बारा फत्तेपुरका स्थानीयद्वारा गाउँको सरसफाइ
बारा । जीतपुर सिमरा उपमहानगरका वडा नं १२ का स्थानीयवासीले गाउँको सरसफाइ सुरु गरेका छन् । दीपावली तथा छठ पर्व सुरु भएसँगै वडा नं १२ का स्थानीयवासीले प्रत्येक गाउँका घर घरमा पुगेर सडक सफा गरेका हुन् ।
ग्रामीण भेगका सडकमा अधिकांश स्थानीयहरूले कुखुरा, हाँस बाटोमा छोड्ने, बाख्रा, पाडा, भैँसी पनि बाटोमा बाँध्ने, धान, पराल सुकाउने देखि नुहाई धुवाई समेत बाटोमै गर्ने प्रचलन छ । जसका कारण घर वरिपरि फोहोर हुने, दुर्गन्ध फैलने र डेंगु लगायत रोगको सङ्क्रमण बढ्ने गर्दछ ।
चाडपर्वलाई केन्द्रित गरेर स्थानीय युवाहरूले आज शनिवार वडाभित्र रहेका ९ वटा गाउँका टोल टोलमा पुगेर बाटोमा बाँधेका बाख्रा, पाडा गोठमा बाँध्न लगाउने, सडकमा पशु चौपाया बाँध्न राखिएको किलो उखाल्ने, सडक बढार्ने र आफ्नो घर वरपर सरसफाइ राख्न घरधनीलाई सचेत गराउने काम समेत गरेका छन् ।
जीतपुर सिमरा उपमहानगर वडा नं १२ का वडाध्यक्ष श्यामबाबु चौधरी खाँले चाडपर्व सुरु भएको र गाउँमा लामखुट्टे टोकाइको कारण डेंगु लगायतका रोग फैलन सक्ने जोखिम भएकोले स्थानीय युवा क्लबको सहयोगमा सफाइ अभियान सुरु गरिएको बताए ।
‘हामीले आजदेखि गाउँको सरसफाइ अभियान सुरु गरेका छौ अब यो कार्यक्रम निरन्तरता रहन्छ’ वडाध्यक्ष खाँले भने– ‘गाउँका ढलान बाटोमा स्थानीयले खसी, बाख्रा, पाडा बाँध्ने, कुखुरा हाँस छोड्ने समस्या छ यसको अन्त्यका लागि सरसफाई सम्वन्धि जनचेतना फैलाउन जरुरी देखिएको छ ।’
छाडा छोडिएका हाँस, कुखुराका कारण गाउँमा पानीका मुहानहरू दुर्गन्धित भएका छन् भने नालामा ढक्कन नहुँदा लामखुट्टेको जोखिम बढी छ ।
वडा नं १२ को वडा कार्यालयको पहलमा भएको सरसफाइ कार्यक्रममा जनप्रतिनिधि, फत्तेपुर आदर्श समाज युवा क्लबका युवाहरू, नेपाल राष्ट्रिय माध्यमिक विद्यालय फत्तेपुरको स्काउटमा आबद्ध विद्यार्थी, अभिभावक तथा शिक्षकहरू गरी करिब २ सय जनाको सहभागिता रहेको थियो । उनीहरुले बिहान ७ बजेदेखि दिनभर सफाइ गरेका थिए ।
६५ वर्षीय स्थानीय नागेन्द्र चौधरीले प्रत्येक शनिवार गाउँमा सरसफाइ अभियान सञ्चालन हुनुपर्ने बताए । ‘यो सरसफाइ हामी सबैको लागि हो, यसरी सफाइ गर्दा गाउँ चिटिक्क देखियो, लामखुट्टे पनि लाग्दैन , कोही बिरामी पर्दैन, पैसा पनि जोगिन्छ’ चौधरीले भने । दीपावली तथा छठ पर्वको अवसरमा सुरु गरिएको गाउँको सफाइ कार्यक्रम अगामी दिनमा पनि निरन्तर हुनुपर्ने अधिकांश स्थानीयहरूको भनाई छ ।
फत्तेपुर आदर्श समाज युवा क्लबका अध्यक्ष गोविन्द चौधरीले गाउँमा स्थानीयहरूमा जनचेतनाको अभाव हुँदा सडकमा खसी बाख्रा बाँध्ने, पराल, घाँस राख्ने समस्या भएको बताए । ‘गाउँमा सरसफाइ नहुँदा लामखुट्टे धेरै लागिरहेको छ, यसको नियन्त्रणको लागि बेला बेलामा सरसफाइ कार्यक्रम गरिरहने हाम्रो योजना छ’ क्लबका अध्यक्ष चौधरीले भने ।
सो क्लबले ग्रामीण भेगमा खेलकुद सम्बन्धी कार्यक्रमहरू समेत गदै आएको छ ।