका आधारमा शोषण गर्नु, आसेपासेलाई हजारौँ बिघा बिर्ता बाँड्नु तर वास्तविक किसान, कमैया, सुकुमबासीलाई एक आना पनि जमिन नदिएर शोषण गर्नु हो । तानाशाही भनेको निरंकुशता र मनपरीतन्त्र लाद्नु हो । फासिवाद भनेको वैकल्पिक विचारलाई पूरै निषेध गर्नु र कडा नियन्त्रण गर्नु हो । भाग्यवाद भनेको मानिसको अहिलेको काममा होइन, पूर्वजन्मको फल आदिमा विश्वास गर्न लगाउने गलत विचार हो । अन्धविश्वास भनेको कुनै वैज्ञानिक आधारविना गलत चीजलाई विश्वास गर्नु हो, जस्तै : राजालाई विष्णुको अवतार मान्नु । जन्मका आधारमा एक मानिसले अर्को मानिसलाई शोषण गर्न पाउनुपर्छ भन्नु नै राजतन्त्रको अमानवीय विचार हो ।
पछिल्लो समयमा नेपाली राजतन्त्रले पनि नेताहरूले जस्तै विदेशीको सेवा वा दलालीबाट आफू टिक्न खोज्नु पनि जनविरोधी काम थियो ।
गणतन्त्र किन ठिक ?
राजतन्त्रभन्दा गणतन्त्र ठिक हुनुका धेरै कारण छन् । दर्शनशास्त्रमा एउटा नियम छ, मात्राबाट गुणमा परिवर्तन । अर्थात् मात्रा धेरै भयो भने मात्रा गुणमा परिवर्तन हुन्छ । जस्तै : पानीको एक थोपामा बिजुली निकाल्ने क्षमता हुँदैन तर पानीको विशाल तलाउमा बिजुली निकाल्ने क्षमता हुन्छ । त्यस्तै कुनै एक परिवारबाट भन्दा जनताबाट चुनिएको नेता गुणयुक्त र क्षमतावान हुन सक्छ । त्यसैले गणतन्त्रमा प्रतिस्पर्धाबाट क्षमतावान् नेता निस्कने सम्भावना रहन्छ । यो सैद्धान्तिक कुरा भयो, तर व्यवहारमा चलखेल हुन्छ, त्यो रोक्न जनता सचेत हुनुपर्छ । चलखेल राजतन्त्रमा पनि हुन्छ तर त्यहाँ जनताको केही अधिकार हुन्न । जनताले चाहेर पनि चलखेल रोक्न सक्दैनन् ।
बुबामा जे गुण छ छोरामा त्यो गुण हुनैपर्छ भन्ने केही छैन । नारायणगोपालका बुबा गायक थिएन । रवीन्द्र मिश्रका बुबा कलाकार थिए, रवीन्द्र मिश्रमा कलाकार हुने गुण छैन । गायकका छोरा मात्र गायक, कविका छोरा मात्र कवि हुने भए, हामीले स्वरसम्राट पनि पाउँदैनथ्यौँ, महाकवि पनि पाउँदैनथ्यौँ । यसैले राजाको छोरा राजा हुनैपर्छ भन्ने जहाँनिया शासन गलत छ ।
राजतन्त्रमा मेहनत र प्रतिभाभन्दा पनि जन्मका आधारमा अधिकार र अवसर दिइनाले मेहनती र प्रतिभावान् मानिसलाई शोषण हुन्छ र निराश पनि बनाउँछ । जन्मका आधारमा होइन आफ्नो मेहनत र प्रतिभा अनुसार पुरस्कार र अधिकारको व्यवस्थाले मात्र सबैलाई मेहनती, प्रतिस्पर्धी र समाजसेवी बनाउँछ । यसले मात्र देशको तीव्र विकासमा टेवा पु¥याउँछ । यो गणतन्त्रमा मात्र सम्भव छ । जन्मका आधारमा शासन या भेदभाव गर्ने अधिकार राख्नु भनेको अत्यन्तै अमानवीय अन्यायपूर्ण र बर्बर मानसिकता हो । यस्तो व्यवस्था अहिलेको समयमा सोच्न सकिने विषय होइन ।
राजावादीहरू बहकाउँछन्– राजतन्त्रमा नेपालीहरू धनी थिए र राजा महेन्द्रले खुब विकास गरे । नेपालको प्रतिव्यक्ति आम्दानी महेन्द्रका पालामा ५० डलर, राजतन्त्रको अन्तमा ४५० डलर र अहिले १२०० डलर छ । महेन्द्रको पालामा ५० प्रतिशतभन्दा बढी जनता गरिबीको रेखामुनि थिए । अहिले त्यो संख्या २५ प्रतिशतभन्दा कम छ । राजतन्त्र कालमा नेपाली धनी होइन, गरिब थिए ।
महेन्द्रका पालामा खोलिएका उद्योगहरू पनि सबै विदेशको सहयोगमा स्थापना गरिएका थिए । चीनको सहयोगमा टायल तथा इँटा कारखाना, भृकुटी कागज कारखाना, छाला जुत्ता कारखाना, रुसको सहयोगमा जनकपुर चुरोट कारखाना आदि । उद्योग खोल्नु राम्रो हो, तर राजतन्त्रकै सहमतिमा ती उद्योग निजीकरण गरिए ।
नेपाल, भारत र चीनमा लगभग २००७ साल वरपर नै परिवर्तन भएको थियो । परिवर्तनको केही समयमै चीन र भारतले धेरै प्रगति गरे तर नेपाल अत्यन्तै गरिब र हरेक हिसाबले पछाडि प¥यो ।
भ्रमको खेती
राजावादीहरू भ्रमका आविष्कारक हुन् । भ्रम फैलाएर जनतालाई गुमराहमा राख्ने र शोषण कायम गर्ने कुटिल चाल छ तिनीहरूको । राजावादीहरू राजतन्त्रमा नेपालीको अत्यन्तै न्यून प्रतिव्यक्ति आम्दानीको भएको, किसानले एक टुक्रा जमिन नपाएको र भोकमरीले दुर्दशा निम्त्याएका बारे कुरा गर्दैनन्, जमिनदारले धान बेचेको कुरा गर्छन् । देशभर २० प्रतिशत मानिस धनी त जहिले पनि हुन्छ । अहिले पनि करोडौँको गाडी चढ्ने छन् ।
राजावादीहरू संघीयता खर्चालु भयो भन्छन् तर हिसाब कहिले पेस गर्दैनन् । ५५० प्रदेश सांसदको महिनाको एक लाख नै तलब भए पनि वर्षको ७० करोड पनि खर्च हुन्न । सबै गरेर एक अर्ब नै खर्च भए पनि १९ खर्बको बजेट भएको देशमा एक अर्ब भनेको कति नै हो र ? ०.०५ प्रतिशत त हुन्छ । त्यसैले राजावादीले संघीयता खर्चालु भयो भन्नुको कुनै तुक छैन । खासमा संघीयताले गर्दा आदिवासी जनजातिले अधिकार पाएको, प्रदेशमा तिनीहरूको भाषा चलेको राजावादीहरूलाई मन नपरेको मात्र हो । तिनीहरू यसलाई उल्ट्याउन चाहन्छन् ।
बहुधार्मिक देशमा धर्म राज्यको होइन व्यक्तिको हुन्छ तर राजावादीहरू हिन्दू राज्य नै चाहियो भन्छन् । हिन्दू राज्यसँग निरंकुश राजतन्त्रको सालनाल जोडिएको यथार्थ चाहिँ भन्दैनन् । हिन्दू राज्य भयो भने त्यो धर्मअनुसार राजा अनिवार्य हुन्छ र राजाले जे गरे पनि विरोध गर्न पाइँदैन किनभने राजा विष्णुको अवतार हुन्छ हिन्दू धर्मअनुसार । हिन्दू राज्य माग्नु घुमाइफिराइ निरंकुश राजतन्त्र माग्नु हो भन्ने यथार्थ जनताबाट लुकाउनु जनतालाई धोका दिनु हो ।
२५० वर्षदेखि राजतन्त्रले थुपारेको फोहोर गणतन्त्रले ९–१० वर्षमै सफा गरेन भनेर अझै उही राजा फर्काउनुपर्छ भन्ने राजावादीहरूको तर्क कति भ्रामक र तुकविहीन छ भन्ने प्रस्टै छ ।
