जुवा कहिलेदेखि खेल्न थालियो ?
ऋग्वेदको दसौँ मण्डलको ३४औँ सूक्तभरि जुवाडेको निन्दा गरिएको छ - जुवाडेलाई सासूले हपार्छे । सुन्दर पत्नीले छाडिदिन्छे । जुवाडेलाई कसैले ऋणमा पत्याउँदैन । ...जुवाडे अरुकी सुखी पत्नी र राम्रो घर देखेर दुःखी हुन्छ ।’
ऋग्वेदको दसौँ मण्डलको ४२औँ र ४३औँ सूक्तमा जुवाडे कर्मलाई वीरता र पुरुषार्थसँगै दाँजेको जस्तो पनि लाग्छ । ४२औँ श्लोकको भाव भन्छ, ‘जसरी जुवामा हार्नेले जित्नेलाई खोजेर हराउँछ, त्यसरी नै इन्द्रले आफ्ना विरोधीलाई हराउँछन् ।’ यस्तै ४३औँ श्लोकको भाव छ, ‘जसरी हार्ने जुवाडेले आफूलाई जित्ने अरु जुवाडेलाई खोज्छ, त्यसैगरी धनस्वामी इन्द्रले वर्षाको विरोध गर्ने सूर्यलाई हराउनका लागि खोज्छन् ।’ यहाँ जुवाडेलाई उदाहरणस्वरूप ल्याइएको छ र जुवालाई निन्दा नगरी प्रशंसै गरेको हो कि जस्तो लाग्छ ।
जुवा वा पासाको अर्थ दिने गरी ऋग्वेदमा ‘कितव’ र मनुस्मृतिमा ‘द्यूत’ शब्द आएको छ । मनुस्मृतिको दोस्रो मण्डलको १७९औँ श्लोक छ -
‘द्यूतं च जनवादं च परिवादं तथानृतम् ।
स्त्रीणां च प्रेक्षणालम्भमुपघातं परस्य च ।।’
भावार्थ : जुवा, कलह, निन्दा, छलकपट, स्त्री आशक्ति र परनिन्दाजस्ता कार्य त्याग्नुपर्छ ।
मदनमणि दीक्षितको एउटा आलेख छ, ‘ऋग्वेदमा जुवा निन्दा : अथर्ववेदमा प्रशंसा’, (पुस्तक : हिन्दूसंस्कृतिको परिशीलनः) । दीक्षित लेख्छन्, ‘अक्ष भन्ने वैदिक शब्दका दर्जनौँ अर्थ छन्, तापनि पछिल्ला समयमा त्यसलाई कितव अर्थात् जुवा भन्न थालियो ।’
अथर्ववेदको चौथो काण्डको ३८औँ सूक्तमा जुवालाई प्रशंसा गरिएको पाइन्छ । यस्तै, महाभारतमा द्रौपदीलाई जुवामा थापेको त हामी सबैले सुनेको वा पढेको हुनुपर्छ ।
यी सन्दर्भले देखाउँछन्, हाम्रो समाजमा जुवा प्राचीनकालदेखि नै अस्तित्वमा थियो । ‘वैदिक कालमा जुवा खेलिन्थ्यो । यज्ञकार्यको एउटा अंग नै थियो जुवाको खेल तर जुवा केले खेलिन्थ्यो, बाजीमा के थापिन्थ्यो र लेनदेन कसरी तिरिन्थ्यो भन्नेबारे कतै पनि उल्लेख छैनन् । अथर्ववेदको एक ठाउँमा प्रसंगवश मात्र जुवामा हारेको पशुबारे उल्लेख छ,’ दीक्षितको उपरोक्त आलेख भन्छ, ‘जुवाडीका बोलीमा कोही पनि विश्वास गर्दैनन् भनी ऋग्वेदमा भनेको छ तापनि नल वा युधिष्ठिर (महाभारतका पात्र)ले बोलीद्वारा धनसम्पत्ति थापेकलाई मान्यता दिइएको देखापरेको छ । किनभने तिनीहरू विख्यात व्यक्तित्व थिए ।’
ऋग्वेदको १०औँ अध्यायको ३४औँ सूक्तको भावार्थ यस्तो छ, ‘बिहान घोडा चढेर जुवा खालतिर गएको जुवाडे साँझमा लुगाको अभावमा शीतले व्याकुल भएर आगोको छेउमा सुत्छ ।’ यसले संकेत गर्छ — जुवाडेले आफ्ना पोसाक, आभूषणदेखि वाहन (घोडा) नै जुवाका थापेका हुँदा हुन् ।
जुवामा कानुन र सजाय
जुवाले परिवार, समाज र राज्यलाई नै हानि गर्छ, यो राम्रो आचरण होइन भनी प्राचीनकालदेखि नै चिन्ता गर्न थालियो । त्यसैले वेददेखि हिन्दु समाजको प्राचीन कानुन मनुस्मृतिसम्म जुवाका प्रसंग आएका छन् ।
जुवा वा जुवाडेले भाग्यवादमा विश्वास गर्छ । धनलाई दाउमा राखेर थप धनको आशा देखाउने विभिन्न खेल अस्तित्वमा छन्, जन्मँदै पनि छन् । हामीकहाँ राणाशासकहरू जुवामा रमाएको पढ्न र सुन्न पाइन्छ । जुवाको विकृति बढेरै होला, यसलाई नियन्त्रण गर्न ‘जुवा ऐन २०२०’ ल्याइएको थियो । यस ऐनको परिभाषा थियो, ‘जुवा भन्नाले सम्पत्ति हार्ने वा जित्ने गरी कुनै संयोग आधारमा बाजी थापी खेलेको कुनै खेल सम्झनुपर्छ । तर सो शब्दले सरकारको अनुमति लिई आयोजना गरिएको कुनै सार्वजनिक चिट्ठालाई र मनोरञ्जनका लागि कुनै सार्वजनिक मेला वा प्रदर्शनीमा खेलिएको खेललाई जनाउँदैन ।’
अहिले यो ऐन खारेज भई जुवाजन्य अपराधमा ‘मुलुकी अपराध संहिता, २०७४ को धारा १२५ आकर्षित हुने गर्छ । जसमा स्पष्टीकरण उल्लेख छ, ‘जुवा भन्नाले कुनै संयोगका आधारमा कुनै किसिमको चल वा अचल सम्पत्ति वा प्रतिफल पाउने वा गुमाउने वा हार्ने वा जित्ने गरी बाजी थापी खेल्ने कुनै किसिमको खेल वा प्रक्रिया सम्झनुपर्छ ।’
यस धाराले कुनै सानोतिनो चल सम्पत्ति पाउने वा गुमाउने गरी नेपाल सरकारको स्वीकृति लिई सञ्चालन हुने खेल वा अधिकारप्राप्त अधिकारीको स्वीकृतिमा सञ्चालित चिट्ठालाई जुवा मानेको छैन ।
यस्तै कुनै खेल वा प्रक्रियामा खास पक्षले हारेमा वा जितेमा चल–अचल सम्पत्ति पाउने वा गुमाउने गरी बाजी थापेमा सट्टाबाजीको कसुर गरेको मानिन्छ ।
यस धाराले जुवा खेल्नेलाई मात्रै होइन, जुवा खेलाउनलाई पनि कैद र जरिबानाको व्यवस्था गरेको छ । ‘जुवा खेलाउने’ भन्नाले आफ्नो हकभोग, चलन, स्वामित्व वा जिम्मामा रहेको घर, कोठा, ठाउँ वा सवारी–साधन वा कुनै साधन जुवा खेल्नका लागि उपलब्ध गराई जुवा खेलाउने व्यक्तिलाई सम्झनुपर्छ ।
पहिलोपटक जुवा खेल्ने वा खेलाउनेलाई तीन महिनासम्म कैद वा तीस हजार रुपैयाँसम्म जरिबाना हुन्छ । दोस्रोपटकदेखि जुवा खेल्ने वा खेलाउनेलाई एक वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिबाना र त्यसपछिको कसुरमा पटकैपिच्छे थप तीन महिनासम्म कैद र १० हजार रुपैयाँसम्म जरिबाना हुने व्यवस्था छ ।
गणेश रसिक र हिरण्य भोजपुरेहरूले २०२६ सालतिर गाएको एउटा चर्चित गीत छ -
नखेल्नु जुवा र तास,
धनको नाश जीवनको बनिबास ।
हामी चाडबाडमा मनोरञ्जनका लागि जुवा लेख्ने गर्छौं । कुनै पनि जुवा नखेल्नुस्, लत लाग्न सक्छ । जुवाले कहिल्यै व्यक्ति र समाजको हित गर्दैन । जुवा तपाईंले जित्दा कसैले हारेको हुन्छ, तपाईंले सधैँ जित्ने भन्ने हुँदैन । बेकारमा गुमाउन हामीसँग लुटको धन छ र ?
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्यात बढेपछि घट्यो देशको व्यापार घाटा
-
आज राजधानीमा नेकपाको जनसभा : विप्लवले सम्बोधन गर्ने
-
कर्णालीको विकासका लागि सहकार्य हुनुपर्छ : मुख्यमन्त्री कँडेल
-
पूर्णबहादुरको सारङ्गी : ‘बा’को कथा कि गन्धर्व लोकजीवनको उजागर ?
-
दुई सय ८५ जना कैदीबन्दीलाई ‘प्यारोल’मा राख्न सिफारिस
-
भाटभटेनी र रिन्यु होल्डिङ्सबिच सौर्य विद्युत् उत्पादनको सम्झौता