मङ्गलबार, १८ मङ्सिर २०८१
ताजा लोकप्रिय
कला

प्रमिला गिरीका चित्रमा भैरव र भैरवी

शनिबार, २५ कात्तिक २०८०, १७ : ३४
शनिबार, २५ कात्तिक २०८०

काठमाडौँको बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा भर्खरै (सेप्टेम्बर ३० देखि अक्टोबर २०, २०२३) अति विशिष्ट कलाकार प्रमिला गिरीको ‘थ्रु माई थर्ड आई’ नामक बृहत् एकल कला प्रदर्शनी सम्पन्न भयो । 

ठुल्ठुला क्यानभास (१९५ सीएम बाई १९५ सीएम) र खास किसिमको प्रस्तुतिले गर्दा यो प्रदर्शनी भव्य, अझ भनौँ अन्तर्राष्ट्रिय शैलीको देखिन्थ्यो । विदेशतिर कला प्रदर्शन गर्न निर्माण गरिएका विशाल कक्षमा ठुल्ठुला आकारका कलाको प्रदर्शन गर्नुको अलग्गै अर्थ हुन्छ र यस्ता कलाकारको विशेष सम्मान पनि हुन्छ । यस्ता कलाका प्रदर्शनीमा स–साना आकारका कृतिलाई प्रवेश पाउन निषेध गरिएको हुन्छ । यसपालि कलाकार प्रमिलाको जुन प्रकारको प्रदर्शनी भयो, यस प्रकारको कला प्रदर्शनी नेपालमा निकै कम रूपमा हुने गर्छन् । 

नेपालको कला इतिहासमा प्रमिला गिरीको एक अलग्गै पहिचान छ । सन् ६० को दशकदेखि नेपाली कलामा आधुनिक कलाको बिउ रोपियो । त्यतिबेला पश्चिमी आधुनिक कलाका अधिकांश शैली र प्रवृत्तिलाई पछ्याउँदै नेपाली कलाको इतिहासमा नयाँ आयामको सिर्जना हुँदै थियो । प्रभाववादीदेखि अमूर्त कला अनि अभिव्यञ्जनावादी कलाहरू नयाँनयाँ रूपमा देखिन थालेको अवस्था थियो । उमेर सानो भए पनि आधुनिक कलाको त्यो सुरुवाती मोडमा उनी अन्य कलाकारसँग जोडिन आइपुगेकी थिइन् । सन् १९६४ मा भारतको कलकत्तास्थित शान्ति निकेतन विश्वविद्यालयको कला संकायबाट तीन वर्षे डिप्लोमा कोर्स सकेर आएकी गिरीले मात्र १९ वर्षको उमेर (सन् १९६५)मा काठमाडौँमा पहिलो एकल कला प्रदर्शनी गरिन् । 

त्यति बेला नेपालमा लैनसिंह बाङ्देल, ठाकुरप्रसाद मैनाली, उत्तम नेपाली, रामानन्द जोशी ,लक्ष्मण श्रेष्ठ, विजय थापा, शशिविक्रम शाह, मनुजबाबु मिश्र आदि कलाकार आधुनिक कलाको बीजारोपणका लागि सक्रिय भइरहेका थिए । यी अग्रज कलाकारसँग जोडिनुले पनि उनको कलागत करिअरमा सकारात्मक भूमिका खेलेको स्पष्ट देखिन्छ । यी अग्रज कलाकारमध्ये लैनसिंह बाङ्देल, उत्तम नेपाली, रामानन्द जोशी, मनुजबाबु मिश्र दिवंगत भइसकेका छन् । लक्ष्मण श्रेष्ठ धेरै वर्षदेखि भारतमै बस्दै आइरहेकाले उनको नेपाली कला जगत्सँग कम सम्पर्क छ । यसरी हेर्दा नेपाली कलाको इतिहासमा प्रमिला गिरीको विशेष महत्त्व र योगदान छ । 

371540360_1046056943192532_4216192998392028896_n

अध्ययनशील कलाकार गिरी कला सिर्जनामा मात्र होइन, संस्थागत क्रियाशीलताले पनि सुरुवाती चरणदेखि चर्चाको शिखरमा हुन्थिन् । भारतमा पढेर नेपाल फर्केलगत्तै (सन् १९६५ मा) उनी ‘नेपाल ललित कला संस्था’मा कोषाध्यक्ष भइन् । यसै बेलादेखि उनी ललितकला क्याम्पसमा कलाको गुरु समेत भइन् । यसै साल उनको पहिलो एकल कला प्रदर्शनी हुनु र यसै साल भएको राष्ट्रिय कला प्रदर्शनीमा मूर्तितर्फ प्रथम हुनुले सानैदेखि उनीमा प्रखर कलागत व्यक्तित्व रहेको दर्शाउँछ । 

अस्तित्व, लय आदि शीर्षकका उनका सुरुवाती कलामा नितान्त महिला आकृतिलाई आधुनिक फर्ममा भावनात्मक रूपमा संयोजन गरिएको देखिन्छ । तत्कालीन समयमा आफूले भोगेका दुखेसा उनका कलामा अभिव्यक्त हुन्थे । उनले यथार्थ रूपमा बनाएका कला पनि उच्च स्तरका थिए । सन् १९६२ मा उनले बनाएको ‘फ्लावर’ नामक चित्र परिष्कृत रूपमा आएको थियो । तथापि आफ्नै कलागत सिग्नेचर बनिनसकेको अवस्था हुँदा त्यस बखत उनका कला विविध रूपमा सिर्जना भएको देखिन्छ । 

नारायणबहादुर सिंहद्वारा लिखित २०२७ सालमा प्रकाशित पुस्तक ‘नेपाली चित्रकार’ मा प्रमिला गिरीलाई कान्छी कलाकारका रूपमा समेटिएको छ । त्यस बेलाका सबैजसो चर्चित कलाकारलाई समेटिएको यस पुस्तकमा लेखक सिंहले प्रमिला गिरीका त्यस बेलाका धेरै चित्रको उल्लेख नगरे पनि आधुनिक कलामा ‘जुलुस’ नामक चित्र रहेको उल्लेख गरेका छन् । त्यस बखतसम्म प्रमिला अमूर्तकलाको पर्यायवाचीका रूपमा देखिन्छिन् भन्ने सानो सङ्केत नदेखिएको सिंहले भन्ने गर्थे । त्यसको केही वर्षहरू बित्दानबित्दै उनै नारायणबहादुर सिंहले प्रमिलाका अमूर्त कलाको खुलेर प्रशंसा गरेका छन् । आज त प्रमिलाले अमूर्तताभित्र पनि अनेकानेक अवधारणा घुसाएर अलौकिक कला बनाउन थालेको देखिन्छ । 

मिथको सन्दर्भ 

प्रमिलामा निश्चित कलागत मान्यता देखिन्छ । विशेष गरेर कलागत गन्तव्य, मौलिक संस्कृति, धर्म तथा परम्परामाथिको आस्था–विश्वास लिएकी कलाकारका रूपमा उनी चिनिन्छन् । मिथलाई अमूर्ततामा उठाउने उनी पहिलो नेपाली कलाकार पनि हुन् । सामान्यतया आकारमूलक कला नै मिथको विशेषताको रूपमा रहेको हुन्छ । मिथलाई यथार्थ र स्वैरकाल्पनिकतामा खेलाएर उनीअघि धेरै कलाकारले कला बनाइसकेका छन् तर नितान्त अमूर्त कलामा यसरी देवी–देवतालाई आकारविहीन बनाउँदै मिथलाई मात्र भावमा उतारेर कला सिर्जना गर्ने उनीभन्दा अर्को कलाकार छैन । यसका ज्वलन्त उदाहरण हुन् — सन् २०२१ मा बनाएको ‘काल भैरव’ (१९५ बाई १९४.५ सीएम), २०२१ मै बनाएको ‘लर्ड भैरव’ (१९४.५ बाई १९५ सीएम) र गडेस भैरवी (१९५ बाई १९५ सीएम) नामक चित्र । निख्खर गाढा नीलो रङमाथि स्थुल रूपमा देखापरेको ज्यामितीय फर्म अनि यसैमाथि सेता–पहेँला रङका रेखा चलखेल गर्दै गरेको अनुभूत हुने किसिमका अमूर्त संरचना त्यस बखतका चित्रको मूल विशेषता हुन् । चित्रपट सपाट हुँदाहँुदै पनि रंगीय तेस्रो आयामिक रूपलाई समेत आउन दिनु उनको लक्ष्य रहेको देखिन्छ । 

उनी एकैपल्ट अमूर्ततामा पुगेकी होइनन् । यसकोे अर्को उदाहरणमा उनले सन् १९७१ मा बनाएको ‘आस्पेक्ट अफ लर्ड शिव प्रथम’ (१३० बाई २६० सिएम) र १९७६ मा बनाएको ‘आस्पेक्ट अफ लर्ड शिव दोस्रो’ (९० बाई १३० सिएम) लाई लिन सकिन्छ । मिथलाई नै प्रयोग गरी उनले अनेक आकारमूलक विम्ब र प्रतीकलाई समायोजन गरेकी छन् । समग्रमा भन्दा पछिल्लो समयमा उनको अमूर्तताले अझ घनत्व बोकेको अनुभव हुन्छ । यसर्थ पनि प्रमिला गिरी नेपाली कलालाई विश्वमाझ चिनाउने एक शक्तिशाली कलाकारको रूपमा स्थापित नाम हो भन्ने गरिन्छ ।

शुभारम्भ कालमै (२०२२ सालमै) उनका कलामा मिथको प्रसङ्ग देखिएको थियो । अलिकता यथार्थवादी, वास टेक्निक, बिस्तारै अमूर्ततापट्टि बढेको उनको कलागत पदचापलाई केलाएर कलाविद् नारायणबहादुर सिंहले भनेका थिए, प्रमिलाका कला तन्त्रकलातर्फ उन्मुख छन् । 

400231997_6522984937812473_1163901155639465939_n

कला गिरी भन्छिन्, ‘मेरा लागि सबैभन्दा चुनौतीको विषय यही हो कि आफ्ना कलामा मैले कसरी मेरा संंस्कृतिको सबल र बलियो पक्षलाई ल्याउन सक्छु ।’ देव भैरव अनि देवी भैरवी उनका कलाका महत्त्वपूर्ण पात्र हुन् । शैव धर्ममा पारिवारिक आस्था भएको र भक्तिभाव बच्चै बेलादेखि हेर्दै देख्दै आएकाले पनि उनले आफ्ना कलामा देव भैरवलाई ल्याएकी हुन् । उनका हरेकजस्तो चित्र वा मूर्तिहरू यसै थिममा बन्ने गर्छन् । उनले यही थिममा सन् १९७६ देखि काम गर्दै आइरहेकी छन् । अमेरिकामा उच्च शिक्षा हासिल गरेलगत्तै उनको कलाको केन्द्र नै देव भैरव अनि देवी भैरवी रहेको देखिन्छ । अध्ययनका क्रममा गर्नुपर्ने शोधपत्रमा समेत उनले यसैसँग मिल्दो विषय शिवका विविध रूपलाई लिएकी थिइन् । त्यस बखत मूर्तिकलालाई अध्ययनको मूल विषय पनि बनाएकाले उनले चित्रकलामा मूर्तिकला समेटेर नौलो प्रयोग पनि गरिन् । नेपालमा यस्तो प्रयोग थोरबहुत भएका छन् तर निश्चित अवधारणा बोकेको गुणस्तरीय कला सिर्जना गर्नेमा उनको हाराहारीमा अरु आउन सकेका छैनन् । 

भैरवलाई पात्र बनाएर उनले थुप्रै कला सिर्जना गरेकी छन् । मूर्तिकलामा ‘इमेज अफ भैरव– १९६८’, ‘इमेज अफ भैरव पहिलो– १९८६’, ‘इमेज अफ भैरव दोस्रो– १९९०’, ‘इमेज अफ भैरव– १९९१’ आदि सिर्जना गरेकी छन् भने चित्रकलामा ‘इमेज अफ भैरव’ नाम दिएर सन् १९८७ देखि १९९०, १९९१ मा अनगिन्ती कला बनाएकी छन् । यसबाहेक ‘थर्ड आई– १९८१’, ‘मेडिटेसन– १९८१’, ‘क्रियटर– १९८४’,‘ गणेश– १९८८’, ‘मन्डला– १९९१’, ‘प्रकृतिपुरुष– २०००’, ‘स्काई एन्ड अर्थ–२००१’, ‘टुग्यादरनेस–२००८’, ‘लभ वर्ड २००९’, ‘मदर अर्थ २०१२’, ‘पिलर अफ स्ट्रेन्थ– २०१३’, ‘इन्सेपरेबल– २०१४’ लगायत अनगिन्ती कला उनले सिर्जना गरेकी छन् । यी अधिकांश चित्र वा मूर्ति बिक्रीमा छैनन् । नेपालमै एक सङ्ग्रहालय बनाएर स्थायी रूपमा प्रदर्शन गर्ने उनको लक्ष्य रहेको छ ।    

शोभाका रूपमा मूर्ति 

कलाकार गिरीले यसअघि बनाएका अजङ्गका कलाकृति आज पनि बगैँचा, घर–आँगन, प्राङ्गणमा दृढ भएर बसेको देखिन्छ । एकताका उनका यस्ता मूर्ति (घरको प्राङ्गण वा बगैँचामा स्थापित गर्ने मूर्ति) एउटा आन्दोलनकै रूपमा देखापरेका थिए ।

पहिले अर्धअमूर्त मूर्तिकलालाई  सार्वजनिक स्थानमा राख्ने चलन थिएन । सालिक मूर्तिहरूलाई मात्रै सार्वजनिक स्थानमा राखिन्थ्यो । खुला आकाशमुनि मूर्तिहरू पहिलोपल्ट बनाउने श्रेय पनि उनैलाई (कलाकार ठाकुरप्रसाद मैनालीका साथ उनले यस्ता मूर्ति मिलेर बनाएकी थिइन्) जान्छ । यसरी अन्य कलाकारले बगुन्द्रो रूपमा यस्ता मूर्ति बनाउन सकेको देखिँदैन । 

366820744_1819591975162359_2260086747400319993_n

यसपालि प्रदर्शित उनका चित्र वा मूर्तिका अब्स्ट्राक्ट फर्म नितान्त अलग्ग छन् । चित्रको कुरा गर्दा, गहिरो गाढा रातो रङले भरिएको क्यानभासमा गाढा निक्खर नीलो, पहेँलो रङ र निख्खर कालो रङ समायोजित हुँदा उनका चित्र अलौकिक लाग्छन् । 

उनका अधिकांश कलाहरूमा जस्ता खालका ‘कलर स्किम’ देखापरेका छन्, ती नेपाली परम्परागत कलाको स्पष्ट आभा दृश्यावलोकन गर्न सक्षम छन् । सपाट अनि समतलीय संरचनामा बनेका उनका पात्र बिचबिचमा आयामिक धरातलमा ओर्लछन्, यसले अनेक धार्मिक गाथालाई अभिव्यक्त गरेको आभास हुन्छ । उनले सन् २०२१ मा बनाएको काल भैरव ज्यामितीय संरचनामा छ, यसमा नितान्त स्थिर शान्त गाढा पृष्ठभूमिमा बिचको सानो खण्डमा गतिशील चहकिला रङ चलमलाएको देखिन्छ । यस कारण उनका चित्रले कुनै विशेष क्षेत्रमा भावकलाई केन्द्रित गर्ने आग्रह गर्दैनन् । कुनै ठाउँमा केन्द्रीकृत गर्ने भन्दा पनि समष्टिमा प्रभावलाई बटुल्ने उनको लालसा देखिन्छ । उनका ननफिगरेटिभ कलाहरू अनेक खण्डहरूमा विभाजित भएका छन्, जसले समान घनत्वलाई प्राथमिकतामा राख्ने गर्छन् । उनका कलामा अलिकता धार्मिकताका अवयव र अलिकता अमूर्तता आदि मिसिन मिसिएको पाइन्छ, यस कारण उनका कलालाई कुनै शैलीको साँचोमा हाल्नुभन्दा उनको आफ्नै ‘युनिकनेस’ वा अलग्ग प्रवृत्तिलाई चिन्नुपर्छ । 

डा. इन्ग्रिड अलले कलाकार प्रमिलाका बारेमा गरेको टिप्पणी पनि मार्मिक छ । उनले प्रमिला गिरीलाई मानवीय मूल्य–मान्यताको खोजी गर्दै कला निर्माण गर्ने कलाकारको रूपमा हेर्ने गर्दछन् । स्टेट युनिभर्सिटी अफ क्यालिफोर्निया लङ बिचमा प्रोफेसर रहेकी डा. इन्ग्रिड प्रमिलाकी गुरु समेत हुन् ।

आन्तरिक दृश्यचित्र (सम्भवतः अमूर्तता) अवलोकन गर्न आग्रह गर्ने प्रमिला ननफिगरेटिभ कलाको फर्ममा विश्वास गर्ने कलाकार हुन् । उनका कलामा स्फेसिफिक साइट हँुदैन । उनका जीवन्त रङ र रूपहरूले परम्परालाई भत्काउँदै नयाँ–नयाँ परिदृश्यलाई जन्म दिन्छ । उनका कला न रिलिजियस (धार्मिक) हुन्, न त सेकुलर (धर्मनिरपेक्ष) नै । डा. इन्ग्रिडले समेत प्रमिलालाई धार्मिक आस्था, परम्परा र आजको अमूर्त कलालाई फ्युुजन गरी सादृश्य रूपमा दृश्यावलोकन गर्न सक्ने कलाकारको रूपमा हेरेकी छन् । 

(मल्ल कलाकार र कला समीक्षक हुन् ।)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मुकेश मल्ल
मुकेश मल्ल
लेखकबाट थप