‘सरस्वतीले छोरी र मेरा लागि आफ्नो करिअर नै तिलाञ्जली दिइन्’
पञ्चायती शासनविरुद्धको आन्दोलन भुसको आगोजस्तै फैलिरहेको थियो । धुवाँ पुतपुत्याएको गन्ध वा सुराकी पाए प्रहरी पुगिहाल्थे । भूमिगत राजनीतिमा लागेका प्रदीप ज्ञवालीको घरमा पनि प्रहरी छापा मार्न पुग्यो । घरमा केही पञ्चायतविरोधी पर्चा–प्रतिवेदन थिए । ती कागजात लुकाउन सात महिनाकी गर्भवती सरस्वती (प्रदीपपत्नी) लिस्नो चढेर पराल राखेको ठाउँमा गइन् । हतार–हतार कागजात परालमा लुकाएर ओर्लंदै थिइन्, लिस्नो पल्टियो र उनको पेट भुइँमा बजारियो । त्यसको डेढ महिनापछि (२०४४ सालमा) सरस्वतीले छोरी क्षितिजलाई जन्म दिइन् ।
एमाले उपमहासचिव प्रदीप ती पुराना क्षण सम्झन्छन्, ‘त्यो दुर्घटना भएपछि मैले सरस्वतीलाई पाल्पा हस्पिटल लिएर गएँ, चेकजाँच भयो । डाक्टरहरूले भने – आत्तिनुपर्ने अवस्था त छैन तर डेलिभरी हस्पिटल वा स्वास्थ्य चौकीमै गराउनुहोला । म भूमिगत भएकाले हस्पिटलमा डेलिभरी गराउने संयोग जुरेन । उनले गाउँमै जेठी छोरीलाई जन्म दिइछन् । जन्मेको ५–६ महिनापछि छोरीलाई उपचारका लागि भैरहवा ल्यायौँ, अनि मात्रै थाहा भयो, छोरीलाई मस्तिष्क पक्षघात भएको रहेछ । सरस्वती लड्दा पेटभित्रको बच्चाको मस्तिष्कमा गम्भीर आघात पुगेको रहेछ । मेडिकल जगत्मा मस्तिष्क पक्षघातको अहिलेसम्म उपचार छैन ।’
क्षितिज राम्रोसँग हिँडडुल गर्न र बोल्न सक्दिनन् । प्रदीपले दुई वर्षअगाडि छोरीलाई केही समय थेरापी पनि गराए, तर त्यसले खास फरक पारेन । ‘क्षितिजलाई अन्य रोग लाग्न नदिन र उनको जीवन सहज बनाउन हामीले सक्दो प्रयास गरिरहेका छौँ,’ बिहीबारको भेटमा प्रदीपले भने, ‘पहिलेको तुलनामा उनको शारीरिक अवस्थामा केही सुधार भएको हो । उनी आफ्नो कोठाबाट बाथरुमसम्म पुग्न सक्छिन् । भान्सा कोठासम्म आउने–जाने पनि गर्छिन् । जाडोका बेला छतमा घाम ताप्न जान अरुको सहारा चाहिन्छ । परिवारका सदस्य र नजिकका आफन्तलाई चिन्छिन् ।’
भारतीय सेना पृष्ठभूमि
प्रदीप निम्न मध्यम वर्गीय परिवारमा जन्मेका हुन्, गुल्मीको बलेटक्सार–२ चौतारामा, ०१९ सालमा । उनका बुवा नारायणदत्त साधारण लेखपढ थिए, भारतको आसाममा केही वर्ष बिताएकाले उनीमा छोराछोरी पढाउनुपर्छ भन्ने चेत थियो । प्रदीपकी आमा पुण्यकला साधारण गृहणी थिइन् । प्रदीप भन्छन्, ‘मेरी आमामा करुणा, प्रेम, मानवताको विशाल भण्डार थियो । मेरो आफ्नो व्यक्तित्व निर्माणमा आमाको निकै ठूलो प्रभाव पाउँछु ।’
