खुल्यो कोरला नाका, उपल्लो मुस्ताङवासीमा खुसीयाली

पोखरा । २०७६ चैतदेखि ठप्प रहेको मुस्ताङस्थित कोरला नाका सोमबारदेखि खुलेको छ । नाका खुलेसँगै उत्तरी मुस्ताङका नागरिकहरूमा खुसीयाली छाएको छ । उनीहरू सोमबार नै सरकारले वितरण गरेको सीमा पार पास देखाएर चीनतर्फ गएका छन् ।
जिल्ला प्रशासन कार्यालय मुस्ताङले १ हजार हाराहारी सीमा पार पास वितरण गरेको छ । केही पास अझै वितरणको चरणमा रहेको प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिए ।
२०७६ अघि वर्षमा २ पटक कोरला नाका नजिकै मेला लाग्ने गर्थ्यो । त्यही मेलामा खरिद गरिएका सामान बेचेर मुस्ताङीले दैनिकी चलाउँथे । तर कोरोना सङ्क्रमणलाई देखाएर नाका र मेला दुवै बन्द भएपछि स्थानीयहरू चिन्तित थिए ।
पटक पटक नाका खोल्न सरकारसँग उनीहरूको आग्रह थियो । नाका खुलेसँगै पूर्ववत् मेला सञ्चालन हुने विश्वास मुस्ताङीको छ ।
यो नाकाबाट खासगरी पीठो, खुर्सानी, बिजुलीका सामान, पेय पदार्थ लगायतको कारोबार हुन्छ । चाडबाडको समयमा भेडा च्याङ्ग्रा पनि आयात निर्यात गरिन्छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चीन भ्रमणमा गएका बेला नाका खोल्ने सहमति भएको थियो । सोहीअनुसार नाका जोडिएका पालिकाका नागरिकलाई पास वितरण गरिएको हो । लगत्तै प्रचण्डले कोरला नाकाको निरीक्षण पनि गरे ।
२०५० सम्म नेपाल र चीनको सिमानामा तारबार थिएन । चिनियाँहरू लोमान्थाङमै झरेर व्यापार गर्थे । चैतदेखि कात्तिकसम्म लोमान्थाङ गाउँमा बसेर व्यापार हुन्थ्यो । ५० सालतिर मेला नेचुङ सर्यो ।
घरायसी सामग्री, फर्निचर लगायत सामानको बिक्री बढी हुन्थ्यो । त्यतिबेला मोटरसाइकलहरू पनि किनबेच भएको स्थानीयहरू बताउँछन् । त्यतिबेला नै खरिद गरिएका मोटरसाइकलहरू अहिले पनि चलिरहेका छन् ।
लोमान्थाङ र लो घेकर क्षेत्रमा २ हजार हाराहारी चिनियाँ मोटरसाइकल रहेको बताइन्छ । तत्कालीन समयमा लोमान्थाङ क्षेत्रमा व्यापार गर्न चिनियाँकै सहयोगमा कोरलादेखि लोमान्थाङसम्म सडक खनिएको थियो ।
कोभिडपछि कुनै पनि सामान आयात निर्यात नभएको नेचुङ भन्सारमा कार्यरत टसी न्हुर्वु गुरुङले जानकारी दिए । ‘भन्सारमा कुनै सामान इन्ट्री भएको छैन । यताबाट जाने पनि छैन, उताबाट आउने पनि छैन,’ उनले भने ।
सामानको आयात निर्यात नहुँदा राजश्व सङ्कलन शून्य भएको उनले बताए । सामान्य समयमा वर्षेनी १५ लाखभन्दा बढी राजश्व सङ्कलन हुने गुरुङले जानकारी दिए । नेचुङमा २०२७ सालमा भन्सार खुलेको हो । केही समय सञ्चालन भएपछि भन्सार बन्द भयो । २०७० पछि पुनः निरन्तर चल्न थालेको थियो ।
नाकालाई लक्षित गरेर नै चीन सरकारले भौतिक पूर्वाधार निर्माण गरेको छ । नेपालतर्फ भने खासै संरचना बनाइएको छैन ।
चीनले नाकामै भव्य संरचना बनाउँदा नेपालले चाहिँ बोर्डर आउटरिच पोष्ट (बीओपी) पनि नाका भन्दा १८ किलोमिटर वर नेचुङमा बनाएको छ । कोरला २४ नम्बर पिलरमा पर्छ ।
मुस्ताङमा १८ देखि ३२ नम्बरसम्मको पिलर छ । अन्य पिलरचाहिँ प्रयोगमा छैन । १९ नम्बर पिलरबाट कहिलेकाहीँ चोरी निकासी हुने गरेकोमा अहिले तारबार पछि चोरी निकासी पनि पूर्ण रूपमा बन्द भएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश मुसलमानको इजलासमा
-
न्यायाधीश नियुक्तिमा संसदीय सुनुवाइको औचित्य छैन
-
मिश्र परिवारको सुखद संयोग : बुवाले बारको अध्यक्षमा शपथ लिएको दुई दिनमै छोरी स्ववियु कोषाध्यक्षमा निर्वाचित
-
गण्डकीका सबै अस्पताल स्तरोन्नति गर्ने मन्त्रिपरिषद्को निर्णय
-
शिक्षकहरूको प्रदर्शन आज पनि जारी
-
‘योग्य, सक्षम, इमानदार र स्वतन्त्र मान्छे न्यायाधीश हुने अवस्था रहेन’