भाइ बहिनीको प्रेमको प्रतीक सामाचकेवा पर्व
“बिहुली आगे बिहुली..............
सामा जाईछै ससुरा किछ गहनो चाही गे डिहुली”
राति अबेरसम्म यस्तै गीतले गुञ्जायमान हुने मैथिल समुदायमा दाजुभाइ तथा दिदी बहिनीबीचको पवित्र प्रेमको प्रतीकका रूपमा मनाइने सामा चकेवा पर्व आज(शनिवार) देखि सुरु भएको छ । आज कात्तिक शुक्ल पञ्चमीदेखि विधिवत् रूपमा सुरु भएको यो पर्व दश दिनसम्म चल्नेछ ।
दिदीबहिनीले दाजुभाइको दीर्घायु एवम् मङ्गल कामना गर्ने यो पर्वले एकापसमा सम्बन्ध प्रगाढ हुने धार्मिक एवम् सांस्कृतिक मान्यता रहिआएको छ । खास गरी दाजुभाइसित सम्बन्धित यो पर्वमा माटाका कलात्मक मूर्तिहरू बनाइने गरिन्छ । मूर्ति बनाउन भाइटिकाकै दिन माटो ल्याएर यो पर्वको शुभारम्भ गरिन्छ । छठ पर्वको खरनादेखि मूर्ति बनाउने कार्य सुरु गरी कात्तिक पूणिर्माको मध्यरात यो पर्व समापन गरिन्छ ।
काँचो माटोबाट निर्माण गरिएका मानव, पशु र चराका मूर्तिहरूलाई ‘सामा’ भन्ने गरिन्छ र आगोमा पकाएका मूर्तिलाई ‘चकेवा’ भनिन्छ । यो पर्वमा पहिलो दिन माटोको सिरी सामा बनाइन्छ । दोस्रो दिन चकेवा र त्यसपछि एकै पङ्क्तिमा बसेका सात वटा चराको मूर्ति बनाइन्छ ।
त्यसपछि क्रमिक रूपमा खर रुचि भैया, बाटो बहिनो, दुई मुखे चरा, भाइबहिनी विमुख मूर्ति, परालको वृन्दावन जङ्गल र सनपाटको चुगिला अनिवार्य रूपमा बनाउने गरिन्छ । यसका साथै विभिन्न प्रकारका अन्य मूर्ति कलात्मक ढङ्गले बनाउने गरिन्छ । ती मूर्तिलाई विभिन्न आकर्षक रङले रङ्गाइन्छ । यो पर्वका बेला माटाका कलात्मक मूर्ति बनाउन जान्नेले अरूलाई यो सीप सिकाउने गर्दछन् ।
धार्मिक किम्बदन्तीअनुसार भगवान् कृष्ण र जाम्बवतीकी छोरीको नाम सामा थियो । भगवान् कृष्णको श्रापका कारण शकुन्त चरा भएपछि साम्बलाई पुनः मानव योनीमा फर्काउन सामाका भाइ साम्ब सफल भएको सम्झनास्वरुप यो पर्व मनाउने गरिएको हो ।
यो पर्वको सबभन्दा रमाइलो पक्ष दिदीबहिनीले आफ्ना मनका कुरा निर्धक्क भएर गीतको माध्यमबाट प्रकट गर्छन् । आ–आफ्ना दाजुभाइको प्रशंसा गर्दै कुनै वस्तु माग गर्नुपर्यो भने गीतको माध्यमले भन्ने गर्छन् । नातागोतामा पर्ने सम्पूर्ण दाजुभाइको गीतमा नाम उल्लेख गरी मध्यरातसम्म गीत गाउने गरिन्छ ।
यस्तो छ दिदी बहिनीहरूले गाउने गीत :
‘गामके अधिकारी तोहे बड्का भइया हो
......गामके अधिकारी तोहे बढ्का भइया हो
भैया दस हाथ पोखरी खुनाई दियचम्पा फुल दगाय दिय हे’
अर्थात गाउँको प्रमुख व्यक्ति मेरो दाजुभाइ होस् र उसले गाउँमा दसवटा पोखरी बनाई देओस् । यो गीतमा विकास निर्माणको काम गरोस् भन्ने कामना गरिएको छ ।
त्यसैगरी,
‘गे माइ कौने भइया जेता अटना पटना
कौने भइया जयता मुङ्गेर,
गे माइ कौने भइया जेता अटना पटना कोन भैया जेता मुङ्गेर
कोने भइया जेतै शहर दरभंगा कोने जेता मुङ्गेर
गे माइ कौने भइया जेता अटना पटना कोन भइया जेता मुङ्गेर’
अर्थात, कुन कुन दाजुहरू सहर जानुहुन्छ । त्यहाँबाट मैले माग गरेका सामानहरू ल्याइदिन आमासँग भन्छु भन्ने यो गीतको अर्थ हो ।
यसपछि आँगनमा चामलको पीठोबाट बनाइएका कलात्मक अरिपनमा उनीहरुले निर्माण गरेका माटोका मूर्तिहरू र सामा चकेवालाई चढाउनका लागि प्रसादका रूपमा नयाँ धानको च्यूरा, धानको बाला, केरा, दही, चिनी र मिठाई पान, सुपारी, अरुवा चामलसमेत बाँसको टोकरीमा राखेर पूजा गरिन्छ । त्यसपछि दिदी बहिनीहरू गीत गाउँदै उक्त टोकरी बोकेर चौराहामा पुग्दछन् ।
यसरी चौराहामा दाजुभाइ र दिदीबहिनी जुटेपछि सामा नाम गरेको मूर्तिलाई फोड्ने कार्य सबभन्दा पहिले भाइबाट गराइन्छ ।
त्यस अवसरमा दिदीबहिनीले दाजुभाइलाई आशीष दिँदै यस्तो गीत गाउँछन्–
‘जीवऽ जीव’ जीवऽकी मोर भैया जीव’
कि तोर भैया जीव
जैसन धोवियाके पाठ तैसन भैयाक पीठ
जैसन करडिक थम्ह तैसन भैयाक जाँघ’
अर्थात, मेरो दाजुभाइ वर्षौं वर्षसम्म बाँचुन्, धोबीले लुगा धुने धाटजस्तै पिठ्यूँ र करडिकको बोटजस्तै तिघ्रा बलियो होस् ।
त्यसपछि, सामा चकेवाको पुनः पूजा गरी केही मूर्ति एकापसमा साटासाट समेत गर्छन् । केही मूर्ति फोड्छन् । लट्ठीमा बनाइएको चुगिलामा आगो लगाएर यो पर्व सम्पन्न गरिन्छ ।
पुराणमा उल्लेख गरिएअनुसार कृष्णकी छोरी सामा वृन्दावनको जङ्गलमा घुमफिर गर्न गएको बेलामा ‘डिहुली’ नामक नोकरनीले कृष्णसमक्ष सामा वनका तपस्वी ऋषिहरूसित रमण गरिरहेको झुटो कुरा लगाइन् । कृष्ण आवेशमा आएर वास्तविक कुरा नबुझी छोरी सामालाई चरा हुने श्राप दिए । श्रापका कारण चरा बनेकी बहिनीलाई मुक्त गराउन दाइ साम्बले घोर तपस्या गरी पुनः मानव चोलामा फर्काएको विश्वासमा यो पर्व मनाइने गरिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘ग्रामीण क्षेत्रका नागरिकलाई स्वच्छ र सुरक्षित खानेपानी उपलब्ध गराउने सरकारको पहिलो प्राथमिकता’
-
झलनाथको आरोप, ‘चीनले अनुदानमा बनाइदिएको उद्योगधन्दा बेचेर खाने साथीहरू यिनै हुन्’
-
अमेरिका जान हिँडेका रुकुमका नेपाली युवक चीनमा पक्राउपछि डिपोर्ट
-
बीस वर्षदेखि व्यावसायिक कृषि कर्ममा रमाइरहेका चन्द्रवंशी परिवार
-
सन् २०१७ मा भएको एमओयूकै सेरोफेरोमा बीआरआईमा सम्झौताहरू हुन्छन् : परराष्ट्रमन्त्री
-
मुलुकले औद्योगीकरणमा फड्को मार्न सकेन : अर्थमन्त्री पाैडेल