मधेसी समाजमा ललिता विद्रोहीको विद्रोह
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालका केन्द्रीय सदस्य एवं मधेस प्रदेश सभा सदस्य ललिता विद्रोही (दास)ले समाजमा साँच्चै नाम अनुसारको विद्रोह गरेकी छन् ।
उनी आफ्नो आमाको दाहसंस्कारमा सहभागीमात्र भइनन्, आमाको पार्थिव शरीरलाई काँधमा बोकेर घाटसम्म लगेकी थिइन् । उनी र उनका दाजुले एकसाथ आमालाई दागबत्ती दिएका थिए । उनी अहिले काजक्रियामा दाइसँगै बसेकी छन् ।
महिलाका लागि यसरी पार्थिव शरीर बोकेर घाटमा जान मधेसी समाजमा बर्जित छ । तर सिरहा, अर्नमा बेल्दरहीकी सांसद ललिताले त्यसका लागि विद्रोह गरिन् । उनको त्यो विद्रोहलाई लिएर कतिपय ठाउँमा आलोचना भइरहेको छ भने कतिपय ठाउँमा प्रशंसा भइरहेको छ ।
जुन समाजमा चेलीबेटी, बुहारीलाई घरबाट निस्कने अनुमति हुँदैन, त्यहीँ ललिताजस्ता महिला समाजमा विद्रोह गरेर आमा–बुबाको दाहसंस्कारमा सहभागी हुन थालेका छन् ।
ललिता दास पहिलादेखि नै विद्रोही स्वभावकी थिइन् । समाजमा हुने अनैतिक कार्यको उनी जहिल्यै विद्रोह गर्थिन् । समाजमा कसैमाथि कुनै अन्याय हुँदा त्यसको न्यायका लागि अघि सर्थिन् ।
उनी आफ्नो घरमा मात्र होइन, बिहे गरेर सिरहाको लहान गए पनि समाजका लागि केही न केही गर्न थालिन् । महिलामाथि हुने हिंसा हत्याको बारेमा अवाज उठाउन थालिन् । बिस्तारै राजनीति गर्न थालेकी उनी अहिले प्रदेश सभा सदस्य छिन् ।
यसरी आमा–बुबालाई दागबत्ती दिने उनी पहिलो होइन । तराई मधेसमा धेरै ठाउँमा अब छोरीले पनि दागबत्ती दिन थालेका छन् ।
छोरा नभएको अवस्थामा छोरीले दागबत्ती दिएको घटना सिरहालगायत धनुषा, महोत्तरी, सर्लाहीतिर देखिन थालेका छन् । तर छोरा हुँदाहुँदै छोरीले दागबत्ती दिने र काजक्रियामा बसेर ललिताले अलग उदाहरण पेस गरेकी छन् ।
समाजिक अभियन्ता रामरिझन यादवले ललिता दास तत्माले गरेको विद्रोह यसअघि मधेसी समाजमा नभएको बताए । उनले भने, ‘यसअघि मेरो आमाको निधन हुँदा म, मेरा भाइ र बहिनीहरुले संयुक्त रुपमा दागबत्ती दिएका थियौँ तर बहिनीहरु काजक्रियामा बसेका थिएनन् । तर ललिताले दाहसंस्कारदेखि लिएर हरेक काजक्रियामा आफैँ सहभागी हुनुभएको छ । यो मधेसी समाजमा एउटा ठुलो विद्रोह हो ।’
जुन समाजमा छोरीलाई सन्तान नै सम्झदैनन्, त्यो समाजमा छोरीले छोरासरह अगाडि बढ्नुलाई पुरुष प्रधान समाजले सहजै स्वीकार गर्दैन । त्यसका लागि ललिता जस्तै अन्य छोरीले पनि विद्रोह गर्नुपर्ने अभियन्ता यादवले बताए ।
तराई मधेसमा महिलाको क्षेत्रमा काम गर्दैै आएकी गुञ्जा रायको धारणा पनि त्यस्तै छ । ‘छोराछोरी बराबर हुन् भने सामाजिक कार्यमा पनि बराबरको हकदार हुनुपर्छ, पितृसतात्मक समाजमा जहाँ छोरीलाई घरमा राख्छन्, घुम्टोभित्रै बस्न भन्छन्, त्यहाँ आमा–बुबाको दाहसंस्कार र काजक्रियामा सहाभागी हुनु साँच्चै एक प्रकारको विद्रोह नै हो,’ उनले भनिन् ।
छोरा होस् या छोरी एउटै प्रक्रियाबाट जन्मिन्छन् भने जन्मिसकेपछि लिङ्गको आधारमा अलग व्यवहार हुन नहुने उनको भनाइ छ । उनले भनिन्, ‘पहिला जसको घरमा छोरा हुँदैनथ्यो, आमाबुबाको मृत्युपछि दागवत्ती दिनका लागि आफन्त खोजिन्थ्यो, दागबत्ती दिनेले सम्पत्तिका लागि बार्गेनिङ गर्दथ्यो । तर अहिले त्यो हराउँदै गइरहेको छ ।’
दाससंस्कारदेखि लिएर अन्य काजक्रियामा छोरासरह छोरीलाई पनि सहभागी गराउनुपर्ने बताउँछिन् राय ।
२०७६ सालमा धनुषाको सबैला नगरपालिकामा रवियादेवीले आफ्ना श्रीमान रामनारायण यादवको निधनपछि दागबत्ती दिएकी थिइन् । त्यतिबेला उनको निकै चर्चा भएको थियो ।
रामनारायणको छोरा थिएनन् । छोरीमात्र थिए । रामनारायणको पार्थिव शरीरलाई श्रीमती र छोरीहरुले काँधमा बोकेर घाटसम्म लगेका थिए । श्रीम रवियादेवीले दागबत्ती दिएकी थिइन् । छोरा नभएपछि छोरीले दागबत्ती दिने चलन पहाडी समुदायमा देखिएको थियो तर अब तराई मधेसमा पनि यो क्रम विस्तार भएको छ ।
मुखाग्नि दिनका लागि पनि छोरा चाहिन्छ भन्ने मान्यता अहिले पनि तराई मधेसमा व्याप्त छन् । कतिपयले त गर्भमै लिङ्ग पहिचान गरी छोरी भएको खण्डमा गर्भपतनसमेत गराउने गर्दछन् । यस्तो अवस्थामा छोरीले बाबुआमालाई दागबत्ती दिनु र काजकिरिया गरेका घटना मधेसी समाजमा स्वाभाविक रुपमा विद्रोह भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आइतबार उपनिर्वाचन : आयोगद्वारा ३ बुँदे निर्देशन जारी
-
हिलोमा फुलेको फूल : बालबालिकाका लागि वरिष्ठ कलाकार ‘कान्छा कुमार’को कथा
-
तस्बिरमा यस्तो देखियो जनकपुरको जित, तस्बिरहरू
-
लागु औषधसहित विभिन्न स्थानबाट पाँच जना पक्राउ
-
लुम्बिनीमा एमाले–कांग्रेस संयन्त्र बैठक : के–के भए निर्णय ?
-
रौतहटमा उपनिर्वाचन : ३ वडामा सवारी साधन र आवागमनमा रोक