शनिबार, ०८ मङ्सिर २०८१
ताजा लोकप्रिय
कृषि

'जिरो टिलेज प्रविधि'बाट १५ देखि २५ प्रतिशत बढी गहुँ उत्पादन हुने

जिरो टिलेज प्रविधिबाट गहुँ खेती कसरी गर्ने ?
आइतबार, ०३ मङ्सिर २०८०, ११ : १५
आइतबार, ०३ मङ्सिर २०८०

काठमाडौँ । जिरो टिलेज प्रविधिबाट १५ देखि २५ प्रतिशत बढी गहुँ उत्पादन हुने नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले जनाएको छ । यसबाट परम्परागत तरिका भन्दा १५ देखि २५ प्रतिशत उत्पादन बढी हुने बताइएको छ । 

खेतको धान काटेर सकेपछि खनजोत नगरी जिरो टिल सिड ड्रिल मेसिनको सहायताले गहुँ छर्ने प्रविधिलाई शून्य जोताई प्रविधि (जिरो टिलेज टेक्नोलोजी) भनिन्छ । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) का अनुसार जिरो टिल सिड ड्रिल मेसिनबाट गहुँ छर्दा खेतमा प्रशस्त चिस्यान हुनुपर्दछ, यदि चिस्यान छैन वा कम छ भने हल्का सिँचाई गरी खेतमा उपयुक्त चिस्यान ल्याउन सकिन्छ । ट्र्याक्टरको चक्का नधसिने भएमा बढी चिस्यान भएको खेतमा पनि गहुँ लगाउन सकिन्छ । गहुँ खेतीका लागि जमिन सम्म परेको हुनु पर्ने नार्कले उल्लेख गरेको छ । 

खेतमा बढी झारपात भएमा बीउ छर्नुभन्दा कम्तीमा ३ हप्ता अगावै ग्लाईफोसेट ४१ प्रतिशत विषादी ५ एम. एल. प्रतिलिटर पानीका दरले २० लिटर घोल प्रति कट्ठाको दरले छर्नुपर्छ ।

नार्कका अनुसार सामान्यतया कार्तिक १५ गतेदेखि मङ्सिर १५ गतेसम्म गहुँ छर्दा राम्रो उत्पादन लिन सकिन्छ । राम्रो उमारशक्ति भएको बीउ ४ केजी प्रति कट्ठाका दरले छर्न सकिने नार्कले जनाएको छ । माटोमा चिस्यान बढी भएमा करिब १ इन्च गाहिराइमा छर्नु पर्ने र कम चिस्यान भएमा २ देखि ३ इन्च गहिराइमा गहुँ छर्न सकिने नार्कले उल्लेख गरेको छ । 

जिरो टिलेज प्रविधिबाट गहुँ छर्दा हुने फाइदा

–प्राकृतिक श्रोत संसाधन तथा स्रोतहरूको संरक्षण हुने,

–बढी चिसो भएका कारणले हिउँदमा बाँझो रहने खेतमा गहुँ लगाउन सकिन्छ, 

–परम्परागत तरिका भन्दा १५ देखि २५ प्रतिशत बढी उत्पादन हुन्छ, 

–बीउ र मल लहरैमा खसाल्न सकिने र सिँचाइको लागि कम पानी लाग्छ,

–चिसो जग्गामा जोतेर गहुँ लगाउन ढिलो हुने, खर्च बढी लाग्ने हुन्छ तर जिरो टिलेज प्रविधिबाट यस्ता जग्गामा गहुँ लगाउँदा समयमै र कम खर्चमा गहुँ लगाउन सकिन्छ, 

– ३ देखि ४ लिटर डिजेलमा प्रति घण्टा १०देखि १२ कट्ठामा गहुँ छर्न सकिन्छ,

–धानका ठुटोले असर नपार्ने तथा बीउ र मल एकनासको गहिराइमा खसाल्न सकिने  भएकोले जर्मिनेसन (उमार) राम्रो हुन्छ,

–यो प्रविधिबाट गहुँ लगाउँदा मलजलको समुचित उपयोग भई उत्पादन क्षमता बढ्न जान्छ, 

–खनजोत गर्ने पैसाको बचत हुनाले खुद नाफा बढी हुन्छ , 

–माटोको गुण नबिग्रिने र लगाइएको बालीमा झारपातको समस्या कम हुन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप