आइतबार, ०७ पुस २०८१
ताजा लोकप्रिय

संस्मरण : आमा ब्रह्मलीन हुँदाको त्यो दुखान्त

मङ्गलबार, २८ कात्तिक २०८०, ११ : ३५
मङ्गलबार, २८ कात्तिक २०८०

सायद म १५ वर्षको थिएँ, जब मैले दुर्गादेवी नेपालसँग पहिलो पटक भेट्ने अवसर पाएको थिएँ । त्यसताका उहाँलाई सबैले ‘आमा’ भनेर सम्बोधन गर्ने भएकाले मैले पनि उहाँलाई निर्धक्क भएर ‘आमा’ भनेर बोलाउन थालेँ । आमा (बगेको खोलाकी सर्जक) सँगको मेरो पहिलो घत लाग्दो स्मृति उहाँकी जेठी छोरी इन्दिरा प्रसाईको भान्छाघरमा भएको थियो । त्यतिखेर आमा प्रेसरकुकरमा घ्यू हालेर मकै भुट्दै हुनुहुन्थ्यो । मैले त्यसरी प्रेसरकुकरमा मकै फुलाएको कहिल्यै नदेखेकाले आमासँग त्यसबारे जिज्ञासा राखेँ । उहाँले व्याख्या गर्दै मकै फुलाउने क्रम जारी गरिरहनुभयो । हेर्दाहेर्दै मकैहरू फुलेर प्रेसरकुकरबाहिर उफ्रन थाले र आमाले हत्तपत्त बिर्काेले कुकर छोपिदिनुभयो । त्यो घटना देखेर म हाँस्न थालेँ, अनि मेरी प्यारी आमा पनि मसँगसँगै हाँस्न थालिन् ।

आमाको कोखमा बास बसेका चार सन्तान छन्– तीन छोरी र एक छोरा । त्यसमाथि उहाँले एउटा धर्मपुत्र आफ्नै कान्छो छोरा मानी बिछिट्टै मायाप्रेमले पालेकी थिइन् । मलाई उहाँको कान्छो छोरो धर्मपुत्र हो भनेर पहिले पत्तो थिएन । एक दिन कान्छो छोरो धर्मपुत्र भनेर थाहा पाएपछि म तीनछक्क परेँ किनभने मैले कहिल्यै पनि कल्पना गरेको थिइनँ, एउटा धर्मपुत्रलाई त्यतिसम्म मायाको वर्षा हुन सक्छ भनेर ।

पहिले आमाको नाममा सम्पत्ति हुँदा उहाँ छोराहरूसँग आफ्नो कर्मथलो विराटनगरको पाञ्चालीमा खुसीसाथ जीवनयापन गरेको मेरो बुझाइ थियो । म पनि २० वर्षको उमेरदेखि विदेशमा पढ्न गएको हुँदा आमा र मेरो दुईचार वर्षमा एक चोटि जस्तो मात्र भेट हुने गथ्र्याे । तर आमा हामीलाई भेट्न काठमाडौँ कहिल्यै खाली हात आउनुभएन । कोसेलीका रूपमा विराटनगरको प्रचलित मिल्ककेक कहिल्यै टुटाउनु भएन । अनि म काठमाडौँमा छु भनेर थाहा पाएपछि मलाई लुगाकपडा पनि ल्याइदिनुहुन्थ्यो । आमा काठमाडौँमा रहँदा आफ्नी जेठी छोरीको भान्साघरमा विभिन्न परिकारका स्वादिलो खानेकुरा बनाएर हामी नातिनातिनीहरूलाई दिनुहुन्थ्यो । तीमध्ये मलाई चाहिँ मनपर्ने आमाले बनाउनुभएको सेलरोटी, बटारे र गुजिया थियो । अनि आमाको अर्काे विशेषता थियो खसीको पक्कु ! आमाको हात ठूलो भएको हुनाले ती परिकारहरू अघाउन्जेल खान पाइन्थ्यो । फेरि विराटनगर फिर्ने दिन आमाले मेरो हत्केलामा पैसा पनि थमाइदिनुहुन्थ्यो । त्यसताका हाम्रो परिवारिक आर्थिक अवस्था कमजोर भएको हुनाले म आमा आउने खबरले पनि खुसी हुन्थेँ र जाने खबरले पनि ! तर अहिले मेरी प्यारी आमा यस निष्ठुरी संसारमा कहिल्यै नफिर्ने गरी बिदा भइन् ।

समय बित्दै गयो र बिस्तारै आमालाई बुढ्यौलीले छुन थाल्यो । धनसम्पत्तिको बाँडफाँटपछि ती दुई छोरा भनाउँदाहरू आमाबाट पन्छिन थाले अनि आखिरमा आमाको मुटु छियाछिया पारी छुट्टै बस्न थाले । बसाइँ सरेपछि उनीहरू ती बूढी आमालाई भेट्न त के हेर्न पनि चाहाँदैन थिए; मानौँ कि आमाका ती छोराहरू नभई कट्टर दुश्मनका सन्तान हुन् । आमा अझ शिथिल हुन थालेपछि विराटनगर निवासी माइली छोरीका छोरा अथवा जेठो नातिको घरमा उहाँको बचेखुचेको जिउनी लगभग एक करोड रुपियाँ जेठो नातिलाई दिने सर्तमा एक्ली र निरीह आमालाई बस्न पु¥याइयो । जेठो नातिले पनि पैसा हात पारेर केही समय आमालाई आफ्नो घरमा राख्यो र अलि पछि उसलाई ‘पढ्नु छ, जाँच आउँदै छ’ भन्दै के–के बहाना बनाएर कसैसँग सल्लाह नै नगरी आमालाई सामान पठाएको जस्तो एउटा स्याहार्ने केटीको भरमा आमाकी छोरी इन्दिरा प्रसाईको घर, अर्थात् हाम्रो घरमा पठाइदियो ।

आमालाई एयरपोर्टबाट घर हाम्रो गाडीमा ल्याइएको थियो । जब मैले आमालाई देखेँ, उहाँको अवस्था दयनीय थियो । हाड र छालाले भरिएकी आमालाई मैले बिस्तारै गाडीबाट बोकेर ह्विलचियरमा बसाइदिएँ । आमाको हालत कति नाजुक थियो भने उहाँलाई समात्दा पनि दुख्थ्यो । आमाको त्यो अवस्था देखेर आमाका दुई छोरा र जेठो नातिप्रति मेरो घृणा बढ्नु कुनै अनौठो कुरो थिएन । जे–जस्तो अवस्था भए पनि हाम्रो घर ल्याएपछि आमाको खुट्टा भुइँमा टेकाउने उनकी जेठी छोरीले प्रण गरिन्, अनि सुरु भयो आमाको चाकर ! चाकर यस्तो कि मानिलिउँ आमा असी नाघेकी वृद्धा नभई आठमहिने बच्चा हुन् । खुवाउने पियाउनेदेखि लिएर दिनहुँ जिउ पुस्ने, दिसापिसाब गराएर आफैँले धोइदिने, अनि के के हो के के ! सबै लेख्न थालेँ भने त एउटा अनुच्छेद छुट्टै हुन्छ । जे होस् मेरो वृद्धावस्था त्यस्तो चाकरमा बित्यो र मेरी छोरीले पनि आमाकी जेठी छोरीले आमालाई माया गरेको जस्तै मलाई माया गरिन् भने म आफूलाई संसारको सबैभन्दा भाग्यमानी पिताहरूमध्ये एक ठान्ने छु ।

दिनहरू बित्दै गए र ठूली छोरीको चाकरले आमाको शरीरमा रगत र मासु पलाउँदै गयो । हेर्दाहेर्दै आमा त हिँड्न थाल्नुभयो । आमा कतिसम्म बलियो हुनुभएको थियो भने एक साँझ उहाँ आफ्नो कोठामा ठमठमी नाच्नु पनि भयो र त्यो दृश्य देखेपछि मेरो हर्षले कञ्चनजङ्घाको चुली चुमेको थियो । तर मेरो त्यो खुसी धेरै समयसम्म टिक्न सकेन किनकि त्यसको केही हप्तालगत्तै आमा फेरि शिथिल हुन थाल्नुभयो । अनि बिस्तारै बिस्तारै आमा उठ्न, बस्न, हलचल केही गर्न नसक्ने अवस्थामा पुग्नुभयो । दिन–हप्ता–महिनाहरू बिते अनि बिछ्यौनामा ढलेकी आमालाई फेरि स्याहार्ने कार्य उनका सन्तानमध्ये जेठी छोरीको थाप्लोमा पर्याे । जस्तोसुकै अवस्थामा पनि आमाप्रतिको कर्तव्यमा उनकी जेठी छोरी कहिल्यै चुकिनन् र आमालाई गर्ने कुनै पनि कुरामा झर्काे मानिनन् । कस्तोसम्म भने उनी आमालाई छोरीजस्तो गर्थिन् र कहिलेकाहीँ गिज्याएर ‘तिमी’, ‘कान्छी नानी’, ‘छोरी’ इत्यादि शब्दहरूले सम्बोधन पनि गर्थिन् । त्यस्ता सम्बोधनले आमा मक्ख पर्नुहुन्थ्यो अनि ती क्षणहरूमा मेरो मुहार उज्यालो हुन्थ्यो र ओठहरू तन्केका हुन्थे । आमा जस्तो हालतमा भए पनि ती तीन घरतीका बोझहरू आमालाई भेट्न आएनन् । एक मनले तिनीहरू आमालाई भेट्न नआउँदा म खुसी पनि हुन्थेँ किनभने जब जब म आमालाई उहाँको कोठामा भेट्न जान्थेँ म उहाँको दुवै पाउ ढोग्थेँ र उहाँले आफ्नो छोरानातिलाई दिने सबै आशीर्वाद पनि मलाई खप्टेर दिनुहुन्थ्यो, अनि म आफूलाई भाग्यशाली ठान्थेँ ।

