जनकपुरधाममा दुलहीझैँ सजाइँदै छठ घाट (तस्बिरहरु)

जनकपुरधाम । तराई मधेसमा छठ पर्वको तयारी लगभग पुरा भएको छ । सोही क्रममा जनकपुरधाममा पनि छठ घाट सजाउने तयारी लगभग पुरा भएको छ । पोखरी नै पोखरीको सहरको रूपमा चिनिने जनकपुरधामका नदी, तलाउ र पोखरीका जलाशयहरू सरसफाइ गरी दुलहीझैँ सजाउने काम हुँदै छ । छठ पूजाको लागि टेन्ट र पण्डालले पोखरीहरूलाई विशेष रूपले सजाइएको छ ।
छठ पर्वमा सबैभन्दा बढी आकर्षणको रूप देखिने जनकपुरको गंगासागर घाटको तयारी अन्तिम चरणमा पुगेको घाट पूजा समितिले जानकारी दिएको छ । यो घाटलाई विशेष रूपमा सजाइन्छ । त्यस्तै विभिन्न स्थानीय युवा क्लब र संस्थाको सक्रियतामा जनकपुरधामका अन्य पोखरी तथा सरोवरलाई पनि सिँगारिने कार्य हुँदै छ ।
गंगासागर पोखरीपछि धनुष सागर, अग्नि कुण्ड, अङ्गराजसर, दशरथ तलाउसहितका पोखरीका डिलमा बाँस र कपडाको प्रयोग गरी छाउनी बनाउने र त्यसमा झिलिमिली बत्ती जोड्ने काम पनि अन्तिम चरणमा पुगेको छ । यो वर्ष गंगासागर पोखरीको डिलमा घाट व्यवस्थित गर्न छठ पूजा समितिले नम्बरिङ गरिदिएको छ । पोखरीको चारैतिरका डिलमा करिब चार हजारभन्दा बढी मानिस एकसाथ बसेर छठ पर्व मनाउन सक्ने समितिले जनाएको छ ।
जनकपुरधाममा व्रतालुहरू राति छठ घाटमै बस्छन् भने ग्रामीण क्षेत्रमा अधिकांश व्रतालु साँझ घर फर्कन्छन् र भोलिपल्ट बिहानै घाटमा गएर उदाउँदो सूर्यलाई अर्घ दिने चलन छ । आजदेखि विधिवत् रूपमा सुरु भएको छठ पर्व कात्तिक शुक्ल सप्तमीका दिन अस्ताउँदो सूर्यलाई अर्घ दान दिएपछि सम्पन्न हुनेछ । चार दिनसम्म मनाइने छठको पहिलो दिन शुक्रवार कात्तिक(आज) शुक्ल चतुर्थीका दिन नुहाई धुवाई गरेर अरबा अरबाईन गरिएको छ ।
दोस्रो दिन (पञ्चमी) शनिवार खरना मनाइन्छ । छठ पर्वको मुख्य दिनका रूपमा लिइने षष्ठीमा व्रतालुहरूले निराहार उपवास बसी पोखरीको डिलमा ठकुवा, भुसुवा, फलफूल सहितका विभिन्न मिष्ठान परिकारले अस्ताउँदो सूर्यलाई अर्घ दान दिने चलन छ । सप्तमीका दिन भने सोही प्रसाद उदाउँदो सूर्यलाई अर्घ दान गरी छठ पर्व सम्पन्न गर्ने गरिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इटालियन सिरी’ए : एटलान्टाले घटायो दुरी
-
वीरगन्जमा कर्फ्यू हटयो, चारवटा नाकामा निषेधाज्ञा जारी
-
प्रिमियर लिगको उपाधि सोझै कब्जा गर्ने बाटोमा लिभरपुल
-
एम्बाप्पेले रातो कार्ड खाएको खेलमा रियाल विजयी, बार्सिलोनासँग घटायो अंक दुरी
-
१२ बजे, १२ समाचार : शिक्षकलाई घर फर्काउने गृहकार्यमा मन्त्रालयदेखि ६० लाख लुटपाटबारे डाँकाचोरी मुद्दामा अनुसन्धानसम्म
-
जनक शिक्षाले पाठ्यपुस्तक उपलब्धताबारे बुझ्न देशव्यापी अनुगमन गर्ने