दूधकुण्डको रोमाञ्चक यात्रा
दूधकुण्ड जनै पूर्णिमाको अवसरमा मात्र प्रायः मानिसहरू जाने गर्छन् । हामीले भने विजयदशमीको पर्सिपल्ट कात्तिक ९ गते घुम्न जाने निर्णय गर्यौँ । यात्रामा हामी ८ जना सहभागी थियौँ ।
काठमाडौँदेखि साेलुखुम्बु जिल्लासम्म हाल पक्की सडक बीपी राजमार्ग खुर्कोट हँुदै सिद्धिचरण राजमार्गबाट सल्लेरी पुग्न सकिन्छ । हवाईमार्गबाट आउँदा फाप्लु एयरपोर्ट अवतरण गरिसकेपछि दूधकुण्डको यात्रा सुरु गर्न सकिन्छ ।
सल्लेरीबाट उत्तरतर्फ टाक्सिन्दु डाँडासम्म कच्ची बाटोको ट्रयाक खोलिएकाले त्यहाँँसम्म बोलेरो गाडी जाँदो रहेछ । गाडीमा त्यहाँसम्म जान १ घण्टा ३० मिनेट लाग्ने रहेछ । हिँड्न मन पराउनेका लागि फाप्लु, चिवाङ, फेरा हुँदै करिब ६–७ घण्टामा टाक्सिन्दु डाँडा पुगिन्छ ।
टाक्सिन्दु डाँडाबाट करिब १ घण्टाको सम्म बाटो पैदल यात्रापछि केरू– पाटी (३४६९ मिटर) सम्म पुगिन्छ । हामी हिँडेको दिन मौसम खराब भएकाले टाक्सिन्दु डाँडाबाट २० मिनेट हिँडेपछि पानी पर्न थाल्यो । पानीबाट बाच्न हामीले प्लास्टिक र छाताको प्रयोग गर्यौँ र यात्रा अगाडि बढायौँ ।
केरूङ पाटीबाट करिब १ घण्टाको उकालो यात्रापश्चात सरकारी पाटी आइपुग्यौ । पानीले भिजाएर जाडो भएकाले हामीले झोलाबाट भुटेका मकै झिकेर खादै यात्रा अगाडि बढायौ ।
सरकारी पाटीबाट ३० मिनेटपछि हामी सानो दूधकुण्ड आइपुगियो । यो चाहिँमाथि जान नसक्नेहरूका लागि बनाएको कुण्ड रहेछ । यहाँ बस्न चौतारो र खानेपानीको व्यवस्था रहेछ ।
सरकारी पाटीबाट करिब १ घण्टाको उकालो यात्रापश्चात ३८६० मिटरको उचाइमा कामोडाँडा आइपुग्यौँ । कामोडाँडामा खान र बस्नका लागि टाक्सिन्दुकै स्थानीय लाक्पा शेर्पाले नुम्बुर रिट्रेट नामक होटल सञ्चालन गर्नुभएको रहेछ । यहाँ आवाससहितको सुविधाले जुनसुकै मौसममा आउने यात्रीलाई सहज हुने देखियो । यस स्थानबाट सगरमाथा लगायत थुप्रै हिमाल नियाल्न सकिन्छ । कामोडाँडालाई आजकल एभरेस्ट भ्युपइन्ट पनि भनिदो रहेछ । अलि अलि भिजेका कपडालाई आगोमा सेकाएर तताउने प्रयास गर्दा गर्दै खाना तयार भएकाले खाना खाने तयारी गरियो । थकित ज्यान कुन बेला निदाएछ पत्तो नै भएन ।
कामोडाँडाबाट मास्तिर उक्लेपछि रुख बिरुवाहरू कम कम हुँदै जान्छन् । यस क्षेत्रमा सुनपाती टिप्ने मानिसहरू आउने गर्छन् । सुनपातीको वास्ना कडा हुने गर्छ । जो कोहीलाई यसको बास्ना मन नपर्न सक्छ ।
निरन्तरको हिँडाइ, बिसाउने चौतारीमा बिसाउँदै वरिपरिका रमाइला पहाड दृश्यमा अटाउँदै हामी करिब २ घण्टा हिँडेपछि ज्याम्ले खोला (३८८९ मिटर) हुँदै त्यहाँबाट करिब २० मिनेट ओरालो हिँडेपछि सानोवेनी (३८५० मिटर) पुगिन्छ । यस स्थानसम्म आइपुग्दा सबै साथीहरूलाई केही पनि स्वाथ्य समस्या आएको थिएन ।
सानोवेनीबाट उकालो तेर्साे करिब १ घण्टा हिँडेपछि सहस्रवेनी (४०३० मिटर) पुगिन्छ । यो उकालोमा भने साथीहरूलाई अलि कठिन नै भयो तैपनि लट्ठीको सहारा र बोकेको खानेकुरा पानी खाँदै हामी अगाडि बढ्यौ ।
हामी सहस्रवेनी पुग्नासाथ दावा शेर्पा दाइले तातोपानी र चियाले स्वागत गर्नु भयो । उहाँ चौँरीपालक कृषक भएकाले वर्षभरि त्यतै बस्नुहुन्छ । बिहान घामको पहिलो झुल्को हिमालमा पर्दा नुम्बुर, कर्यालुङ हिमाल सुन झैँ टल्किएका थिए, हामीले केही थान तस्बिरहरू आआफ्नो मोबाइलले खिच्यौँ ।
बाटोमा हिँड्दा अग्ला अग्ला पहाड, सुन्दर झरना, विभिन्न जातका फूल, पशुपन्छी, चराचुरूङ्गी, सुनपातीको मिठो बासना, चौरीगाईको दूध र छुर्फी सम्झनलायक यात्राका केही मिठा अनुभूतिहरू छन् ।
सहस्रवेनीमा तातोपानी, चिया र सातु खाएपछि हाम्रो यात्रा दूधकुण्डतर्फ अगाडि बढ्यो । प्रायः यस स्थानमा आउने यात्रीलाई असहज पार्ने उकालो यही हो । उकालो बढेसँगै श्वास प्रश्वासमा समस्या, लेक लाग्ने समस्या हुन्छ । सहस्रवेनीको ठाडो उकालो लट्ठी र पानीको सहाराले करिब ३ घण्टामा हामी हाम्रो गन्तव्यस्थल ४६३२ मिटरको दूधकुण्डमा आइपुग्याँँै । हामी त्यहाँ आइपुग्दा मौसम अलि खराब भएर नुम्बुर र कार्यालुङ हिमाल अलि अलि देखिन्थे । पोखरीको डिलमै रहेको दियो बत्ती अगरबत्ती बाल्ने ठाउँमा हामीले पूजा तथा प्रार्थना गर्यौँ । पानी जमेर आइस भएकाले पोखरी पनि आधा जमेको थियो ।
उत्पत्तिसम्बन्धी किंवदन्ती
बौद्धमार्गीका भनाइ अनुसार विभिन्न धार्मिक गुरूहरू तिब्बत तथा नेपालबाट आई तपस्या गर्ने ठाउँ भएकाले धार्मिक आस्थाको थलोको रूपमा लिन्छन् । यहाँ आएर आफूले चिताएको (गाईवस्तु, सन्तान, पशुपन्छी) माग्दा पुग्ने विश्वास रहिआएको छ ।
हिन्दु तथा किराँत धर्मालम्बीका अनुसार यो ठाउँमा परापूर्वकालमा भगवान महादेवले तपस्या गरेको स्थानको रूपमा लिने गरेको पाइन्छ । समुद्र मन्थनका बेला निस्किएको कालो विषले संसार ध्वस्त पार्न लाग्दा भगवान् शिवले उक्त विष घाँटीमा लिई दूधकुण्डको चिसो पानी पिएपश्चात विष मत्थर रहेको भनाइ पनि पाइन्छ ।
मुख्य तालहरू
दूधकुण्ड ताल : दुई हिमाल नुम्बुर र कारेलुङबाट पग्लिएर बनेको छ । धार्मिक महत्त्व बोकेको यस तालको पानीले नुहाएमा पाप नष्ट हुने विश्वास छ ।
भुतपोखरी : दूधकुण्ड जाने बाटोमा अत्यन्तै कालो पोखरी छ । यसलाई भूतकुण्ड तथा भूतपोखरीको नामले चिनिन्छ । सुरुमा दूधकुण्ड जाँदा भूतपोखरीको दर्शन गर्दै जाने तथा आउँदा भने सो स्थान नभई अर्काे बाटो जाने यहाँको प्रचलन छ । दूधकुण्डबाट फर्किंदा यस स्थान हुँदै आएमा मागेको वर नपाइने विश्वास छ ।
गंगा जमुना तालः दूधकुण्ड ताल तथा भूतपोखरी बिच भागमा गङ्गाजमुना ताल रहेको छ । उस्तै आकार प्रकारका दुईवटा नीला तीलहरू भएकाले नै यिनीहरूको नाम गङ्गा जमुना नाम रहेको जनविश्वास छ ।
आँखेपोखरी : मानव आँखाको आकारमा रहेको ताल दूघकुण्डको पूर्व दिशामा रहेको छ ।
महाकुण्ड : नुम्बुर तथा कारेलुङ बिच दरारमा यो ताल अवस्थित छ ।
समस्याहरूः
ठाउँठाउँमा बस्न पाटी खानेपानी तथा टिहाउस छैनन् ।
–जथाभाबी फोहोर भएकाले व्यव्थापन गर्न कठिनाइ छ ।
दिसापिसावका लागि कुण्ड वरपर चर्पीको अभाव छ । प्राकृतिक रूपमा
अत्यन्तै सुन्दर रहेको दूधकुण्ड क्षेत्रका समस्याहरूलाई मध्यनजर राखी समाधानतर्फ ध्यान दिएको खण्डमा यो उत्कृष्ट गन्तव्य हुने कुरामा दुई मत छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विराट कोहलीले छक्का प्रहार गर्दा सुरक्षाकर्मी घाइते, टाउकोमै बज्रियो बल
-
सरकारको निर्देशन कार्यान्वयनबारे नागरिकबाट खबरदारी गर्न मुख्यमन्त्री आचार्यको आग्रह
-
ग्लोबल आइएमई बैंकका ग्राहकलाई समाज डेन्टल अस्पतालमा विशेष छुट
-
नेपालको शान्ति प्रयास विश्वका लागि उदाहरणीय : सभामुख
-
मृत्युपश्चात अंग दान गर्नेका परिवारलाई २ लाख दिने स्वास्थ्यमन्त्रीको निर्णय
-
लुम्बिनी सेरामिक्सले ४ अर्ब लागतमा सुरु गर्यो लेमिनार टायल उत्पादन