मङ्गलबार, २५ असार २०८१
ताजा लोकप्रिय
खेलकुद

विश्वकप छनोट फुटबल : यूएईलाई आज उसैको घरेलु मैदानमा चुनौती दिँदै नेपाल

बिहीबार, ३० कात्तिक २०८०, १० : ३६
बिहीबार, ३० कात्तिक २०८०

काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टोलीले सन् २०२६ मा आयोजना हुने विश्वकप फुटबलको एसियाली क्षेत्रको दोस्रो चरणको छनोट प्रतियोगितामा बिहीबार संयुक्त अरब इमिरेट्स (यूएई) सामना गर्दैछ । खेल यूएईको घरेलु मैदानमा खेलिने छ । खेल नेपाली समयअनुसार, राति ९ः३० बजे सुरु हुनेछ ।

सन् २०२७ मा आयोजना हुने एसियन कपका लागि पनि यो दोस्रो चरणको छनोट खेल हो । प्रतियोगितामा सहभागी हुने नेपाली टोली आइतबार नै यूएई पुगेको थियो । राष्ट्रिय टोलीका दुई प्रभावशाली खेलाडी रोहित चन्द र मनिष डाँगी भने सिधै यूएई पुगेका हुन् । पछिल्लो समय रोहित इन्डोनेसिया र मनीष बहराइनमा व्यावसायिक फुटबल खेल्छन् ।

डिफेन्डर योगेश गुरुङ, मिडफिल्डर निशान हमाल र स्ट्राइकर राजेश परियारले पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाएका छन् । राष्ट्रिय टोलीका अनुभवी डिफेन्डर अनन्त तामाङ भने यूएई भ्रमणमा सहभागी छैनन् । अभ्यासका क्रममा उनको घुँडामा गम्भीर चोट लागेको थियो । 

नेपाली टोलीमा गोलरक्षकको भूमिकामा किरणकुमार लिम्बु, दीप कार्की र अभिषेक बराल रहेका छन् । डिफेन्डरमा सनिश श्रेष्ठ, रोहित चन्द, अन्जन राई, आशिष चौधरी, अमृत श्रेष्ठ, एरिक विष्ट, छिरिङ लामा र योगेश गुरुङ छन् । 

मिडफिल्डरमा कृतिशरत्न छुन्जु, मनिष डाँगी, लाकेन लिम्बु, उत्सव राई, सेहाङ आङ्देम्बे र निशान हमाल रहेका छन् । स्ट्राइकरमा अन्जन विष्ट, आयुष घलान, गिलेस्पीजंग कार्की, हिसुब थपलिया, संजीव विष्ट र राजेश परियार रहेका छन् । मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसको प्रशिक्षणमा २६ सदस्यीय टोलीले लामो समय प्रतियोगिताका लागि तयारी गरेको थियो । 

दोस्रो चरणको छनोटअन्तर्गत समूह ‘एच’ मा रहेको नेपालले आफ्नो पहिलो खेल बलियो प्रतिद्वन्द्वी संयुक्त अरब इमिरेट्स (यूएई)सँग खेल्न लागेको हो । त्यसपछि नेपालले यूएईसँग घरेलु मैदानमा दोस्रो लेग खेल खेल्नेछ । नेपालको समूहमा यमन र यूएईका अतिरिक्त बहराइन पनि छ । 

नेपालले घरेलु मैदानमा आफ्नो पहिलो खेल भने यमनसँग खेल्नेछ । यमनविरुद्धको पहिलो लेग खेल मंसिर ५ गते त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेलिने कार्यक्रम छ । नेपाल र यमनबिचको खेल साँझ ७ बजे सुरु हुनेछ ।   

विश्वकप छनोटको प्रारम्भिक चरणमा लाओसलाई हराएपछि नेपालले दोस्रो चरणको पहिलो खेल युएईसँग खेल्न लागेको हो । नेपाली टोलीका मुख्य प्रशिक्षक एनेस अहिलेसम्म आफ्ना कुनै पनि खेलाडी घाइते नहुनु सुखद पक्ष रहेको बताउँछन् । उनले प्रतियोगिताको तयारी राम्रो रहेकाले नतिजा सकारात्मक आउने दाबी गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप