जनकपुरमा छठ पर्व : बजारमा किनमेल गर्नेको घुइँचो (फोटोफिचर)

जनकपुरधाम । जनकपुरमा छठ पर्वका लागि बजारमा किनमेल गर्नेको घुइँचो लागेको छ । तस्बिरमा देखिएको भिडभाड धनुषाको सबैभन्दा ठुलो बजार एवम् व्यापारिक केन्द्र सखुवा बजारको हो । यतिबेला बजारमा किनमेल गर्नेहरूको ठुलो भीड छ ।
पूजाका लागि चाहिने हरियो तरकारी, स्याउ, केरा, सुन्तला, काँचो नरिवल, उखु, हरियो बोडी, पानी सिँगडा, मूला, अदुवा, कागती, सखर र अर्घपात बदही सहितका सामग्रीहरू खरिद गर्नमा व्रतालुहरू व्यस्त छन् । त्यस्तै पूजाको लागि आवश्यक माटोका सामग्रीहरू हात्ती, दीप, ढकना, कोशिया, कुरवार र बाँसका सामग्रीहरू नाङ्लो, ढाकी, कोनिया, डगरी लगायतका सामग्रीहरू पनि उनीहरुले खरिद गर्ने गरेका छन् ।
कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म चार दिनसम्म मनाइने छठ पर्व शुक्रवारदेखि सुरु भएको छ । आज छठ पर्वको दोस्रो दिन खरना विधिमार्फत पर्व मनाइँदै छ । खरनामा व्रतालुहरूले नुहाएर चोखो भई साँझपख सख्खरको खीर बनाएर चन्द्रमालाई चढाउने धार्मिक चलन छ ।
शुक्रवार ‘अरबा–अरबाइन’ र ‘नहाय–खाय’ दुवै विधि पूरा गरेका ब्रतातुले कात्तिक शुक्ल पञ्चमीका दिन अर्थात आज दिनभर निराहार व्रत बस्ने र राति सख्खरमा पकाइएको अरबा (चामलको खीर) कुल देवता र छठीदेवीलाई चढाएर प्रसादस्वरुप खाने चलन छ ।
षष्ठी तिथिका दिन (आइतबार) व्रतालु निराहार व्रत बसेर साँझपख जलाशयमा पुगेर ‘अस्ताउँदो सूर्य’लाई अर्घ दिने गर्छन् र रातभर जाग्राम बस्ने चलन छ ।
त्यस्तै सप्तमीका दिन (सोमबार) बिहानै उदाउँदो सूर्यलाई अर्घ दिँदै व्रतालुहरूले कथा सुनेपछि छठ पर्व सम्पन्न हुन्छ ।
केही वर्ष अघिसम्म तराई मधेस तथा भारतको बिहारमा मात्रै मनाउने यो पर्व अहिले राजधानी काठमाडौँ, पहाडी क्षेत्र र अन्यत्र पनि लोकप्रिय हुँदै गएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विशेष अदालतको फैसला विरुद्ध अख्तियार सर्वोच्चमा
-
६१ जनालाई प्रहरी निरीक्षक पदमा बढुवा गर्न सिफारिस
-
भोलेनाथको बार तथा नयाँ वर्ष आजका दिन कुन राशिलाई कस्तो फल ?
-
नयाँ वर्षाको मौसम : आज यी प्रदेशमा वर्षादेखि हिमपातसम्मको सम्भावना
-
नयाँ वर्षको पहिलो दिन यस्तो छ विदेशी मुद्राको दरभाउ
-
नयाँ वर्षमा राष्ट्रपतिको शुभकामना : सुशासन प्रवर्द्धन र सेवा प्रवाहमा चुस्तता पहिलो शर्त