आइतबार, ०९ मङ्सिर २०८१
ताजा लोकप्रिय
जसपाभित्र विवाद

समानान्तर कमिटी गठन गर्नेलाई जसपाले कारबाही प्रक्रिया अघि बढायो

सोमबार, २७ कात्तिक २०८०, १४ : ३८
सोमबार, २७ कात्तिक २०८०

काठमाडौँ । जनता समाजवादी पार्टी नेपालले सप्तरी जिल्लामा पार्टीको समानान्तर कमिटी अगाडि बढाउने नेता तथा कार्यकर्तालाई कारबाही गर्ने प्रक्रिया अगाडि बढाएको छ । जसपाका अध्यक्ष उपेन्द्र यादवले सिराहाको लहानमा कात्तिक २२ गते मधेस प्रदेशका नेता तथा कार्यकर्तालाई प्रशिक्षण दिइरहेका बेला सप्तरीमा उमेश यादवको नेतृत्वमा समानान्तर कमिटी गठन भएको थियो ।

जसपाका कार्यकारिणी सदस्य रेणु यादव, केन्द्रीय सदस्य शैलेन्द्र साह लगायतको उपस्थितिमा जिल्ला भेला गरी समानान्तर कमिटी बनाएपछि सो पार्टीका जिल्ला अध्यक्ष केदार यादव नेतृत्वको जिल्ला कमिटीले उनीहरूलाई कारबाहीका लागि सिफारिस गरेको छ ।

यादवले भने, ‘जिल्लाका नेता तथा कार्यकर्तालाई भ्रमित गरेर केही व्यक्तिले अर्को कमिटी गठन गरेका छन्, यो पार्टीको विधान विपरीत काम हो, हामीले जिल्ला कमिटीको बैठकबाट ती नेताहरूलाई कारबाहीका लागि सिफारिस गरेका छौँ ।’

जिल्लाको जिल्ला स्तरमा, गाउँको गाउँ स्तरमा, प्रदेश र सङ्घको त्यही स्तरमा कारबाही गर्ने निर्णय भएको बताउँदै उनले सङ्घ तथा प्रदेश तहका नेतालाई कारबाहीका लागि सिफारिस गरिसकेको बताए । सो पार्टीका नेताहरू उमेश यादव, दयानाथ गोइतलगायतलाई कारबाही गर्ने तयारी भइरहेको छ भने केन्द्रीय नेता रेणु यादव, शैलेन्द्र साह, भीमराज यादव, सत्यदेव यादव, विनोद चौधरीलाई लगायतलाई कारबाहीका लागि केन्द्रमा सिफारिस गरिएको छ । 

यता जसपाका केन्द्रीय सदस्य शैलेन्द्र साहले भने कारबाहीबारे केही थाहा नभएको बताए । ‘कारबाही कसले कसलाई किन गरे थाहा छैन, कसैलाई कारबाही गरेर पार्टीले गल्ती गर्नु हुन्न ।  त्यो कार्यक्रमका आधारमा यदि पार्टीका नेता तथा कार्यकर्ताका कारबाही गर्ने हो भने सप्तरीमा कुनै पनि नेता बाँकी रहँदैनन् ।’

उनले पार्टी अनुशासित र क्रियाशील बनाउनका लागि जिल्ला भेला गरेर अगाडि बढ्नेलाई कारबाही गर्न छाडेर पार्टीलाई कसरी व्यवस्थित गर्ने, सबै नेता तथा कार्यकर्तालाई कसरी समान रूपमा अगाडि बढाउने बारेमा सोच्न नेतृत्वलाई आग्रह गरे ।  सो पार्टीका प्रवक्ता मनिष सुमनले जिल्ला भेला गरेर जुन कमिटी गठन गर्ने काम भयो त्यो अवैधानिक भएको र जिल्ला समितिले कारबाही प्रक्रिया अगाडि बढाएको बताए ।

२०७९ को स्थानीय चुनावदेखि नै सप्तरीमा पार्टीभित्र विवाद देखिँदै आएको छ । उक्त चुनावमा टिकट वितरणदेखि लिएर एक अर्कालाई हराउनेसम्मका काम भएको थियो । प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा पनि त्यस्तै भएको थियो । जसका कारण जसपाका अध्यक्ष उपेन्द्र यादव पनि चुनावमा हार बेहोरेका थिए । त्यो पार्टीभित्रको आन्तरिक विवादको नतिजा भएको बताइन्छ ।

ती चुनावमा एउटा गुटले अर्को गुटलाई हराउने काम भएको गुनासो सप्तरीमा व्याप्त छ । नेता शैलेन्द्र साहले पनि पार्टीभित्रको अन्तरसंघर्षका कारण चुनाव हारेका थिए भने नेतृ रेणु यादवका छोरा अभिषेक यादवे पनि चुनाव हारेको गुनासो छ । उपेन्द्र यादवको हारपछि जिल्लाका थुप्रै नेताहरू कारबाहीमा परेका थिए तर उनले आफ्नो पक्षलाई कुनै कारबाही नभएको समानान्तर कमिटी बनाउने नेता कार्यकर्ताहरूको गुनासो छ ।

पार्टीभित्र आन्तरिक विवाद बढ्दै गएपछि कात्तिक २२ गते असन्तुष्ट पक्षले भेला बोलाएर समानान्तर कमिटी नै गठन गरेको छ ।  सबै जिल्लामा समानान्तर कमिटी गठन गर्ने उनीहरूको तयारी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप