विश्वकप छनोट फुटबल : पहिलो हाफमै यूएईसँग चार गोल खायो नेपालले
![विश्वकप छनोट फुटबल : पहिलो हाफमै यूएईसँग चार गोल खायो नेपालले](https://npcdn.ratopati.com/media/news/nepal-vs-uae_tRnVCn6o76.jpg)
काठमाडौँ । सन् २०२६ मा आयोजना हुने विश्वकप फुटबलको एसियाली क्षेत्रको दोस्रो चरणको छनोट प्रतियोगितामा बिहीबार नेपाली टोलीले पहिलो हाफमै चार गोल खाएको छ ।
संयुक्त अरब इमिरेट्स (यूएई) मा भइरहेको उक्त खेलमा घरेलु टोलीले पहिलो हाफमै नेपाललाई ४—० गोलले पछि पारेको हो ।
समूह ‘एच’ अन्तर्गतको उक्त खेल सुरु भएको ११ औँ मिनेटमै घरेलु टोली यूएईले गोल गरेको थियो । यूएईका लागि खलिफा अल हमादीले गोल गरेका थिए । यूएईले खेलको पहिलो हाफमै दोस्रो गोल पनि गरेको थियो ।
यूएईका लागि दोस्रो गोल निर्धारित समयको ३७ औँ मिनेटमा अली मबखोउतले पेनाल्टीमार्फत गरेका थिए । यूएईका लागि तेस्रो गोल पनि निर्धारित समयको ४४ औँ मिनेटमा अली मबखोउतले नै गरेका थिए । पहिलो हाफको इन्जुरी समयको पहिलो मिनेटमा यूएईका लागि फाबियो लिमाले चौथो गोल थपेका थिए ।
सन् २०२७ मा आयोजना हुने एसियन कपका लागि पनि यो दोस्रो चरणको छनोट प्रतियोगिता हो । यो खेलपछि नेपालले यूएईसँग घरेलु मैदानमा दोस्रो लेग खेल खेल्नेछ । नेपालको समूहमा यूएईका अतिरिक्त यमन र बहराइन पनि छन् ।
नेपालले घरेलु मैदानमा आफ्नो पहिलो खेल भने यमनसँग खेल्नेछ । यमनविरुद्धको पहिलो लेग खेल मंसिर ५ गते त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेलिने कार्यक्रम छ ।
नेपाल र यमनबिचको खेल साँझ ७ बजे सुरु हुनेछ । विश्वकप छनोटको प्रारम्भिक चरणमा लाओसलाई हराएपछि नेपालले दोस्रो चरणको खेल खेल्ने अवसर पाएको हो ।