शनिबार, १५ मङ्सिर २०८१
ताजा लोकप्रिय

मौलापुरकी मेयर रीनाकुमारी पुनर्बहाली भएपछि स्वागत बटुल्दै

आइतबार, २६ कात्तिक २०८०, १६ : ०१
आइतबार, २६ कात्तिक २०८०

रौतहट । मौलापुर नगरपालिकाकी नगर प्रमुख रीना कुमारी साहलाई दोस्रो पटक सर्वोच्च अदालतले पुनर्बहाली गरेपछि नगरवासीले उनको स्वागत गरेका छन् । पुनर्बहालीपछि पहिलो पटक मौलापुर नगरक्षेत्र अन्तर्गत सोनरनियामा गाउँ पुगेकी मेयर साहलाई स्थानीय जनप्रतिनिधि, विभिन्न दलका नेता तथा महिलाहरुले स्वागत गरेका हुन् ।

सर्वोच्च अदालतले मेयर साहलाई पुनर्बहाली गर्न अन्तरिम आदेश दिएको थियो । न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासले निर्वाचन आयोगको निर्णय खारेज गर्दै गत शुक्रबार साहलाई पुनर्बहालीको आदेश दिएको हो ।

rina2

नेकपा एमालेको सिफारिसमा निर्वाचन आयोगले मेयर साहको पद निलम्बन गरेको थियो । ‘निवेदिकालाई नगर प्रमुख पद स्वतः रिक्त भएको भनी निर्वाचन आयोगबाट मिति २०८० साल असोज २९ मा भएको निर्णय तथा गोरखापत्रमा प्रकाशित सूचना समेत हाललाई कार्यान्वयन नगर्नू नगराउनू र निज निवेदिकालाई पूर्ववत् मौलापुर नगरपालिकाको प्रमुख पदमा रही यथावत् कामकारबाही गर्न दिनू भनी विपक्षीहरूको नाममा अन्तरिम आदेश जारी भएको हो ।

साथै यस सम्बन्धमा १५ दिनभित्र लिखित जवाफ पेस गर्न पनि अदालतले निर्वाचन आयोगलाई आदेश दिएको छ । उनलाई सर्वोच्च अदालतले यसरी दोस्रो पटक पुनर्बहाली गराएको हो ।

rina3

यसअघि माओवादीका पूर्व नेता एवं पूर्वमन्त्री प्रभु साहकी श्रीमती रीना कुमारी साह प्रभु साहसँगै एमालेमा प्रवेश गरेको भन्दै माओवादी केन्द्रले कारबाही गरी उनीसहित १४ जना स्थानीय जनप्रतिनिधिको पद रिक्त गर्न निर्वाचन आयोगमा निवेदन दिएको थियो । सो निवेदनको आधारमा २०७८ असार ११ गते आयोगले उनीहरू पदमुक्त भएको सूचना निकालेको थियो । तर त्यतिबेला पनि सर्वोच्चले मेयर साहसहितका जनप्रतिनिधिलाई पुनर्बहाली गराएको थियो ।

यस पटक पनि रीना कुमारी साहलाई एमालेले कारबाही गरेको थियो । मेयर साहले प्रभु साह नेतृत्वको दल आम जनता पार्टीको सदस्यता लिएको भन्दै एमालेले कारबाही गरेको थियो । तर सर्वोच्चको अन्तरिम आदेशपछि उक्त कारबाही तत्कालका लागि बदर भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप