केनको गोलमा इंग्ल्याण्ड विजयी

लण्डन । इंग्ल्याण्डले कमजोर मानिएको माल्टालाई युरो २०२४ को छनोट खेलमा पराजित गरेको छ । यसअघि नै प्रतियोगितामा छनोट भएको इंग्ल्याण्डले आफ्नो घरेलु मैदानमा २–० जीत हासिल गरेको हो ।
खेलको आठौँ मिनेटमा नै फिल फोडेनको पासलाई माल्टाका डिफेन्डरले एनरिको पेपेले आफ्नो पोस्टमा छिराएका थिए । तर, विश्व वरीयतामा १७१ औँ स्थानमा रहेको माल्टाको पोस्टमा ग्यारेथ साउथ गेटको टोलीले पहिलो एक घण्टासम्म कुनै प्रहार गर्न सकेन ।
दोस्रो हाफको ७५ औँ मिनेटमा बुकायो साकाको पासमा ह्यारी केनले गोल गर्दै टोलीको जीत सुनिश्चित गरे । इंग्ल्याण्डका लागि उनको यो ६२ औँ गोल थियो ।
समूह सीमा रहेको माल्टा छनोट खेलमा हालसम्म कुनै खेल जित्न सकेको छैन । यस क्रममा टोलीले मात्र दुई गोल गरेको छ ।
जीतपछि इंग्ल्याण्ड १९ अङ्कसहित समूहको शीर्ष स्थानमा छ । टोलीले युरो २०२४ को ड्रमा सिडेड टोलीका रूपमा रहने सम्भावना कायम राखेको छ । १० समूह विजेतामध्ये ५ वटा टोलीमात्र ‘सिडेड’ टोलीका रूपमा रहनेछन् ।