बिहीबार, ११ पुस २०८१
ताजा लोकप्रिय
देवकोटा जययन्ती

...अनि लेखे देवकोटाले ‘पागल’ कविता

आइतबार, २६ कात्तिक २०८०, १८ : ३७
आइतबार, २६ कात्तिक २०८०

महाकवि लक्ष्मीप्रसाद देवकोटामा विलक्षण प्रतिभा भएको सबै नेपाली समालोचकले भन्ने गर्छन् । कुनै कुराले उनका मनमा छोएपछि त्यसलाई साहित्यिक अभिव्यक्ति दिइहाल्थे । मनको गहिराइबाट आएको साहित्यिक अभिव्यक्तिलाई धेरैले असामान्य ठान्थे । देवकोटाका भावनात्मक गहिराइबाट आएका अभिव्यक्तिलाई लिएर घरपरिवारले मात्र होइन, उनका कतिपय साथीहरूले पनि पागलपन भएको चर्चा हुन्थ्यो । 

संस्कृतिविद् तेजेश्वबाबु ग्वंगःका अनुसार केदारमान व्यथित र देवकोटाबिच घनिष्ट सम्बन्ध थियो । “केदारमान व्यथितजी देवकोटाको घरमा जानु भएछ, श्रीमती छोराछोरी रणभुल्ल परेर बसेका रहेछन् र भनेछन्– हेर्नुस् न कविज्यू मरेँ भनेर धोती ओडेर लम्पसार परिरहनु भएको छ, खान बोलाउँदा ‘म मरेको मान्छेले कसरी खानु ?’ भन्नुहुन्छ भनेछन् ।” ग्वंगः भन्छन्, “व्यथित सरासर भर्याङ चडेर माथि जानु भएछ र देवकोटालाई चिमोट्नु भएछ, अनि देवकोटाले ऐया भन्नु भएछ । अनि कस्तो पागलपन हो तपाईंको, तपाईँ त मर्नु भएको छैन भन्नुभयो अरे ।” देवकोटाले आफ्नो त्यही परिवेशलाई लिएर ‘पागल’ कविता लेखेका रहेछन् भन्छन् ग्वंगः । त्यो प्रसङ्ग देवकोटाको उक्त कवितामा यस्तो छ–

...म आफूलाई एक दिन मरेको सम्झेर

लम्पसार थिएँ,

एक साथीले बेसरी चिमटिदिए

र भने, ‘ए पागल तेरो मासु अझ मरेको छैन !’ 

(पागल कविताबाट.. पूर्ण कविता अन्त्यमा छ)

Tejewhwor Gounga

देवकोटासँग ग्वंगःको सामीप्यता

ग्वंगःको घर भक्तपुर भए पनि अध्ययनका लागि उनी काठमाडौँको ओँटुटोलमा डेराभाडा लिएर बस्थे । उनलाई काठमाडौँको जुद्धोदयमा अध्ययन गर्न भक्तपुरबाट सधैँ हिँडेर आउन सक्ने अवस्था थिएन । “यहाँबाट हिँडेर काठमाडौँ जाँदा डेढ घण्टा लाग्थ्यो, सधैँभरि हिँडेर जान आउन भ्याइँदैन थियो,” उनी भन्छन् । त्यतिबेला अहिलेको जस्तो गाडी र मोटरसाइकल थिएनन् । 

“मैले एसएलसी पनि गरेको थिइनँ, २०१० सालमा भक्तपुर विद्यार्थी सङ्घको सभापति थिएँ । मैले विद्यालयको कार्यक्रममा निम्तो दिन भनेर पहिलो पटक उहाँको घर डिल्लीबजार, अहिलेको कविकुञ्जमा गएको थिएँ,” देकोटाले घरमै आउनुको कारण सोधेको बारे जानकारी दिँदै ग्वंगःले भने, “गुरु अस्ति साहित्य सम्मेलनमा बुखारेस्ट जानुभएको थियो । त्यहाँ पाँच मिनेट बोल्छु भन्नुभएको एक घण्टा अङ्ग्रेजीमा धाराप्रवाह बोल्नुभयो रे, यो कुरा मैले मात्र थाहा पाएर हुँदैन । भक्तपुरका शिक्षक, विद्यार्थी सबैले गुरुकै मुखारविन्दबाट सुनाउन चाहन्छु म, उनीहरूलाई पनि त अनुपोषित गर्नु पर्छ भनेँ ।” यो आमन्त्रण देवकोटाले स्वीकार गरेका थिए । 

...अनि बने देवकोटाका विद्यार्थी

भक्तपुरका शिक्षक विद्यार्थीलाई बुखारेस्ट भाषाणको जानकारी दिनुस् भनेर देवकोटालाई लिन घरमै जाँदा ग्वंगःले भक्तपुरकै दुई जना विद्यार्थी पढिरहेको देखे । “एउटा त मेरै टोलको र अर्को नलिन्चोकको साथीलाई अङ्ग्रेजी पढाइरहेको देखेँ,” उनी भन्छन्, “भक्तपुरका मेरै साथीहरू ट्युसन पढ्न सक्छन् भने मैले किन नपढ्ने भनेर प्रेरणा आयो र मैले महिनाको १६ रुपियाँ फी तिरेर उहाँसँग एक महिना पढेँ ।” ट्युसन पढ्ने आफूलाई मात्र होइन सबै विद्यार्थीहरूलाई मिस्टर मिस्टर भनेर बोलाएको उनी सम्झना गर्छन् । 

देवकोटालाई सबैभन्दा बढी पढाउन मन लाग्ने विषय थियो अङ्ग्रेजी, नेपाली त आफ्नै विषय भयो, अनि साइन्स पढाउनु हुन्थ्यो भन्छन् उनी । हरेक विषयलाई काव्यात्मक रूपले साइन्स पढाउँथे । 

देवकोटाको घर काठमाडौँ डिल्लीबजारमा दक्षिण मोहडाको फर्केको थियो । अहिले त्यो घर कविकुञ्जका नामले प्रसिद्ध छ । भुइँतलामा देवकोटाका विभिन्न सामानहरू राखिएका थिए तर एक तलामाथिको दक्षिण मोहडाको कोठामा ट्युसन पढाउँथे भन्छन् ग्वंगः । “फस्ट फ्लोरमा हामीलाई पढाउने ठूलो कोठा थियो । त्यसको पश्चिम मोहडामा झ्याल थियो । त्यस छेउमा खाट थियो, खाटमा बसेर फुर्ससदको समयमा र राति उहाँ लेख्नुहुँदो रहेछ,” उनी सम्झन्छन् । 

देवकोटाले स्कुलमा पनि पढाउँथे, घरमा पनि ट्युसन पढाउँथे । त्यतिबेला तुजेश्वरबाबुले निद्रा निबन्ध पढाएको सम्झना गर्छन्, “निद्रा निबन्ध उहाँको एकदमै उच्च कोटीको निबन्ध थियो, पढाउने सिलसिलामा त्यसको गहिराइ बताउनुभएपछि ममा अझ बोधितत्त्व प्रवेश गर्यो”, उनी भन्छन्, “उनको त्यो निबन्धको गहिराइले मलाई धेरै प्रभावित गर्यो ।” त्यही ट्युसन क्लासमा देवकोटाको निद्रा निबन्ध पढेपछि त्यसबाट प्रभावित भएर उनले पहिलो पटक सपना निबन्ध लेखे । सपना निबन्धबारेमा देवकोटाले सुनाउन आग्रह गरे र उनले सुनाए पनि । अनि देवकोटाले धाप मारेको उनी सम्झन्छन् । 

उनले एसएलसीको तयारी स्वरूप एक महिना देवकोटासँग पढे । असाध्यै मीठो शैलीले पढाउने, असाध्यै कन्भिक्सिङ थिए, कसैलाई ठूलो स्वर पनि गर्दैन थिए भन्छन् ग्वंगः ।

एसएलसी उत्तीर्ण भएपछि २०१२ सालतिर ग्वंगः त्रिचन्द्र कलेजमा आईए पढ्न गए । त्यहाँ पनि देवकोटासँग भेट भएको थियो । तर आईएको परीक्षा दिन नपाउँदै उनका पिताको जागिरबाट अवकाश भयो । “बुवालाई सपोर्ट गर्नु पर्यो भनेर मचाहिँ ऐंसेलु खर्कमा हेडमास्टर भएर गए,” ग्वंगः भन्छन्, “त्यहाँ गएर स्कुलका भवनहरू थिएनन्, बनाएँ ।” 

Devkota sangrah

खानपानमा सौखिन देवकोटा

धेरैले देवकोटा गरिब थिए भनेका छन् तर ग्वंगः भने यो कुरालाई अस्वीकार गर्छन् । “देवकोटासँग पढ्दा हामी १७ जना विद्यार्थी थियौँ । सबैले महिनाको १६ रुपियाँका दरले दिँदा कति हुन्थ्यो ?, त्योबेला त धेरै हो नि त्यो पैसा” उनी प्रतिप्रश्न गर्छन्, “देवकोटा गरिब हुनुभएन, उहाँ असाध्यै खर्चालु र खानामा सौखिन हुनुहुन्थ्यो, किनभने मीठोमीठो खानुपर्ने, लबेदा, सुरुवाल लगाउनुपर्ने, साइकल चढेर हिँड्ने गर्नुहुन्थ्यो ।” देवकोटा अङ्ग्रेजीमा धेरै पोख्त भएको ग्वंगः सम्झन्छन् । त्यतिबेला देवकोटाको मात्र साइकल थियो, कहिले डोहोर्याउँदै कहिले चढ्दै हिँड्थे भन्छन् उनी  । 

देवकोटा सामान्यतः टोपी कहिल्यै लगाउँदैन थिए, लबेदा सुरुवाल, कोट लगाउँथे, साइकल चढ्थे । उनको लवाइ, खवाइ साधारण रहेको ग्वंगः बताउँछन् । 

कविता–
‘पागल’ 
जरुर साथी म पागल !
यस्तै छ मेरो हाल !

म शब्दलाई देख्दछु !
दृश्यलाई सुन्दछु !
बास्नालाई स्वाद लिन्छु !
आकाशभन्दा पातला कुरालाई छुन्छु !
ती कुरा,
जसको अस्तित्व लोक मान्दैन
जसको आकार संसार जान्दैन !
म देख्दछु ढुङ्गालाई फूल !
जब, जल–किनारका जल–चिप्ला ती
कोमलाकार पाषाण,
चाँदनीमा,
स्वर्गको जादुगर्नी मतिर हाँस्दा,
पत्रिएर, नर्मिएर, झल्किएर,
बल्किएर उठ्दछन् मूक पागल झैँ,
पूल झैँ एक किसिमका चकोर–पुल !
म बोल्दछु तिनसँग, जस्तो बोल्दछन् ती मसँग
एक भाषा, साथी !
जो लेखिन्न, छापिन्न, बोलिन्न,
बुझाइन्न, सुनाइन्न 
जुनेली गङ्गा–किनार छाल आउँछ तिनको भाषा
साथी ! छालछाल !
जरुर साथी म पागल !
यस्तै छ मेरो हाल !

तिमी चतुर छा बाचाल
तिम्रो शुद्ध गणित–सूत्र हरहमेशा चलिरहेको छ
एकै बाँकी रहन्छ !
तिमी पाँच इन्द्रियले काम गर्छौ
म छैटौँले !
तिम्रो गिदी छ साथी !
मेरो मुटु !
तिमी गुलाफलाई गुलाफ सिवाय देख्न सक्तैनौ,
म उसमा हेलेन र पद्मिनी पाउँछु,
तिमी बलिया गद्य छौ !
म तरल पद्म छु !
तिमी जम्दछौ जब म पग्दन्छु,
तिमी सङ्लन्छौ जब म धमिलो बन्छु,
र ठीक त्यसैको उल्टो !
तिम्रो संसार ठोस छ !
मेरो बाफ !
तिम्रो बाक्लो, मेरो पातलो !
तिमी ढुङ्गालाई वस्तु ठान्दछौ,
ठोस कठोरता तिम्रो यथार्थ छ !
म सपनालाई समात्न खोज्दछु,
जस्तो तिमी, त्यो चिसो, मीठो अक्षर काटेको
पान्ढिकीको बाटुलो सत्यलाई !
मेरो छ बजे काँढाको साथी !
तिम्रो सुनको र हीराको !
तिमी पहाडलाई लाटा भन्दछौ,
म भन्छु वाचाल !
जरुर साथी !
मेरो एक नसा ढिलो छ ।
यस्तै छ मेरो हाल !

म माघको ठण्डीमा
ताराको सेतो प्राथमिक राप तापेर
बसिरहेको थिएँ,
दुनियाँले मलाई तरङ्गी भने !
भष्मेश्वरबाट फर्कदा सात दिन
टोह्लाएको देखेर
भूत लागेको भने !
एक सुन्दरीका केशमा
समयका तुषाराको
पहिला छिर्का परेको देखेर
म तीन दिन रुँदा,
मेरो आत्मालाई बुद्धले छुँदा
मलाई छटाएको भने !
मैले वसन्तको पहिलो कोकिल सुनेर
नाचेको देख्दा,
बहुला भने !
एक सूनसान औंसीले मलाई निशास भएर
म प्रलय–वेदनाले उफ्रेँ !
मूर्खहरूले मलाई त्यस बेला ठिँगुरा हालेर राखे !
म तुफानसँग एक दिन गीत गाउन थालेको थिएँ,
मलाई बुज्रुकहरूले,
राँची पठाइदिए !
म आपूmलाई एक दिन मरेको सम्झेर
लम्पसार थिएँ,
एक साथीले बेसरी चिमटिदिए
र भने, ‘ए पागल तेरो मासु अझ मरेको छैन !’
यस्ता कुरा भए साल, साल !
पागल छु साथी !
यस्तै छ मेरो हाल !

मैले नवाबको मदिरालाई खुन भनेको छु,
छिमेकी रण्डीलाई लास भनेको छु !
राजालाई गरिब,
सिकन्दरलाई मैले गाली दिएको छु !
महात्मा भनाउँदाको निन्दा गरेको छु !
नगण्य व्यक्तिलाई, तर,
सातौँ आसमानसम्म,
तारिफको पुलमा चढाएको छु,
तिम्रा महापण्डित, मेरो महामूर्ख !
तिम्रो स्वर्ग, मेरो नरक !
तिम्रो सुन, मेरो फलाम
साथी ! तिम्रो धर्म मेरो पाप !
जहाँ तिमी आफूलाई चलाक सम्झन्छौ,
उहाँ म देख्छु तिमीलाई बिलकुल लाटा !
तिम्रो उन्नति, मेरो अवनति,
यस्तै छ मोलमोलाइको उलट–पलट,
साथी !
तिम्रो विश्व, मेरो बाल !
जरुर साथी ! म बिलकुल चन्द्राहत छु
चन्द्राहत,
यस्तै छ मेरो हाल !

म अन्धालाई दुनियाँको अगुवा देख्दछु,
गुफा–तपस्वीलाई भगुवा देख्दछु,
मिथ्याका मञ्च चढेकालाई
काला नटुवा देख्दछु !
विफललाई सफल देख्दछु !
प्रगतिलाई अगति देख्दछु !
या हुँला मै ऐँचाताना !
या हुँला मै दीवाना !
साथी ! मै दीवाना !
निर्लज्ज नेतृत्वको नीरस रसनाको
रण्डीको नाच हेर !
जन–अधिकारको डँडाल्नोको भाँच हेर !
जब भँगेर–टाउके छापाको कालो मिथ्याले
मेरो विवेक–वीरलाई
जाली झुठले ललकार्छ
तब हुन्छन् मेरा गाला राता साथी !
सल्केको गोलझैं राता
जब निमुखा दुनियाँ कालो जहर पिउँदछ,
पिउँछ कानले,
र अमृत भनिठानेर,
र मेरा आँखाअगाडि, साथी !
तब हुन्छन् ठाडा मेरा रौँ, रौँ
गर्गनका सर्पकेश झैँ, मेरा जिस्क्याइएका
रौँ, रौँ !
जब बाघले मृग खान आँटेको देख्छु, साथी !
या ठूलो माछाले सानो,
तब मेरा मक्कएका हड्डीमा पनि दधीचिको आत्माको
भयङ्कर बल पसेर, बोल्न खोज्दछ, साथी !
तब कडकडकउँछन् मेरा बत्तीस दन्ते बङ्गारा,
दुवै !
जस्तो भीमसेनका दाँत !
अनि,
प्रकोपको लाल–लाल आँखाका डल्ला,
फनक्क घुमाएर एक डबलले, म
यो अमानवको मानवजगत्लाई,
एक आगोको लप्काले झैं हेर्दछु, साथी१
अफ्रिन्छन् मेरा कलपुर्जा,
खलत्रल, खलबल !
तुफान हुन्छ मेरो सास !
विकृत हुन्छ मेरो चेहरा !
बन्दछ मेरो दिमाग, साथी !
बडवानलझैं, बडवानलझैं !
म वन खाने आगो झैँ बहुला हुन्छु !
बहुला, साथी !
काँचै निलुँ झैँ विश्वविशाल !
जरुर साथी !
म सुन्दर–चकोर, असुन्दर–फोर !
कोमल–क्रूर
चिडिया, स्वर्गाग्नि–चोर
तुफान–पुत्र !
पागल ज्वालमुखीको उद्गार
भयङ्कर व्यक्तित्वपाल !
जरुर, साथी !
सन्के मगज छु, सन्के !
यस्तै छ मेरो हाल !

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शिखर मोहन
शिखर मोहन
लेखकबाट थप