नारायणी नदीमा छठको तयारी
भरतपुर । चितवनको नारायणी नदीमा छठ पूजाको तयारी गरिएको छ । तराई सामुदायिक सेवा समिति नारायणगढले छठ पूजाका लागि घाट सम्याउने, सरसफाइ गर्ने र टेन्ट निर्माण गरिरहेको छ । समितिका उपाध्यक्ष राजेशबाबु गुप्ताका अनुसार यस वर्ष व्रतालुहरुको सुविधाका लागि टेन्ट निर्माण भइरहेको छ । “नारायणीमा अघ्र्य दिँदा सुविधा होस् भनेर घाट सम्याउने काम गरिरहेका छौँ”, उनले भने, “भरतपुर महानगर र चितवन प्रशासनसँग समन्वय गरी काम गरिरहेका छौँ ।”
नारायणी नदी किनारमा छठ मनाउन आउने भक्तजनको हरेक वर्ष उल्लेख्य उपस्थिति भइरहेकाले यस वर्ष पनि गतको तुलनामा बढी भक्तजन आउने गुप्ताले बताए । पहिले पहिले तराईवासीले मात्रै मनाउने छठ पछिल्लो समय पहाडी समुदायका मानिसले समेत पूजा गर्ने र हेर्न आउने उनको भनाइ छ ।
नदी किनारमा पूजाका लागि छुट्टाछुट्टै ठाउँ निर्माण गरिएको छ भने ती स्थानमा सूर्यदेवसहित विभिन्न भगवानका मूर्ति राखिने समितिका उपाध्यक्ष गुप्ताले जानकारी दिए । उनका अनुसार यहाँ चितवनसहित नवलपरासी पूर्व (नवलपुर), तनहुँ, धादिङ, गोरखा र लमजुङबाट व्रतालु छठ मनाउन आउने गरेका छन् ।
समितिका सदस्य दिलीपकुमार गुप्ताले १६ वर्षदेखि नारायणी किनारमा व्यवस्थितरुपमा छठ पर्व मनाउन थालिएको बताए । “कालीगण्डकीको शालिग्राम लिएर बग्ने नारायणी पवित्र नदी हो । त्यसैले प्रत्येक वर्ष छठको अवसरमा व्रतालुहरु यहाँ आउने गरेका छन्”, उनले भने, “विसं २०४८ देखि सानो समूह बनाएर यहाँ छठ मनाइन्थ्यो । समिति स्थापना भएपछि व्यवस्थित रुपमा मनाउन थालिएको हो ।” व्यवस्थापनका लागि समितिले घरदैलो कार्यक्रममार्फत स्वेच्छिक रुपमा आर्थिक सहयोग सङ्कलन गरेको उनको भनाइ थियो ।
नारायणगढमा व्यवसाय गर्दै आएका राकेश यादवले आस्था र विश्वासको धरोहरका रुपमा छठ पर्व मनाउँदै आएको उनले बताए । उनले छठ नयाँ पुस्ताका लागि पनि उल्लासको पर्व भएको बताए । “छठका बेलामा पहिला पहिला तराईका आफ्नै जिल्लामा वा घरमा जाने गरिएकामा पछिल्लो समयमा यही नदी किनारमा व्रत बस्न थालेका छन् । सोही कारण हरेक वर्ष भक्तजनको सङ्ख्या बढ्दै गएको हो”, यादवले भने ।
यस क्षेत्रमा नारायणी किनारसँगै माडी नगरपालिकाको रिउ, बाँदरमुढे, चितई, रतनी खोला, राप्तीको पम्फा, ढुम्री, लोथर खोला, कालिका नगरपालिकाको खगेरी, बुङ खोलामा छठको पूजा गर्ने गरिन्छ । उज्यालो दिने, न्यानो तथा गर्मी दिने, रोगबाट जोगाउने सूर्य भएकाले कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म सूर्यको आराधना गर्दै छठ मनाउने गरिन्छ ।
आइतबार अस्ताउँदो सूर्यलाई पूजा गरेर रातभर जाग्राम बस्ने र बिहीबार बिहान उदाउँदो सूर्यलाई प्रसाद चढाएपछि छठ पर्व सकिन्छ । चामल, पीठोको ठेकुवा, कसार, विभिन्न मिठाई, उखु, अदुवालगायत प्रसाद बाँसको टोकरी वा सुप्पोमा राखेर नजिकका जलाशयमा लगेर अस्ताउँदो सूर्यलाई अर्घ्य दिने गरिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माघ नसकिँदै देशभर तापक्रम बढ्न थाल्यो
-
युवाले खोलेका उद्योग नै चलेनन्, ६ महिनामा ३०० वटा खारेज
-
रातोपाटी बिफिङ : वामदेव एमाले फर्किने ‘च्याप्टर’ तत्काललाई क्लोजदेखि पूर्व उपराष्ट्रपतिलाई उपाध्यक्ष बनाउने प्रचण्ड योजना स्थगितसम्म
-
अखिल क्रान्तिकारी निर्वाचन : उम्मेदवारहरूको प्रारम्भिक नामावली प्रकाशित
-
प्रेस सेन्टर उदयपुरको अध्यक्षमा अभिमन्यु लामिछाने चयन
-
दोस्रो पौवादुङमा गोल्ड कपको उपाधि राजगढ झापालाई