चार दाजुभाइमध्ये प्रदीपका बुवा जेठा हुन् । माहिला भाइको बैंसमै देहान्त भयो । तीन भाइ भारतको आसाममा कामको खोजीमा गए । प्रदीपका बुवा सात–आठ वर्ष भारतको आसाममा बसे । दुई–तीन वर्ष आसाम राइफल्समा सिपाही पनि बने तर विविध कारणले सिपाहीको जागिर छाड्नुपर्यो । अरु दुई भाइले भने आसाम राइफल्समा भर्ती भएर पेन्सन पकाए ।
अत्यन्तै अभाव त होइन, एक किसिमको अभावमै हुर्किएको हुँ,’ प्रदीप आफ्नो पारिवारिक पृष्ठभूमि सम्झन्छन्, ‘उब्जनीले वर्षैभरि खान पुग्दैनथ्यो, तीन महिनाजति बेसाउनुपथ्र्यो । सुरुमा बुवा, काकाहरूको कमाइ र पछि दाइको कमाइले हाम्रो परिवार धानिएको थियो ।’
प्रदीपका हजुरबुवा साधारण किसान र साधारण पूजापाठ गर्ने पण्डित थिए । माहिला हजुरबुवा भने भारतीय सेनामा पुजारी थिए । यही माध्यमबाटै प्रदीपका बुवाहरू आसाम पुगेका थिए । ‘माइला हजुरबुवा भारतीय सेनामा पण्डित हुनुहुन्थ्यो, तर अति नै अग्रगामी, प्रगतिशील हुनुहुन्थ्यो,’ प्रदीप भन्छन्, ‘त्यो जमानामा पनि उहाँले आफ्ना चार छोरीहरू भारतीय सेनामा काम गर्ने राई, गुरुङहरूलाई कन्यादान गरेर दिनुभयो ।’
दुई भाइमध्ये प्रदीप कान्छा हुन्, एउटी दिदी छन् । प्रदीपका दाइ हरि ज्ञवाली एसएलसीपछि गाउँमै शिक्षक बने । जेठो छोरो शिक्षक बनेपछि प्रदीपका बुवा घरमै बस्न थाले, आसामतिर कामका लागि गएनन् । ‘अत्यन्तै अभाव त होइन, एक किसिमको अभावमै हुर्किएको हुँ,’ प्रदीप आफ्नो पारिवारिक पृष्ठभूमि सम्झन्छन्, ‘उब्जनीले वर्षैभरि खान पुग्दैनथ्यो, तीन महिनाजति बेसाउनुपथ्र्यो । सुरुमा बुवा, काकाहरूको कमाइ र पछि दाइको कमाइले हाम्रो परिवार धानिएको थियो ।’
१४ वर्षे मास्टर र एउटा भव्य व्यक्तित्व
प्रदीपले गाउँकै स्कुलमा पढे, ६–६ महिनामा क्लास जम्प गर्दै । १३ वर्षको उमेरमै उनले एसएलसी पास गरे, रिडी माविबाट । एसएलसीपछि उनी काठमाडौं पढ्न आउन चाहन्थेँ तर उमेर सानो भएकाले बुवाआमाले दिएनन् । प्रदीप भन्छन्, ‘बुवाआमा र दाइले भन्नुभयो, यति सानो छस्, एक्लै काठमाडौं गएर के गर्छस् ? एक–दुई वर्ष गाउँमै पढाएर बस्, अलि हुर्केपछि काठमाडौं जालास् ।’
गाउँकै जनज्योति प्राविमा पढाएका बेला उनको जीवन बदल्ने एउटा घटना हुन पुग्यो । ०३३ सालतिर, एकजना गोरो वर्णका अग्ला व्यक्ति उनको स्कुलमा आइरहन्थे । ‘ती भव्य व्यक्तित्व हेडमास्टर कुलचन्द्र ज्ञवालीका मान्छे हुन् भन्ने थियो । म सानैदेखि कविता लेख्थेँ । हाफ छुट्टीका बेला मैले विद्यालयको प्रांगणमा बसेर एउटा खण्डकाव्य लेख्दै थिएँ,’ प्रदीप भन्छन्, ‘ती भव्य व्यक्तित्व मेरो छेउमा आएर सोध्नुभयो– के लेख्दै हुनुहुन्छ ?’
प्रदीप अलि लजालु स्वभावका थिए, सुरुमा ‘केही होइन’ भनेर तर्कन खोजे । ती व्यक्तिले जोड गरेपछि प्रदीपले खण्डकाव्यको विषयवस्तु र केही हरफ सुनाउनै कर लाग्यो । उनले त्यस खण्डकाव्यमा अपांगता भएका व्यक्तिका पीडा लेखेका थिए । उनको कविता सुनेपछि ती व्यक्तिले भने, ‘तपाईंंले गरिबी, पीडा, करुणाको चित्रण असाध्यै सुन्दर ढंगले गर्नुभएको छ, मलाई मन पर्यो । एउटा कुरामा भने तपाईंको ध्यान पुगेन — संसारमा गरिब, दुःखीका निम्ति बोलिदिने कोही छैन, गरिबका दुःखका दिन कहिल्यै जाँदैन, उनीहरूलाई दुःख र पीडाबाट मुक्त गर्ने कुनै सिद्धान्त नै छैन, उनीहरूका निम्ति अर्को नयाँ संसार सम्भव नै छैन भन्ने निष्कर्षमा तपाईं कसरी पुग्नुभयो ? यो पनि त सम्भव छ नि ।’
यसो भनेर सम्झाउने व्यक्तित्व थिए— जीवराज आश्रित । आश्रितको फरक विचार सुनेपछि प्रदीपलाई झट्का लागेजस्तै भयो । ‘मैले लेखेको कवितामा कोरा भावना मात्रै रहेछन् । त्यसको निष्कर्ष नै यस्तो थियो— यो संसारमा दुःखी, उत्पीडित र निम्न वर्गले सुख पाउने कुनै बाटो छैन, उनीहरूको नियति नै यस्तै हो,’ प्रदीप आफ्नो विचार बदलिन पुगेको क्षण सम्झन्छन्, ‘उहाँका समाजवादी र वैज्ञानिक विचारले म बदलिएँ ।’
भूमिगत भएर उनी गुल्मी, पाल्पा, स्याङ्जा, बाग्लुङ, नवलपरासी, अर्घाखाँचीलगायत जिल्लामा काम गरे । त्यतिबेला भूमिगतहरूले गाउँकै समस्यालाई केन्द्रबिन्दु बनाएर जनतालाई तत्कालीन पञ्चायती व्यवस्था ठीक छैन भनेर बुझाउँथे ।
स्कुल पढ्दै गर्दा (०३० सालमा) उनी पुष्पलाल समूहको विद्यार्थी समूहमा संगठित भइसकेका थिए । चैत ०३५ मा उनलाई जीवराजले तत्कालीन मालेको गुल्मी–पाल्पा संयुक्त जिल्ला कमिटीको सदस्य बनाए, जसमा जीवराज सचिव थिए ।
‘राज्यका स्रोत–साधन र त्यसमाथिको अधिकार एउटा व्यक्ति राजामा छ । अनि, उनैका आसेपासेले त्यसमा रजाइँ गरिरहेछन् र आमजनता गरिबी, अभाव र अशिक्षामा पिल्सिएका छन् । राजा र यो पञ्चायती व्यवस्था हटाउनुपर्छ, बहुदलीय व्यवस्था ल्याउनुपर्छ भन्ने बोध मलाई भयो,’ आफू राजनीतिमा होमिनुको उद्देश्य प्रस्ट्याउँछन् प्रदीप, ‘तत्कालीन मालेको यो नीतिअनुसार खुला राजनीति गर्न सम्भव थिएन । अनि म १६ वर्षको उमेरमा भूमिगत राजनीतिमा लाग्ने निर्णयमा पुगेँ ।’
एक दिन उनले घरमा भने– म अब भूमिगत राजनीतिमा लाग्छु । उनका दाइ राजनीतिक रूपमा सचेत थिए, उनले भाइलाई रोक्ने कोसिस गरेनन् । ‘आमामा मप्रति अपार विश्वास थियो, उहाँले केही बोल्नुभएन, छोराले राम्रै निर्णय गरेको होला भन्ठान्नुभयो,’ आफू राजनीतिमा लागेको क्षण सम्झन्छन् प्रदीप, ‘बुवाले भने रोक्ने कोसिस गर्नुभयो, नगइदिएहुन्थ्यो भन्ने चाहना व्यक्त गर्नुभयो तर रोकेर रोकिने अवस्था थिएन ।’
भूमिगत भएर उनी गुल्मी, पाल्पा, स्याङ्जा, बाग्लुङ, नवलपरासी, अर्घाखाँचीलगायत जिल्लामा काम गरे । त्यतिबेला भूमिगतहरूले गाउँकै समस्यालाई केन्द्रबिन्दु बनाएर जनतालाई तत्कालीन पञ्चायती व्यवस्था ठीक छैन भनेर बुझाउँथे ।
घरको कथा
प्रदीप भूमिगत भएको एक वर्षभन्दा बढी भएको थियो । पार्टीकै कामको सिलसिलामा उनी गाउँनजिकै बास बस्न पुगेका थिए । त्यहाँ उनले आफ्नो घर पहिरोमा परेको खबर सुने ।
२०३२ सालमा भाइहरूसँग छुट्टाभिन्न भएपछि प्रदीपका बुवाले नयाँ घर बनाएका थिए, त्यही घरलाई पहिरोले लगेछ । खबर पाएर प्रदीप भेट्न पुग्दा बुवाआमा छिमेकीकहाँ शरणार्थीका रूपमा बसेका थिए । उनलाई देख्नेबित्तिकै आमा बेस्सरी रोइन् । प्रदीपले आफ्नी आमा आफ्नो अगाडि त्यसरी रोएको पहिलोपटक भोगे । प्रदीप भन्छन्, ‘त्यतिबेला मलाई निकै नै पीडा भएको थियो तर मेरी आमा मात्रै नभएर त्यो साल धेरै आमाहरू रोएका थिए । देशका धेरै आमाहरू हाम्रोभन्दा अभावको अवस्थामा थिए ।’
कार्यक्षेत्र पाल्पा भएका बेला प्रदीपको भेट सरस्वती अर्यालसँग भयो । पाल्पा मदनपोखराकी सरस्वती प्रदीपको तुलनामा केही सम्पन्न परिवारकी हुन् । स्कुल पढ्दैदेखि उनी संगठित थिइन् । पछि पाल्पाली ढाका उद्योगमा मजदुर बनेर उनले त्यहाँका मजदुरलाई संगठित गरेकी थिइन् । उनका दाइहरूले गोरखपुर नजिकैको संस्कृत विश्वविद्यालयमा पढाउँथे । तानसेनबाट एसएलसी गरेपछि सरस्वतीले पनि आईए भारतबाटै गरिन् ।
एउटै संगठनमा भएकाले प्रदीप र सरस्वतीको देखभेट भइरहन्थ्यो । ०४१ सालमा पार्टीले नै उनीहरूको विवाह गरिदियो । विवाहपछि सरस्वती गुल्मी गइन् र गाउँमै पढाउन थालिन् । ०४४ सालमा प्रदीपका दाजुभाइ छुट्टाभिन्न भए । बुवाआमाको दायित्व सरस्वतीको काँधमा आयो । उनी अखिल नेपाल महिला संघ गुल्मीको संस्थापक जिल्ला अध्यक्ष थिइन् । यसले गर्दा उनको जागिरमा कहिल्यै स्थायित्व भएन । स्थायी हुने बेला प्रशासनले दुःख दिने गथ्र्यो । उनले विभिन्न विद्यालय फेर्दै पढाउनुपर्यो । कति समय अर्घाखाँचीमा पनि पढाइन् । प्रदीपको क्षेत्र पनि अर्घाखाँची नै परेको थियो । प्रदीप भन्छन्, ‘बुवाआमा गाउँमा हुनुहुन्थ्यो । यसरी यताउता भौँतारिनुपरेपछि गुल्मीको जीवन सहज भएन । हामी ०५० सालमा नवलपरासी झर्यौँ ।’
०५१ सालमा प्रदीप अञ्चल सचिव भए र नवलपरासीको जग्गा बेचेर बुटवल बस्न थाले । नवलपरासीमा हुँदा सरस्वतीले सिलाइकटाइको तालिम गरेकी थिइन् । इन्सेकमा पनि काम गरिन्, तर दुवै स्थायित्व भएन । बुटवल आएपछि पश्चिमाञ्चल ग्रामीण विकास बैंकमा काम गरिन् । ‘त्यहाँ पनि राजनीतीकरण गरियो,’ प्रदीप भन्छन्, ‘त्यहाँ कांग्रेसीकरण भयो, उनले काम गर्ने स्थिति भएन ।’
घर बुटवलमा, राजनीतिक क्षेत्र गुल्मी, बढी बसाइ काठमाडौंमा– यसो हुँदा प्रदीपलाई असहज भयो र उनी परिवारसहित काठमाडौं आए । काठमाडौं आउँदा छोरी क्षितिजसँगै दुई छोरा हुर्किसकेका थिए ।
आमाबुवालाई हेर्नुपर्ने जिम्मा प्रदीपको भागमा परेको थियो । प्रदीपले बुटवलमा घर बनाउँदै थिए । २०५३ मा घर बन्दै थियो, यता गुल्मीमा आमाको देहान्त भयो ।
‘हामीले बुवाआमालाई नै राख्न घर बनाउँदै थियौँ, तर घर नबन्दै आमाको देहान्त भयो,’ प्रदीप भन्छन्, ‘त्यो हाम्रा निम्ति असाध्यै पीडादायी भयो । आमालाई घरमा ल्याउन पाइएन, आमा खसेपछि बुवा पनि आफ्नो गाउँ छाड्न चाहनुभएन, गुल्मीमै दाइसँग बस्नुभयो । बुवा पनि ०६१ मा खस्नुभयो ।’
०५६ मा प्रदीप गुल्मी–२ बाट प्रतिनिधिसभामा निर्वाचित भए । घर बुटवलमा, राजनीतिक क्षेत्र गुल्मी, बढी बसाइ काठमाडौंमा– यसो हुँदा प्रदीपलाई असहज भयो र उनी परिवारसहित काठमाडौं आए । काठमाडौं आउँदा छोरी क्षितिजसँगै दुई छोरा हुर्किसकेका थिए ।
राजा ज्ञानेन्द्रले ०६१ मा कु गरेपछि राजनीतिक माहोल खलबलियो । ०६२ मा उनले बुटवलको घर बेचेर भक्तपुरको कौशलटारमा कच्ची घर किने । ०६२/६३ को आन्दोलन उत्कर्षमा जाँदै थियो । जतिबेला प्रदीप महाराजगन्जमा हिरासतमा थिए । त्यहीबेला आँधी आयो र उनको कच्ची घर उडाइदियो ।
आन्दोलन सफल भएपछि बनेको सरकारमा प्रदीप पर्यटनमन्त्री बने, १० महिना मन्त्रिपरिषद्मा रहे । त्यसपछि कौशलटारको घडेरी बेचेर शंखमूलमा घडेरी लिए । बैंक र साथीभाइसँग ऋण लिएर एउटा घर ठड्याए । प्रदीप अचेल शंखमूलको घरमा बस्छन् ।
प्रदीपको दाम्पय जीवन सुखी र सुन्दर छ । ‘तपाईं कति पत्याउनुहुन्छ, थाहा छैन, सरस्वती र म झगडा गरेर लामो समय नबोलेको भन्ने छैन । हो, कहिलेकाहीँ कुनै विषयमा असहमति भने हुन्छन्, तर, छलफल गरेर टुंग्याउँछौँ,’ प्रदीप भन्छन्, ‘उनी विज्ञान र बहसमा विश्वास गर्छिन् । परम्परा र धार्मिक कुरामा उनको छैन । मन–पेट मिलेको छ र हाम्रो दाम्पत्य जीवन सुखी छ ।’
परिवार एउटा यस्तो छहारी हो, जहाँ कलिला बेर्नाहरू घामपानी, शीतबाट जोगिँदै हुर्कने मौका पाउँछन् ।
प्रदीप आज जहाँ जस्तो अवस्थामा छन्, त्यसमै खुसी छन् । भन्छन्, ‘मैले रोजेको जीवन हो यो । यो आफैँमा सुन्दर छ, यसमा सुगन्ध थप्नेमा सबैभन्दा बढी तीनजनालाई श्रेय दिन्छुु— आमा, सरस्वती र दाजु । आमाको गुणबाट प्रभावित छु, उहाँ करुणाकी खानी हुनुहुन्थ्यो । दाजुले मलाई स्कुल पढाउनुभयो । अनि, सरस्वतीका कारण नै छोरी क्षितिजको जीवन यहाँसम्म तन्केको हो । धेरै डाक्टरहरूले भनेका थिए— मस्तिष्क पक्षघात भएका बच्चाहरूको जीवन त्यही १२–१५ वर्ष मात्रै हो । मेरो राजनीतिक जीवनको उपहार र चिनो हुन् क्षितिज । म कोठाभित्र पस्नेबित्तिकै उनले मुहार उज्यालो बनाउँछिन् । मलाई खुसी लाग्छ कि छोरीले मलाई बाबु भनेर चिनेकी छन् । म बाहिरबाट घरमा पुग्दा उनकी आमा उनकै हेरचाहमा खटिरहेकी हुुन्छिन् । उनले छोरी र मेरा लागि आफ्नो राजनीतिक करिअर नै तिलाञ्जली दिइन् ।’
परिवारका एक–एक घरले समाज, देश र विश्व समुदाय बनेको छ । आममानिसहरू घर–परिवारका लागि खटिरहेका देखिन्छन् । एउटा नेताको बुझाइमा परिवार के हो ?
‘परिवार एउटा यस्तो छहारी हो, जहाँ कलिला बेर्नाहरू घामपानी, शीतबाट जोगिँदै हुर्कने मौका पाउँछन् । यद्यपि समाज विकासको क्रममा परिवारको परिभाषा, संरचना र भूमिका निरन्तर परिवर्तन भइरहेको छ । सभ्यताको सुरुवातमा जसरी परिवार बन्यो, आकार लियो, रेखा कोर्यो, त्यो परिवारको चरित्रमा आधारभूत रूपमै बदलाब भने आएको छैन,’ प्रदीपले परिवारबारे दार्शनिक परिभाषा गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यसरी गर्न सकिन्छ कर्णालीमा सडक दुर्घटना न्यूनीकरण
-
काठमाडौँका ३ स्थानमा प्रदर्शन, १ सय १३ स्थानबाट ट्राफिक डाइभर्सन
-
अडानीमाथि लागेको आरोपबारे ह्वाइट हाउसले के भन्यो ?
-
झापाबाट एघार करोडको चिया निर्यात
-
‘कर्णालीका सडकको मर्मत र सुरक्षालाई ध्यानमा राखेर काम गर्छौं’
-
सुदूरपश्चिम रोयल्सको आइकोनिक खेलाडीमा वसन्त खत्री