राजतन्त्रले नेपालका भाषा, भूमि, कला, संस्कृति, सभ्यता बचाउन सकेन । यस्तै, न्याय, समानता, स्वतन्त्रता र समृद्धि ल्याउन सकेन । राजा सबैका साझा होइनन् भन्ने कुरा राजतन्त्रपछि नेपालका भाषा, भूमि, कला, संस्कृति, सभ्यता लोप हुँदै गएबाट प्रस्ट हुन्छ । देश भनेको आफ्नो भाषा, भूमि, कला, संस्कृति, सभ्यता बचाउन तथा न्याय, समानता, स्वतन्त्रता र समृद्धि ल्याउनका लागि हो ।
शाहकाल आएपछि नेपालका विविध भाषा, लिपि, संवत्, संस्कृति, सभ्यताको विकास होइन विनाश भयो । आदिवासी जनजातिका भाषामा किताब लेखेकै कारण चित्तधर हृदय लगायतले सर्वस्वहरण र आजीवन कारावासको सजाय भोग्नुप¥यो । नेपाल लिपिको ठाउँमा भारतीय देवनागरी लिपि, नेपाल संवत्को सट्टा विक्रम संवत लादियो । रेडियो नेपालमा नेपालभाषाको विज्ञापन समेत बन्द गरायो । तर राजाको सेवा गरेका केही आसेपासेलाई केही पद र पैसा पनि दियो । बहुमत आदिवासीलाई शोषण गरेर राजाको सेवा गरेका केही आदिवासीलाई केही दिएको देखाएर राजाले सबैलाई हेर्छन् भनेर प्रचार गरिन्छ, यो ठूलो बेइमानी हो, यसलाई ‘टोकनाइजेसन’को भ्रम पनि भनिन्छ ।
मल्लकालमा युरोप जतिकै विकसित देश नेपाललाई शाहकालको २४० वर्षले विश्वकै गरिब मुलुकमा परिणत ग¥यो । जुन तन्त्रले देशप्रतिको आस्था र गरिमा बढाउने होइन कि घटाउने काम ग¥यो, त्यही तन्त्र देशका लागि चाहियो भन्नु जनविरोधी कुरा हो ।
वर्गीय साथै जातीय, भाषिक, सांस्कृतिक शोषण गर्ने राजा सबैको साझा भन्नु पनि अर्को बहकाउ मात्र प्रमाणित हुन्छ । राजा सबैका साझा भन्नलाई राजा आएपछि सबै नेपालीको सम्पत्ति साझा वा बराबर हुने हो र ?
राजा आएमा आर्थिक समानता हुने पनि होइन, जमिनको समान वितरण हुने पनि होइन, शिक्षा र स्वास्थ्य निःशुल्क हुने पनि होइन, सबैको सम्पत्ति बराबर हुने पनि होइन । राजासँग रोजगारी वृद्धिको कुनै योजना पनि थिएन र छैन । त्यसै राजा सबैको साझा भनेको छ, हल्ला गरेको छ ।
राजाका पालामा आर्थिक असमानता कति हुँदो रहेछ भन्ने त विगतले देखाइसक्यो । कसैले हजारौँ बिघा जमिन बिर्तामा पाउने, कसैको एक आना पनि जमिन नहुने । कसैको दरबारमा २४सै घन्टा झिलिमिली हुने अनि ९० प्रतिशत जनताको घरमा बिजुलीविहीन अन्धकार हुने ।
नेपालमा भन्दा पछि बिजुली पुगेको चीन लगायत देशले औद्योगिक क्रान्ति गरिसक्दा उही चीन र रुसले दिएको ट्रलिबस, इँटा कारखाना, छालाजुत्ता कारखाना, चुरोट कारखाना देखाएर देश विकास गरेको डिङ हाँक्दै जनतालाई भ्रमित पार्नेहरूको अर्को भ्रमको आविष्कार हो– राजा सबैका साझा ।
राजा नरहँदा चीन र भारत रहेनन् ?
राजावादीहरू भन्छन्– राजालाई मात्र देशको माया हुन्छ र राजा नरहे देश रहन्न । यो पनि अर्को बहकाउ मात्रै हो । राजा नरहे देश नरहने भए चीन, अमेरिका, भारतजस्ता देश नरहनुपर्ने हो । राजा नभए देश बेचिने भए चीन र भारत पनि बेचिनुपर्ने हो । त्यसो त भएको छैन । देश बचाउने भनेको जनताले हो राजाले होइन ।
कमजोर देशको राजा त विदेशीको कठपुतली मात्रै बन्ने हो, विगतमा नेपाल त्यस्तै थियो । अर्को कुरा, कतिपय कमजोर देशमा वैदेशिक शक्तिसँग राजाले पहिला सुरु आत्मसमर्पण गरेको तर जनताले देश बचाएको इतिहास पनि छ ।
नेपालका राजाहरू कोही २० वर्ष, कोही २६ वर्ष, कोही २८ वर्ष, कोही २९ वर्ष मात्र बाँचेको त कोही ज्यान जोगाउन भारतीय दूतावासमा लुक्न गएको, कतिको हत्या भएको इतिहास छ । अर्थात् नेपाली राजतन्त्र पनि षड्यन्त्रको केन्द्र नै थियो । आफ्नो स्वार्थका लागि वंशनाशसम्मको चलखेल गर्ने र षड्यन्त्रको केन्द्र राजतन्त्रबाट देश जोगिन्छ भन्नु मूर्खता मात्र हो ।
विचारभन्दा माथि केही पनि हुँदैन
‘मार्ग परिवर्तन’पछि गणतन्त्रवादीबाट राजतन्त्रवादी बनेका रवीन्द्र मिश्रले पनि विचारभन्दा माथि देश भन्दै राजतन्त्रको वकालत गरेको देखिन्छ । रवीन्द्र मिश्रजीको विचारभन्दा माथि देश भन्ने कुरा नै गलत छ । विचारभन्दा माथि केही पनि हुँदैन । सही विचार सार्वभौम हुन्छ । सार्वभौम विचार विश्वभरि जहाँ पनि लागू गर्न योग्य हुन्छ, लागू हुन्छ । जस्तै : कुनै पनि वस्तु माथिबाट तल खस्छ, त्यो अमेरिकामा पनि खस्छ, नेपालमा पनि खस्छ । यस्ता वैज्ञानिक विचार विश्वव्यापी छन् । त्यस्तै अर्थशास्त्रको माग र आपूर्तिको सिद्धान्त या विचार विश्वव्यापी छ । समाजशास्त्र, राजनीतिशास्त्रको विचार पनि विश्वव्यापी छ, हुन्छ ।
विचारभन्दा माथि देश हुने भए नेपालबाट सुरु भएको बुद्ध धर्म अरु देशमा कसैले मान्न नहुने हो । नेपालले पनि नेपालभन्दा बाहिर विकास भएको विचार केही लिन नहुने हो । बिजुली–बत्ती, टीभी, मोबाइल, इन्टरनेट सबै विदेशमा विकास भएको हो, नेपालले प्रयोग गर्नै नहुने हो, रवीन्द्रजीको विचारमा । यस्तो त हुँदैन ! यो सम्भव कुरा पनि होइन । आवश्यक कुरा पनि होइन । त्यसैले रवीन्द्रजीको विचार गलत छ ।
विश्वभरि नै, बसिखाने वर्गले गरिखाने वर्गको शोषण गर्छ । सुगमले दुर्गमलाई, पुरुषले महिलालाई, धनीले गरिबलाई, मालिकले मजदुरलाई शोषण गर्छ, भइरहेको छ । शोषण विरुद्धको हक र विचार पनि सार्वभौम छ । देशको पाबन्दीले विचारलाई छेक्न सक्दैन, हुँदैन ।