आमाको जीवनको अन्तिम चरणतिर म संयोगले पाथीभरा माताको दर्शन गर्न ताप्लेजुङ जिल्ला पुगेको थिएँ । त्यतिखेर आमाको अवस्था ज्यादै नाजुक थियो । उहाँको जिउ साह्रै दुख्थ्यो अनि कहिलेकाहीँ दुखाइको पीडा सहन नसकेर उहाँ रुने पनि गर्नुहुन्थ्यो । म ताप्लेजुङ छँदा आमाकी जेठी छोरीले फोनमा भन्नुभयो— ‘झट्टै काठमाडौँ आऊ, आमाको हालत निकै नै नाजुक छ, कुनै पनि बेला बित्न सक्नुहुन्छ ।’ अनि मैले त्यसको जवाफ फर्काएँ– ‘नआत्तिस्यो मामु ! म काठमाडौँ नआई, आमालाई नढोगी, उहाँलाई केही हुनेवाला छैन ।’ पाथीभरा माताको दर्शन गरेर घर आएपछि मैले आमालाई देवीको टीका–फूल लगाइदिई मुखमा प्रसाद हालेर आमा नजिकै गएर भनेँ– ‘आमा ! आमाको बाँकी जीवन सजिलै बितोस् । आमाको शरीर आजबाट नदुखोस् ।’ त्यसपछि पाथीभरा माताको प्रतापले आमाको गाथ दुख्न कम भएको मैले महसुस गरेँ किनकि त्यसपछि आमा बोल्न छोड्नुभयो अनि ‘दुख्यो’ पनि भन्न छोड्नुभयो । क्रमशः आमाले स्वास लिने गति कम हुँदै गयो; कतिसम्म भने उहाँको जीवनको अन्तिम हप्ता उहाँलाई अक्सिजन चढाउनुप¥यो । पाथीभरा माताको प्रसाद ग्रहण गरेको आठौँ दिनमा आमा बित्नुभएको थियो । त्यस दिन, उहाँको सास जान केही समय अघि हाम्रो घरमा ती तीन मुटु नभएका कुलङ्गारहरू आमालाई हेर्न आएका थिए । अनि जेठो छोरोले आमाको मृत्युशय्याअघि उहाँको शिर सुम्सुम्याउँदै भन्यो– ‘आमा ! मलाई चिन्नुभयो, म शोभन ।’ त्यतिखेर आमाका दुवै आँखा बन्द थिए, नाकमा अक्सिजनको पाइप घुसाइएको थियो र मुख आधा खुला थियो; मानौँ कि आमालाई के भइरहेको छ केही चेत थिएन । त्यो दृश्यले मलाई यति प्रभावित बनायो कि मैले त्यस घटनालाई भिडियो खिचेर कैद गरेँ र त्यो भिडियो मसँग आजको दिनसम्म सुरक्षित छ । जेठो छोराले आमाप्रति त्यस्तो प्रेम र सद्भाव देखाउँदा मलाई मनमा काउकुती लाग्यो र मस्तिष्कमा गोहीको आँसुको स्मरण भयो ।

Duraga Devi & KJP

त्यस रोमाञ्चकारी नाटकको केही समयपछि नै आमा ब्रह्माण्डमा लीन हुनुभयो । उहाँलाई त्यसपछि आफ्नो कोठाबाट हाम्रो घरको आँगनमा राखियो र त्यस रात आठ बजेतिर आमालाई आर्यघाट पु¥याइयो । आमाको जीवनको पछिल्लो चरणतिर उहाँका छोराहरूले बेवास्ता गरेको हुँदा र सबै जिम्मेवारी उहाँकी जेठी छोरीले बोकेकी हुँदा आमालाई दागबत्ती दिने उहाँकी जेठी छोरीले निधो गरिन् । त्यस निर्णयलाई नकार्न दाउरामा निधाएकी र फूलले सजिएकी आमासामु कोही आउन सकेनन् र आमाका कुपुत्रहरूले भिजेको मुसा जस्तै लुत्रुक्क परेर तिनका जेठी दिदीको पछि पछि लागी दागबत्तीको कार्य सम्पन्न गरे । ‘बाँच्नु मात्र पर्छ, के के देख्न पाइन्छ के के’ भन्थे, हो रहेछ ! छोराहरू हुँदाहुँदै छोरीले दागबत्ती दिएको मेरो जीवनको चाहिँ पहिलो दृश्यात्मक घटना हो र सायद अन्तिम पनि त्यही हुनेछ । आमालाई मैले मनभित्रबाट हजुरआमा मानेको हुँदा उहाँ बितेपछि मैले मेरो कपाल खौरने निर्णय गरेँ । तर आर्यघाटमा उहाँका छोराहरू कसैले पनि कपाल नखौरने भन्ने खबर सुनियो । फेरि मेरा घरका सदस्यहरूबाट पनि ‘छोराहरूले कपाल नखौरेका, तिमीले खौरनु उचित होला र ?’ भनेर प्रश्न आयो । मलाई पनि छोराहरूले नखौरेको मैले खौरँदा ‘सबैलाई देखावटी लाग्ला कि ?’ भनेर नखौरी घर फिरेँ । अनि त्यस रात बिच्छ्यौनामा पसेपछि मेरो मनमा एउटा प्रश्न गुन्जिरह्यो– ‘ती तीन नरपशुहरूलाई त्यस रात कसरी निद्रा लाग्दो हो ?’

साँच्चै भन्नुपर्दा आमा बित्दा म एक मनले खुसी थिएँ किनकि उहाँले यस पापी संसारबाट मुक्ति पाउनुभयो । त्यसैले होला आमा बिते लगत्तै म रोइनँ पनि । तर आमा बितेको भोलिपल्ट बिहान मलाई साह्रै चित्त दुख्यो किनकि एउटा आमा बित्दा उहाँका लागि कपाल खौरने कोही रहेनछन् भन्ने विषयले म बेजोड पिरोलिएँ । यस्तो पिरोलिएँ कि हुन थाले अश्रुवर्षा ! अनि आमालाई सम्झँदै मैले भने– ‘आमा ! म खौरन्छु आमाको लागि कपाल !’ त्यसपछि कपाल खौरेर नुवाई–धुवाई गरी घरका सदस्यहरूसँग भेट्ने क्रममा आमाका जेठा ज्वाइँ नरेन्द्रराज प्रसाईले पनि कपाल खौरेको देखेँ । साँच्चै भन्ने हो भने आमा बितेको भोलिपल्ट बिहानदेखि हाम्रो घर शोकाकुल थियो । उहाँको निधन भएको दोस्रो दिनदेखि बाह्रौँ दिनसम्म म हरेक बिहान हाम्रो आँगनमा राखिएको आमाको तस्बिरमा दियो बाल्थेँ, धूपले पुज्थेँ अनि हाम्रो बगैँचामा फुलेका फूलहरू आमाको शिरमा राखिदिन्थेँ र भन्थेँ– ‘आमाको आत्मा स्वर्गमा जाओस्, आमाको आत्माले मुक्ति पाओस्, आमाको आत्माले शान्ति पाओस् ।’

“आमा ! तिमी अहिले यस जगतमा नभए पनि यस्तै तीतामीठा सम्झनाहरू लिएर जिन्दगीको गोरेटोमा हिँड्दै छु । तिमीले दिएको आशीर्वादहरूको ध्वनि यस ब्रह्माण्डमा सदैव गुन्जनेछ र ती आशिषहरूको प्रतापले म मेरो जीवनको गन्तव्यमा पुग्ने छु भन्ने कुराले म विश्वस्त छु । तिम्रो जीवनकालको अन्तिम चरण हाम्रो घरमा बित्नु हाम्रो घर र परिवारको भाग्य हो भन्ने मेरो बुझाइ छ । यस कलियुगमा गरिएको कर्मको फल यसै युगमा पाइने भएकाले तिम्रो आत्माले पनि एक दिन न्याय अवश्य पाउने छ । फेरि पनि तिम्रो आत्माको चीर शान्तिको कामना गर्दै मेरो जीवनकाल सकिएपछि तिम्रो पाउ ढोग्न आउने अठोटको साथ बिदा हुन्छु । त्यतिन्जेलसम्मको लागि मलाई आशीर्वाद वर्षाउँदै गर्नु है, मेरी प्यारी आमा ! तिमीलाई मुटुभरिको माया !”

डा. प्रसाईले अमेरिकाबाट फिजियोलोजी अन्तर्गत माइटोकोन्डिर्यल डीएनएमा विद्यावारिधि गरेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

डा. कञ्चनजङ्घा प्रसाई
डा. कञ्चनजङ्घा प्रसाई
लेखकबाट थप