मधेसमा दियाबत्ती र हुकालोली, यसरी मनाइन्छ तिहार
काठमाडौँ । हिन्दु धर्मावलम्बीहरुमा दसैँपछि मनाइने सबैभन्दा महत्त्वपूर्ण पर्व तिहार हो । तिहारमा घर–आँगन सफा गरी बत्ती झिलीमिली परेर लक्ष्मी पूजा गरिन्छ ।
धनतेरसको दिनदेखि सुरु हुने तिहार भाइ टीकासम्म धुमधामका साथ मनाइन्छ । तराईमा पनि तिहार मनाइन्छ तर हिमाल, पहाडभन्दा तराईमा तिहार मनाउने तरिका केही फरक हुन्छ ।
मधेसमा तिहारलाई दियाबत्तीको नामले चिनिन्छ । तराई मधेसमा दसैँभन्दा बढी तिहारको महत्त्व हुन्छ । दसैँसँगै तिहारको पनि तयारी सुरु हुन्छ । सप्तरीका बलराम यादव भन्छन्, ‘दसैँ भनेको मेला हेर्ने, मन्दिर दर्शन गर्ने, मांसाहारीले मासु खान्छन् । तर तर दियाबत्ती (तिहार)को आफ्नै महत्त्व छ ।’
तिहार पूरै शाकाहारी पर्व हो, दसैँ सकिएसँगै यसको तयारी सुरु हुने उनले बताए ।
सरसफाइ
तिहारमा घर–आँगन, बाटो सफा गर्नुका साथै घरमा भएका सबै समानलाई सफा गर्ने गरिन्छ । काठ तथा फलामका समानलाई धोएर सफा गरेपछि लक्ष्मीपूजाको दिन त्यसमा तेल लगाउने चलन पनि छ । ती समानमा आलस अथवा अँडिर (अण्डी) को तेल लगाउने चलन छ ।
तेल लगाइ सकेपछि पानीमा भिजाएको चामललाई पिसेर सबै सामानमा हातको छाप लगाउने र त्यसमा सिन्दुरको टीका लगाउने चलन छ ।
अहिले यी चलन बिस्तारै हराउँदै गएको सिरहाका श्रीदेव यादवले बताए । उनले भने, ‘अहिले आलस र अन्डी लोप भइसकेको जस्तो छ, पहिला पहिला महिलाहरु तिहार नजिक आइसकेपछि अन्डीको तेल आफैँ बनाउथे, तेल बनाउन निकै मेहनत लाग्छ । अहिलेका महिलाले तेल बनाउनै सक्दैनन् ।’
‘अहिले सम्भव भयो भने तोरीको तेल लगाउँछन्, नभए त्यो पनि लगाउँदैनन्,’ उनले भने, ‘अहिले पानीले धुने चलन पनि हराउँदै गएको छ, नत्र पहिला घरका सामान पोखरी वा तलाउमा धोइन्थ्यो । अहिले त्यस्तो छैन, घरमा धुन सक्ने धोइन्छ, नत्र त्यत्तिकै छाडिने गरेको छ ।’
अहिले कच्ची घरहरु बिस्तारै हटाएर मान्छेहरु पक्की घर बनाउन थाले । पक्की घरमा झ्याल ढोका सबै फिक्स हुन्छ, पहिलाको जस्तो खोल्न मिल्ने खालको हुँदैन । माटोको घर तथा आँगन हुनेहरुले लिपपोत गर्छन् । भित्ताहरुमा रङ्गीचङ्गी चित्र बनाउँछन् । लक्ष्मी पूजाका दिन गाईको गोबरले आँगन लिपपोत गरिन्छ ।
लिपपोत गरिसकेपछि साँझ माटोले बनाइएको दीप (दियो) जलाइन्छ । वरिपरिका सबै ठाउँ जस्तो, गोठ, इनार, कल, बारी, रुखलगायतका ठाउँमा दीप बाल्ने गरिन्छ । यहाँसम्म कि गोबरको थुप्रो, खरानीको थुप्रोमाथि पनि दीप बालेर राखिन्छ । घर तथा घर वरिपरि कुनै पनि यस्तो ठाउँ हुँदैन, जहाँ दीप राखिँदैन । दीपमा राख्ने बत्ती बनाउन महिलाहरुले सेतो सुतीको कपडा सफा गरेर राखेका हुन्छन् र तिहारको दिन त्यसलाई बत्ती बनाएर तेलमा डुबाएर राखेका हुन्छन् र साँझमा माटोको दीपमा त्यसलाई राखेर बाल्ने गरिन्छ ।
दीप भनेको दिया हो र त्यसमा राख्ने बत्तीलाई दियाबत्ती भनिन्छ ।
हुकालोली
अहिले त हुकालोलीको परम्परा पनि हराउँदै गइरहेको छ । अहिले पटाका बढी पड्काइन्छ । तर हुकालोली हुँदैन । श्रीदेव यादवले भने, ‘पहिला बच्चामा घरकै सामग्री (लुगाफाटा, तार)हरुले हुकालोली बनाइन्थ्यो, दुई दिनसम्म मट्टीतेलमा भिजाइएर राखिन्थ्यो र लक्ष्मी पूजाको दिन साँझमा त्यसले हुकालोली खेलिन्थ्यो ।’
पछिल्लो समय रेडीमेड हुक्कालोली पनि पसलमा पाइन्थ्यो तर अहिले त्यो पनि पाइन छाडेको छ । पहिला लक्ष्मी पूजाको दिन बाँस घारीमा गएर सुकेका कोपर संकलन गरेर त्यही बाँसको कर्चीमा ती कोपरालाई गाँसेर त्यसमा आगो लगाएर पनि हुक्का लोली खेलिन्थ्यो, अब त्यो खेलिँदैन ।
लक्ष्मी पूजाका दिन घरका कुनै बुजुर्गले सनपाट (सन्ठी), खरको पनि हुकालोली बनाइन्छ । तर त्यो पूजा प्रयोजनका लागि मात्र । एउटा हुकालोली (आगो नसल्काएको) लाई घरको छाना (दउवा घर)माथि राखिन्छ ।
साँझमा दीप बालिसकेपछि बाँकी रहेको एउटा हुकालोलीमा आगो सल्काई घर आँगन, देउता घर, घरको वरिपरि मन्त्र जप्दै देखाएर त्यसलाई निभाइसकेपछि करेसा बारीमा ठाडो गाडिन्छ ।
घरको वरिपरि त्यसरी देखाउनुको अर्थ भएका भूतप्रेत आत्मालाई भगाउनु हो । यो एउटा किम्बदन्ती जस्तै हो तर भर्खर चिसो सुरु हुने भएका कारण वरिपरि रहेका लामखुट्टेलाई धपाउन पनि त्यस्तो गरिएको कतिपयको भनाइ छ ।
हुर्राहुरी
दीपावलीको तेस्रो दिन अर्थात् सुकाराती दिन हुर्राहुरी खेल गराउने चलन पनि छ । पहिला गाउँ गाउँमा हुन्थ्यो तर अहिले हराउँदै गइरहेको छ । कुनै कुनै गाउँमा परम्पराको रुपमा त्यसलाई जोगाइ राखेको देखिन्छ । तर अहिले हुर्राहुरी पनि हराउन थालेको छ ।
हुर्राहुरी एक प्रकारको खेल हो । एउटा ठुलो लाठीमा सुँगुर बाँधेर भैंसीलाई देखाइन्छ । भैंसीले त्यसलाई देखेपछि रिसाउँछ र त्यसलाई आफ्नो सिङले हान्दै मार्न खोज्छ । सुँगुर बाँधिएको त्यो लाठी मान्छेले समातेको हुन्छ । भैंसीले हिर्काउन थालेपछि मान्छेले त्यो सुँगुरलाई घिसार्छ, सुँगुर कराउन थालेपछि भैंसी झन् जोसिएर हान्न खोज्छ । त्यहाँ ढोल नगारा पनि बजाइरहेका हुन्छन् । त्यसले भैंसीहरु झन् जोसिएका हुन्छन् ।
त्यहाँ किसानहरुले आआफ्नो भैंसी ल्याएका हुन्छन् । प्रतिस्पर्धा नै हुन्छ । सुँगुर मार्ने भैंसी धनीको छुट्टै शान हुन्छ । कतै कतै पुरस्कार पनि व्यवस्था हुन्छ । त्यसरी एउटा जीवलाई अर्को जीवले हान्न लगाउने खेलको कतैकतै विरोध पनि हुन्थ्यो । अहिले पहिलाजस्तो भैंसी पनि पाल्दैनन् ।
गाई–गोरु सजाउने
गोवर्द्धन पूजाको दिन घरका महिलाले घरको घरको गोठमा गाईको गोबरले भुइँमा मान्छेको प्रतिमा बनाएर त्यसको पूजा गर्ने चलन छ । त्यो प्रतिमामाथि फर्सीको फूल चढाउने चलन छ । त्यो दिनलाई सुकराती पनि भनिन्छ ।
त्यो दिन गाई–गोरुलाई नुहाउने र त्यसलाई विभिन्न रङले रङ्ग्याइन्छ । त्यसका साथै त्यो दिन गाई–गोरुको नयाँ नयाँ दाम्लो, नाथ, गर्धनी पनि लगाइन्छ । अर्थात् गाई गोरुलाई हरेक कुरा नयाँ दिने चलन छ । यहाँसम्म कि घाँटीमा घन्टी, घँघुर, कौरी पनि गहनाको रुपमा त्यो दिन बाँधिन्छ ।
फोटोः आइलभ मिथिला र मधेशपाटीबाट
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : नेपाल र चीनबिच बीआरआई फ्रेमवर्कमा हस्ताक्षरदेखि रवि लामिछाने र छवि जोशीविरुद्ध पर्सामा पनि पक्राउ पूर्जीसम्म
-
पूर्वउपराष्ट्रपति पासाङलाई उपाध्यक्ष बनाउने माओवादीको तयारी, बैठक आह्वान
-
स्टक ब्रोकर एशोसिएशनको नयाँ कार्यसमितिका लागि ढकाल समूहको उम्मेदवारी घोषणा
-
एनपिएल : मार्की खेलाडीको प्रदर्शन कस्तो रह्यो ?
-
कञ्चनजङ्घा गोल्डकप : गोधुली फुटबल क्लब फाइनल प्रवेश
-
‘टोकियोमा सरकारी कर्मचारीका लागि हप्तामा तीन दिन विदा’ दिने प्रस्ताव