रमेश विकललाई किन भनियो नेपाली कथाका महानायक ?
पूर्वसचिव गोपी मैनालीले रमेश विकललाई नेपाली कथा क्षेत्रका महानायक भनेका छन् । रमेश विकलका ५२ वटा कृति सबै अध्ययन गरेर उनले सो निष्कर्ष निकालेको बताउँछन् । त्यो अध्ययन गरेपछि उनले विकललाई नेपाली कथाका महानायक नै हुन् भन्छन् । नेपाली कथा क्षेत्रमा आधुनिकता भित्र्याउने गुरूप्रसाद मैनालीको कथा परम्परालाई विस्तार गर्दै उनले चारवटा विषय वस्तुमा असाध्यै राम्रो चित्रण गरेको बताउँछन् मैनाली । उनी ‘रमेश विकल : समालोचनात्मक अन्वेषण’ नामक आफ्नो कृतिमा विकललाई नेपाली कथाका महानायक मान्नुका निम्न आधार प्रस्तुत गरेको बताउँछन् ।
पहिलो– विकलले कथाका क्षेत्रमा गुरूप्रसाद मैनालीको सामाजिक यथार्थवादलाई समृद्ध बनाएका छन् ।
दोस्रो– साहित्यमा स्थानीयता प्रमुख पक्ष हो । विकलले काठमाडौँ पेरिफेरीका कुरालाई र केही काठमाडौँबाहिरका स्थानीयता रीतिरिवाज, त्यहाँका पात्र, घटना, क्रियाकलापलाई राम्रो संयोजन गरेका छन् । उनले प्रयोग गरेका पात्र, परिवेशले नेपाली समाजलाई ठ्याक्कै प्रतिनिधित्व गरेको छ ।
तेस्रो– विकलका कृतिमा प्रयुक्त मनोविज्ञान सशक्त छ । उर्मिला भाउजू, सुनौली, सागर छचल्किन्छ सगरमाथा छुन, जस्ता उपन्यासमा मनोविश्लेषण सशक्त रूपमा प्रस्तुत भएको छ । यी कृतिमा सामाजिक र व्यावहारिक मनोविश्लेषण छ ।
चौथो– विकलले आफ्ना कृतिमा प्रगतिशीलतालाई चित्रित गरेका छन् । त्यसले जीवनप्रति सोचहरू, दृष्टिकोणहरू कसरी आउँछन्, त्यसलाई साहित्यिक विचारले कसरी प्रतिनिधित्व गर्छ भन्ने छ ।
उर्मिला भाउजू, नयाँ सडकको गीत, बिरानो देशमा यी आधार असाध्यै राम्रो गरी प्रस्तुत भएको छ । त्यही भएर उनले नेपाली कथा साहित्यमा सबभन्दा माथिल्लो व्यक्तिका रूपमा उनलाई राखिएको हो । “तर मैले उहाँलाई चार पिल्लरमध्ये एक भनेको छु,” मैनाली भन्छन्, “चार पिल्लरमा रमेश विकल, गुरूप्रसाद मैनाली, विश्वेश्वरप्रसाद कोइराला र पारिजात हुन् । यी चार पिल्लरले नेपाली साहित्यलाई समृद्ध बनाएका छन् भनेर मैले विश्लेषण गरेको छु ।”
नेपाली उपन्यास लेखनमा लगभग पाँचवटा प्रवृत्ति छन् । उनी दौलतविक्रम विष्ट, विश्वेश्वर प्रसाद कोइराला, पारिजात, ध्रुवचन्द्र गौतम, मल्लबन्धु यी सर्जकको एउटा आधारमा आएर रमेश विकल बसेको बताउँछन् ।
त्यस्तै साहित्यकार शैलेन्द्र प्रकाश नेपाल विकललाई नेपाली कथा क्षेत्रको विशिष्ट स्थानमा राख्छन् । सामाजिक कथा लेखनका प्रसङ्गमा रमेश विकललाई गुरूप्रसाद मैनालीका उत्तराधिकारी ठान्छन् उनी । “सिँगारी बाख्रो र लाहुरी भैँसी कथा एउटा विद्यार्थीको रूपमा पढ्दा खासगरी नेपाली समाजमा रहेका निम्न वर्गीय जनमानसको चेतना र उनीहरूको संवेदनालाई समात्न सक्ने र कालजयी कृतिहरू सिर्जना गर्न सक्ने क्षमता रमेश विकलमा देखिन्छ,” नेपाल भन्छन्, “विकल पछाडि त्यस्तो अर्को उत्तराधिकारी देखिएको छैन ।”
विसं १९९२ सालमा नासो कथामार्फत नेपाली साहित्यमा आधुनिकता भित्र्याउने गुरूप्रसाद मैनालीले ११ वटा कथा लेखे । ती सबै चर्चित छन् । उनका ती कथा तत्कालीन सामाजिकता, यथार्थवाद, निम्न वर्गीय जीवनमा आधारित छन् । “एक दुई वटा सहरी र बाँकी सबै कथा ग्रामीण जनजीवनमा आधारित छन्, निम्न वर्गीय जीवनको त्यो संवेदना, त्यहाँको परिवेश, दाम्पत्य जीवन र पारिवारिक घटनाक्रमलाई समेट्ने कुरामा रमेश विकलको महत्त्वपूर्ण भूमिका छ,” नेपाल भन्छन्, “त्यो प्रवृत्तिलाई गुरूप्रसाद मैनालीपछि रमेश विकलले मात्र समाउन सकेका छन् ।”
बालसाहित्यको जग निर्माण
बालसाहित्यको इतिहास हेर्दा कृष्णप्रसाद पराजुली र रमेश विकल नै सबभन्दा विशिष्ट बालसाहित्यकारहरु हुन् । बालसाहित्यमा विकलले प्रयोगिक कुरा गरेका छन् । प्रयोगिक भनेको बालककको लागि लेखिएको होइन, बालकलाई नै साहित्य बनाएर लेखेको बताउँछन् मैनाली ।
अहिले बालसाहित्य, बालमनोविज्ञानका लागि, बालकलाई नैतिक शिक्षा दिन साथी बनाउनका लागि, बालकलाई आदर्शशील बनाउनका लागि धेरै कुरा पढ्न, लेख्न, हेर्न र गर्न पाइन्छ । तर अहिलेभन्दा ४ दशक अगाडि यो सम्भव थिएन भन्छन् मैनाली । त्योबेला ‘अगेनाको डिलमा’, कथा भन्नोस् न हजुरआमा जस्ता कथा विकलले धेरै लेखे । उनले बालगीत, बालनाटक लेखे । “उहाँले विक्रम र नौलो ग्रह भनेर उपन्यास लेख्नुभएको छ । यसमा काल्पनिक कथा छ,” उनी भन्छन्, “तर त्यसमा बालकको मन कसरी उत्सुक हुन्छ र त्यसले कसरी आविष्कारसम्म पुर्याउँछ भन्ने किसिमको खुराक दिनुभएको छ ।”
यसका अतिरिक्त विकलले नाटक, चित्रकला, सङ्गीत क्षेत्रमा पनि राम्रो कार्य गरेका छन् । त्यस्तै उनका संस्मरण, निबन्धहरू छन् । मैनाली भन्छन्, नीलगिरिको छायामा संस्कृति, भूगोल, जैविक विविधता सबैथोक पाइन्छ । सात सूर्य एक फन्को जस्ता कृतिमा संस्कृति, सुख र रहस्यको खोजी गरेको छ ।
‘मेरो अविरल जीवन गीत’ विकालको संमरण हो । त्यसमा उनले निर्भीकतासाथ आफूलाई स्थापित नगरीकन आफ्ना कमीकमजोरी पनि केलाएका छन् । धेरैले आत्माकथा लेख्छन्, तीमध्ये विश्वेश्वरप्रसाद कोइराला र रमेश विकलले आत्मकथामा आफ्नो परिवेशसहित कमीकामजोरी केलाएको बताउँछन् मैनाली भन्छन् । उनीहरुले आफ्ना अनुभूति र कमजोरीलाई अगाडि ल्याएको जनाउँदै मैनाली भन्छन्, “आफ्नी श्रीमती सुशीलालाई त्यति मनपराउनु हुन्न थियो, त्यो कुरा आफैँले लेख्नु भएको छ । जवानीमा अलिकति अनुशासनमा विचलन भएको कुरा, बाल्यकालको जिद्दीपनको कुरा, विन्दासीपनाका कुरा नलुकाई लेख्नुभएको छ ।” विकलले आफ्नो संस्मरणमा सुरुमा कम्युनिस्ट बनेको, सबै कम्युनिस्टहरु राजासँग मिलेपछि राजनीतिमा लाग्न नहुने रहेछ भनेर छोडको कुरा पनि लेखेका छन् । त्यसैले धेरै दृष्टिकोणबाट विकललाई हामीले सम्झनु पर्ने र आउने पुस्तालाई जानकारी दिनुपर्ने आग्रह गर्छन् मैनाली ।
विकलको जीवन
राणा शासनको दबदबा रहेको समयमा विसं १९८५ कात्तिक २९ गते चन्द्रशेखर र छायादेवी चालिसेको कोखबाट आरुबारी, जोरपाटी, काठमाडौँमा रमेश विकलको जन्म भएको हो । उनको न्वारानको नाम रामेश्वरप्रसाद चालिसे हो । विसं २००६ मा शारदा पत्रिकामा ‘गरिब’ कथा प्रकाशन गरेर सार्वजनिक साहित्य यात्राको थालनी गरेका उनले पाँच दर्जनभन्दा बढी कृति नेपाली साहित्यलाई दिए । विसं २०६२ पुस २ गते यस धर्तीबाट बिदा लिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कास्की जिल्ला अदालतमा आज पनि बयान जारी
-
तरकारीखेतीको आम्दानीबाट जीविकोपार्जन गर्दै कुशाहाका दलित समुदाय
-
एमपक्सको स्वरुप फेरियो, के यो यौन रोगसँग सम्बन्धित छ ? (भिडियो)
-
हुम्लामा हिमपात, जनजीवन प्रभावित
-
जग्गाको सदुपयोग गर्ने प्रमुख माध्यम बन्दै किबीखेती, बागलुङमा उत्पादन, बुटबलमा खपत
-
सुनकोशीस्थित फोक्सिङटारमा अस्थायी बेलिब्रिज जडान सुरु