तराई मधेसमा यसरी मनाउँदैछन् भैयादूज
काठमाडौँ । आज तिहारको महत्त्वपूर्ण दिन अर्थात् भाइ टीका । दाजुभाइ–दिदीबहिनीबिचको सद्भाव र प्रेम दर्शाउने यो पर्वलाई तराई मधेसमा भैयादूज वा भरजुतिया पनि भनिन्छ । तराई मधेसमा पनि यो पर्वलाई निकै महत्त्वपूर्ण मानिन्छ । दाजुभाइ–दिदीबहिनी बिचको प्रेम भैयादूजमा छल्किन्छ ।
तराई मधेसमा भैयादूजमा दाजुभाइले बिहे भइसकेका दिदीबहिनीको घर जानुपर्ने हुन्छ । अविवाहितका लागि भैयादूज मनाउने चलन त्यति थिएन तर अहिले भाइटीकाको प्रभावले मधेसको भैयादूजलाई छोपिसकेको छ । अहिले त मधेसी समुदायमा पनि टीकाको चलन सुरु भएको छ । तराई मधेसमा अविवाहित दिदीबहिनीको हातबाट टीका थाप्ने चलन पहिला थिएन ।
विवाहित दिदीबहिनीको घरमा भने भार लिएर जानै पर्ने परम्परा थियो । अहिले भारको परम्परा हराउँदै गइरहेको छ । भर्खर बिहे भएको छ भने दिदीबहिनीको घर जाँदा कोसेलीमा भार (खीर, पुरी, च्युरा, दहीलगायत फलफूल, मिठाई) लिएर जानुपर्छ । दिदीबहिनी पनि यो बेला बडो आशाका साथ बसेका हुन्छन् ।
भाइ–बहिनीको पारस्परिक प्रेमको प्रतीकका रूपमा मनाइने दुई वटा चाडपर्वको सदीऔँदेखि चल्दै आएको छ । तीमध्ये एउटा पर्व हो रक्षाबन्धन र अर्को हो भैयादूज ।
रक्षाबन्धन साउन महिनाको पूर्णिमाको दिन मनाइन्छ भने भैयादूज कार्तिकशुक्ल द्वितीयाका दिनमा मनाइन्छ । संसारमा मैथिली संस्कृति नै यस्तो संस्कृति हो जहाँ भाइ–बहिनीको स्नेहिल सम्बन्धलाई उदघाटित गर्न वर्षभरिमा दुई यस्ता पर्व मनाउने परम्परा रही आएको छ ।
भाइ–बहिनीको आत्मीय एवं आत्मिक सम्बन्धको प्रतीक यी दुई वटै पर्वमा दिदीबहिनीले आफ्ना दाजुभाइको दीर्घायुको कामना गर्छन् । रक्षाबन्धन पर्वमा दिदीबहिनीले दाजुभाइका नाडीमा रक्षाबन्धन बाँधेर उनीहरूको दीर्घायु र चिरायुको कामना गर्ने परम्परा छ । भ्रातृद्वितीयाको पावन अवसरमा दाजुभाइ जहाँसुकै भए पनि आफ्ना दिदीबहिनीलाई भेट्न आउने गर्दछन् ।
संस्कृतिविद् रामदयाल राकेश भन्छन्, ‘भैयादूजको प्रमुख उद्देश्य भनेको वर्षमा कमसे कम एकपटक भाइबहिनीका बिचमा अवश्य भेटघाट होस् । यदि रक्षाबन्धनमा भेटघाट सम्भव भएन भने दिदीबहिनीले दाजुभाइलाई राखी पठाउने गर्दछन् ।’
भैयादूजमा चाहिँ दिदीबहिनी र दाजुभाइका बिचमा प्रत्यक्ष भेटघाट हुनैपर्ने भएकाले यदि दाजुभाइ नोकरीमा छन् भने बिदा लिएर भए पनि एक दिनका लागि दिदीबहिनीका घरमा पुग्नैपर्ने प्रचलन तराई मधेसमा रहेको उनले बताए ।
भैयादूजभन्दा पहिले ‘गोधन’ लोकोत्सव मनाइन्छ र यसमा केराउका गेडालाई गोबर मिलाएर कुटिन्छ । पछि ती केराउका गेडा भाइहरूलाई खान दिइन्छ, जसलाई बज्री भनिन्छ । यो बज्री खुवाउँदा दाजुभाइको कलेजो बज्र समान बलियो होस् भन्ने कामना गरेको पाइन्छ ।
यस दिन दाजुभाइले दिदीबहिनीका घरमा गएर खानै पर्ने हुन्छ । आफ्नै दिदी बहिनी नभए पनि काका या फूपूकी छोरी वा नाता–गोताका दिदीबहिनीका घरमा जानुपर्ने परम्परा तराई मधेसमा छ तर आधुनिकताका कारण ती सबै हराउँदै गएको लोकसंस्कृतिका जानकार एवं तमलोपाका अध्यक्ष वृषेशचन्द्र लालले बताए ।
‘भाइदूज मनाउने तरिकामा अहिले केही परिवर्तन आएको छ । अहिले टीका लगाउने चलन बढेको छ, पहिला थिएन,’ संस्कृतिविद् राकेशले भने, ‘मिश्रित समाज भएको कारणले यस्तो भएको हो, जसरी पहिला तराई मधेसमा मनाउने छठ पर्व अहिले काठमाडौँमा पनि मनाउन थालेको छ, त्यस्तै पहाडको टीका मधेसतिर पनि सरेको छ ।’
यस्तो छ धार्मिक मान्यता
पौराणिक मान्यता अनुसार भ्रातृद्वितीया पर्वको अवसरमा यमुनाले आफ्ना भाइ यमराजलाई बडो हार्दिकतापूर्वक आमन्त्रित गरी भोजन गराएर बडो आदर–सत्कार गरेकी थिइन् । त्यसबाट प्रभावित भएर यमराजले आफ्नी बहिनी यमुनालाई जुनसुकै भाइबहिनीले यस शुभअवसरमा एक–अर्कालाई आमन्त्रित गरेर यसरी प्रेमभावले भोजन गराएका खण्डमा कसैलाई पनि कुनै किसिमको क्लेश हुनेछैन भनी बरदान दिएका थिए ।
भैयादूजको तयारी
मिथिलामा प्रत्येक दिदीबहिनीले भ्रातृद्वितीयाका अवसरमा गाईको गोबरले घरआँगन लिपपोत गरेर सफासुग्घर पार्ने गर्छन् । पिर्कालाई पानीले धोएर सफा गरिन्छ । चामलको पीठो र सिन्दूरबाट अरिपनलाई सुशोभित गरिन्छ । पिठार (चामलको पीठो) बाट पाँचवटा सर्पसङ्कुल आकृतियुक्त अरिपन बनाइन्छ र बिचमा सिन्दूरको लेप लगाइन्छ ।
संस्कृतिविद् रामदयाल राकेशका अनुसार कहिलेकाहीँ पिर्कामाथि चामलको पीठोबाट षट्दल कमल पनि बनाइन्छ । पिर्का अगाडि कमल फूलको आसन राखिन्छ । त्यसको नजिकमा जल, फूल, सिन्दूर, छवटा पानका पात, छवटा सिङ्गा सुपारी, सानो सुकमेल, ठुलो सुकमेल र जाइफल राखिन्छ ।
दाजुभाइ पुग्ने बित्तिकै दिदीबहिनीले दाजुभाइका खुट्टा धुन्छन् । त्यसपछि अरिपनबाट अलङ्कृत पिर्कामाथि दाजुभाइ बस्दछन् । आफ्नो साडीको आँचल समातेर दिदीबहिनीले आफ्ना दाजुभाइका दुवै हातमा पिठार–सिन्दूर लगाइदिन्छन् ।
कुनै कुनै दिदीबहिनीले खुट्टामा पनि लगाइदिन्छन् । हातमा मह, गाईको घ्यू र चन्दन लगाइदिन्छन् । तत्पश्चात् भाइका हत्केलामा पानको पात, सुपारी, फूल, जाईफल आदि राखेर बहिनीले ‘यमुना नोतलनि यमके, हम नौतै छी अपन (दाजु भाइको नाम लिनुपर्छ) भाइ कै’ भन्दछन् । यो प्रक्रिया तीन पटक गरिन्छ ।
त्यसपछि जलले हातखुट्टा धोएर रुमालले पुछिदिन्छन् । टीका लगाइदिन्छन् अनि मखनको खीर खुवाउँछन् । दाजुभाइले आफ्नो गच्छेअनुसार दिदीबहिनीलाई उपहार दिन्छन् । उपहारमा साडी, गरगहना, फलफूल र रुपैयाँ–पैसा पनि हुन सक्छ । दिदीबहिनीले पनि उपहारस्वरूप दाजुभाइलाई नयाँ धोती दिने चलन छ ।
यदि दाजुभाइ आफ्नो घरबाट बहिनीलाई भेट्न गएका छन् भने घरैबाट कोसेलीस्वरूप सबैथोकको प्रबन्ध गरेर जान्छन् । त्यसलाई लोकभाषामा भार भन्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सहकारी ठगी : पूर्वडीआईजी छविलाल जोशीलाई काठमाडौं ल्याएर दिनभर लिइयो बयान, अब पालो रविको
-
पिठो तथा इन्धनको अभावले गाजामा बेकरीसमेत बन्द हुने अवस्थामा : राष्ट्रसङ्घ
-
नेतन्याहू, ग्यालेन्ट र डिफविरुद्ध आइसिसीको पक्राउ पुर्जी जारी
-
चिया बगानको जग्गा ३३ वर्षपछि सरकारको स्वामित्वमा
-
बुद्धिराज गुरुङ र केदार ढकाललाई एआईजीमा बढुवा गर्ने निर्णय
-
विपद् जोखिम न्यूनीकरण प्राधिकरणको कार्यकारी प्रमुख नियुक्तिका लागि सिफारिस समिति गठन