शनिबार, ०१ मङ्सिर २०८१
ताजा लोकप्रिय

पुर्खाले गाईलाई किन महत्त्वपूर्ण सम्पत्तिका रूपमा माने ?

सोमबार, २७ कात्तिक २०८०, १८ : ४०
सोमबार, २७ कात्तिक २०८०

काठमाडौँ । ऋग्वेदमा गाईलाई लिएर स्तुति प्रशस्तै आएका छन् । ऋग्वेदको दोस्रो मण्डलको ३५औँ सूक्तमा गाईको कामना गरिएको छ, ‘स्व आ दमे सुदुधा पस्य धेनुः’ (ऋग्वेद २÷३५÷७) । अर्थात् आफ्नो घरमा दुधालु गाई होस् । यस्तै, अथर्ववेदमा गाईलाई सम्पत्तिको भण्डार मानिएको छ, ‘धेनुं सदनं रयीणाम्’ (अथर्ववेद ११.१.३४) । 

पशुपालन युगमा र कृषियुग सुई भइसकेपछि गाई धनको महत्त्वपूर्ण स्रोत हुन आइपुग्यो । दूध, बाच्छाबाच्छी र मल उत्पादन हुने हुँदा हाम्रा पुर्खाले गाईलाई पशुधनमध्ये प्रमुख धन माने । कृषिकर्म गर्नका लागि मात्रै होइन, बारम्बार भइरहने युद्ध वा आक्रमणको प्रतिकार गर्न, वा कमजोर राज्यमाथि धावा बोल्न पनि मानिस बलियो हुनुपथ्र्यो, जसका लागि गाईको दूध वा घिउ महत्त्वपूर्ण खाद्यपदार्थ बन्यो । मानिसले घरपालुवा बनाएर पौष्टिक आहारा दिँदा गाईले पनि बढी दूध दिन थाले । त्यसैले हाम्रा पुर्खाले गाईलाई महत्त्वपूर्ण सम्पत्तिका रूपमा लिँदै आए । 

प्राचीन समयमा मानिसहरू खेती गर्न खासगरी अकासेपानीको भर पर्थे । पानी परोस्, खेती सप्रियोस् भनी मानिसले अलौकिक शक्ति वा देवीदेवतासँग प्रार्थना गर्न थाले, गर्दै आए । यसरी नै तन्त्र–मन्त्र र पूजा अनुष्ठानका विधि जन्मिए र हुर्किए । बलिप्रथा प्रबल हुँदै आए । 

खासगरी हिन्दू समाजमा खेतीका लागि महत्त्वपूर्ण भूमिका निभाउने गाईगोरुप्रति सम्मानभाव ल्याउन पूजा गर्ने प्रचलन सुरु भयो । कृषि उत्पादनमा महत्त्वपूर्ण भूमिका निभाउने गाईगोरु र समग्र प्रकृतिको पूजा–अनुष्ठानको पर्व मनाइनु अवश्य नै सुन्दर पक्ष हो । गाई पशुधनमध्ये प्रमुख भएकाले यसलाई दानमा समेत प्रयोग गर्न थालियो । दान पाउनेमा भने प्रायः ब्राह्मण नै हुन्थे, ब्राह्मणलाई दान दिँदा धर्म हुन्छ भन्ने खालका भ्रम छरिएका थिए । 

अनिकालका बेला मानिसले गाईगोरुको मासु खाने, बलिमै पनि प्रयोग गर्ने भएकाले वैदिक कालदेखि नै गोवधलाई रोक्न खोजेको पाइन्छ । ऋग्वेदको प्रथम मण्डल, ११४ सूक्त, १०औँ ऋचामा गोवध गर्न नहुने उल्लेख छ । यस्तै, मनुस्मृतिको ११औँ अध्यायको ५९औँ श्लोकले ‘गाई मार्नु, जाति र कर्मबाट दूषित मानिसको यज्ञ गराउनु, परस्त्रीगमन गर्नु आदि’लाई उपपातक (पाप) मानेको छ । 

प्राचीनकालमा गोरुको बलि दिइन्थ्यो । पाण्डुरंग वामन काणेको पुस्तक ‘धर्मशास्त्र का इतिहास– १’ अनुसार, सौत्रामणि यज्ञमा मदिराको हवन र गोरुको बलि दिइन्थ्यो । यो पुस्तक भन्छ, ‘चार दिन लाग्ने यस कार्यमा अन्तिम दिन दूध तथा मदिराको तीन–तीन प्याला अश्विनी, सरस्वती एवं इन्द्रलाई समर्पित गरिन्थ्यो । यस्तै, अश्विनीका लागि खैरो रङको बाख्रा, सरस्वतीका लागि भेडा र इन्द्र सुत्रामाका लागि एक गोरु बलि दिइन्थ्यो ।’

400193079_1093009585199916_6574508526008885968_n (1)
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप