सोमबार, ०८ पुस २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

गुण–धर्ममा अन्तर्निहित यूमा दर्शन

बुधबार, २९ कात्तिक २०८०, १६ : ४५
बुधबार, २९ कात्तिक २०८०

सुप्रसिद्ध चिनियाँ दार्शनिक झाङ थाइयानले समाज विज्ञानको क्षेत्रमा एउटा महत्त्वपूर्ण दार्शनिक सिद्धान्त ‘थ्यौरी अफ टु वे इभोलुसन’ प्रतिपादन गरेको पाइन्छ । उनको यो सिद्धान्तले भन्छ, कुनै पनि वस्तुका असल र खराब पक्षहरूको विकास सँगसँगै भएको हुन्छ । मानवमा पनि असल र खराब पक्षका गुणहरू अन्र्तनिहित हुन्छन । ती गुणहरू प्रकृतिप्रदत्त हुन् । स्वाभाविक हुन् । 

मानवमैत्री र समाजमैत्री असल पक्षले खराब पक्षलाई समायोजन र अन्तर्घुलन गर्दै खराब पक्षलाई प्रक्रियागत रूपमा न्यूनीकरण गर्नु प्रस्तुत सिद्धान्तको मूल उद्देश्य देखिन्छ । त्यसको दार्शनिक गहिराइ भनेको स्वच्छ, सेतो, सफा मन र सत्य मार्ग प्राप्तिको लक्ष्य नै हो । अतः यसलाई मस्तिष्क, मन र व्यवहारको सन्तुलित मिश्रणको रूपमा पनि लिने गरिन्छ । यो प्रणाली मानव सभ्यताको परिवार, समुदाय, समाज, सम्प्रदाय, धर्ममा निरन्तर स्वचालित छ । यो नै वास्तवमा भगवान् गौतम बुद्धको एक महान् मौलिक आविष्कार गुण–धर्मको दर्शनबाट अङ्गीकार गरिएको सिद्धान्त हो । 

गुण–धर्मले पनि प्रत्येक वस्तु र जीवको आफ्नै प्राकृतिक गुण र पहिचान सुरक्षित गरेको हुन्छ । जस्तै ः सूर्यको गुण–धर्म तातो हुनु हो भने पानीको ओरालो बग्नु । बाघ लगायतका मांसहारी जनावरको गुण–धर्म सिकार गर्नु, साकाहारीको गुण–धर्म घाँस वा अन्नपात खानु र मानवको गुण–धर्म बुद्धि, बल र विवेकको त्रिपक्षीय सन्तुलन मिलाएर काम गर्नु हो । गुण–धर्मलाई जोडेर हेर्दा हाम्रा अनेक संस्कृतिका पिँधमा अनेक कथा भेटिन्छन्, ती कथाका पात्रले खास चरित्र अर्थात् गुण–धर्म बोलेका हुन्छन् । 

यतिखेर नेपालीको घर–आँगनमा तिहार पर्व चलिरहेको छ । यसलाई स्मरण गर्ने धेरै सांस्कृतिक हाँगामध्ये एउटा हाँगो यस्तो पनि छ ः प्राचीन कालका बलिहाङ राजा सबैको सम्मानका पात्र थिए । दानवीर बलिराजालाई सर्वत्र पूजा गरिन्थ्यो । हिजो–आज खेलिने देउसी–भैलो उनै किरात राजा बलिहाङ तङनामसँग जोडिएको कतिपय संस्कृतिविद्को दाबी छ । संस्कृतिविद्हरूका  अनुसार आफ्नो राज्य हडपिएपछि दानवीर बलिराजा चिन्तित हुनु स्वाभाविक थियो । बलिराजालाई चिन्ताबाट मुक्त पारी सदा अमर रहून् भन्ने सन्देश फैलाउन कार्तिक औँसीमा देउसी–भैलो खेल्ने चलन चलेको जनविश्वास रहिआएको छ । 

किरात लिम्बू दर्शन मुन्धुम अनुसार खाम्बोङ्बा (काशीवंश), दोस्रो ताङसाङ्बा मङ्गोल र तेस्रो मुनाफिन हाङ चिनियाँ नस्ल ल्हासावंशीय किरात लिम्बू गरी तीन प्रकारका हाँगा अस्तित्वमा आएको इतिहास पाइन्छ । इतिहासकारका अनुसार ईशापूर्व २०० मा चीनको सिचुवानका मुनाफिन हाङले विजय अभियानका क्रममा आफूले जितेका चीन, तिब्बतमा यूमा धर्म लागु गराए । तिनका सन्तान उबाहाङको हाँगोले ताप्लेजुङ, पाँचथर, संखुवासभाको चैनपुर लगायतको विशाल क्षेत्रमा किरात लिम्बुवान राज्य विजय गरी शासन गरेको इमानसिंह चेम्जोङ लगायतका इतिहासकारको दाबी छ । 

ल्हासागोत्री उबाहाङ र माबोहाङले लिम्बुवानमा बौद्ध बोन (यूमा) धर्म फैलाए । साथै सबै लिम्बूहरूलाई संगठित पार्दै लिम्बुवान राज्य स्थापित गरे । माराङहाङले नेपालमा किरात राज्य हात पार्ने क्रममा मुदेन्छोङ साँबाका पुर्खा मुनाहाङले सहयोग गरेको इतिहास छ । यिनै राजाको साथीका आधारमा आफ्नो थर मुदेन (तिब्बत) हाङ (राजा) साःबाः (पु¥याउने) शाब्दिक अर्थको योगले मुदेन्छोङ साँबा रहेको वंशावली बताउँछ, (मानवशास्त्री डा. नवराज सुब्बाको पुस्तक ‘किरात लिम्बू संस्कृति मानवशास्त्रीय विवेचना’) । डा. सुब्बाले यहाँ मुदेनछोङ साँबाद्वारा लिखित ‘किरात ऐतिहासिक पृष्ठभूमिमा मुदेनछोङ साँबा वंशावली’लाई उद्धृत गरेका हुन् ।  

किरात लिम्बूका कुलगुरु तथा पितृ शिव किरातेश्वर नामले चिनिन्छन् । किरात लिम्बूको प्रकृतिपूजा र आत्माको वर्णन साप्जी मुन्धुममा गरिएको छ । मुन्धुम अनुसार, लिम्बूको मन्दिर र मूर्ति हुँदैन । ढुङ्गालाई भुइँमा ठड्याएर खुला स्थानमा पूजा गर्ने चलन छ । मुन्धुमले असल र खराब गरी दुई प्रकारका आत्मा हुने बताएको छ । यी दुवै आत्मालाई साम्बा, फेदाङ्माले खुसी बनाउने काम गर्छन् । उनीहरूले आत्मालाई खुसी पार्न बलि र जाँड–रक्सी चढाइन्छ । बाँकी वस्तु प्रसादको रूपमा फेदाङ्मा र परिवारजनले खाने गर्छन् । यसरी झाङ थाइयानको ‘थ्यौरी अफ टु वे इभोलुसन’ पवित्र मुन्धुम दर्शनमा पनि चरितार्थ भएको पाइन्छ । 

राजा बलिहाङ तङनामसँग जोडिएको कतिपय संस्कृतिविद्को दाबी छ । आफ्नो राज्य हडपिएपछि दानवीर बलिराजा चिन्तित हुनु स्वाभाविक थियो । बलिराजालाई चिन्ताबाट मुक्त पारी सदा अमर रहून् भन्ने सन्देश फैलाउन कार्तिक औँसीमा देउसी–भैलो खेल्ने चलन चलेको जनविश्वास रहिआएको छ ।

किरात लिम्बूको साप्जी मुन्धुम धामीझाँक्री परम्परा आत्मवाद र जीववादबाट प्रभावित प्राचीन बोन धर्म हो । वास्तवमा बौद्ध बोन धर्मको स्वरूप नै लिम्बूको यूमा धर्मसँग सम्बन्धित छ । अन्तर्आत्माको ज्योति खुल्यो भने मानिसले सत्यको मार्ग पहिल्याउन सक्छ भन्ने दर्शन प्रणालीलाई यूमा धर्मले स्थापित गरेको छ । यो दर्शनको प्राग्ऐतिहासिक स्रोत स्थल चीनको तिब्बत र सिञ्जियाङ उईगुर प्रदेशको विशाल क्षेत्र रहेको विश्वास गरिन्छ । तिब्बतमा सातौँ शताब्दीमा राजा स्रङ्चन गम्पोले नेपाली राजकुमारी भृकुटीसँग विवाह गरेपछि भृकुटीको बुद्धधर्म विस्तारसम्बन्धी योगदानले तिब्बतमा बुद्ध धर्म फस्टाउन थप सहयोग मिल्यो । त्यो सहयोगबाट पूरै तिब्बतमा बौद्ध धर्म निर्बाध रूपले फैलियो । राजारानीले नै बौद्ध धर्म अवलम्बन गरिसकेपछि तिब्बती प्रजाहरूले पनि बौद्ध धर्म सहजै अवलम्बन गरे । बौद्ध धर्मले तत्कालीन प्राचीन बोन धर्मलाई विस्थापित ग¥यो भनौँ अथवा बौद्ध धर्म र बोनधर्म एक आपसमा अन्तर्घुलन भए । बौद्ध धर्मको पूर्ण प्रभावले तिब्बतमा हिंसा, मंश, मदिरा वर्जित गरियो । बौद्ध धर्ममा लामावादको विकास भएपछि बोन धर्मको बलिप्रथा र मदिरा चढाउने परम्पराको विरोध भई समाजमा आमूल परिवर्तन भयो । नवौं शताब्दीमा उबाहाङ, माबोहाङले तिब्बतबाट यूमा (लामाहाङ) धर्म किरात लिम्बुवानमा ल्याएर राजधर्म घोषित गरेको किरात लिम्बू इतिहासकार तथा मानवशास्त्रीहरूको मत प्रचलित छ । 

बौद्ध धर्मको प्रभावले बलिप्रथा र मदिरा निषेध गरेको बौद्ध बोन धर्म (यूमा धर्म) को स्थानीय नाम लासाहाङमा पनि हो । १९औँ शताब्दीमा किरात लिम्बू समुदायकै एक महान् समाज सुधारक फाल्गुनन्द लिङ्देनले शैव दर्शनमा आधारित सामाजिक धार्मिक उत्थानको मार्ग लिएको बुझिन्छ । उनको उद्देश्य पनि यूमा दर्शन संस्कृतिको संरक्षण र व्यवस्थापनका लागि कुशलतापूर्वक जोड दिनु नै थियो ।

यूमा दर्शनको अर्को हाँगो सत्तेहाङ पथले शक्तिरूपा यूमालाई शैव मतको केन्द्रबिन्दुमा राखेको छ । साथै, किरात लिम्बू इतिहास टिग्रिस, युफ्रेटस, सिन्ध (सियान), सरस्वती, गङ्गा, हुवाङ–हो, ब्रह्मपुत्र (यार्लुङ साम्पो), सुनकोशी र अरुण, तमोर मिश्रित सप्तकोशी भएर बगेको साक्षी छ । यसरी एसियाली नदी प्रणालीकै चर्चा गर्दा एसियाली सभ्यताको शक्तिको केन्द्र चीनको कैलाश मानसरोवरलाई मानिन्छ । कैलाश पर्वत आफैँमा शिव र पार्वतीको निवास स्थल हो । आँगनमा मानसरोवर छ । चिनियाँहरूले यसलाई पृथ्वीकै केन्द्रबिन्दु मान्दै आएका छन् । यसै केन्द्रबाट एउटा विशाल नदी ब्रह्मपुत्र पूर्वतर्फ र अर्को विशाल नदी सिन्धु पश्चिमतर्फ बगेका छन् । 

सभ्यताको यसै केन्द्रमा हिन्दू, बोन, बौद्ध, जैन आदि धर्मको श्रीवृद्धि भएको पाइन्छ । यसको निचोड के छ भने एसियाली मानव सभ्यताका विभिन्न दार्शनिक मियोहरूमध्ये एउटा दार्शनिक मियो मस्तिष्क, मन, व्यवहारसँग असल र खराब गुणहरूको गतिशील सन्तुलन गुण–धर्ममा अन्र्तनिहित छन् । अतः यूमा दर्शन गुण–धर्ममा आधारित विश्वास प्रणाली पनि हो । गुण–धर्म धारणमा आधारित किरात लिम्बू मुन्धुमबाट व्यवस्थित यूमा धर्म लिम्बू समुदायको अभिन्न दार्शनिक चिन्तन पद्धति पनि हो । 

[email protected]

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कविता सुब्बा
कविता सुब्बा
लेखकबाट थप