नेपालमा सती प्रथा थियो, यो पनि विचारकै उपज थियो अर्थात् तत्कालीन मानिसका विचारमा यो सही थियो । नेपालमा २००९ सालसम्म महिलाले भोट हाल्ने अधिकार पाएका थिएनन् । यस्ता गलत विचार अरु देशले पहिले नै अन्त्य गरिसकेका थिए । विचारभन्दा माथि देश भनेर सती प्रथा र महिलालाई भोट हाल्न नदिने गलत विचार कायमै गर्नु उचित हुँदैन ।
यस्तै देश, स्वदेश वा स्वदेशी भन्दैमा गलत चीजको समर्थन गर्न सकिँदैन । ‘स्वदेशी भनेर कीरा पनि नमारौँ त !’ भनेर एक नेपाली कविले कविता नै लेख्नुभएको छ । स्वदेश वा स्वदेशी भनेर भावुक भएर होइन कि सही वा गलत के हो भन्ने विचार र विवेकले निक्र्योल लिनुपर्छ । न्याय, समानता, स्वतन्त्रता र विकासका विचारलाई देशको सीमामा बाँध्न सकिँदैन ।
राजाबाट पद, पैसा र जग्गा बिर्ता पाएका दासहरूलाई राजा प्यारो हुनु स्वाभाविक हो । राजाबाट पद, पैसा र जग्गा बिर्ता पाएका दासहरूलाई राजा प्यारो हुनु स्वाभाविक हो । अब केही पाउने आश गरेकाहरूले पनि आधारहीन भ्रम फैलाउँदै हिँड्नु नौलो कुरा होइन तर शोषित जनता पनि यसैको लहैलहैमा लाग्नु चाहिँ तावाको माछा भुङ्ग्रोमा खस्नु नै मात्र हो । मठ, मन्दिरको जग्गा खाने मठाधीशहरूको ¥यालीमा उत्पीडित किसानहरू पनि लाग्नु यथार्थ कुरा नबुझेर नै हो । यसैले सत्य तथ्य बुझ्नु बुझाउनु अहिलेको आवश्यकता हो ।
समतामूलक व्यवस्था
जनता सचेत हुँदा न्यायप्रेमीलाई फाइदा हुन्छ, अचेत हुँदा जनविरोधीलाई फाइदा हुन्छ । त्यसैले राजवादीहरू बहकाउन तल्लीन छन् । तिनीहरू तथ्य र तर्कमा भन्दा झुट र प्रचारबाजी तथा विचार र विवेकलाई भन्दा आवेग र भावुकतालाई जोड दिँदै जनतालाई गुमराहमा पारेर शोषण गर्न उद्यत् छन् ।
कहिले गोलमाल कुरा गरेर त कहिले विषयान्तर गरेर भ्रम फैलाउँदैछन् । जनता सचेत भएनन् भने फेरि सामन्ती शोषणको जाँतोमा जनता पिल्सिन सक्ने खतरा छ । पुँजीपतीलाई पुँजीवाद स्वर्ग र सामन्तलाई राजतन्त्र स्वर्ग होला तर जनताका लागि स्वर्ग भनेको शोषणरहित समतामूलक व्यवस्था मात्र हो । यस निम्ति परिवर्तनको विरोध गरेर होइन, यो अधुरो परिवर्तनलाई पूरा गरेर मात्र सम्भव छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सहसचिवहरूको तलब बढाउने फैसला पुनरावलोकन हुने
-
आईपीओ पाइपलाइनमा थपिए ४२ कम्पनी, झण्डै ४५ अर्बको सेयर आउँदै
-
एनआरएनए एकताका लागि दुई साताभित्र टीओआर तयार गरिने (विज्ञप्तिसहित)
-
कन्ट्री रेटिङमा नेपालले पायो ‘बीबी माइनस’
-
संक्रमणकालिन न्याय : यी हुन् दुई आयोगमा आवेदन दिनेहरू (सूचीसहित)
-
प्रधानमन्त्री ओली किन पर्छन् पटकपटक विवादमा ?