शुक्रबार, १९ पुस २०८१
ताजा लोकप्रिय

भूकम्प प्रभावितलाई स्याङ्जाका तीन पालिकाद्वारा १२ लाखभन्दा बढी सहयोग

आइतबार, २६ कात्तिक २०८०, १७ : ५०
आइतबार, २६ कात्तिक २०८०

वालिङ । जाजरकोट र पश्चिम रुकुममा भूकम्पबाट प्रभावित बनेकाको सहयोगका लागि स्याङ्जाका तीन नगरपालिकाले झण्डै रु १३ लाख सहयोग गरेका छन् ।

जाजरकोटको बारेकोट गाउँपालिका–१ रामीडाँडा केन्द्रविन्दु भएर गएको भूकम्पबाट जनधनको क्षति भएकाप्रति दुःख व्यक्त गर्दै स्याङ्जाका गल्याङ, भीरकोट नगरपालिका र फेदीखोला गाउँपालिकाले रु १२ लाख ७७ हजार तीन सय ५५ उपलब्ध गराएका हुन् ।

स्याङ्जाको गल्याङ नगरपालिकाले रु चार लाख, भीरकोट नगरपालिकाले रु तीन लाख र फेदीखोला गाउँपालिकाले रु पाँच लाख ७७ हजार तीन सय ५५ सहयोग गरेका हुन् । गल्याङ नगरपालिकाका जनप्रतिनिधि, कर्मचारीबाट रु दुई लाख र नगरपालिकाको विपद् व्यवस्थापन कोषबाट रु दुई लाख गरी कूल रु चार लाख उपलब्ध गराउने निर्णय कार्यपालिका बैठकले गरेको नगरप्रमुख गुरुप्रसाद भट्टराईले बताए ।

“जनप्रतिनिधि एक दिनको सेवा सुविधा र कर्मचारीको एक दिनको तलबबाट रकम सङ्कलन गरिएको छ”, उनले भने, “उक्त रकमलाई नेपाल सरकारले स्थापना गरेको विपद् व्यवस्थापन कोषमा जम्मा गरेका छौँ ।” भीरकोट नगर कार्यपालिकाको १०६औँ बैठकले पनि भूकम्प प्रभावितको सहयोगका लागि रु तीन लाख उपलब्ध गराएको छ । नगर कार्यपालिकाको बैठकले रु तीन लाख प्रधानमन्त्री दैवी प्रकोप राहत उद्धार कोषमा जम्मा गर्ने निर्णय गरे बमोजिम सहयोग गरिएको नगरप्रमुख गोविन्दकुमार कर्माचार्यले बताए ।

नगरपालिकाले भूकम्पका कारण क्षति पुगेका घरमा बस्न सक्ने अवस्था नभएको र जाडोको मौसम भएकाले राहतस्वरुप फाईबर सिरकहरुसमेत पठाएको छ । फेदीखोला गाउँपालिकाले भूकम्प प्रभावित क्षेत्रको सहयोगार्थ जनप्रतिनिधिको सेवा सुविधा, कर्मचारीको तलबबाट रु पाँच लाख ७७ हजार तीन सय ५५ प्रधानमन्त्री राहत कोषमा सहयोग गरेको गाउँपालिकाका अध्यक्ष घनश्याम सुवेदीले बताए ।

अध्यक्ष सुवेदीका अनुसार गाउँपालिकाका जनप्रतिनिधिको मासिक सेवा सुविधाबाट ५० प्रतिशत हुन आउने रु दुई लाख ४१ हजार सात सय ५०, गाउँपालिकाका स्थायी, करार, ज्यालादारी कर्मचारीको एक दिनको तलबबाट रु एक लाख  पाँच हजार तीन सय ३२ र सामुदायिक विद्यालयमा कार्यरत शिक्षक, बाल शिक्षक, विद्यालय कर्मचारी, आईटी शिक्षकको एक दिनको तलब रु दुई लाख ३० हजार दुई सय ७३ सङ्कलन गरी प्रधानमन्त्री राहत कोषमा सहयोग गरिएको हो ।

जिल्लाबाट विभिन्न सङ्घ संस्था तथा व्यक्तिले भूकम्प प्रभावितका लागि आर्थिक तथा जिन्सी सहयोग गर्ने क्रम जारी रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप