डेउडा गीतमा लोभलाग्दो पुनर्जागरण : ‘मुसुर्दानी’
बोरामा मुला खाँदेझैँ अन्तिम यात्रुलाई ग्यालरीमा खाँदेपछि सहचालकले ढोका ढप्कायो । माइक्रोबस अघि बढ्यो, सेती किनारको राजमार्गमा । तल सेती पूर्व ओरालो बगिरहेछ, माइक्रोबस पश्चिम उकालो । माइक्रोबसलाई ड्राइभरले धक्कामुक्का गरिरहेछ । सेती आफ्नै लयमा बगिरहेछ । नदीहरूको अविरल बहाव जीवनको महान् सभ्यता हो । मान्छे कैले सक्ला नदीजस्तो सौम्य बग्न ?
दिपायलबाट धनगढीका लागि छुटेको माइक्रो बसको एक सिटमा मुला खाम्दिएझैँ खाँदिएको थिएँ म । मजस्तै पच्चिस देह उसैगरी खाँदिएका थिए अठार सिटे माइक्रोमा । तिनीहरूका टाउका भने सहिसलामत थिए, गन्न मिल्ने गरी ।
करिब वर्ष दिनदेखि निरन्तरको अभ्यासले अचेल माइक्रोबसमा खाँदिने बानी परिसकेको छ । हरेक यात्रापूर्व एकै कामना हुन्छ– सिटमा दायाँबायाँ खाँदिने दुई देहका टाउकाहरूले जिउमै उल्टी नगरिदिऊन्, जोगिएर गन्तव्यसम्म पुग्न सकियोस् । आजका मितिसम्म मेरो कामनाले काम गरेको छ ।
०००
–“मुुसुर्दानी बजाइदेऊ बाबु, मुसुर्दानी बजाइदेऊ, थोकाई आराम हुन्छ !”
पछिल्लो सिटमा खाँदिएको टाउकोबाट वयोवृद्ध आवाज निस्कियो । उमेरले सत्तरी कटेजस्तो देखिने वृद्धा हजुरआमा निधारमा पसिना पुछ्दै आग्रह गरिरहेकी थिइन् । खाँदिएको सकस मुसुर्दानी गीत सुनेर मेटाउने उनको चाहना थियो । अरू दुईचार यात्रुहरूले पनि “हो ! हो !” थपे ।
माइक्रोबसका भित्ताबाट सुमधुर आवाज आयो–
“...सानी डाली घङ्यारुकी मुसुर्दानी, ठुम्कया चडो बास...!”
गीत बज्दा त्योसँगै आफ्नो आवाज गुन्गुनाउने पनि धेरै निस्किए । बजिरहेको गीतमा आवाज मिसाउन खोज्ने हर स्रोताहरुलाई लाग्दो हो–“स्वर त मेरै राम्रो !” जब बज्दा बज्दैको गीत एक्कासि रोकिन्छ, आफ्नो रुखो आवाज मात्र हावामा फन्का लगाएर आफ्नै कानमा ठोक्किन्छ, तब थाहा हुन्छ, आफ्नै स्वरको हविगत ।
ड्राइभरको पेनड्राइभमा मुसुर्दाएनी गीत मात्र थिएन । कमसेकम चार घण्टा लगातार बज्ने अरू धेरै गीत थिए । ती निरन्तर बजिरहे । अरू कुन कुन गीत बजे, हेक्का रहेन ।
करिब डेढ घण्टामा माइक्रो स्याउले पुग्यो । पछिल्तिरको सिटका तीन अल्लारे माइक्रोबाट झरे । उनको स्थानमा तीन अधबैँसे महिला बसे । तिनमध्येकी एक महिलाले मधुरो स्वरमा बजिरहेको गीतभन्दा चर्को स्वरमा आग्रह गरिन्– “ओ दाइ, मुसुर्दानी बजाइदिना एकबेर !”
माइक्रोबसभित्र दोस्रो पटक मुसुर्दानी गुन्जियो । आवाज मिस्याउनेहरु फेरि जुरमुराए । सायद उनीहरूका हृदयको अन्तरसम्म पुगेको थियो मुसुर्दानीको धुन । यसरी थोरै मात्र गीतले स्रोताको हृदयको गहिराई चुम्न सक्छन् । सुमधुर सङ्गीत आफैमा एक संसारको परिकल्पना हो । तर सबै गीतले स्रोतालाई त्यो परिकल्पनामा पु¥याउने ताकत राख्दैनन् ।
माइक्रोबसले हिमाललाई ओझेल पा¥यो । दर्जनौँ डाँडा र दर्जनौँ खोँच पार गरेर तराईको फाँट नियाल्न पुग्यो ।
–“गुरुजी ! मुसुर्दानी फेरि बजाउनु त...!”
छेउमै बसेको युवकले लोलाएका आँखा तन्काउँदै आग्रह ग¥यो । यात्राको आलस्य यात्रा टुङ्गिनुअघि नै मन परेको गीत सुनेर मेटाउन चाहन्थ्यो ऊ । गीत गुञ्जिदै जाँदा उसको मुहारको काया क्रमशः वापस हुन थाल्यो । एकपल्ट उसले आफ्ना केश सुमसुम्यायो र बजिरहेको धुनसँग दुई टुक्रा मिस्यायो ।
०००
दर्जनौपटक सार्वजनिक सवारीमा यात्रा गरियो । कान खाएर वान्ता नै गराउने कोलाहलदेखि यात्रा पुरा भएको पत्तै नहुने गरी आनन्द महसुस गराउने सयौँ गीतहरू सुनियो होला सवारीभित्र । तर, सम्झना भएसम्म यात्रुहरूले चार घण्टाको अवधिमा तीन पटक कुनै गीत फर्माइस गरेको यो पहिलो घटना देखियो ।
उसो त पछिल्लो एक वर्षको दौरान निरन्तर पब्लिक यातायातमा यात्रा गर्दा हरेक सवारीमा कम्तीमा एक दुई पटक मुसुर्दानी गीत बज्छ । यो बज्दा पङ्क्तिकारलाई पनि एक मधुरम आनन्दको अनुभूति हुन्छ । यात्राका अधिकांश यात्रीका मुहारमा त्यही बान्की देखिन्छ ।
यो यात्रामा मात्र बज्दैन, सुदूरपश्चिमेली जनजनका घरघरमा बज्छ । यहाँका संगीतपारखी अधिकांश जनका मोवाइल या श्रव्य संयन्त्रमा अवश्य मुसुर्दानी डाउनलोड गरिएको हुनुपर्छ । खास भूगोल, खास भाषा र सीमित जनसङ्ख्या भएको समुदायको यो गीतको शक्ति अनुपम देखियो ।
सङ्गीतको मधुरताले बहुसङ्ख्यक सजीवहरूलाई आकर्षित गर्छ । चराचर जगतका हरेकका आ–आफ्नै सङ्गीत हुन्छन् । उनीहरूको आफ्नै भाषामा बुझ्ने माधुर्य हुन्छ । मान्छेलाई लाग्छ, सबभन्दा सुमधुर सङ्गीतको निर्माण मान्छेले नै गरेको छ ।
कुनै नयाँ प्राणीले कुनै नयाँ सङ्गीतको झंकार गुन्जायो भने त्यसको नक्कल मान्छेले तुरुन्तै गर्छ र त्यसभन्दा झनै सुमधुर बनाइदिन्छ । मानव सभ्यताको सुरुवातसँगै सङ्गीतलाई पनि सभ्यताको एक आयामको रूपमा अङ्गीकार गरिएको होला ।
समय, समाज र सभ्यताअनुरूप गीत सङ्गीतको निर्माण हुने गर्दछ । विभिन्न कालखण्डमा भूगोलपिच्छे भिन्नै बान्कीका सूरतालहरु जन्मिएका हुन्छन् । संसारका असङ्ख्य सूरतालमध्ये पश्चिम नेपालको पहाडी समुदायमा गुञ्जिने सूरताल पनि नितान्त मौलिक छन् ।
विशेषतः कर्णाली र सुदूरपश्चिम क्षेत्रमा गीतसङ्गीतको महत्त्व फरकै छ । यहाँका गीतसङ्गीत केवल मनोरञ्जनका साधन या विरहका बहाव मात्र हैनन् । लेखापढीको सुविधा नभएको विगतको समयमा समाजका इतिहास, गाथा, भक्ति, स्तुति, सदाचार, सन्देश आदिको प्रवाह र पुस्तान्तरणका साधन तिनै गीतसङ्गीत थिए ।
समय र समाजको सापेक्षतामा शब्द र शिल्पमा मौलिकपन थियो यी गीतसङ्गीतहरूमा । खेल, चैत, धमारी, भडा, ढुस्को, डेउडा, न्याउल्या, ठाडी भाका आदि नामले चिनिने यी साङ्गीतिक गाथाहरूको प्रस्तुतीकरण र कला पनि नितान्त मौलिक थियो । मान्छेहरू बहुत श्रद्धा र गर्वले तिनलाई हृदयङ्गम गर्दथे ।
समाज र प्रविधिको रूपान्तरण तथा विकाससँगै गीतसङ्गीतमा पनि नयाँ नयाँ आयामहरू थपिँदै गए । समुदायमा पुस्तान्तरणसँगै सङ्गीतमा पनि रूपान्तरण र परिस्कारको आवश्यकता हुन थाल्यो । समाजको परिस्थिति र सुविधाको उपलब्धतासँगै संस्कृति संस्कारका आयामहरूमा पनि स्वाभाविक परिवर्तन हुँदै जाने रहेछ । सङ्गीतमा पनि । पुरानो शैली र शिल्पका गीतसङ्गीतहरूमा आकर्षण घट्दै जान थाल्यो ।
विगतको दशक त सुदूरपश्चिमका मौलिक लोकगीतहरुका लागि साँच्चै चिन्ताजनक रह्यो । नयाँ पुस्ताको आकर्षण पुरानो मौलिक डेउडा तथा लोकगीतहरुमा ज्यादै न्यून मात्रामा देखियो । धेरै साधकहरूलाई लाग्यो– अब डेउडा गीतमा भविष्य छैन । चल्तीका गायक गायिका पनि गायन पेसा छाडेर अन्य पेसा व्यवसायको अभ्यासमा लागे । नयाँ प्रतिभाहरु निराशाजनक बाटोमा यात्रा गर्न डराए ।
धेरै समीक्षकहरूलाई लाग्यो कोमामा पुगेको डेउडा अब सचेत र सबल भएर उठ्दैन तर त्यो यथार्थ थिएन । प्रविधिको विकाससँगै नयाँ पुस्ताले जुन परिस्कार खोजेको थियो, त्यो बुझ्न सकेनन् साधकहरूले । त्यसैले, आकर्षण भएन ।
त्यसलाई पुष्टि गरेका छन् आजका केही युवा साधकहरूले । पुराना शब्द र मौलिक इतिहासको तिनै गीतहरूमा थोरै नयाँ शिल्प, थोरै नयाँ सूरताल, थोरै नयाँ झंकार र अलंकार थपेर उनीहरुले नयाँ पुस्तालाई लोभलाग्दो गरी आकर्षित गरिदिएका छन् ।
डोटी डडेल्धुरा र सुदूरपश्चिमका अन्य भूभागमा समेत नारीहरुको पुरानो लोकप्रिय भाका थियो– मुसुर्दानी । उसो त सुदूरपश्चिमका महिलाहरुले आफ्ना विरह वेदना पोख्ने या विद्रोहका शंखघोष गर्ने अवसर विवाह, चाडपर्व वा मेलापर्वमा आयोजना हुने डेउडा खेल नै थिए, जहाँ अघोषित रूपमा पुरुषहरुको उपस्थिति वर्जित हुन्थ्यो । महिलाहरु धक फुकाएर आफ्ना इच्छा चाहना, विरह वेदनाहरु पोख्न सक्थे ।
डेउडा खेलहरुमा पनि विभिन्न थरिका मौलिक भाकाहरु हुन्थे । तिनैमध्ये एक भाका थियो– मुसुर्दानी । यो भाका अक्सर गौरा र तीजका अवसरमा गाइन्थ्यो । पुरानो पुस्ताका नारीहरुको प्रिय भाका थियो यो । तर, विगतको समाज र उपलब्धताको अभावमा बाजा र सूरतालबिना पुरानो शैलीमा गाइने यो भाका नयाँ पुस्ताका लागि भने अपरिचितजस्तै भैसकेको थियो ।
यही भाकामा नयाँ बान्की थपेर युवापुस्तामाझ लोकप्रिय बनाइदिएका छन् गायक रोहित देउवाले । पुरानो समाजको लोकप्रिय तर वर्तमानमा ओझेल परिसकेको एक डेउडा भाकालाई सचेत र संवेदनशील रूपमा पुनर्निर्माण गरेका छन् उनले ।
उसो त यो गीत निर्माणमा सुदूरपश्चिमका अन्य लोकप्रिय साधकहरुको मेहनतसमेत देख्न सकिन्छ । रोहित देउवाको शब्द संकलनलाई उनै देउवा र वरिष्ठ डेउडा गायक नरेन्द्रराज रेग्मीले लय संयोजन गरे । रोहित देउवा र गौरी भट्टको स्वरमा रेकर्ड भएको गीतको भिडियोमा पछिल्लो पुस्ताका चर्चित डेउडा गायक चक्र बम र उर्मिला शाहीले जीवन्त अभिनय गरे ।
यो आलेख तयार पर्दासम्म युट्युबमा करिब ४४ लाख पटक हेरिसकिएको छ यो गीत । आधुनिक र पप शैलीका केही गीतले युट्युब भ्युज करोड नाघेका छन् । मेला महोत्सव र सामाजिक पारिवारिक उत्सवहरुमा युवाहरुले रुचाउने डिजे शैलीका गीतहरूमा भ्युज अधिक हुनु स्वाभाविक पनि हो । तर गम्भीर प्रकृतिको, युवाकेन्द्रित सूरताल नभएको विशुद्ध डोटेली लय र शव्दमा तयार गरिएकामध्ये यति धेरैपटक युट्युवमा हेरिएको यो गीत नै पहिलो होला ।
मात्र दश मिनेटको गीतमा विविध विषय र क्षेत्रहरु समेटिएका छन् । गीतमा प्रयोग गरिएका ठेट डोटेली शब्द र मौलिक मिथहरुले गीतलाई निकै आकर्षक बनाएको छ ।
गीतमा सत्ययुगदेखि वर्तमान युगसम्मका विषय समेटिएका छन् । सुदूरपश्चिमको पहाडी ग्रामीण वस्तीको आधारभूमिमा तयार गरिएको गीतले यहाँका मौलिक परम्परा र संस्कारहरुलाई पनि झल्काएको छ ।
विगतमा अविवाहित युवायुवती लुकीचोरी डेउडा खेल्ने र उतै पिरती गाँसेर वैवाहिक सम्बन्धमा गाँसिने परम्परा सुदूरपश्चिमको अधिकांश पहाडी भूभागमा थियो । त्यसको झल्को पनि गीतमा देखाउन खोजिएको छ ।
मानव जीवनको स्वाभाविक मायाप्रेमको विषयलाई गीतमा निकै सभ्य, भद्र र सावधानीपूर्वक प्रस्तुत गरिएको छ । जन्मघर छाडेर अपरिचित पराई घर जाने छोरीचेलीको वेदना मार्मिक ढंगले प्रस्तुत गरिएको छ गीतमा । ग्रामीण बासिन्दाका मेलापात, खेतबारी, देवीदेवताका थान आदि पनि गीतमा कलात्मक ढंगले प्रस्तुत गरिएको छ ।
मौलिक शब्द, मौलिक विम्व र मिथहरु, स्रोताले अपनत्व महसुस गर्न सक्ने कथानकसहित विशिष्ट सुरताल सहितको उत्कृष्ट अरेन्ज नै मुसुर्दानीको लोकप्रियताको आधार हो । आजका गीतसङ्गीतमा भिडियो अनिवार्यजस्तै भैसकेको छ । मुसुर्दानी गीतको भिडियो पनि उत्तिकै सशक्त छ । भिडियो कथा र कलाकारहरुको जीवन्त अभिनयले गीतको लोकप्रियता बढाउन मद्दत गरेको छ ।
गीतको आधारस्थल डडेल्धुराको ग्रामीण परिवेशमा निर्माण गरिएको भिडियोमा स्थानीय भेषभुषा, जीवनशैली र धार्मिक, प्राकृतिक तथा भौगोलिक धरोहरहरु सबल रूपमा प्रस्तुत गरिएको छ ।
समग्रमा संस्कार र संस्कृतिमाथि मौलिकता र आधुनिकताको उत्कृष्ट संयोजन भएको छ गीतमा । डेउडा गीत भन्ने बित्तिकै वेवास्ता गर्ने आजको पुस्तालाई यसले हार्दिक रूपमा आकर्षण गरेको छ । डेउडा गीत परम्पराको लागि यो एक मजबुत पुनर्जागरण हो ।
अत्यावश्यक मौलिकताको जगेर्ना, ऐतिहासिक विम्व र मिथहरुको सदुपयोग, प्रविधिको उचित संयोजन र समय सान्दर्भिक परिस्कारजस्ता बहुआयामिक विषयलाई आत्मसात गरेर सर्जकहरुले सिर्जना गरेमा विगतमा मुर्झाउन लागेको डोटेली समाजको गीतसङ्गीत मासथ उठ्ने विश्वास गर्न सकिन्छ ।
अन्तमा, उही गीत मुुसुर्दानीको गीतको अंश राख्दै विट मार्छु ।
सानी डाली घङ्यारुकी ठुम्कया चरो बास
म बाबा माईत जान्छु नौगेडी लि आस
के लाउनु नौ गेडी माला के लगाउनु हार
चौबीस घन्टा चम्म चम्म चम्किने मुहार
मनका कुरा मनै मनमा मुखका कुरा मुखै
चर्को बोल्या मन फाट्न्छ मीठो बोल्या ढुक्कै
एक नुथिया तेरी एक गल्बन्दी मेरी
सङ्गै बसी झल्काउला बल्तोडिका सेरी
सत्ययुगमा सीतादेवी टाढा भई राम शीत
झन झन मुख हेरु लाग्दो न मरुन्जेल धित
रातो डोरी रिबनको चुल्ठी लाईछै काटा
दिन काट्यै मैना न काट्यै कुरि रौला बाटा
हास्या मुसुर्दानी बस्या मुसुर्दानी साईसित दुरदुरै भैजाउ
इस्या मुसुर्दानी कस्या मुसुर्दानी अब म दुरदुरै गैजाउ
यस्सै मुसुर्दानी तेस्सै मुसुर्दानी झल्झली आखामा आउनी
केशै मुसुरदानी भेस्सै मुसुर्दानी रातिमा सपनी आउनी ।
लेखक नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सभा सदस्य हुन् ।